कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एउटा हतारको प्रस्थान

श्रद्धाञ्जली
आफूले रोजेको कामको प्रकृतिकै कारण पत्रकारिताभन्दा बाहिर यादव थपलियालाई चिन्ने धेरै थोरै मान्छे होलान् । तर पत्रकारिता क्षेत्रमा भने आफ्नो कामका लागि उनी अब्बल मानिएका ‘अक्षरजीवी’ मध्येमा पर्थे ।
स्वरूप आचार्य

काठमाडौँ — समाजमा व्यावसायिक भनेर स्थापित धेरै पेसामध्ये पत्रकारिता वास्तवमा निकै कठोर पेसा हो । भावनालाई तर्कले जित्दै अगाडि बढ्नुपर्ने यो पेसामा मृत्यु केवल एक आकस्मिकता मात्र बनिदिन्छ । केही दिन अघिसम्म सँगै कुम जोडेर काम गरिरहेका सहकर्मीको निधन हुँदा हामी केही छिन स्तब्ध हुन्छौं र अलिबेर पछि आफूलाई सम्हाल्दै कुन पृष्ठमा कत्रो समाचार दिने भनेर घोत्लिन थाल्छौं । हामीलाई शोक मनाउनेसम्म पनि फुर्सद मिल्दैन ।

एउटा हतारको प्रस्थान

हामीले गत शुक्रबार हाम्रो समाचारकक्षको एक हँसिला र मृदुभाषी सहकर्मी गुमायौं । समाचार सम्पादनका क्षेत्रमा अब्बल मानिएका पत्रकार तथा साहित्यकार यादव थपलियाको गत शुक्रबार ३९ वर्षको अल्पायुमा निधन भयो । शनिबारसम्म ‘कान्तिपुर’ दैनिकको समाचारकक्षमा आई अरू दिनजस्तै काम गरिरहेका उनलाई केही दिनको सामान्य ठानिएको ‘असामान्य’ ज्वरोले हामीबाट सदाका लागि छुटाएर लग्यो ।

देशको राजधानीमा ५ दिनको ज्वरोले कसैको मृत्यु हुनु आफैंमा अपत्यारिलो कुरा हो । त्यसमा पनि आफ्नै सहकर्मी बितेको खबर यति सहजै ग्रहण गर्न मुस्किल नै पर्दोरहेछ । कान्तिपुर र अन्य समाचारकक्षमा पनि उनीसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा काम गर्ने हामी सबैलाई त्यही महसुस भइरहेको छ ।

वर्षौं पत्रकारितामा रहेर पनि सधैं गुमनाम रहने काम रोजे थपलियाले । उनले रोजेको कामको प्रकृतिकै कारण पत्रकारिताभन्दा बाहिर उनलाई चिन्ने धेरैथोरै मान्छे होलान् । तर पत्रकारिता क्षेत्रमा भने आफ्नो कामका लागि उनी अब्बल मानिएका ‘अक्षरजीवी’ मध्येमा पर्थे । उनको समाचार सम्पादन गर्ने कौशल, शब्द चयन, विषयको गाम्भीर्यलाई बुझ्ने क्षमता र शीर्षक छनोट गर्ने खुबीले उनलाई समाचारकक्षको प्रियपात्र बनाएको थियो ।

‘नागरिक दैनिक’ मा प्रधान सम्पादक रहँदा यादवसँग काम गरेका प्रधान सम्पादकद्वय किशोर नेपाल र प्रतीक प्रधानका नजरमा उनी मिहेनती र जिम्मेवार पात्र थिए । किशोर नेपालले यादवको काम गर्ने क्षमताको सम्झना गर्दै भने, ‘उनी निकै छिटो र जिम्मेवारीपूर्वक समाचार सम्पादन गर्न सक्ने व्यक्ति थिए ।’ नेपालका अनुसार कुनै पनि समाचारको पक्ष वा विपक्षमा नरही निरपेक्ष रहेर समाचार सम्पादन गर्ने गुणका कारण उनी सम्पादकका प्रिय पात्र हुन्थे । यस्तै प्रतीक प्रधानका अनुसार उनमा भाषाका ज्ञान भएकाले निकै आत्मविश्वास थियो । ‘उनी निरन्तर लामो समय समाचार सम्पादनको काम गर्न सक्थे । समाचारलाई गुणात्मक रूपले राम्रो बनाउन सक्ने उनको क्षमताले ऊसँग काम गर्ने सबैलाई सहज महसुस हुन्थ्यो,’ उनले भने ।

