२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

लण्डनमा मैले देखेको विरोध प्रदर्शन 

गणेश राई

काठमाडौँ — नेपाल सरकारले यही २०७५ साउन १ गतेबाट लागू हुने गरी ‘विरोध प्रदर्श स्थल’ तोकेपछि नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारले विभिन्न स्थानमा लगाएको निषेधाज्ञाको अवज्ञा गर्ने निर्णय गरेपछि बहसमा झनै नयाँ डिस्कोर्स जन्मिएको छ ।

लण्डनमा मैले देखेको विरोध प्रदर्शन 

‘अविलम्ब निषेधित क्षेत्रको घोषणाको निर्णय फिर्ता नलिए जनताका तर्फबाट कांग्रेसले विषेधाज्ञाको अवज्ञा गर्छ,’ प्रजातन्त्र प्राप्तिको सबैभन्दा धेरै संघर्ष गरेको कांग्रेसको निर्णयमा छ, ‘संसदमा उठ्ने प्रश्नमा प्रधानमन्त्रीले हलुका जवाफ दिने, सडकमा गर्ने प्रदर्शनमा निषेधाज्ञा लगाउने, प्रेस जगतमा क्रमश: हस्तक्षेप बढाउने तथा अनुशनमा धरपकड गर्ने शृंखलाले सरकारको लोकतान्त्रिक मूल्यप्रतिको विश्वासमा प्रश्न खडा गरेको छ ।’ उक्त पार्टीको यो निर्णयसँगै राजधानी काठमाडौंको माइतीघर मण्डलामा नेपाल विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्दा असार २० गते दिनभरि जसो यो क्षेत्र तनावग्रस्त रह्यो । सडक अवरुद्ध हुँदा यात्रुले सास्ती झेल्नु पर्‍यो ।


सरकारका निर्णय, प्रतिपक्षको निर्णय र उसको भ्रातृ संगठनले गरेको प्रदर्शनपछि देखेका, अनुभव गरेका केही घटनाबारे भन्न मन लाग्यो । गत सेप्टेम्बर ३ तारिख (२०१७) बेलायतको शताब्दी औं पुरानो सहर लण्डनको लण्डन आई, लण्डन ब्रिजलगायत ऐतिहासिक सहरमा घुम्दै थियौं, आफन्त परिवारजनसँग । लण्डनको रेलयात्रा साँच्चै अजबगजबको थियो । सतहमाथि एउटा तर सतहमुनि (अण्डर ग्राउण्ड) ११ लाईन रेलमार्ग चलेको सुन्दा आश्चर्य लागेको थियो । हरेक दुई–दुई मिनेटमा आइपुग्ने अन्डरग्राण्ड रेलमा दैनिक करिब ५० लाख मान्छेले ओहरदोहर गर्छन् । ओभर ग्राउण्डमा त्यत्तिकै छन् । सन् १९४०/४१ दोस्रो विश्व युद्धमा लण्डनमा बमबारी भएको थियो । त्यतिखेर जनजीवन त्यो अन्डर ग्राउण्डभित्र छिरेर बचेका थिए भन्ने छ ।


सहतमा थेम्स नदी बगिरहेकी छन् । आँखाको पवित्र सबैतिर छ । ब्रिटिस आर्मीका पूर्वसैनिक कर्णबहादुर राई, उहाँकी श्रीमती दिलकुमारी राई र उहाँका भतिज ब्रिटिस सैनिक पाण्डव राई मुख्य सारथी हुनुहुन्थ्यो । यद्यपि बाटो पहिल्याउने कामचाहिं कर्णबहादुरकी पुत्री योजना राईले गरेकी थिइन्, जो नेपालमा विद्यालय तह र बेलायतमा विश्वविद्यालय शिक्षा हासिल गरेर लण्डनमै सरकारी जागिरे छिन् । हामी पैदल यात्रामा थियौं । थेम्स नदीको पुल तरेपछि पारि तर्‍यौं अति अण्डर ग्राउण्ड रेलमार्ग पहिल्याएर बकिङघम प्यालेसतर्फ अघि बढ्दै थियौं । प्यालेस अझै निक्कै परै थियो । एकपछि अर्को गर्दै आँखा तान्ने मानव निर्मित मोनुमेन्टस्बारे चर्चा हुँदै थियो । ठ्याक्कै विरोध प्रदर्शस्थलमा पुगेछौं । त्यो ट्राफलगर स्क्वायर रहेछ ।


‘यही हो है, यहाँको राजनीतिक विरोध प्रदर्शन गर्ने ठाउँ,’ कर्णबहादुर राईले भने, ‘नेपालमा जस्तो होइन । यहाँ विरोध प्रदर्शन, र्‍याली जुलुस प्रदर्शन गर्ने, भाषण गर्ने निश्चित ठाउँ तोकिएको हुन्छ । आज यहाँ विरोध प्रदर्शन भइरहेको रहेछ ।’ मैले चासो लिएर चहारें । उहाँहरू एक ठाउँ बसेर मलाई पर्खिनु भयो । ‘इरान रेजिम वर्ल्ड रेकर्ड अफ एक्सक्युसन’, ‘स्टप एक्सक्युसन इन इरान’ जस्ता शब्द उर्दू र रोमनमा लेखिएका पहेँलो प्लेकार्ड बोकेर पहेँलै ज्याकेटधारी प्रदर्शनकारीहरूको जुलुस वरिपरि घुम्दै थियो । जुलुसमा लौरो टेक्दैका बुढाबुढी, अधबैसे, तन्नेरी, किशोर–किशोरीसमेत देखिन्थे । मध्य भागमा औपचारिक कार्यक्रम स्टेज बनाइएको थियो । स्टेजको दायाँ–बायाँ देशीय झण्डाहरू गाडिएका थिए भने बायाँतर्फ (सायद सहिदहरू हुनुपर्छ) तस्बिरहरु टाँगिएका थिए । मेरो ध्यान उनीहरूको जुलुस प्रदर्शनको उद्देश्यबारे जान्नु थिएन । मात्रै जान्नु बुझ्नु थियो, तोकिएको स्थलमा के, कसरी, कस्तो प्रदर्शन हुँदा/गरिंदा रहेछन् । विरोध प्रदर्शन बेलायत सरकारविरुद्ध नभई इरानीयनले आफ्नो देशको इरान सरकारविरुद्ध रहेछ भन्ने बुझियो । त्यहाँ मिडियाको उपस्थिति पनि बाक्लै देखिन्थ्यो ।


युगिन सहरको मध्ये भाग साँच्चै सफा थियो । त्यहाँ सवारी साधन गुडाउन बर्जित थियो, जस्तै लाग्यो । दि नेसनल ग्यालरीसँगै ढुंगा बिछ्याइएका चिल्ला मैदानमा अस्थायी स्टेजमा दुई वटा साउण्ड बक्स थिए । अलिक बायाँतर्फ सायद विरोध स्वरुप कालो साइनबोर्ड टाँगिएको थियो । सायद इरानको त्यो नरसंहारको घटनालाई झल्काउन सडकमै वरिपरि बार बारेर मृत्यु दण्डका निम्ति पासो झुण्डाइएका थिए भने कालो भूइँमा रातो कपडाले बेरिएका मान्छेहरू लडिरहेका थिए । उता स्टेजमा सबैको ध्यानाकर्षण गराउन एकजना तन्नेरी गायक उक्लिए अनि गाए मुक्तिको गान, त्यो गान सायद इरानी भाषामा हुनुपर्छ । अनि सात जना जति वक्ताहरू उभ्याए । त्यसपछि आलोपालो दुई–दुई मिनेटको भाषण गर्न दिए । भाषण भइरहँदा माथि आकाशमा हेलिकोप्टर चर्को आवाज दिंदै घुमिरहेको थियो । सरकारको निकायले त्यो विरोध प्रदर्शनलाई लिएर निगरानी गरेको रहेछ । त्यसपछि सकियो विरोध प्रदर्शन । सबै आ–आफ्नो बाटो लागे ।


अब नेपालतिरै फर्कौं । संघीय सरकारले काठमाडौं जिल्लाको खुलामञ्च, कोटेश्वरको तीनकुने खुलाचौर, भगवानपाउको भूइँखेल चौर, पेप्सिकोला खेल मैदान, सानो गौरचन फुटबल मैदान, लैनचौरको समाज कल्याण परिषद् अघिको खुला स्थान र गौशालाको सिफल चौरलाई विरोध प्रदर्शन स्थल तोकेको छ । त्यसैगरी भक्तपुर जिल्लाको सल्लाघारीस्थित नेपाल ट्रस्टको ९९ सय रोपनी जग्गा तोकेको छ । र ललितपुरको च्यासल खेल मैदान, बज्रबाराही मन्दिर अगाडिको खुला ठाउँ, गोदावरी बसपार्कको छेउ, भैसेपाटी च्यासिकोटको खुला स्थान, लुभु ससमुच लामाटार र धोबिघाट मुहान पोखरीको छेउर्लाइ प्रदर्शन स्थल तोकेको छ । शान्ति, सुरक्षा कायम गर्न प्रदर्शन निश्चित स्थल तोकिएको र हिंडडुल गर्न समस्या नपर्ने ठाउँ भनेर सरकारले किटान गरेको छ । अब ७७ वटै जिल्लामा त्यस्ता प्रदर्शन स्थल तोकिदैछ । सायद त्यो घोषणा प्रदेश सरकारले गर्ला ।


हामी नेपालीले २००७ साल अघिदेखि नै विरोध प्रदर्शनको अनेक शैली अपनाउँदै आएका छौं । हाम्रा पूर्वजहरूले धेरै जेल, नेल भोगे । राजद्रोहको यातना खेपे । सर्वस्वहरण भोगे । आप्रवासमा जिन्दगी गुजारे । त्यतिमात्र होइन, देश र नागरिकको मुक्ति तथा स्वतन्त्रताका निम्ति ज्यानको आहुति दिए । फलत: १०४ वर्षको जहानियाँ राणाशासनको अन्त्य भयो । प्रजातन्त्र प्राप्ति भयो । तर फेरि खोसियो, २०१७ पुस १ गते । त्यसपछि ३० वर्षे पंचायती काल गुजिय्रो । पंचायतविरुद्ध अनेकन काण्डहरु भए । टिम्बुरबोटे काण्ड, छिन्ताङको सहिद काण्ड, झापा बिद्रोह, सुखानी काण्ड, झोडा काण्ड, इभाङ काण्ड लगायत धेरै धेरै काण्डहरू भए, घटे, घटाइए । राजनीतिक चेतना भएका धेरै योद्धाहरूले सहादत पाए । कति बेपत्ता पारिए । २०४६ सालमा आन्दोलन भयो । प्रजातन्त्र आयो । तर, अपूरो भयो । दश वर्षे जनयुद्ध भयो । झण्डै सत्रहजार जनाले ज्यान गुमाए । दरबार हत्याकाण्ड घट्यो । २०६२/६३ को जनआन्दोलन भयो । अन्तत: लोकतान्त्रिक गणतन्त्र आयो । दुई पटक संविधासभाको चुनाव भयो । बल्लतल्ला २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान पाउन सफल भयौं । संविधान कार्यान्वयनको चरणमा २०७४ ‘निर्वाचन वर्ष’ सावित भयो । स्थानीय, प्रदेश र संघ बनेको छ । पाँच वर्षे स्थायी सरकार पाएका छौं । जनअनुमोदित स्थायी सरकारले देश नेपाललाई ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारालाई अघि सारेको छ ।


धेरै बिरोधमा उत्रियौं, अब चाहिं काम गरौं भन्ने सबैलाई लागेकै छ । आधा करोडभन्दा बढी युवाहरू खाडी मुलुक, मलेसियालगायतमा वैदेशिक रोजगारीमा छन् । उनीहरूलाई पनि मातृभूमिमै आएर पसिना बगाउने अवसर सिर्जना गर्नु पर्छ नै हो सबैको । कहिलेसम्म हामीहरू विरोधमै रमाउने ? जहाँ पायो त्यहीं । जसले पायो उसले । जे मन लाग्यो त्यही बोल्ने र त्यही गर्ने ? हामीले देखिसकेका छौं, बादी महिलाले नांगै जुलुस प्रदर्शन गर्दै सिंहदरबारको ढोकामाथि उक्लिएका । त्यो भन्दा अति के होला र ? आखिर देश हामी सबैको साझा हो । कथनी र करनीमा सही हुनुपर्छ । अधिनायकत्व ग्रहण गर्ने कसैलाई छुट छैन । देश बनाउँछु भन्ने प्रजातन्त्रको ठेक्केदार पार्टीले पौने शताब्दीसम्म झेलमेलमै समय गुजार्‍यो । आज कम्युनिस्ट पार्टी आएको बेला फेरि पनि उही गति पक्रिने हो भने हाम्रो युग त्यसै खेर जानेछ । अहिले विरोध प्रदर्शनमा प्रतिबन्ध नभई क्षेत्रमात्र तोकिएको हो, विकसित मुलुक बेलायतमा जस्तै । यो विरोध प्रदर्शन क्षेत्र पाँच वर्षको निम्ति सान्दर्भिक ठानिनु उचित हुनेछ । त्यसपछि आगे नागरिकको पालो आइहाल्छ । गति र मति सुधार्ने जिम्मेवारी राजनीति पार्टी, तिनका कार्यकर्तादेखि सर्वसाधारण सबैको हो ।


बेलायत सरकारले व्यवस्था गरेको विरोध प्रदर्शन क्षेत्र लण्डनको ट्राफलगर स्क्वायरमा प्रदर्शन गर्दै इरानी । तस्बिर : गणेश राई/कान्तिपुर ।

[email protected]


प्रकाशित : असार २५, २०७५ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?