कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हामी दोषी छैनौं र ?

सन्देश पौड्याल

काठमाडौँ — नेपालको विकास किन भएन ? देश किन बर्सेनि घाटामा चलिरहेको छ ? हामी किन लामो समय संक्रमणमा गुज्रिरहेका छौं ? किन दुनियाँले प्रगतिको यात्रा गरिरहँदा हामी सपना सँगाल्दै छौं ? प्रश्न गम्भीर छन् ।

हामी दोषी छैनौं र ?

उत्तर चिया पसलदेखि चौतारीसम्म, विद्यालयदेखि रेस्टुराँसम्ममा पाइन्छ– नेताहरू भ्रष्ट भए, सरकार कमजोर भयो, कर्मचारी निकम्मा भए, वैदेशिक हस्तक्षेप बढी भयो आदि इत्यादि । पर्यायवाची शब्द जति नै प्रयोग गरे पनि सार यत्तिमै सीमित हुन्छ । कारण यत्तिमै सीमित हो त ?

हाम्रो अधोगतिका धेरै कारणमध्ये एउटा सधैं ओझेलमा पर्ने गर्छ, पारिन्छ वा त्यो कारण हो भनेर हामीले कहिल्यै महसुस नै गरेका छैनौं । कारण हामी ‘आम नेपाली जनता’ र हाम्रो ‘समाज’ । देश नेताले मात्र बनाउने हो भन्ने सोच्ने हो भने यो कारण मान्य नहुन सक्छ, नेता र जनताको सहकार्यले बन्ने हो भनेर मान्ने हो भने देशको यो अवस्थाका लागि हामी सबैले जिम्मेवारी लिनैपर्छ । अब पनि दोष अरूमाथि थोपरेर हामी पानीमाथिको ओभानो बनिरहने हो भने विकसित नेपाल एउटा रुमानी सपना रहिरहनेछ । देश विकासमा हामी व्यक्ति विशेष र हाम्रो समाजको भूमिकामा संवाद सुरु गर्न‘ यो आलेखको मुख्य उद्देश्य हो ।

यसरी हेरौं, देश त एउटा भूगोल जनाउने राजनीतिक शब्दावली हो । व्यक्ति, व्यक्ति हँ‘दै परिवार, परिवार हुँदै समाज र समाज हुँदै देश बन्ने हो । आफू जस्तो भए पनि देश बन्नुपर्‍यो भन्ने जुन तात्पर्यसहित हामी विश्लेषण गर्छौं, सायद त्यसैले हामीलाई सही विश्लेषण गर्नबाट रोकिरहेको छ । ‘म जस्तो छु, देश त्यस्तै हुन्छ’ यो कुरालाई आत्मसात् गरेर अघि बढ्नुको कुनै विकल्प छैन । म सुस्त हुँदा देश सुस्त र म प्रगतिशील हुँदा देश प्रगतिशील । आखिर देश चलाउने इन्जिन हामी जनता नै हो, हामी चले देश चल्छ, रोक्किए अल्मलिन्छ ।

एउटा पेचिलो प्रश्न– हामीले सोच्ने गरेको विकास पाउन, अहिलेको अवस्थामा हामी लायक छौं कि छैनौं ? निष्पक्ष भएर भन्नुपर्छ हामी, हाम्रो समाजको सोच, कार्य र संवाद हेर्दा हामी जतिका लागि लायक छौं, त्यत्ति नै पाएका छौं । सत्य तीतो हुन्छ । एकचोटि हाम्रो समाजलाई गहिराइमा बसेर मनन गरौं । हामी कस्तो भइरहेका छौं र कता गइरहेका छौं, विश्लेषण गरौं । हाम्रो समाजमा हुने संवादको एउटा घटनाले मेरो दिमागमा गहिरो छाप परेको छ ।

‘हाम्रो समाज आधारभूत रूपमै गलत छ,’ सहरको महँगो रेस्टुराँमा विदेशी हवीस्कीको चुस्कीसँगै अर्थतन्त्रका दुई ज्ञाता गफ गर्दै थिए । बढ्दो व्यापार घाटा, सुस्त प्रशासन, व्याप्त भ्रष्टाचारको कुरा गर्दागर्दै तीन पेग घाँटीमुनि गइसकेको थियो । हवीस्कीको असर र चौथो पेगसँगै उनीहरूको कुरा आआफूले चढ्ने गाडीतर्फ मोडियो । ‘अलि बढी तेल खान्छ तर सानो गाडी त के चढ्नु,’ आफ्नो महँगो गाडीको तारिफ गर्दै एकजना भन्दै थिए ।

