कृषि क्रान्ति, दिगो विकास र महिला सहभागिता     

डा. सिर्जना भण्डारी

काठमाडौँ — अहिलेको लोकप्रिय नारा 'समृद्ध नेपाल र सुखी नेपाली'लाई व्यवहारमा उतार्न सर्वप्रथम विकास तथा समृद्धिको बाटो समात्नु आवश्यक हुन्छ ।

विकास तथा समृद्धि कुनै एक क्षेत्रको मात्र उन्नतिप्रगति नभई, यो एक बहुआयामिक प्रक्रिया हो, जसले आर्थिक तथा सामाजिक क्षेत्रका समग्र पक्षहरुलाई समेटेको हुन्छ । विकासले जनताका जीवनयापनका प्राथमिक आवश्यकताहरुः गास, आवास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगारी तथा सहजता आदिमा समृद्धि र समान वितरणको सिद्धान्तलाई आत्मसाथ गरेको हुन्छ । विकास तथा समृद्धिका क्रममा आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरण तथा पर्यावरणमा कुनै हानी-नोक्सानी नपुर्‍याइकन विकास प्रक्रियालाई निरन्तरता दिइराख्नु दिगो विकास हो ।

Yamaha


संसारको सबभन्दा पुरानो पेशा मानिँदै आएको कृषि जुन विगतदेखि हालसम्म जीवनयापनकासाथै विकास तथा समृद्धिको प्राथमिक पक्ष रहँदै आएको छ । विगतमा कृषि उत्पादन जीवन निर्वाहका लागि गरि भएपनि १९ औं र २०औं शताब्दीमा विश्वमा आएका राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक बदलावका कारण कृषि उत्पादनको स्वरुपमा पनि व्यापक परिवर्तन आउन गइ अझ परिस्कृत भएको छ ।

तसर्थ, समृद्धिउन्मुख तथा परिवर्तनको संक्रमणकालीन अवस्थामा रहेको र अर्थतन्त्रका अन्य बलिया पूर्वाधार नभएको अवस्थामा नेपालको दिगो विकास तथा समृद्धिकालागि कृषि क्रान्ति अपरिहार्य भएको छ । हाम्रो परिवेशमा, वैदेशिक रोजगारीमा पुरुष युवाहरुको बढ्दो पलायनका कारण घर, परिवार तथा कृषिको जिम्मेदारी महिलाको काँधमा आएको, महिला घरमूलि संख्या बढिरहेको, तुलनात्मक रुपमा महिलाहरु प्रकृतिसँग बढी नजिक रहने र महिलाहरुमा कृषिक्षेत्रको महत्व र विकासबारे आवश्यक सचेतना जागृत भइरहेको अवस्थामा मुलुकको दिगो विकास र समृद्धिका लागि कृषि क्रान्तिमा महिलाहरुको सक्रिय सहभागिता फलदायी बन्नसक्छ । आर्थिक विकासमा महिला सहभागिताको प्रभावकारी बहस र कार्यान्वयनको सुरुआत सन् १९६०-७० को दशकबाट भएको हो, नारीवादी अर्थशास्त्री इस्टर बोसेरप (सन १९७०)ले भनेकी थिइन् की महिलाहरु आर्थिक विकासका सक्रिय सहभागी हुन् ।

