कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बालमनोविज्ञानमा विश्वकपको असर

आफैँ खेल खेलेर वा खेलबारे सुनेर अभ्यस्त भएका बालबालिका देशभित्र वा बाहिर हुने कुनै पनि प्रतियोगिता हेर्दा जित वा हारमा अति संवेगात्मक हुनबाट जोगिन्छन् र खेलमा रमाउन सक्छन् ।

काठमाडौँ — हरेक ४ वर्षमा हुने विश्वकप फुटबलको २१ औं संस्करण यस वर्ष रूसको राजधानी मस्कोमा जून १४ मा सुरु भई जुलाई १५ मा सकिँदैछ । ३२ देशका राष्ट्रिय टिमबीच भइरहेको उक्त खेलमा पुरुष खेलाडीबीच मात्र प्रतिस्पर्धा हुँदै आए तापनि रंगशालामा बसेर प्रत्यक्ष खेल हेर्ने दर्शक बालबालिकादेखि वृद्धवृद्धासम्म लाखौं छन् ।

बालमनोविज्ञानमा विश्वकपको असर

संसारका हरेक देशमा टेलिभिजनबाट करोडौं मानिसले हेरिरहेका छन् । हरेक पटक हुने विश्वकप फुटबलले के बालक, के वृद्धा, के महिला र के पुरुष सबैको ध्यान तान्न सफल छ । खेल हेर्दाहेर्दै मानिस उत्तेजित बन्ने गरेका छन् । यसको असर विश्वकपमा कहिल्यै खाता नखोलेको देश नेपालमा पनि उत्तिकै परेको छ । सबै समूहका मानिसले चासो राखे तापनि विशेषगरी युवा पुस्ता भने खेल हेर्न अति ‘क्रेजी’ देखिएका छन् ।

विडम्बनाको कुरा सहरी क्षेत्रका बालबालिका विगतमा च्याम्पियन ठहरिएका मुलुकका खेलाडीले लगाउने जर्सी लगाएर आआफूबीच बाजी थापिरहेका छन् । नेपाली बजारमा समेत ब्राजिलियन र अर्जेन्टिनियन खेलाडीले लगाउने जस्ता जर्सी प्रशस्तै बिक्री भए । अभिभावकहरूले आफ्ना बालबालिकालाई रोजाइ–रोजाइ विदेशी जर्सी किनिदिए ।

विद्यालयहरूले यस्ता जर्सी किन्न हरतरहले उक्साए । बालबालिकालाई कुनै देशका खेलाडीको पक्ष लिन बाध्य बनाइयो । ती खेलाडीको देश विश्वको मानचित्रमा कहाँ पर्छ भनेर सिकाइएन, तर खेलाडीको नाम कण्ठ गराइयो । आफूले पक्ष लिएको टिमले हार्दा साना नानीहरू धुरुधुरु रोए । अर्को समूहमा लाग्ने आफ्ना सहपाठीसँग बहुत इख्खिए ।

यसरी आफूले पक्षपोषण गरेको समूहले खेल हार्दा नानीहरू रोएको फोटो फेसबुकमा हालियो र सार्वजनिक रूपमा देखाइयो । आफू पक्ष लागेको समूहले हार्‍यो भने बाबुआमा स्वयं नै बालबालिकाका अगाडि चिन्तित बन्ने गरेको समेत पाइयो । खेल हार्दा बालबालिका रोएका तस्बिरहरू बालबालिकालाई कोट्याइ–कोट्याइ देखाइयो । जित वा हारको मुडमा फेसबुकमा आवेग प्रकट गरेका भाषा छरपस्ट पारियो । राति अबेरसम्म टेलिभिजनमा खेल हेर्न बस्दा बालबालिकाकै अगाडि मद्यपान गरियो ।

घरमा समेत बाबुआमा र दाजुदिदीले बालबालिकालाई कुनै देशको टिमको पक्षमा बस्न बाध्य बनाए । तटस्थ भएर हेर्ने वातावरण बनाइएन । परिवारमा बसेर खेल हेर्दै गर्दा आफ्नो पक्षले हार्‍यो र अर्को पक्षले जित्यो भने बालबालिका जित्नेको पक्ष लिनेहरूसँग वा बाबु वा आमासँग रिसाउने गरे । खाना खान नमान्ने, सुत्न नमान्ने, भनेको नटेर्ने, सामान फालिदिने, झगडा गर्ने जस्ता व्यवहार प्रदर्शन गरे ।