‘ठिकै हो, त्यत्रो कम्पनीको हाकिम सानो गाडी चढ्दा त लाजै हुन्छ,’ अर्काले थपे । बिल आयो । एउटा नेतासँग ‘सेटिङ’ मिलेको र ठूलो काम हात पर्ने खुसियालीमा भएको उनीहरूको पार्टी सकियो । हामीबीच सामान्यत: हुने यो संवादलाई केहीबेर केलाऔँ । राम्रो शिक्षा र अवसर पाएका दुई व्यक्तिको संवाद हो यो । देश विकास भएन भन्ने चिन्ता त छ । किन भएन भन्ने पनि थोरबहुत थाहा छ । तर देश विकासमा आफ्नो दायित्व र जिम्मेवारीबोध गरेको देखिँदैन । महँगो गाडी आफ्नो सफलताको मापक हो भन्ने सोच्छन्, नेतासँगको सेटिङमा प्रफुल्लित हुन्छन्, आफ्नो गाडीले व्यापार घाटा बढाइरहेको र आफ्नो सेटिङले भ्रष्टाचार बढाइरहेको चटक्क बिर्सेर अनि फेरि नेता यस्तो, नेता उस्तो र नेताले प्रगति रोकेको भन्न पनि छुटाउँदैनन् ।

मानौं या नमानौं हामीले हाम्रो समाजलाई खोक्रो बनाइसकेका छौं । देखावटीपन र रवाफले हामीलाई सम्पूर्ण रूपमा गाँजिसकेको छ । परिश्रमको कम, पैसाको कदर गर्ने भएका छौं । गुदी जस्तोसुकै होस् रंगीन बोक्रा देखेर लालायित हुने गरेका छौं । सायद समाजको त्यही नियमले होला, गाउँमा दु:खजिलो गरे हुने प्रचुर अवसर छाडेर मोबाइल, घर र ‘सामाजिक प्रतिष्ठा’का लागि आफ्नो ज्यानको बाजी राखेर कतार, दुबई, मलेसिया हान्निएका छौं ।

साधारण जीवन जिउनुपरेकाले, समाजले असफल घोषित गर्ने डरले अमेरिका, अस्ट्रेलिया ट्राइ गर्दै छौं । सकीनसकी दु:ख गरी कमाएको रकम समाजलाई देखाउन बिहे, पास्नी, ब्रतबन्धमा फजुल खर्च गर्छौं । आफ्नो स्रोतले धान्न नसक्ने महँगो मोबाइल बोक्छौं, महँगो साधन किन्छौं, महँगो लुगा किन्छौं । किन ? आजकल समाजले परिभाषित गरेको प्रतिष्ठा हो यो ।हामी व्यापार घाटाको कुरा गर्छौं । तर माथिको उदाहरणबाट पुष्टि हुन्छ– आखिरमा व्यापार घाटामा समाजले मानेको प्रतिष्ठाको ठूलो हात हुने रै’छ ।

उद्यम सुरु गर्ने जोस, जाँगर र उपाय भएका युवा समाजले निर्देशित गरेका कारण बाहिर जान्छन्, पैसा पठाउँछन् अनि फेरि त्यो पैसा समाजलाई देखाउने क्रममा बाहिर जान्छ । आश्चर्य लाग्दैन नेपालीको बचत संसारभरिमै पुछारमा पर्छ ? अब व्यापार घाटाका लागि नेतालाई मात्र दोष दिइरहन मिल्छ ?

राजनीतिकै कुरा गरौं– देशले जनताअनुसारकै नेता पाउँछ भन्ने अंग्रेजीमा उखान नै छ । त्यसै पनि नेताहरू हामीमध्येबाटै आउने न हुन् । हाम्रै समाजमै हुर्की, सिकी आएका न हुन् । फेरि चुनेर पठाउने पनि हामी नै हौं । नेतालाई जति नै गाली गरे पनि सकेसम्म घरको श्राद्धमा बोलाउन पाए इज्जत बढ्छ भन्ने हामी सोच्छौं । सानादेखि ठूला कार्यक्रममा जरुरी नभए पनि नेता बोलाउन हरहम्मे प्रयास गर्छौं । काम बनाउन, सरुवा, बढुवा गराउन नेताकैमा धाउँछौं ।

पद ग्रहण गर्न नपाई फूलमाला र खादाले पुर्न मरिहत्ते गर्छौं । अनि हामी नै हौं– चिया पसलमा नेताले देश बिगारे भनेर निर्लज्ज भएर भन्ने । एकचोटि गम्भीरतापूर्वक सोचौं– के नेतालाई दोष दिने नैतिकता हामीले बाँकी राखेका छौं ? अखिरमा त समाजले पैसालाई मान्ने भएकाले नै नेता भ्रष्टाचारी हुने हुन्, हामीले शक्तिलाई पुज्ने भएकाले नै नेताहरू शक्तिको पछाडि लाग्ने हुन् ।