कृषि क्रान्ति

राजनीतिक क्रान्ति, आर्थिक क्रान्ति, सामाजिक क्रान्ति, सांस्कृतिक क्रान्ति आदि क्रान्तिका आयामहरु हुन् । कृषि क्रान्ति आर्थिक क्रान्तिको एक अंश हो । कृषि क्षेत्रसँग सम्बन्धित समग्र पक्षहरुको द्रुततर विकास तथा समृद्धि नै कृषि क्रान्ति हो । कृषि क्रान्तिका विभिन्न प्रकारहरु छन्ः हरित क्रान्ति (खाद्यान्न, तरकारी तथा फलफूल उत्पादन), श्वेत क्रान्ति (दुग्ध उत्पादन), लाल क्रान्ति (मासु उत्पादन), सुनौलो क्रान्ति (फलफूल/मह उत्पादन), रजत क्रान्ति (अण्डा/कुखुरा उत्पादन), निलो क्रान्ति (माछा उत्पादन), पहेंलो क्रान्ति (तेलहन उत्पादन) आदि । कृषि क्रान्तिले विश्वमा सन १९४० को दशकदेखि १९७० को दशकसम्म कृषि उत्पादनमा बृद्धि गर्ने र नयाँपन ल्याउने क्रममा गरिएका अनुसन्धान, अन्वेषण, विकास, प्रविधि प्रयोग तथा हस्तानतरणद्धारा द्रुततर रुपमा गरिएको कृषि विकासको अवस्था अवगत गराउँछ । दोस्रो विश्वयुद्धपछि जनसंख्या वृद्धिदर उच्च भएको र साविकको कृषि उत्पादनले धान्न नसक्ने अवस्थाका कारण सन १९४० को दशकमा कृषि उत्पादन बढाउन वैज्ञानिक खोजको प्रारम्भ भयो । खोजका क्रममा हरित क्रान्तिका जन्मदाता अमेरिकी वैज्ञानिक नरमन बोरलगले सर्वप्रथम मेक्सिकोमा रोग निरोधक र उच्च उत्पादन दिनसक्ने (एचवाइभी.) गहुँको उन्नत बीऊ विकास गरे र क्रमशः मकै, धान तथा नगदे बालीहरुका उन्नत बीऊहरु विकास गरिए । कृषि उत्पादन बढाउन विकसित मुलुकहरुले सन १९४० र विकासोन्मुख मुलुकहरुले १९६० को दशक देखि यी बीऊहरुबाट कृषि उत्पादन सुरु गरे जसबाट विश्वमा कृषि क्रान्तिको युग सुरु भयो ।

नेपाल, कृषि अर्थतन्त्रमा आधारित, कृषि उत्पादनमा प्रशस्त सम्भावना भएको विकाशोन्मुख राज्य हो । कृषि उत्पादनको उच्च सम्भावनाका बावजुद हालसम्म केहि सकारात्मक प्रयास बाहेक हाम्रो कृषि प्रणाली पारम्परिक र जीवननिर्वाहमा सीमित छ अर्थात यो प्रभावकारी तथा उत्पादनमुखी बन्न सकेको छैन । सन १९८० को दशकसम्म कृषि उत्पादन निर्यात गर्ने हाम्रो मुलुक आज अधिकांश कृषि उत्पादन आयात गरिरहेको छ । विगतमा उत्कृष्ट नीति तथा कार्यक्रम र तिनको प्रभावकारी कार्यान्वयन अभावका कारण राज्य प्राकृतिक रुपमा सम्पन्न र समृद्धिको प्रसस्त सम्भावना हुँदाहुँदै जनताहरु विपन्नताको जीवन जीउन बाध्य हुनुपरेको तितो यथार्थमा वदलावको संकेत देखिएको छ । राज्यले कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ र वर्तमान सरकारका संघीय तथा प्रादेशिक नीति तथा कार्यक्रमहरुमा पनि कृषि क्षेत्रले प्राथमिक स्थान पाएको छ ।

कृषि क्षेत्रको प्रभावकारी विकासकालागि सरकारद्धारा ल्याइएका र ल्याइने नीति तथा कार्यक्रम र कृषि क्षेत्रको दिगो विकासको व्यवहारिक पक्ष अझ स्पष्ट हुनुपर्दछ ताकी वास्तविक किसानहरुले कसरी कृषि उत्पादन गर्ने तथा बढाउने बारेका व्यवहारिक कार्ययोजना सजिलै बुझ्न सकुन् किनकी कृषि एक महत्वपूर्ण तर जटिल पेशा र बहुआयामिक प्रक्रिया हो, यसको विकासका लागि विभिन्न पक्षहरुको सहकार्यता र विभिन्न स्रोत साधनहरुको सँगमको आवश्यकता पर्दछ । विश्वले कृषिको महत्व बुझेर यसकै माध्यमबाट विकास तथा समृद्धि हासिल गरेको दशकौं भइसक्यो तर हामी अझै सुरुकै अवस्थामा छौं । हाम्रा छिमेकी भारत र चीन यसको अब्बल उदाहरण हुन् । तसर्थ, नेपालमा कृषि क्रान्ति ल्याउने अभियानमा आन्तरिक प्रयाससँगसँगै विश्व अर्थतन्त्रमा उदीयमान हाम्रा यी दुई छिमेकी राष्ट्रहरुले अपनाएका कृषि क्रान्तिका मोडलहरुको अध्ययन र अनुसरण गर्नु समय सापेक्ष हुन्छ । समान भूगोल, हावापानी, वातावरण तथा पर्यावरण भएको अवस्थामा हाम्रो अनुकुल हुने मोडलहरु हस्तानतरण गरेर पनि कृषि विकासमा अगाडि बढ्न सकिन्छ ।

