'खलनायक' लाई नायक बनायो ' सञ्जु' ले

दिवाकर बागचन्द

न्युयोर्क, अमेरिका — हामी सबै भित्र नायक र खलनायक दुवै हुन्छ । कतिपय निष्ठावान, सत्‌चरित्रका व्यक्ति पनि समयको दिशा नबुझ्दा खलनायक बनाइएका छन भने, कोही परिबन्दले खलनायक देखिन्छन् । कोइ चरित्रले नै खलनायक हुन्छन्। नब्बेको दशकमा खलनायक भन्ने चलचित्र बनेको थियो।

'नायक नहीं खलनायक हुँ मैं' भन्ने गीत रेडियोमा यसरी बज्यो कि, एक जना अत्यन्त सालीन व्यक्ति बाटोमा 'नायक नही खल नायक हुँ मै' भन्दै गुनगुनाइ रहेको सुन्दा मलाई खलनायक शब्द मिठो लागेको थियो। त्यतिखेर सञ्जय दत्त आफ्नो करियरको चरम उत्कर्षमा पुगेका थिए। यही उत्कर्षबाट उनको व्यवसायिक र व्यक्तिगत जीवनमा ओरालो लाग्ने क्रम सुरु भो।

Yamaha

बुवा सुनिल दत्त छोरासँग खुशी थिएनन् तर पिताको धर्म निभाइ रहे। जादु भनौं या सञ्जय दत्तको चरित्र, उतारचडावले उनलाई उचाइ दियो। उनी पतन् भएनन्। उनी टुक्रिएको जीवन समेट्न ब्याकुल देखिन्थे। सञ्जयले पनि बुवालाई सम्मान गरी रहे। सञ्जय दत्तको उतारचडावपूर्ण जीवनबारेमा तरुन तेजपालको तहेल्काडटकममा महेश भट्ले भनेका थिए- 'इज अ स्टफ अफ फिक्सन '। यही भनाइलाई बुझेर होला राज्कुमार हिरानीले 'सञ्जु' चलचित्र निर्माण गरे, यथार्थलाई फिक्सनमा बदलेर।

यही हप्ता मैले सञ्जु न्यूयोर्कमा हेरेँ। खलनायक जोशी टल्किज धनगढीमा हेरेको थिए। सञ्जुमा मैले आफूलाई भेट्टाए। सञ्जुका बारेमा म नलेखी रहन सकिनँ। सिनेमा हेर्दा त्यही पात्रसँगै यात्रा गरेको अनुभव हुन्छ भने त्यस्तो सिनेमा कालजयी हुन्छ। राम्रो सिनेमा किताब झैं हुन्छ। कविता झैं बग्छ। दर्शकलाई अध्यन गर्ने पूर्ण स्वतन्त्रता दिन्छ। उत्कृष्ट सिनेमा पेन्टिङ झैं हुन्छ। अतितलाई जिवित बनाइदिन्छ। यस अर्थमा हिरानी उत्कृष्ट सिनेमा बनाउन सफल भएका छन्।

फिल्ममा देखाइएको छ- बायोग्राफी लेख्ने डिएन त्रिपाठीलाई कुट्न जाने सञ्जय दत्तको बायोग्राफी लेख्न लण्डन कि लेखिका वीनीए दिअज राजी हुन्छिन्। सञ्जय दत्तको जीवनका दृष्टान्त सुन्छिन्, र सुरु हुन्छ फ्ल्यासब्याकमा सञ्जय दत्तको जीवन कथा। कलिलो उमेरमा आमा गुमाउनुको पीडाले अन्य भौतिक सुख सुविधा अर्थहीन हुन्छ सञ्जय दत्तका लागि। उनी बरालिन्छन्। आफ्नो पहिलो फिलिम रिलिज भएको दिन आमाको मृत्‍यु, बुवा सुनिल दत्तसँगको बिग्रँदो सम्बन्धले न हिँड्नु पर्ने बाटोमा हिँड्छन् सञ्जय। खाने नहुने कुरा खान्छन्। गर्नु नहुने कुरा गर्छन्, जानेर वा नजानेर। जीवन चक्रव्युह बन्न पुग्छ। बुवासँग चिसो सम्बन्ध हुँदाहुँदै उनको सुरक्षाको लागि सञ्जय दत्तले उठाएको कदम जिसले उनलाई १९९३ मा जेल पुर्‍यायो, यस्ले उनको अपरिपक्वता र परिवारप्रर्तिको अगाध माया त झल्कन्छ तर साथमा उनको अराजक जीवनशैली पनि। २००३ मा मुन्ना भाई एमबिबिएसको अभूतपूर्व सफलता पछि संयुक्त राष्ट्रसंघमा उनलाई बोल्न दिइन्न। उनका वकिलले सबै दोष कबुल गरेर सफाइ दिलाउन पहल गर्ने बताउँदा, आफूलाई सफाइ भन्दा, आफ्नो बुवा टेरोरिस्टको बुवा नकहलिउन भन्ने, सञ्जयको भनाइले जसको आँखामा पनि आशुँ ल्याउँछ। बुवा र छोराको सम्बन्धलाई कुनै परिभाषा चाहिन्न, सञ्जयले दुनियाँलाई बताइदिए।