एकचोटि काल्पनिक नै भए पनि एउटा समाजको परिकल्पना गरौं । यस्तो समाज जहाँ भ्रष्टाचार गर्ने तिरस्कृत हुन्छन्, जहाँ नियम–कानुन नमान्ने घृणित हुन्छन्, जहाँ फजुल खर्च गर्नेलाई असामाजिक मानिन्छ, जहाँ संवादहरू विकास र प्रगतिका लागि हुन्छन्, जहाँ सबै मेहनती हुन्छन्, जहाँ परिश्रमको कदर हुन्छ । के यस्तो कुरा कल्पनामा मात्र सीमित हुने हुन् त ? हामी सबैको सोच, संवाद र कार्य अर्ज‘नदृष्टिजस्तै विकास केन्द्रित हुने हो भने यो असम्भव छैन । तर यसका लागि तपाईंं, म र हामी सबै परिवर्तन हुन जरुरी छ ।

हामी जग (जनता) बलियो भयौं भने हाम्रो घर बलियो हुने कुरामा शंका छैन । यो परिवर्तन, विकासका कुरा बढी सैद्धान्तिक लाग्छन्, शब्दजालमा घुमिरहने । मैले मात्र गरेर हुन्छ र यहाँ यस्तै छ समाजले के भन्छ ? मेरो प्रश्न– समाज भनेको आखिर के हो त ?

उदाहरणका लागि तपाईंं युवा हुनुहुन्छ भने जे काम गर्न‘हुन्छ पूर्ण इमानदारी र लगनशील भएर गर्न‘होस् । अध्ययन गर्ने बानी बसाल्नुहोस् । साथीभाइमाझ सम्भावना र प्रगतिका कुरा गर्न‘होस् । बचत गर्ने बानी बसाल्नुहोस् । दूरदर्शी बनी उद्यम वा अन्य कतै लगानी गर्न‘होस् । स्वास्थ्यमा ध्यान दिनुहोस् । भडकिलोपनविरुद्ध उठ्न साथीभाइ र घरपरिवारलाई उत्प्रेरित गर्न‘होस् । समयको ख्याल गर्न‘होस् । अझ धेरै काम छन्, जुन तपाईंंं पसिना नबगाई गर्न सक्नुहुन्छ । आफू परिवर्तन हँ‘दा तपाईंंले अरूको परिवर्तनको नेतृत्व स्वत: गर्न‘हुन्छ ।

तपाईंंं विदेशमा हुनुहुन्छ भने पनि त्यहींबाट यहाँको परिवर्तनको हिस्सेदार बन्न सक्नुहुन्छ । जे काम गर्दै हुनुहुन्छ, त्यो सीप मज्जाले सिक्नुहोस् । काम कसरी गर्न‘पर्दो रहेछ, व्यवस्थापन सिक्नुहोस् । आफूले पठाएको पैसा फजुल खर्च नहोस् भनी हेक्का राख्नुहोस् । पैसा बचत गर्न‘होस् अनि उपयुक्त समयपछि त्यो सञ्चित पैसा र ज्ञानका आधारमा नेपालमै उद्यम गर्न‘होस् ।

तपाईंं हामी परिवर्तन हुने हो भने हाम्रो परिवार परिवर्तन हुन्छ, परिवारसँगै समाज परिवर्तन हुन्छ र सामजसँगै देश । नेतृत्व नेताले मात्र गर्ने होइन, परिवर्तनको असली नेतृत्व तपाईंं हामीबाटै सुरु हुने हो ।केही समय लाग्छ । गाह्रो अवश्य हुन्छ । समाजमा रहिरहेका कुरा प्रतिरोध बनी उभिनेछन् । हिजोसम्म गलत भए पनि मान्दै आएको कुरा छाड्न सक्नुपर्छ । गलत कुरालाई प्रोत्साहन हुन्छ भने परिवार र समाजविरुद्ध अवाज उठाउन सक्नुपर्छ, आउने प्रेसर थेग्न सक्नुपर्छ । भीडभन्दा फरक देखिन खोज्दा ‘असफल’ को बिल्ला लाग्छ ।

त्यो पनि पचाउन सक्नुपर्छ । परिवर्तन र विकास संयोगले हुँदैन । सबैको सहकार्य, मेहनत, लगनशीलता, दूरदर्शिता र अथक प्रयासबाट मात्र यो सम्भव हुने हो । हामी राज्यसत्तामा प्रत्यक्ष नभए पनि महत्त्वपूर्ण हिस्सेदार हौं । बागडोर हामीसँगै छ ।


प्रकाशित : असार २४, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?