राजनीतिक उतारचढाव र विभिन्न समस्याका कारण सन् १९६० सम्म भारत आयातित खाद्यान्नमा निर्भर थियो र बारम्बार अनिकाल तथा भोकमरिको चपेटामा आइरहन्थ्यो । डा. एमएस स्वामीनाथमको नेतृत्वमा १९६० को दशकमा भारतमा खाद्यान्न उत्पादन बढाउने उद्देश्यले तीन प्रान्त-पञ्जाव, हरयाणा र उत्तरप्रदेशमा रोग निरोधक क्षमतायुक्त उन्नत बीऊबाट सर्वप्रथम गहुँको र क्रमशः धान, मकै, नगदे बालीहरुको उत्पादन सुरु गर्‍यो र कुल खाद्यान्न उत्पादनमा सोचे भन्दा बढी सफलता हासिल गर्‍यो ।

त्यस्तै, राजनीतिक उतारचढाव र पर्याप्त खाद्यान्न अभावका कारण चीनले पनि सन १९५९-१९६१ मा भयाबह भोकमरिको महामारी बेहोर्‍यो । देशब्यापी भोकमरिको दुष्चक्रमा चार करोड मानिसहरुले ज्यान गुमाएका थिए । यसपछि चीनमा कृषि क्रान्ति ल्याउने उदेश्यले समग्र कृषि विकासलाई प्रमुख प्राथमिकतामा राखीयो र कृषि उत्पादन बढाउन सन १९६३ मा कृषिका सफल मोडलहरुबाट सिकौं भन्ने अभियानकासाथै कृषकहरुलाई प्रोत्साहन र अनुदान दिने नीति लिइयो । चीनमा सन १९७८ सम्म ९५ प्रतिशत जनता गरिबीको रेखामूनि थिए तर अहिले कुल एक अर्ब ३७ करोड जनसंख्यामा दुई करोड मात्र गरिबीको रेखामूनि छन् । सन २०२० सम्ममा चीनले पूर्ण रुपमा गरिबी निवारण गर्ने लक्ष्य लिएको छ । तसर्थ, आज हामीले देखेको सम्पन्न चीनको सम्पन्नताको इतिहास त्यति लामो छैन जुन हाम्रा लागि गहकिलो सकारात्मक सन्देश बन्नसक्छ कि आँट र इच्छाशक्ति भए छोटै समयमा देशमा विकास तथा समृद्धि ल्याउन र जनताको जीवनस्तर उकास्न सकिन्छ ।

कृषिक्षेत्रको विकास गर्ने क्रममा हरित क्रान्तिको उच्च सफलतापछि भारत र चीनले कृषिको क्षेत्र र दायरा बढाउँदै क्रमशः श्वेत क्रान्ति, लाल क्रान्ति, सुनौलो क्रान्ति, रजत क्रान्ति, नीलो क्रान्ति, पहेंलो क्रान्ति आदिमा पनि क्रान्ति आयो जसबाट कृषि उत्पादनमा आत्मनिर्भर हुनुकासाथै वचत भएका कृषि उत्पादनको निर्यात समेत सुरु गरेका थिए । हालको तथ्याङ्कमा दूध, दलहन र मसला उत्पादनमा भारत विश्वमा पहिलो स्थानमा छ भने खाद्यान्न, फलफूल तथा तरकारी उत्पादनमा दोस्रो स्थानमा रहेको छ, पहिलो स्थानमा चीन रहेको छ । कृषि क्रान्तिको सफलताले भारत र चीनको अर्थतन्त्र र औधोगीक विकासमा समेत महत्वपूर्ण योगदान पुग्यो जसका कारण आज चीन विश्वको दोस्रो र भारत छैंठौ ठूलो अर्थतन्त्र बन्न पुगेको छ ।

