२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

विद्युतीय दुर्घटनाको जोखिम

कला तिमल्सिना

काठमाडौँ — सुन्दा सामान्यजस्तै लाग्ने विद्युतीय सुरक्षाका कुरा असामान्य रूपमा दैनिकजसो दुर्घटना र धनजनको क्षति गराउने माध्यमको रूपमा अखबार र फेसबुकमा आउने गरेको छ । करेन्ट लागेका समाचार र तस्बिरले सबैको मनलाई दुखित पार्छ । यस्ता घटनाबारे उल्लेखनीय छलफल, बहस र निष्कर्ष भएको पाइँदैन ।

विद्युतीय दुर्घटनाको जोखिम

वीरगन्ज लक्षवनका २ जना सासु–बुहारी कान्तिदेवी र जागोदेवी सोनार चापाकलबाट पानी तान्ने क्रममा, सल्यानमा खेतमा काम गरिरहेकी मेगली ओली र एकहल गोरु, घरमा बिजुलीको बल्ब फेर्ने क्रममा दाङका दिलबहादुर चौधरी, बागलुङमा जंगलबाट स्याउला लिएर घर फर्कने क्रममा बिजुलीको पोल छुँदा गुमा कँडेल र निशा कँडेल, धादिङमा घरधन्दा गर्ने क्रममा होमकुमारी पौडेल, पानी तान्ने क्रममा अर्जुन श्रेष्ठ, पोखरामा बिजुलीको तार सडकमा लत्रिएर मोटरसाइकलमा गुडिरहेका विष्णु बास्ताकोटी, सप्तरी मामाघर आएकी नसिमा खातुन प्रतिनिधि पात्रमात्रै हुन् ।

यस्ता धेरै नागरिकले करेन्टबाट दिनदिनै ज्यान गुमाइरहेका छन् । एकले अर्कोलाई बचाउने क्रममा करेन्ट लागेर दुबैको मृत्यु भएका घटना पनि छन् । २०७५ वैशाखदेखि यतामात्र पत्रपत्रिका र सामाजिक सञ्जालमा आएका खबरको आधारमा सरदर दैनिक १ जना मानिसले करेन्टबाट ज्यान गुमाइरहेको अवस्था छ ।

केही दिन अघिमात्र बिजुलीको पोल फेर्ने क्रममा डोटीका ४ युवा, बागलुङका २ किशोरी विद्युतीय दुर्घटनाका सिकार भएका छन् । करेन्ट लागेर घाइते र अंगभंग भएका, हातखुट्टा गुमाउनेहरूको संख्या पनि निकै छ ।

दिनहुँजसो भइरहेका यस्ता घटना न्यूनीकरण गर्नसक्ने कुनै उपाय नै नभएको हो त ? सम्बन्धित निकायले यस्ता घटनाको न्यूनीकरणका लागि के कस्ता पहल र कार्यक्रम ल्याएका छन् ? घटना भएपछि त्यसको क्षतिपूर्ति दिने पाटो अलग होला । पीडितले न्याय पाउला/नपाउला, त्यसका नीति–नियम बिमा, औषधोपचार, परिवारको पालनपोषण अर्को पाटो र बहसको विषय त छँदैछ, तर पनि यस्ता दुर्घटनाबाट बच्ने कुनै उपाय नभएकै हो त ?

नेपाल विद्युत प्राधिकरणको लापरबाहीका कारण अधिकांश दुर्घटना भइरहेका छन् । जीर्ण विद्युत वितरण प्रणाली, कमजोर सूचना संयन्त्र, खतरायुक्त क्षेत्रलाई संकेत बोर्डहरू नराख्ने, तारपोलहरू निश्चित उचाइमा नटाङ्ने, टान्सफर्मर भएको क्षेत्रमा तारबार गरी मानव तथा पशुहरूलाई निषेध नगर्ने, भाँचिएका पोलहरू समयमा नफेर्ने, रुखका हाँगाबिँगाहरू समयमा नकाट्ने जस्ता गैरजिम्मेवार कार्यशैली छ । नागरिकको घरदैलोमा बिजुली जडान गर्दैमा विद्युत प्राधिकरणको दायित्व पूरा हुँदैन ।