थपलियासँग लामो समय एउटै प्रकाशन गृहमा काम गरेका हाल ‘सेतोपाटी’ का सम्पादक सुदीप श्रेष्ठका अनुसार उनी एक भरपर्दो समाचार सम्पादक थिए । ‘यादवजी दिनभर प्राय: सबै समाचारमा अपडेट भइरहनुहुन्थ्यो । त्यसैले उहाँसँग काम गर्दा कहिल्यै बेलुका कुन समाचारलाई मुख्य बनाउने भनेर टाउको दुख्दैन थियो,’ उनले भने, ‘उहाँ जति जिम्मेवारीपूर्वक समाचार सम्पादन गर्नुहुन्थ्यो, त्यति नै मिठो समाचारको शीर्षक पनि जुराउनुहुन्थ्यो । त्यसैले हामी नागरिकमा हुँदा उहाँलाई ‘शीर्षक शिरोमणि’ नै भन्थ्यौं ।’

शीर्षकका सन्दर्भमा उनीसँग काम गर्दाको मेरो अनुभव पनि त्यस्तै छ । एक पटक मैले नेपालमा रक्त क्यान्सरका कारण धेरै बालबालिकाले उपचार सम्भव भए पनि पैसा अभावका कारण ज्यान गुमाउने गरेको लामो फिचर लेखेको थिएँ । शनिबार छापिएको उक्त फिचर ‘नागरिक’ दैनिकको पहिलो पृष्ठ पुरै र दोस्रो तथा तेस्रोमा पनि ‘क्यारिओभर’ गर्नेगरी हाल्ने निर्णय भयो ।

त्यतिबेला नागरिकका सहायक सम्पादक रहेका सुदीप श्रेष्ठको सिफारिसलाई प्रतीक प्रधानले लालमोहर लगाएसँगै पहिलो पेजमा हाल्ने फिचरका लागि आठ कोलम सुहाउँदो शीर्षक जुराउन हम्मे–हम्मे परिरहेको थियो । उक्त समाचारको सम्पादन सुदीप श्रेष्ठले गरे पनि उनले शीर्षक भने जुराउन सकिरहेका थिएनन् । त्यसमाथि पनि मैले केही प्राविधिक कारणवश निकै ढिला गरी समाचार लेखेकोले समय घर्किसकेको थियो । त्यतिकैमा थपलियाले शीर्षक हाल्न बाँकी राखेर तयार पारेको पृष्ठमा शुद्धाशुद्धि हेर्दै भने– ‘फुल्न चाहन्छन्, यी कोपिला’ । मलाई शीर्षक मन नपर्ने कुरै थिएन, श्रेष्ठलाई पनि मनपर्‍यो । उक्त फिचर छापिनु केही दिनअघि पाकिस्तानको विद्यालयमा भएको विद्यार्थीहरूको नरसंहारको कहालीलाई समेत स्मरण गराउँदै पीडाबोध गराउने शीर्षकमा उक्त समाचार छापियो ।

यस्तै नेपाली भाषामा पकड भएकाले पनि उनले सम्पादन गर्ने समाचार राम्रो हुन्थ्यो भन्नेमा उनीसँग काम गरेका कुनै पनि सम्पादकको विमति छैन । ‘संवाददाताले कहिलेकाहीं अल्छी गरेर लेखेको समाचारलाई पनि उहाँ मिहेनत गरेर पठनीय बनाउनुहुन्थ्यो,’ श्रेष्ठले भने, ‘उहाँले बनाइदिएका समाचारले धेरै संवाददाताले वाहवाही पाउँथे । त्यसैमा उहाँ रमाउनुहुन्थ्यो ।’
‘उहाँसँग सधैं फोनमा कुरा गर्दाको उहाँले प्रयोग गर्ने वाक्य मलाई सधैं याद आउँछ– आराम छु, आरामको कामना गर्छु,’ श्रेष्ठले भने, ‘अहिले यी वाक्य मेरो कानमा गुञ्जिरहन्छ ।’
पत्रकारिता सँगसँगै उनको साहित्य यात्रा पनि जारी थियो । उनको ‘मृत्यु–चुम्बन’ नामक उपन्यास र ‘सम्मतिका छालभित्र’ समीक्षा कृति प्रकाशित छन् ।