भारत र चीन लगायत एशियाका अन्य राष्ट्रहरुले पनि कृषि क्रान्तिको अभियान हुरु गरेका थिए र कृषि उत्पादन बढाउनका लागि कृषिक्षेत्रलाई प्राथमिकतामा राखी विश्वमा सफल भएका र आफ्नो अनुकुल हुने मोडलहरु प्रयोगमा ल्याएका थिए, जस्तै- प्रभावकारी नीति तथा कार्यक्रमहरुको कार्यानवयन, भूमिसुधार व्यवस्था, गहन अनुसन्धान तथा अन्वेषण, नयाँ-नयाँ मिसिन तथा प्रविधिहरुको विकास, सिंचाइका लागि ठूला-ठूला नहर निर्माण, मल उद्योगको स्थापना, किटनासक औषधीहरुको प्रयोग, सरकारी सहयोगमा ठूला-ठूला कृषि फार्म तथा हरीतगृहहरुको संचालन, कृषि तथा ग्रामीण पूर्वाधार निर्माण, अत्याधुनिक कृषि औजारहरुको प्रयोग (खनजोत गर्ने, बीऊ छर्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, सिंचाइ गर्ने, मल हाल्ने, झार ओखल्ने तथा मार्ने, किटनासक औषधि छर्ने, बाली काट्ने, हार्भेस्ट गर्ने, भण्डारण गर्ने, प्रशोधन गर्ने, चिस्यान गृह, आदि), किसान भ्रमण व्यवस्था, कोटा व्यवस्था, कृषि ऋण तथा अनुदानको व्यवस्था, कृषि बीमा व्यवस्था, समग्र शिक्षा नीतिमा सुधार (हरेक ग्रयाजुएट विद्यार्थीले केहि वर्ष ग्रामीण क्षेत्रका सम्भावना र चुनौतीहरुमा अनुसन्धान गर्नुपर्ने), व्यवसायिक तथा प्रभावकारी कृषि शिक्षा तथा तालिमको व्यवस्था आदि प्रक्रियाहरु अपनाइएका थिए ।

कृषि क्रान्ति गर्नका लागि हाल नेपालमा सवै किसिमले अनुकुल वातावरण बन्दै गैरहेको छ । यसका लागि सरकार तथा सम्बन्धित निकायहरुले घरमूलि महिला र घरधन्दा सकेर अतिरिक्त समयमा काम खोजीरहेका सहर तथा ग्रामीण क्षेत्रका महिलाहरु, अर्ध तथा पूर्ण बेरोगार रहेका यूवाहरु, विदेशबाट फर्केका अनुभवी कृषि विशेषज्ञ र प्राविधिज्ञ तथा श्रमिकहरुलाई नीतिवद्ध किसिमले परिचालन गर्नु पर्दछ । यस महान अभियानमा सरकार तथा सम्बन्धित निकायहरु मात्रको प्रयत्न तथा समलग्नता अपर्याप्त हुनेहुनाले कृषि क्षेत्रको विकासमा सक्रिय विभिन्न स्वदेशी तथा विदेशी संस्थाहरुसँग सहकार्य गरेर अगाडि बढ्नु बुद्धिमानी हुन्छ ।

ध्यान दिनुपर्ने पक्ष- कृषि क्रान्तिका लाभ तथा अवसरसाथै हानी तथा चुनौतीहरु पनि छन् । कृषि क्रान्तिका क्रममा धेरै लाभ तथा अवसर र केहि हानी तथा चुनौतीहरु विश्व अनुभवले देखाएका छन् । भूमण्डलीकरण, उदारिकरण तथा खुल्ला बजार नीतिमा चलीरहेको विश्व अर्थतन्त्रमा कृषि क्रान्ति गर्ने तथा उत्पादन बढाउने कार्यक्रम ल्याएर मात्र पर्याप्त हुँदैन । विकास कार्य द्रुत गतिमा अघि बढाउन, आफ्नो अर्थतन्त्रलाई सन्तुलित निरन्तरता दिन र विश्वबजारमा दिगो रुपमा टिकीरहन, लगानी भित्र्याउने, कृषिमा बाह्रा लगानी खुल्ला गर्ने तथा लगानी गर्न सक्ने क्षेत्र तोक्ने, उदारिकरणका नीतिहरुको अवलम्वन आदि प्रमुख प्राथमिकताका विषय हुन् । यस सन्दर्भमा कृषिमा बाह्रा लगानीका क्षेत्र तोक्ने सवभन्दा महत्वपूर्ण र विचार पुर्याउनु पर्ने पक्ष हो । नेपालको सन्दर्भमा कृषि क्षेत्र राज्य र अर्थतन्त्र दुवैको मेरुदण्ड भएकोले यसका कुन-कुन क्षेत्रहरुमा बाह्रा लगानी खुल्ला गर्ने तथा प्रोत्साहन गर्ने भन्नेबारे गहन अध्ययन गरेर मात्र तय गर्नुपर्दछ ताकी विश्व व्यापारिकरणको नकारात्मक प्रभावका कारण हाम्रो कृषि क्षेत्र धरासायी नहोस । हाम्रा दुई छिमेकी चीन र भारतले निरन्तर सरकारी निगरानीमा रहने शर्तमा कृषिका सीमित क्षेत्रहरुमा मात्र बाह्य लगानी खुल्ला गरेका छन् । यसो गर्नाले राज्य तथा अर्थतन्त्रका प्राथमिक क्षेत्रहरुमा विदेशी दवदवा हुनबाट बच्न सकिने विश्व अनुभवबाट देखिएको छ ।

