१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

आधुनिक सभ्यताको शासक !

मानिसको व्यवहार नियन्त्रण गर्ने क्षमता सरकारले भन्दा उच्च प्रविधि कम्पनीहरूले बढी राख्छन् । अबको सभ्यताका यथार्थ शासक यस्ता कम्पनी नै हुन्, सरकारहरू होइनन् ।
शरदचन्द्र पौडेल

काठमाडौँ — ‘स्वीकार गर्नुहोस्, यो उपहार मैले तपाईंकी छोरीका लागि ल्याइदिएको छु,’ एक ठूलो स्टोर्सको प्रबन्धक आफ्नो ग्राहकको ढोकामा पुगेर भन्छ । उपहार देखेपछि उक्त वृद्ध पिताले प्रबन्धको गाला चड्काइदिन्छ र भन्छ, ‘मेरो छोरीको बारेमा मलाई बढी थाहा हुन्छ कि तँलाई ? जे पायो, त्यही उपहार ल्याउने फटाहा ।’

आधुनिक सभ्यताको शासक !

ग्राहक भनेको भगवान् हो भन्ने आदर्श बोकेको कम्पनीको प्रबन्धक केही नबोली उपहार छोडेर त्यहाँबाट फर्किन्छ । एक छिनपछि छोरी आउँछे । बाबुले भन्छ, ‘हेर न फटाहा, त्यो प्रबन्धकले तेरालागि सुत्केरी हुँदा चाहिने सामान उपहार लिएर अएको रहेछ । मैले त गाला चड्काएर पठाइदिएँ ।’

यो सुनेपछि छोरीले भन्छे, ‘तपार्इंले नचाहिने काम गर्नुभयो बुबा । प्रबन्धक ठिक थियो । म गर्भवती भएको साँचो हो ।’

यो सुनेर छानाबाट खसेजस्तो भएको बाबुले ‘कतै तेरो त्यही प्रबन्धकसँग...त थिएन’ भन्दै छोरीलाई झपार्छ । छोरीले नकार्छे । बाबु अत्तालिँदै प्रबन्धककहाँ माफी माग्न जान्छ र सोध्छ, ‘तपाईंले कसरी मेरी छोरी गर्भवती छ भनेर थाहा पाउनुभयो ?’

‘तपाईंकी छोरी हाम्रो नियमित ग्राहक हो । उहाँको प्रत्येक किनमेलको विवरण हाम्रो तथ्यांक शाखाले नियालिरहेको हुन्छ । केही समयदेखि तपाईंको छोरीले जंक सट्टा पौष्टिक खानेकुरा, कसिला सट्टा खुकुला लुगा र बच्चाका समान किन्न थाल्नुभएको थियो । यो तथ्य र मनोविज्ञान वेत्ताको सहयोगमा शाखाले तपाईंको छोरी सुत्केरी हुने दिन भविष्यवाणी गरेपछि म त्यो उपहार लिएर गएको थिएँ,’ प्रबन्धकले जवाफ दिन्छ । युभाल हरारीले अमेरिकामा भएको वास्तविक भनी उल्लेख गरेको यो घटना सामान्य होइन । तपाईंको व्यवहार कसरी अरुले पढिरहेको छ र प्रभावित गरिरहेको छ भन्ने कुराको ज्वलन्त उदाहरण हो यो ।

आजभोलि ठूला स्टोर्समा ग्राहकको खरिद विवरण विश्लेषण गर्न पर्दा पडाडि ठूलो संख्यामा सूचना प्रविधि विज्ञ र मनोवेत्ता कार्यरत हुन्छन् । उनीहरूको काम स्टोर्समा आउने ग्राहकको व्यवहार पढ्दै, नियन्त्रण गर्दै, बिक्री बढाउने हो । यिनीहरूको सहयोगमा स्टोर्स ग्राहकलाई उपादेयताभन्दा बढी मूल्यका, नचाहिने वा अनावश्यक सामान किनाउन सफल भइरहेका छन् ।

अनलाइन सपिङ सबैतिर विस्तार हुँदै गएको छ । भारत लगायत पाश्चात्य मुलुकमा अनलाइन बिक्रेता अमेजनबाट समान किन्नेहरूको संख्या बढिरहेको छ । अमेजनमार्फत कुनै समान किन्यो भने त्यसपछि उसले सायद तपाईंलाई यो सामान पनि मनपर्छ होला भनी सूचना दिइरहन्छ । अमेजनको इ–किताब किनेर पढ्नुभएको छ भने उसले त्यस्तै विषयका अरु थुपै्र किताब मनपर्छ होला भनी सूचित गरिरहन्छ ।