यसको प्रयोगमा अपनाउनुपर्ने सावधानी, यसले पुर्‍याउन सक्ने क्षति, विद्युतीय सामग्रीको गुणस्तर, मापदण्ड, आयु, विद्युतको काम गर्दा प्रयोग गर्नुपर्ने सुरक्षा सामग्री, विद्युतको लाइन मर्मत र विस्तारका लागि अपनाउनुपर्ने सुरक्षा, घरभित्रको वायरिङका मापदण्ड, प्लगहरूको उचाइ जस्ता विषयमा पनि शिक्षा दिनु अनिवार्य छ । आम नागरिकलाई पनि विद्युतीय सुरक्षा सम्बन्धी जनचेतना र ज्ञानको कमी देखिन्छ ।

बिजुलीको खम्बामा गाईवस्तु बाँध्ने, बिजुलीका तार र पोलहरूमा कपडा सुकाउने, बिग्रिएका प्लगहरू, खुइलिएका तारलाई नफेर्ने, टेप नगर्ने, चिसो हातले विद्युतीय सामग्री चलाउने, बच्चा केटाकेटीलाई विद्युतीय सरसामानहरूमा खेल्न र चलाउन दिने गर्छन् । त्यसकारण पनि दैनिकजसो यस्ता मानवीय क्षति बेहोर्दै आउनुपरेको छ ।

हुन त कतिपय अवस्थामा नागरिककै लापरबाहीले पनि दुर्घटना नभएका होइनन् । यस्ता लापरबाही पनि सुरक्षाको बारेमा पर्याप्त ज्ञानको अभावले नै हुने गरेको छ । नेपाल विद्युत प्राधिकरणले वर्षमा १ दिन विद्युतीय सुरक्षा दिवस भनेर मनाउँदै आइरहेको छ । तर त्यो दिवस प्राधिकरणको घेराभित्र मात्र सीमित छ । दूरदराज, कुनाकन्दराका नागरिकलाई विद्युतीय सुरक्षा दिवसको कुनै पत्तो छैन ।

बिजुलीबारे बताउन उनका घरछिमेकमा आजसम्म कोही पुगेका छैनन् । गाउँघरमा बिजुली त पुग्यो, तर बिजुली सम्बन्धी ज्ञान पुग्न सकेन । घरायसी कामकाजमा सबैभन्दा धेरै बिजुली प्रयोग गर्ने महिलाहरू हुन् । अधिकांश समय महिलाहरूको हात चिसो हुने गर्छ । भान्छामा काम गर्नुपर्ने भएकाले धेरैजसो समय खाली खुट्टा हुने गर्छ । खाना पकाउने, पानी तान्ने, आइरन गर्ने काममा महिलाहरूले अधिकांश समय बिताउने भएकाले यस्तो अवस्थामा करेन्ट लाग्ने सम्भावना बढी हुन्छ ।

विद्युत सम्बन्धी ज्ञानको कमीले सुरक्षित किसिमले बिजुलीबाट लिन सकिने अवसर र फाइदाबारे पनि महिला समुदाय अझ धेरै पछि छन् । त्यसकारण विद्युतीय सुरक्षा, जोखिम न्यूनीकरण, क्षतिपूर्ति र विद्युतको उत्पादनमूलक उपयोगको विषय अब राज्यको प्राथमिकतामा पर्नु आवश्यक छ ।

सानादेखि ठूला प्रविधि विद्युतमा आधारित छन् । यसबाट नै मुलुकको समृद्धि हुन्छ । त्यसकारण अब बिजुलीमा काम गर्ने प्राविधिकले मात्र विद्युतको विषयमा जानेर पुग्दैन । हरेक नागरिकले यसका गुण र अवगुणबारे जानकारी हासिल गर्नुपर्छ ।

राज्यको पुन:संरचनासंँगै स्थानीय सरकारहरूले नीति तथा कार्यक्रम तर्जुमा गर्ने आवसर प्राप्त भएको छ । ऊर्जामा नागरिकको सहज पहुँच र अधिकार स्थापना गर्दै यसबाट जीवनमा प्राप्त गर्नसक्ने आर्थिक तथा सामाजिक लाभलाई पनि सरकारको नीति तथा कार्यक्रमले समेट्न सक्नुपर्छ । समाजको आधा हिस्सा ओगटेको महिला समुदाय सफा र सुरक्षित ऊर्जाबाट आजसम्म पनि निकै टाढा छ । त्यसैले विद्युतको प्रयोग सम्बन्धी पर्याप्त ज्ञान हासिल गर्दै अधिकतम उपयोगमा लगाउनसके राष्ट्रको समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्न सकिन्छ ।

प्रकाशित : असार २६, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?