त्यस्तै, असमान विकास तथा वातावरणीय चुनौती अर्को महत्वपूर्ण पक्ष हो । कृषि क्रान्तिले खाद्यन्नमा आत्मनिर्भर, निर्यातबाट विदेशी मुद्रा आर्जन, जनताको जीवनस्तरमा सुधार, रोजगारी सिर्जना, मजबुत अर्थतन्त्र हुनुका साथै विकासमा नयाँ-नयाँ अवसरहरु प्राप्त गर्न सकिने भएपनि साथसाथै आउने चुनौतीहरु- विकासमा असमानता र पर्यावरणीय ह्रास नहुने तथा कम गर्ने नीति अपनाउनु पर्दछ । असन्तुलित क्षेत्रीय विकासका कारण सहर र ग्रामीण विकासमा असमानता, धनी र गरिबबीच फराकिलो अन्तर, आय तथा सुविधा वितरणमा असमानता आउन नदिन सबै क्षेत्रका सम्भावना अध्ययन गरेर राष्ट्रब्यापी विकास अभियान सुरु गर्नुपर्छ र महिला, पुरुष, यूवा, प्रौढ सबैलाई विकासकार्यमा लाग्ने बराबर अवसर र प्रेरणा दिनुपर्छ ।

पर्याप्त अध्ययन तथा अनुसन्धान नगरी र सावधानी नअपनाइ जमिनको अत्यधिक प्रयोग, किटनासक तथा झार मार्ने विषाधीको प्रयोग, रासायनिक तथा सिन्थेटिक मलको प्रयोग, प्रतिकुल सिँचाइ पद्धती, हरितगृह तथा चिस्यानगृह निर्माण आदिका कारण विश्वले अपुरणीय वातावरणीय र पर्यावरणीय क्षति तथा चुनौतीहरु झेलिरहेको छ, जसले वर्षेनी पृथ्वीको तापमान बढाउनुका साथै मानव तथा जीव स्वास्थ्य, हावा, पानी, माटो, जैविक विविधता, प्राकृतिक जंगली जीवनमा नकारात्मक प्रभाव, भूमिगत पानीका स्रोतहरु प्रदुषित हुनुका साथै सञ्चितीमा ह्रास आएको छ । तसर्थ यस्ता चुनौतीहरुबाट बच्न पर्याप्त अध्ययन, अनुसन्धान गरि कृषकहरुका लागि चेतना अभिवृद्धि र आवश्यक तालिम तथा प्रशिक्षणका कार्यक्रमहरु ल्याउनु पर्दछ । विश्वमै, कृषि विकासको पछिल्लो चरणमा परिमाणमा भन्दा गुणस्तरमा जोड र जैविक खेतीलाई प्राथमिकता दिइँदै आइएको छ । कृषिक्षेत्रका विशेषज्ञहरुका अनुसार नेपालको भू-बनोट, हावापानी, पर्यावरण आदि जैविक खेतीका लागि अति उपयुक्त मानिएको छ ।


भर्खरै छिमेकी मुलुक भारत र चीनसँग कृषि, यातायात सञ्जाल, उर्जा तथा पर्ययटन प्रवद्र्धनका क्षेत्रहरुमा भएका औपचारिक सम्झौताहरु (जो एकअर्कासँग अन्तर-सम्वन्धित छन्) नेपालका लागि ठूलो अवसर बन्न सक्छन् । विश्व अर्थतन्त्रका उदीयमान हाम्रा विशाल दुई छिमेकी चीन र भारतसँगको सहकार्यबाट कृषि क्षेत्रका साथै राष्ट्रिय प्राथमिकता अन्य क्षेत्रहरुको विकासमा प्रसस्त लाभ लिन सकिन्छ र सक्नुपर्छ । नेपाल कृषि अर्थतन्त्रमा निर्भर राज्य भएकाले कृषिक्षेत्रको विकास अपरिहार्य छ र कृषि उत्पादनका वस्तुहरुको आत्मनिर्भता र निर्यातबाट आय आर्जन गरि अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ । सन २०१७ को एक तथ्याङ्क अनुसार कृषि उत्पादनका वस्तुहरु आयात गर्ने चीन विश्वको दोस्रो ठूलो राष्ट्र हो र भारतले दुई अर्ब ४० करोड अमेरिकी डलर बराबरको कृषि उत्पादनका वस्तुहरु आयात गरेको थियो । चीनले क्रमशः भटमास (३३ अर्ब अमेरिकी डलर), फलफूल (४ अर्ब), चामल (२ अर्ब), गहुँ (१ अर्ब), मासु आदिे आयात गरेको थियो । यी कृषि वस्तुहरुको उत्पादनको सम्भावना नेपालमा प्रशस्त छ, तसर्थ यसलाई अवसरमा मानेर छिमेकीहरुको कृषि उत्पादनका वस्तुहरुको बृहद माग परिपूर्ति गर्ने निर्यात नीति लिएर अघि बढ्नु पर्छ । यातायात सञ्जाल सुरु भएपछि भारत तथा चीनबाट नेपालले आयात गरेका कार्गो कन्टेनरमा यी वस्तुहरु निर्यात गर्न सकिन्छ ।