गम्भीर विषयलाई पनि केही ठट्यौली पाराले भन्नसक्ने खुबी भएका उनको कलम कविता सिर्जनामा पनि चल्थ्यो । उनको ‘हाँडीगाउँले जात्रा’ कविता संग्रह प्रकाशित छ भने केही थान फुटकर कविताहरू विभिन्न पत्रपत्रिकामा पनि छापिएका छन् । यस्तै उनका ‘मृत्यु विम्ब’ कविता संग्रह, ‘एकरात जुनेलीमा’ कविता संग्रह, ‘परिस्थिति प्रहार गर्छे’ खण्डकाव्य, ‘आँसु नै जिन्दगी’ उपन्यास प्रकाशोन्मुख कृतिहरू हुन् । उनको नागार्जुन साहित्य प्रतिष्ठान, सिर्जना मझेरी तथा निर्झर वाङ्गमय प्रतिष्ठानसँग आबद्धता थियो ।

थपलियाले केही काम यस्तो पनि गरे, जसले सामाजिक क्रान्तिमा सानै भए पनि अविस्मरणीय छाप छोड्न पनि सफल भयो । उनले गंगा खतिवडासँग २०६२ साल वैशाख २१ गते आफ्नो उपन्यास ‘मृत्यु चुम्बन’को विमोचन समारोहमा बिहे गरेका थिए । जसको साक्षी स्वयं राष्ट्रकवि माधवप्रसाद घिमिरे थिए ।

फोटोग्राफीमा निकै रुचि भएका उनले फोटोग्राफीकै सिलसिलामा पत्रकारितामा प्रवेश गरेका हुन् । उनले साना–ठूला विभिन्न पत्रपत्रिकामा विभिन्न पदमा रहेर काम गरेका थिए । उनले दैनिक पत्रिकाहरूमा ‘खोजतलास’, ‘सन्ध्याकालीन’, ‘स्पेसटाइम’, ‘नयाँ पत्रिका’ र ‘नागरिक’ हुँदै ‘कान्तिपुर’सम्म काम गरे । यस्तै ‘नयाँ विकल्प’, ‘जनपुकार’ जस्ता साप्ताहिक पत्रिकामा पनि उनले सम्पादनको काम गरेका थिए ।

फोटोग्राफी गर्दै जाँदा पत्रकारिताको चस्का पसेका उनले सुरुमा केही समय रिपोर्टिङ, स्तम्भ लेखनजस्ता काम गरेर पर्दा पछाडिको काम गर्न सुरु गरेका हुन् ।

‘यादवजीहरू जस्तो भाषा सम्पादक भनेका कुनै पनि समाचारकक्षका ‘अनसिन हिरो’हरू हुन्,’ सेतोपाटीका सम्पादक श्रेष्ठले भने, ‘हामी कहिलेकाहीं कुनै संवाददाताले झुर लेखेर छोडेर गएको समाचार पढेर गुनासो गर्दा उहाँ भन्नुहुन्थ्यो– यस्तो लेख्छन् र त हाम्रो कामको महत्त्व छ, नत्र बेरोजगार भइहालिन्छ नि ।’

श्रेष्ठका अनुसार समाचार सम्पादन गर्दा कहिल्यै हतार नगर्ने उनले कतिपय बेला समाचार सम्पादन गरिसक्दासम्ममा पृष्ठ नै ‘फाइनल’ भइसकेको हुन्थ्यो र अन्तिममा उनले हेरेको समाचार रिप्लेस गरिन्थ्यो ।

जीवनमा कहिल्यै केही काम गर्न हतारो नगर्ने उनको इहलीला भने समाप्तिको पथ पहिल्याउन निकै हतार गर्‍यो । त्यही हतारोले गंगाले आफ्नो प्रेमिल सहयात्री गुमाइन् भने दुई नाबालक छोरीहरूले ममतामयी पिता । हामी साथीभाइले एक प्रिय र जिम्मेवार सहकर्मी अनि समाचारकक्षले रोचक र घोचक शीर्षक जुराउने भाषा सम्पादक गुमायौं ।

प्रकाशित : असार २३, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?