लाग्छ– अमेजनले तपाईंको सामान छनोटको मनोविज्ञान पढिरहेछ, तपाईंले इ–किताब पढेको होइन, अमेजनले तपाईंको व्यवहार पढिरहेको छ । तपाईंले किताबको कुन–कुन पृष्ठ घत मानेर अटुट पढ्नुभयो ? कुन–कुन पृष्ठ विस्तारै पढ्नुभयो ? र कहाँ पुगेर तपाईंले पढ्नै छोड्नुभयो ? यो कुरा अमेजनले नियालिरहेको हुन्छ । उसका तथ्यांक विश्लेषकले तपाईंका रुचिको निरन्तर अध्ययन गरी सामान वा किताबको चाहना जगाउँदै किनाइरहेका हुन्छन् । यसैले होला, करिब २० वर्ष अगाडि व्यवसाय सुरु गरेका अमेजनका मालिक जेफ वेजोज १ं.४१ खर्ब डलरभन्दा बढीको सम्पत्ति भएर संसारकै धनी मध्येका एक मानिस भएका छन् ।

सबै उमेरका मानिसले रुचाउने फेसबुकको ग्राहक संख्या २.२ अर्बभन्दा बढी पुगेको छ । यसका मालिक मार्क जुकरवर्ग संसारका शक्तिशाली मानिसको सूचीमा १० औं नम्बरमा पर्छन् । फेसबुक चलाउने नेपालीको संख्या पनि उल्लेख्य छ ।

फेसबुकमा व्यक्तिगत विवरण दर्ता गरेर सदस्य हुने बित्तिकैदेखि उसले तपाईं यी मान्छे पनि चिन्नुहुन्छ होला भन्दै नामावली प्रस्तुत गर्न थाल्छ । तपाईंको जन्ममिति सम्झाइदिन्छ र तपाईंले साथी बनाएको वर्षगाँठलाई विशेष बनाउँछ । यी सबै उसले दर्ता गर्दा र चलाउँदाको विवरणका आधारमा गर्छ । सिलिकन भ्यालीमा रहेका उसका हजारौं तथ्यांक विश्लेषकले तपाईंको सूचना निगरानी गरी व्यवहार नियन्त्रण गर्ने प्रयास गरिरहेका हुन्छन् ।

सन् २०१४ को अमेरिकी राष्ट्रपति चुनावमा रूसले हस्तक्षेप गर्‍यो भनी बबन्डर मच्चियो । हिलारी क्लिन्टनको बारेमा कम्प्रोम्याट अर्थात् नियोजित तथ्य सार्वजनिक गर्दै रूसले ट्रप्मलाई सहयोग गर्‍यो भन्ने आरोपमा संसदीय समिति र विशेष वकिल रवर्ट मुलर यसको अनुसन्धानमा लागेका छन् ।

अमेरिका जस्तो मुलुकमा रूसले हस्तक्षेप गरेको पत्ता लगाउन अर्बौं डलर खर्च गर्ने जासुसी संस्था सीआईए सफल भएन । केही नलागेर समितिले मार्क जुकरवर्गलाई आमन्त्रण गर्‍यो । निमन्त्रणाको दुई महिनापछि मात्र मार्क समितिमा उपस्थित भए । रूसीहरूले नक्कली परिचयबाट फेसबुक खाता खोलेर हिलारी विरुद्धका नियोजित सूचना उनका समर्थक कहाँ पठाएको तथ्य सार्वजनिक गरे । र अब यस प्रकारको घटना हुन नदिन प्रयास गर्ने आश्वासन पनि दिए ।

विभिन्न चार प्रजातिमध्ये हाल अस्तित्वमा रहेको एकमात्र होमो स्यापियन्स मानव अत्यन्तै जटिल प्राणी हो । उसको व्यवहार के–के चिजले निर्देशित गरेको हुन्छ ? भन्न सकिँदैन । निरन्तरको दिमागको विकासले त यसलाई झनै भविष्यवाणी गर्न नसकिने बनाएको छ । दिमाग कम विकसित हुँदा उसका अधिकांश व्यवहारहरू कोष भित्रको डीएनएमा रहेको जिनले निर्धारण गरेको हुन्थ्यो । जिनको भाषा सधैं एउटै हुनेहुनाले मानिसको व्यवहारमा पत्ता लगाउन सजिलो थियो । जब दिगागको विकास हुँदै गयो, तब मानिसको व्यवहार जिनभन्दा बाह्य संवेगले धेरै निर्धारण गर्न थाल्यो । बाह्य वातावरण पनि निरन्तर परिवर्तन भइरहने र वातावरणप्रतिको संवेग पनि सबै मानिसमा एकैनास नहुँदा व्यवहारको आँकलन झन् गाह्रो हुँदै गयो ।

व्यवहार नियन्त्रण गर्ने वा निर्देशित गर्ने भनेको आफ्नो प्रभावमा अरुलाई राख्ने हो । शक्तिशालीले प्रत्यक्ष निगरानी गरेर अरुको व्यवहार नियन्त्रण गर्ने तरिका सबैभन्दा सरल हो । तर निगरानी गर्नुपर्नेको संख्या बढ्दै गएपछि यो सम्भव हुँदैन । भनिन्छ, ५० भन्दा बढी मनिसको व्यवहार नियाल्न एक जनाले सक्दैन । सबैभन्दा धेरैको पहिला, व्यवहार नियन्त्रण गर्न आविष्कार भएको औजार धर्म हो । त्यसपछि मानिसको व्यवहार तर्कयुक्त हुनुपर्छ भन्दै सरकार र कानुनको आविष्कार भयो । कानुन कार्यान्वयन गर्ने सरकार व्यवहार नियन्त्रणको मुख्य कर्ता हुँदै शक्तिशाली बन्यो ।

बीसौं शताव्दीका अर्थशास्त्रीले मानिस तर्कयुक्त प्राणी त हो, तर उसको तर्क आर्थिक विषयले प्रभावित हुन्छ भन्दै अर्थशास्त्रका सिद्धान्त प्रतिपादन गरे । यी सिद्धान्तले मानव व्यवहारलाई प्रभावित गर्नसकेको भनी निक्कै चर्चा भयो, नोबेल समिति पनि यी सिद्धान्तलाई पुरस्कृत गर्न तल्लिन रह्यो । बीसौं शताव्दीको उत्तराद्र्धमा कानेमन, ट्राभेस्कीले मासिनको प्रतिक्रिया तर्कभन्दा भावनायुक्त बढी हुन्छ भने । भावनायुक्त व्यवहारमा जोड दिने अर्थशास्त्री रवर्ट थालरले सन् २०१७ को नोबेल पुरस्कारसमेत जिते ।

सिद्धान्तत: प्रत्येक पटकको घटनामा मानिसले के प्रतिकिया दिन्छ ? त्यही नै व्यवहार बन्छ । तर मानिस जोखिम पन्छाउने प्राणी हो । मानिसको दिगागले प्रतिक्रिया दोहोर्‍याइरहन्छ । दोहोरिइरहने प्रतिक्रिया बानी बन्छ । बानीले ज्ञान र संवेगलाई सीमित गरिदिन्छ । निरन्तरको बानी चलन हुन्छ । बानी र चलनले व्यवहार भविष्यवाणी योग्य बनाउँछ । उच्च प्रविधि कपनीहरूले मानिसले देखाएको व्यवहारको आधारमा बानी र चलन पत्ता लगाएर आफ्नो स्वार्थ सिद्ध गर्छन् ।

यो काम यसकारण सजिलो भएको छ कि मानिसले यस्ता कपनीसँंग गर्ने करोबारमार्फत आफ्नो बानीको सूचना दिइरहेका हुन्छन् । जति धेरै तपाईंको सूचना प्राप्त गर्छन्, उति नै उनीहरू तपाईंको व्यवहार नियन्त्रणमा निपुण हुँदै जान्छन् । अर्थात् तपाईं जति सूचना प्रविधिमा सक्रिय हुनुहुन्छ, त्यति यस्ता कपनीको प्रभावित गर्ने क्षमता बढ्छ ।

सूचना प्रविधिको पहुँच र फाइदाको आधारमा यसको प्रयोग दु्रतगतिमा बढिरहेको छ । यस अर्थमा मानिसको व्यवहार नियन्त्रण गर्ने क्षमता सरकारले भन्दा उच्च प्रविधि कम्पनीहरूले बढी राख्छन् । अबको सभ्यताका यथार्थ शासक यस्ता कम्पनी नै हुन्, सरकारहरू होइनन् ।

प्रकाशित : असार २३, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?