२००६ मा बुवाको मृत्‍यु पछि सञ्जय दत्त लाई अदालतले दोषी घोषणा गर्‍यो। उनी पुनः जेल गए। असल आचरणका कारण उनी २०१६ मा जेल मुक्त हुन्छन्। अन्तमा सञ्जयले थाहा पाउँछन् विन्निए दैयजद्वारा लिखित उनको बायोग्राफीले पूर्णता पाएछ।

रणवीर कपुरले सञ्जय दत्तको जीवनका घटनाक्रमलाई जुन जीवन्तताका साथ पर्दामा उतारी दिए। यसले उनको अभिनय क्षमताको उचाइ झल्काउँछ। मनिषा कोइराला सानै भूमिकामा पनि 'नर्गिस' लाई पुनर्जीवित गर्न सफल भएकी छिन्।

सञ्जय दत्तका एनेक्डट अर्थात दृष्टान्तमा आधारित भएर होला फिलिम शक्तिशाली बनेको छ। एउटा दृष्टान्त हजारौं अटो बायोग्राफी भन्दा शक्तिशाली हुन्छ भन्ने भनाइलाई राजुकुमार हिरानीले सही साबित गरिदिएका छन्।

सफा मनको सञ्जय दत्तलाई समयले खलनायक बनायो। सुवास घइको 'खलनायक' बाट 'सञ्जु' बन्न सञ्जय दत्तलाई दुई दशक बढी लाग्यो। शायद राजकुमार हिरानीको 'सञ्जु' ले सञ्जय दत्तको मनको गहिराइमा रहेको पीडा अब केही हल्का गराएको हुनुपर्छ।

तर 'सञ्जु' मा म जस्ता थुप्रैले भने आफूलाई भेटेका छन्।

Esewa Pasal

प्रकाशित : असार २५, २०७५ १४:५४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

धरहरा ढलेको छैन–२

दिवाकर बागचन्द

अमेरिका — फल्सिङ्ग कलेज प्वाइन्ट २३ एभिन्यु, ७-११ स्टोरमा म सदा झै काम गर्दै थिएँ । मेरा साहु यु जङ्ग सिक आएर मेरो पिठ्यु थम्थमाउँदै भने "हेप्पी अर्थक्वेक ।" म असामन्जस्यमा परें कहिं नेपालमा फेरी भूकम्प त गएन !

हलिउडमा चलचित्रका सिक्वेल बन्ने क्रम धेरै पहिला शुरु भएको हो। भारतमा सिक्वेल बनाइने लहरै चलेको छ। यसैलाई पछ्याउदै नेपालमा पनि छक्का पन्जा २, नाइँ न भन्नु ल २, इत्यादि फिल्म बनेका छन् बन्ने क्रम जारि छ। सिक्वेल किन बन्छ मलाई थाहा छैन। न त म दिग्दर्शक हुँ, न निर्माता। तर पनि थाहा छ, यी बन्छन् र मान्छेले हेर्छन्। मन पराउँछन, पराउदैनन, त्यो हेर्नेको कुरा भयो। नेपालमा महाभूकम्प गएको दिन मैले एउटा छोटो लेख लेखेको थिएँ, 'धरहरा ढलेको छैन' भनेर। आज एप्रिल २५ महाभूकम्प गएका ३ बर्ष बितिसक्दा मनमा थुप्रै पराकम्पन गई रहेका छन्। मनमा नैराश्यता, आँखामा आँशु र दिमागमा द्वन्द्व थियो। त्यसैले फेरी लेख्न मन लाग्यो, 'धरहरा ढलेको छैन – २।'
.......