विद्यालय जान नमान्ने, शिक्षक र साथीहरूसँग नबोल्ने वा विद्यालयका गृहकार्य नगर्नेसम्मका झोँक प्रदर्शन गरे । बालबालिकालाई निद्रा पुगेन, थकावट महसुस भयो, चिन्तित बने र कतिपय अवस्थामा बिरामीसमेत परे । यसले लामो समयसम्म एकआपसमा प्रतिशोधको भावना जन्माइदियो । अर्को अनौठो कुरा के भयो भने अभिभावकहरूले बालबालिकामा देखिएको यस प्रकारको व्यवहार प्रदर्शनलाई बेवास्ता गरे, हँसीमजाकमा उडाए ।

उल्टै उनीहरूलाई उकास्ने र फेरि यो खेल ४ वर्षपछि मात्र आउने त हो नि भनी हरेक दिन पक्ष/विपक्षमा रहन उक्साइयो । यसो गर्दा आफ्ना बालबालिका अन्तर्राष्ट्रिय गुणले भरिपूर्ण हुने भ्रम पालियो । कतिपय अवस्थामा छिमेकी र कार्यालयका सहकर्मीका अगाडि आफू सभ्य बन्न यस्ता काम ठूलो होहल्लाबीच गरिए । यसरी अमूक देशका खेलाडीको पक्ष लिई जित वा हार हुँदा भएको बाल मनोविज्ञानको प्रभावको कुनै आँकलन गरिएन ।

आफूले पक्षपोषण गरेको टिमले पटक–पटक हार्दा बालबालिकामा परेको मानसिक असर र उनीहरूले देखाएको व्यवहारको खोजी भएन । बालबालिकाको उमेर अनुसार विभिन्न पक्षको विकास गराउने जिम्मा लिएका विद्यालयहरूसमेत चुके । यस विषयमा समयमै सचेत गराउन बाल मनोवैज्ञानिकहरू पनि झुक्किए । आमसञ्चारका साधनहरूले समेत तामझामसाथ एकोहोरो प्रचारमात्र गरिरहे ।

यस लेखाइको अर्थ बालबालिकालाई खेल हेर्न नदिनु भन्ने हुँदै होइन । विद्यालयले विश्वकप फुटबल र यस्तै प्रकारका अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलबारे जानकारी नगराउनु भन्ने पनि होइन । बालबालिकालाई उनीहरूको उमेर सुहाउँदो खेलमा सहभागी नगराउनु भन्ने त हुँदै होइन । त्यस्तैगरी बाबुआमाले पनि आफ्ना बालबालिकालाई खेलबारे जानकारी नगराउनु वा सँगै बसेर नहेर्नु भन्ने पनि होइन । खेलबाट बालबालिकामा धेरै कुरा सिकाउन सकिन्छ ।

आजकाल खेलका माध्यमबाट विद्यालमा धेरै विषयका पाठ पढाइने पनि गरिन्छ । खेलले बालबालिकाको शारीरिक र मानसिक सन्तुलन कायम गर्छ । सिकाइलाई रुचिकर बनाउँछ । खेल हेराउनु वा खेलाउनुभन्दा पहिले विद्यालय वा अभिभावकले आफ्ना बालबालिकालाई खेलबारे सकारात्मक कुराको जानकारी गराउनाले उनीहरूले यसको परिणामलाई पनि सकारात्मक ढंगले लिन्छन् ।

बालबालिकालाई घर वा विद्यालयमा खेलबारे सिकाउनुपर्ने कुरा धेरै हुन सक्छन् । खेलबारे बालबालिकाबीच छलफल गराउनुपर्ने केही कुरालाई यहाँ उदाहरणस्वरूप प्रस्तुत गरिएको छ । खेलमा दुई समूहबीच प्रतिस्पर्धा हुँदा एक पक्षले अवश्य हार्छ । एउटा पक्षले हारेन भने खेलको अन्त्य हुन सक्दैन । एक पटक हारेको समूहले हारबाट पाठ सिकेमा अर्कोपटक जित्न पनि सक्छ । धेरै समूहबीच प्रतिस्पर्धा हुँदा थोरै समूहले मात्र पदक हात पार्छन् ।

सधैंभरि एकै देशका खेलाडीले मात्र जित हात पार्छन् भन्न सकिन्न । फुटबल पनि अन्य खेलजस्तै टिमको समन्वय र सहकार्यमा मात्र सफलता मिल्ने खेल हो । एउटा समूहमा १/२ जनामात्र होनहार खेलाडी हुँदैमा सजिलैसँग खेल जित्न सकिन्छ भन्न सकिँदैन । खेलमा भाग लिनु भनेको समूह कार्य नै हो । यो एउटा विश्व समुदायबीच चिनिने अवसर पनि हो । खेलको नियमबाट पाठ सिकेर मानव गतिविधिका धेरै क्षेत्रमा सफलता हात पार्न सकिन्छ । मानव जीवनको हरेक पलमा झैं खेलमा पनि अनुशासनको पालना गर्नु महत्त्वपूर्ण हुन आउँछ ।

अनुशासनको उल्लंघन गर्ने खेलाडी वा समूह कारबाहीको भागिदार हुन्छ । रंगमञ्चका सबै खेलाडीको महत्त्व वा मूल्य बुझी सम्मान गर्न सक्नुपर्छ । खेलको सम्मान खेलाडीले मात्र होइन, दर्शकले पनि उत्तिकै गर्नुपर्छ । खेलको जितमा अति खुसी हुने र हारमा सारै दु:खी हुने बानीले व्यक्ति स्वयंलाई हानि गर्छ । कुनै पनि समूह खेलमा हारजित भएपछि शत्रुतापूर्ण व्यवहार गर्न वा नयाँ शत्रु कमाएर जान आएका हुँदैनन् ।

कुनै देशको टिमले आफ्नो देशको टिमलाई खेलमा हरायो भनेर त्यो देशप्रति शत्रुतापूर्ण नजरले हेरिन्न । एउटा खेलको अन्त्य भइसकेपछि दुई फरक समूहका खेलाडीबीच हात मिलाएर मित्रवत अवस्था कायम राख्दै छुट्टिने चलन त्यसै बसेको होइन ।

यसरी खेलबारे सकारात्मक धारणा दिलाई बालबालिकालाई उनीहरूको उमेर र रुचि सुहाउँदो खेल खेलाएर खेलप्रतिको बुझाइमा सामान्य बनाएपछि कुनै पनि खेल हेराउन सकिन्छ । साना नानीहरूलाई खेल नखेलाइकन पनि खेलबारे कथा भनेर आवश्यक ठानिएका आधारभूत कुराबारे जानकारी दिन सकिन्छ ।

खेलबारे चित्र कोरेर पनि सिकाउन सकिन्छ । आजकाल इलेक्ट्रोनिक गेम पनि प्रशस्तै पाइन्छन् । यद्यपि यसमा पनि जोखिम शून्य भने छैन । यसरी आफै खेल खेलेर वा खेलबारे सुनेर अभ्यस्त भएका बालबालिका देशभित्र वा बाहिर हुने कुनै पनि प्रतियोगिता हेर्दा जित वा हारमा अति संवेगात्मक हुनबाट जोगिन्छन् र खेलमा रमाउन सक्छन् । यसले उनीहरूको मनोविज्ञानमा पर्ने सकारात्मक असरले सिकाइलाई मद्दत पुर्‍याउँछ भने तनावबाट बच्दा स्वास्थ्यमा पनि नकारात्मक असर पर्दैन ।

बालबालिकालाई जतिसुकै अभ्यस्त बनाए पनि खेल हेर्न बस्दा पालन गर्नुपर्ने अनुशासन भने कडाइसाथ पालना गर्नु अभिभावकको दायित्वभित्र पर्छ । सावधानी अपनाएमा खेलबाट बालबालिकामा थप उत्साह जगाउन सकिन्छ ।

ढुंगाना शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव हुन् ।

प्रकाशित : असार २६, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?