( घिमिरेले सन् २०१७ मा त्रिवि अन्तर्गत ग्रामीण विकास विषयबाट ग्रामीण महिला सशक्तिकरणमा पि.एच.डी गरेकी हुन् । उनी हाल चीनको राजधानी बेइजिङमा छिन् )

Esewa Pasal

प्रकाशित : असार २२, २०७५ १७:५८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्न सक्दो पहल गर्छु : अध्यक्ष दाहाल

रासस

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा माक्र्सवादको प्रयोग र अनुशरण सुरु भएको बताएका छन् ।

फाइल तस्बिर : कान्तिपुर

उनले योगमाया सतवार्षिकी समारोह तथा ७८औँ स्मृति दिवसका सन्दर्भमा राजधानीमा आयोजित एक कार्यक्रममा वर्तमान सरकार सामन्तवाद र निरङ्कुशतन्त्रले गाढेका अवशेषलाई पन्छाएर सामाजिक रुपान्तरणका लागि अघि बढ्ने बताए ।

अध्यक्ष दाहालले योगमाया न्यौपाने सामाजिक र सांस्कृतिक जागरणप्रति समर्पित एक अभियन्ता हुन् भने । उनले योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्न सक्दो पहल गर्ने वचनबद्धता पनि प्रकट गरे ।

कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले योगमायाका नाममा आयुर्वेद विश्वविद्यालय स्थापना गर्नुपर्ने र उनलाई राष्ट्रिय विभूति घोषण गर्नुपर्ने बताए । मुख्यमन्त्री राईले योगमाया क्रान्तिका माध्यमबाट महिला हिंसा, जातीय विभेद र निरङ्कुशताविरुद्ध आवाज बुलन्द आवाज गर्दै गाउँबेंसी ब्यूँझाउने साहसी महिला भएको बताए ।

कार्यक्रममा सांसद पम्फा भुसालले योगमायाले समाज रुपान्तरणमा पुर्‍याएको योगदानलाई अहिलेका नारीवादीले भुल्न नहुने बताइन् ।

त्यसैगरी, सांसद डा डिला सङ्ग्रौलाले लोकतन्त्र र सुशासनका लागि योगमाया र उनका अनुयायीले गरेको त्याग र बलिदान अनुकरणीय रहेको बताइन् ।

पूर्वमन्त्री अष्टलक्ष्मी शाक्यले योगमायाको योगदान न्याय र सत्यका अनुयायीका लागि प्रेरक भएको विचार प्रकट गरिन् ।

अभिजात्य वर्गीय सोच र मान्यता, पितृसत्तात्मक समाज र सांस्कृतिक विकृति तथा निरङ्कुश जहानियाँ शासनविरुद्ध साहित्यिक धारमार्फत सामाजिक विद्रोहमा उत्रिएकी संघर्षशील नारी हुन् योगमाया । योगमायाले जुद्धशम्शेरलाई २६ बुँदे मागपत्र बुझाएर समाज परिवर्तन गर्न आग्रह गरेकी थिइन् । तर, त्यसप्रति केही काम भएको नपाएपछि १९९८ साल असार २२ गते आफ्ना ६७ अनुयायीसँगै उनले जलसमाधि लिएकी थिइन् ।

उनी नेपालको पूर्वी जिल्ला भोजपुरमा जन्मेकी थिइन् ।

प्रकाशित : असार २२, २०७५ १७:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT