१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कसरी जन्मियो, गुरुजूको पल्टन ?

जंगबहादुरले राजा र दरबारलाई कमजोर पार्न ‘बिजुली गारत’लाई मासेर बनाएको ‘शार्दुलजंग’ बडागुरुज्यूको निवासमा बस्ने भएकाले नै ‘गुरुजूको पल्टन’ भन्न थालियो, आम चल्तीको भाषामा ।

काठमाडौँ — नेपाली चाडपर्व, जात्रा आदि समारोहमा सेतो जामा, भोटो, पगरीसहित ढाल तरवारमा सजिएको कमाण्डरको नेतृत्वमा कालो दौरा–सुरुवाल, पगरीसहित प्राचीन शैलीको जंगी पोसाकमा भरुवा बन्दुक बोकी ऐतिहासिक बाँसुरी बजाउँदै कवाज पल्टनको अघि–अघि हिँड्ने सैनिक टुकडी नै हो, ‘गुरुजूको पल्टन ।’ तर यस पल्टनको खास नाम हो– ‘शार्दुलजंग’ ।

कसरी जन्मियो, गुरुजूको पल्टन ?

वि.सं. १८५६ मा श्री ५ गीर्वाणवीर विक्रम शाहले खडा गरेका हुन्, यो पल्टन । सन् १८१४–१८१६ को नेपाल–अंग्रेज युद्धमा यस पल्टनले जैथक रणभूमिमा बहादुरीसाथ लडेको इतिहास छ ।

बडामहाराजाधिराज पृथ्वीनारायण शाहको पालामा गोर्खाली सेनाले लगाउने पोसाक, दज्र्यानी चिन्हको प्रतीक झल्कनेगरी कालो दौरा–सुरुवाल, सेतो पटुका, कानेजुत्ता, पगरी, चाँदतोडा आदिको पहिरनमा समारोहको अग्रिम पंक्तिमा उपस्थित हुन्छन्, ‘गुरुजूको पल्टन’ । नेपालमा मनाइने करिब ५५ वटा राजकीय धार्मिक एवं सांस्कृतिक समारोह तथा उत्सवमा यस पल्टनले भाग लिने गरेको छ, आज पनि ।

बडागुरुजूको व्यवस्था
जंगबहादुरद्वारा रचित ३१ भदौ १९०३ को कोतपर्वको पर्दा पछाडिका सहयोगी पात्र तथा योजनाकारमध्ये एक थिए– विजयराज पाण्डेय । पृथ्वीनारायण शाहका बाजेले राज्यभिषेकको लागि विद्वान पण्डितको खोजी गर्दा पण्डित गौरीश्वर पाण्डेयलाई अभिषेक दिन झिकाएका थिए, पाल्पाबाट ।

यसबापत राजाको निगाहबाट काशी बनारसमा बसोबास गर्न थालेका थिए, पण्डित गौरीश्वर । यिनकै सन्तान, काशी बनारसको बुलानालामा बसोबास गरी बसेका विजयराजले रामघाटमा समेत गरी दुइटा घर जोडेका थिए । यिनै विजयराज पाण्डेय बनारसबाट काठमाडौं आई हनुमानढोका अगाडि पुराण भन्न थालेपछि नाम चलेको थियो, यिनको । नाम चलेकै कारण दरबारबाट बोलाहट भएपछि राजा राजेन्द्र विक्रमको पालामा दरबार प्रवेशको अवसर पाएका थिए, यिनले ।

दरबार प्रवेशपश्चात चतुर जंगबहादुरको नजर यिनमा पर्‍यो र जंगबहादुरको संगतसंँगै मित्रता पनि बढ्न गयो, यी दुईबीच । विजयराज जंगबहादुरका भरपर्दा जासुससमेत थिए (जर्नेल ऋषिकुमार पाण्डे) । यही मित्रताका कारण विजयराजले जंगबहादुरको महत्त्वाकांक्षालाई पूरा गर्न कोतपर्वको षड्यन्त्रकारी रचनादेखि कार्यान्वयनसम्ममा सघाए ।

जंगबहादुर नेपालको प्रधानमन्त्री बने । यसपछि पनि जंगबहादुरलाई सिध्याउने योजनासहित रचिएको भण्डारखाल पर्वबारे पूर्वसूचना दिएर जंगबहादुरलाई बचाउनुका साथै जंगबहादुरका विरोधीहरूलाई सखाप पार्नसमेत सघाएका थिए, यिनले । यसरी जंगबहादुरको विश्वास जित्न सफल विजयराजलाई प्रधानमन्त्री जंगबहादुरले बडागुरुज्यू बनाए र सुरु भयो, बडागुरुज्यूको प्रथा दरबारमा ।

बडागुरुज्यू बनाउँदा राजा राजेन्द्र विक्रमले ‘हाम्रा सन्तान–दरसन्तानलाई राम्रो गरेसम्म राजालाई मन्त्र सुनाउने काम बडागुरुज्यूलाई दिनु’ भनीे लालमोहर दिएका थिए । राजाको लालमोहर अनुसार बडागुरुज्यूलाई श्री ६ बडागुरुज्यू तथा धर्माधिकार भनिन्थ्यो र यही कारण औपचारिक समारोहहरूमा राजाको दायाँ बडागुरुज्यू र बायाँ राणा प्रधानमन्त्री बस्ने चलन थियो । श्री ६ बडागुरुज्यू, धर्माधिकार भएकाले जात फिर्ता गर्ने, जात तिर्नुपर्ने जस्ता बडागुरुज्यूको काम, कर्तव्य आदि विषय उल्लेख नै थियो, मुलुकी ऐनको परिच्छेदमा । यो प्रथा सम्वत् १९९२ मा हेरम्बराज पाण्डेय बडागुरुज्यू नियुक्ति हुँदाका सुरुका दिनसम्म पनि कायम नै थियो । १९९२ देखि नै धर्माधिकारको व्यवस्था खारेज भयो ।

हेरम्बराज २०२४ सालसम्म बडागुरुज्यू रहे । राज्याभिषेकमा राजालाई श्रीपेच पहिराउने तथा राजधर्मबारे सपथ दिलाउने कार्य पनि बडागुरुज्यूबाट नै हुन्थ्यो, राजसंस्था रहुन्जेलसम्म । राजपरिवारका सदस्यहरूलाई मन्त्र सुनाउने पण्डित तथा पुरोहितको चयन पनि बडागुरुज्यूले नै गर्थे भने दरबारको पूजापाठ तथा साइत आदि हेर्ने काम पुरोहितहरूबाट गराइन्थ्यो । यसरी बडागुरुज्यूको ओहदा विजयराजपछि क्रमश: वंशाणुगत हिसाबमा नगेन्द्रराज, कुवयराज, तर्कराज, हेरम्बराज, विश्वराज र भोगेन्द्रराजसम्म अटुट पाण्डेय खलकमै रह्यो भने केही समय खालीजस्तो रहे पनि पुन: पाण्डेय खलककै खगेन्द्रराज बडागुरुज्यू भए ।

बीचमा राजा वीरेन्द्रको पालामा वंशाणुगत बडागुरुज्यू हुने चलन हटाएर प्रतिस्पर्धाको आधारमा बडागुरुज्यू चयन गर्ने नियम बनेपश्चात् पहिलोपटक गैरपाण्डेय खलकका अम्बिकाप्रसाद शर्मा बडागुरुज्यूमा नियुक्ति भए । पछि माधवप्रसाद शर्मा कायममुकाम बडागुरुज्यू भए पनि यो नयाँ व्यवस्था नफापेको भनी पुन: पाण्डेय खलकबाट नै खगेन्द्रराज बडागुरुज्यूमा नियुक्त भए । अनि केशरीराज र जनार्दनराज भए । राजा ज्ञानेन्द्रको पालामा जनार्दनराज बडागुरुज्यू भए पनि राजा राजेन्द्रको पालादेखि चलिआएको बडागुरुज्यूबाट मन्त्र सुनाउने प्रथा पहिलोपल्ट तोडियो, नवयुवराज हृदयेन्द्रको व्रतबन्धमा । बडागुरुज्यूको शुद्धता र आचरणका कारण यसो गरिएको थियो, सायद । २०६३ सालको राजनीतिक परिवर्तनपछि राजासँंगै बडागुरुज्यूको पदवी पनि खारेजीमा पर्‍यो । जनार्दनराज पाण्डेय अन्तिम बडागुरुज्यू हुनपुगे, नेपालको इतिहासमा ।

गुरुजूको पल्टन र जंगबहादुर
बडामहाराजाधिराज पृथ्वीनारायण शाहको पालादेखि नै हनुमानढोका दरबारभित्र राजदरबार सुरक्षार्थ ‘बिजुली गारत’ भनिने सेनाको विशिष्ट फौज तैनाथ रहने गरेको थियो । राजा र राजपरिवारको सुरक्षार्थ ‘शाही रक्षक (रोयल गार्ड)’ को भूमिकामा रहेको ‘बिजुली गारत’का कारण राजा सदैव बलिया र सुरक्षित थिए ।

राजा बलिया हुंँदासम्म त्यो शक्ति आफ्नो योजना अनुकूल नहुने आंँकलन गरेका जंगबहादुरले दरबारलाई कमजोर पार्ने उद्योगमा लागे । यसैका लागि बडागुरुज्यू विजयराजको सल्लाहमा जंगबहादुरले चलाखीपूर्ण तरिकाबाट कमजोर राजा राजेन्द्र विक्रमको फाइदा उठाएर चले, एक दीर्घकालीन रणनीतिक चाल । हनुमानढोका दरबारभित्र रहेको जंगी निसानको पूजाआजा विधिवत हुन नसकेको कारण अनिष्ट आउन सक्ने डर देखाएर बडागुरुज्यूबाट विधिविधान पुर्‍याई नित्य पूजा गर्न उपयुक्त हुने तर्क गरी दरबारभित्र रहेको जंगी नाल, निसान बडागुरुज्यूको निवासमा सार्न उपयुक्त हुने कुरा राजालाई सुझाए ।

यसरी राजालाई चित्त बुझाइ राजाको लालमोहर लिएर हनुमानढोका दरबारभित्र रहेको जंगी नाल निसानलाई रक्तकालीस्थित बडागुरुज्यूको निवासमा सार्न लगाए । अनि जंगी नाल निसानको सुरक्षा तथा पूजाको बेला बढाइँ सलामीको लागि भनी हनुमानढोका दरबारमा भएको ‘बिजुली गारत’लाई फुटाएर यसको मुख्य लडाकु हिस्सालाई बडागुरुज्यूको निवासमा खटाइयो, जसलाई ‘शार्दुलजंग’ नाम दिइयो ।

शार्दुलजंगमा १ कप्तान, १ एडजुटेन्ट लेफ्टिनेन्ट, ४ सुबेदार, ४ जमदार र अरु दर्जा गरी जम्मा २२८ जना कायम थिए । हनुमानढोका दरबारको शाही रक्षक ‘बिजुली गारत’को चुरोशक्ति ‘शार्दुलजंग’लाई बाहिर लगेर ‘बिजुली गारत’को बन्दोबस्ती हिस्सामात्र छाडियो, दरबारभित्र । हनुमानढोका दरबारको शाही रक्षक ‘बिजुली गारत’लाई शार्दुलजंग, समरजंग र पिपा गोश्वारा (घरकाज) गरी तीन टुक्रा बनाइयो । यसरी ‘शार्दुलजंग’लाई दरबार बाहिर लगी राजाको शक्तिको रूपमा रहेको ‘बिजुली गारत’लाई नै नामेट पारी दरबारलाई कमजोर बनाउन सफल भए जंगबहादुर ।