२०७२ बैशाख १२ गते म कामबाट फर्किरहेको थिएँ। एक्कासी नेपालमा भूकम्प गएको मेसेज मेरो मोबाइलमा आयो। दिन भरिको थकानले होला मैले यस खबरलाई सामान्य रूपमा लिएँ। केहि बेरपछि फेरी अर्को मेसेज आयो, "धरहरा ढल्यो, सयौं भन्दा बढीको मृत्यु भयो।"

आँखा अगाडी धरहरा ढल्दाका दृश्यहरु सृजना हुँदै गए। नेपालमा पत्रकारिता गरिरहँदा म त्यहाँ नपुगेको कुनै दिन हुन्नथ्यो। मैले कैयौं स्ट्यान्ड अप शट त्यहीबाट दिएको थिएँ। धरहरालाई देखेर इतिहासको गर्भमा पुगेको भान हुन्थ्यो। नेपाली समाजको विषमता, अन्याय र अभावका बीच धरहराले मलाई सधै शीर ठाडो गरेर बाँच्ने प्रेरणा दिईरह्यो। धरहरा ढलेको खबरले आफु पनि ढले झैँ लाग्यो। एउटा रिक्तताले मलाई छोप्यो।

नेपालमा रहेको आफन्तहरुको बारेमा बुझिसकेपछि पनि मन शान्त हुन सकेन। मन बेचैन थियो। एकपछि अर्को गरेर विभत्स दृश्य र खबरहरु आउनथाले। अनलाइनमा खबरहरु हेर्दै गएँ। काठमाडौंलगायत १३ जिल्ला चपेटामा परिसकेका थिए। मलाई कोहि आफन्तलाई भेट्न पाए हुन्थ्यो भन्ने प्रबल इच्छा लागिरहेको थियो।

यसरी पहिलो दिन बित्यो। दोस्रो दिन बित्यो। समय आफ्नो स्वभाव अनुरुप बित्दै गयो। न्यु योर्कमा रहेका नेपालीहरु, संघसंस्था र व्यक्तिहरु भूकम्प पीडितहरुको राहतका लागि सहयोग जुटाउन परिचालित हुन थाले। विपदको समयमा सबै नेपाली नजिक आएको झैँ लाग्यो। तर जति दिन बित्दै गए, सात समुद्र पारीको राहत प्रयासमा पनि राजनीति, जातीयता र क्षेत्रीयता प्रवेश गर्‍यो। राहत तमासामा परिणत हुन थाल्यो।

............

तीन वर्ष बित्यो विनाशकारी भूकम्प गएको। मैले त बिर्सी पनि सकेको थिएँ। फल्सिङ्ग कलेज प्वाइन्ट २३ एभिन्यु, ७-११ स्टोरमा म सदा झै काम गर्दै थिएँ। मेरा साहु यु जङ्ग सिक आएर मेरो पिठ्यु थम्थमाउँदै भने "हेप्पी अर्थक्वेक।" म असामन्जस्यमा परें, कहिं नेपालमा फेरी भूकम्प त गएन ! उनले अलि गम्भीर भएर भने माफ गर, मैले कटाक्ष्य गरेको। म नेपाल र नेपालीलाई धेरै माया गर्छु, 'आइ केर फर देम।' नेपाल कसैको आँखामा नबिझाउने देश हो . भूकम्प गएका तीन वर्ष बितिसक्दा पनि अझै कैयौं परिवार बिचल्लीमा छन्। कतिपयले आफ्नै सिमित साधनले घर बनाए रे। कैयौं कहिले नमेटिने घाउ लिएर हिडेका छन्, "आइ क्यान फील इट ब्रदर।" उनले थपे, 'मैले र मेरा साथीले सानै भएपनि सहयोग गर्न चाहेका थियौं। तर हाम्रो सहयोग वास्तविक पीडितसम्म पुग्ल भन्ने कुरामा हामीलाई सन्देह छ।' उनले हाम्रो आन्द्रा भुँडी सबै केलाई सकेका रहेछन्। उनको भनाईमा कटु सत्य लुकेको थियो।