यसै प्रशंगमा बी.पी. कोइरालाले पनि २००७ सालपछि बिजुली गारतलाई दरबारमा राख्नदिनु नै आफ्नो भुल भएको र यसैकारण राजा बलियो भएका भनी आफ्नो आत्मवृत्तान्तमा उल्लेख गरेको पाइन्छ । जंगबहादुरले राजा र दरबारलाई कमजोर पार्न ‘बिजुली गारत’लाई मासेर बनाएको ‘शार्दुलजंग’ बडागुरुज्यूको निवासमा बस्ने भएकाले नै ‘गुरुजूको पल्टन’ भन्न थालियो, आम चल्तीको भाषामा । यसरी जंगबहादुरको षड्यन्त्रबाट जन्मियो, ‘गुरुजूको पल्टन’ ।

‘समरजंग’ पहिले रक्षा मन्त्रालय अन्तर्गत भए पनि पछि गृह मन्त्रालय अन्तर्गत राखी बाटोघाटो–पुलपुलेसा बनाउने, मर्मत गर्ने तथा रुखहरू काट्ने आदि काममा लगाउन थालियो । अहिले यसको नामनिसान पाइंँदैन । तामाङ जातिको बाहुल्य भएको ‘पिपा गोश्वारा (घरकाज)’ लाई विशेषत: दरबारको घरकाज तथा पल्टनहरूमा बन्दोबस्ती कार्यमा लगाउन थालियो । अहिले यसलाई प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) ले कमाण्ड गर्नेगरी बन्दोबस्ती गणको रूपमा रूपान्तरण गरिएको छ ।

राजा महेन्द्र र ‘गुरुजूको पल्टन’
२०२४ सालमा राजा महेन्द्रले बिभिन्न कालखण्डमा बडागुरुज्यूहरूले राजाहरूबाट पाएको ७ वटा लालमोहर खिचिदिए । उक्त लालमोहरहरू फिर्ताको लागि बिन्तीपत्र हाल्ने हेरम्बराजका कारण एक वर्ष बडागुरुज्यूको पद नै खाली रहन गएको थियो । २०२५ सालमा राजा महेन्द्रले शार्दुलजंग पल्टनलाई बडागुरुज्यू निवास रक्तकालीबाट पुन: हनुमानढोका दरबारमा नै लाने पहल गरे ।

शार्दुलजंगलाई हनुमानढोका दरबार लानु पहिले राजा महेन्द्रका प्रमुख पाश्र्ववर्ती/एडीसी जर्नेल शेरबहादुर मल्लले बडागुरुज्यूको निवास रक्तकालीमा आएर शार्दुलजंगका सकल दर्जालाई परेड हाजिर (उपस्थित) गरी राम्रा ५० प्रतिशतलाई छुट्याई बांँकी फौजलाई पजनी गरेजस्तो गरी २ सुबेदार र २ जमदारसहित ५० प्रतिशत फौजलाई अवकाश दिएका थिए । यसरी ‘शार्दुलजंग’को सबै नाल निसान, कोत र मौलोसहित हनुमानढोका दरबार नासलचोक (दरबारभित्र रहेको कुमारी मन्दिर अगाडि) मा खडा गरी पूजाआजा सुरु गर्न थालियो ।

राम्रा भनी छुट्याइएका ५० प्रतिशत फौजलाई मात्र हनुमानढोका दरबार लगिएको थियो, त्यसबेला । तत्पश्चात् बडागुरुज्यूको गार्डको रूपमा ७ जनाको सैनिक टुकडीमात्र रहनथाले, रक्तकालीमा ।

यसरी जंगबहादुरको षड्यन्त्रको कोपभाजनमा परी तहसनहस भएको ‘बिजुली गारत’को एउटा अंशको रूपमा ‘शार्दुलजंग’ अस्तित्वमा त छ, तर गुल्म स्तरको ‘गुरुजूको पल्टन’को पहिचानमा फरक जिम्मेवारीसाथ ।

भण्डारी नेपाली सेनाका पूर्वसहायकरथी हुन् ।
[email protected]

प्रकाशित : असार २३, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?