हुन पनि तीन वर्षमा पुननिर्माण प्राधिकरण कहिले बन्यो, कति जना सिइओ भए मलाई थाहा छैन। किनभने सबैमा राजनीतिक तछाड–मछाड चलिरहन्छ। पुननिर्माण कहाँसम्म पुग्यो त्यसको कुनै बस्तुनिष्ठ मुल्यांकन छैन। कुनै फ्याक्ट सीट सार्वजनिक गरिएको छैन। जुन प्राकृतिक विपद्लाई कमाइ खाने भाडो बनाइए, पद प्राप्ति र व्यक्तिगत हैसियत र अकांक्षाकफ पुरा गर्ने माध्यम बनाइए। त्यसैले यो विपत कसैका लागि महोत्सव बनेको छ।

कतिपय नेपाली भूकम्प पीडितसंगको सेल्फी फेसबुकमा हालेर दंग छन्। कतिपय आफ्नो दक्षता नहुँदा नहुँदै पनि पुननिर्माणको नाममा परियोजना प्रस्ताव लेख्न व्यस्त छन्। भूकम्पका बेला कसरी बच्ने भनेर अंग्रेजीमा लेखिएका ठुलाठुला होर्डिङ बोर्डहरु गाउँमा पुगेका छन्।

मेरो साहुको कटाक्ष पूर्ण सद्भाव सुनेर म अतितमा पुगें। भीमसेन थापाको दर्दनाक मृत्युलाई सम्झें। हामी एक अर्कासंग लडेर समय खर्च गर्छौ, लड्नु हाम्रो जात हो, लालच हाम्रो धर्म। एकले अर्कालाई पीडा दिनु जीवनशैली हो। तीन वर्ष भन्दा बढी बितिसक्यो, आठ हजार भन्दा धेरै को ज्यान गएको। २१ हजार भन्दा बढी घाइते नै भएका थिए। तीन करोड मुटुहरु छिया छिया भएका थिए। तिनका सपनाहरु भत्किए, अझै भत्किंदै छन्।

म अहिले अमेरिकामा बस्छु, अमेरिका प्रकृतिले न्याय गरेको देश होइन। यहाँको जाडोमा हिटिंग सिस्टम नहुने हो भने बाँच्न सकिन्न। यहाँ जो आँधीहुरी आउँछ, त्यस्तो नेपालमा आउने हो भने सबै ध्वस्त हुन्छ। अमेरिकीहरुले प्रकृतिसंग समन्वय र सामना गर्ने क्षमताको विकास गरेका छन्। प्राकृतिक विपत्ती रोक्न सकिन्न। तर, व्यवस्थापन गर्न सकिन्छ। तर हामीले प्रयासै गरेनौं। एक अर्कालाई दोषारोपण गर्न समय बितायौं। ती मृत, घाइते र धरहरा जस्ता अमुल्य धरोहरले हाम्रो लापरवाही र स्वार्थको मूल्य चुकाएको मात्र हो।

हतारहतार काम सिध्याएर घरतर्फ लागें। फोन गरेर एक जना नेपाली भाई जसले महाभूकम्पमा आफन्त गुमाएका थिए उनलाई बोलाएँ। उनको अनुहार मलिन थियो। पीडा भुलाउन ग्लास ठड्याएँ। उनी केहि बोलेनन् र छेउमा राखेको गिटार उठाएर दिपक खरेलको कालजयी गीत गाउन थालें....

पर्खन्छन् कति आत्महरु मायाको धुनी बालेर
झस्कन्छन् कति सपनासंग बिपना हो कि भनेर.....

मेरो मन अझै मान्न तयार छैन, धरहरा ढल्यो भनेर !

प्रकाशित : वैशाख १२, २०७५ १३:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT