सुन र आइमाई

सुनको सन्दर्भलाई लिएर महिलाको अधोगतिको व्याख्या गर्न नथाक्ने प्रगतिवादी पुरुषचाहिँ ससुराले दिएका सुनका गहनामा झिलिक्क परेर किन हिँड्छन् ?
लीला लुइँटेल

काठमाडौँ — ‘आइमाईलाई सुन भए अरू केही चाहिँदैन, सुनका लागि आइमाईले प्राणै फाल्छन्, सुन भए आइमाई चिताबाट पनि उठेर आउँछन्, सुनको हो भनिदियो भने आइमाईले घाँटीमा जाँतो नै पनि झुन्ड्याएर हिँड्छन् ।’ घरपरिवारभित्र मात्र नभएर कार्यक्षेत्र तथा सार्वजनिक स्थानहरूमा समेत हुने यस्ता साझा टिप्पणी अधिकांश नेपाली महिलाले सुनेको हुनुपर्छ ।

अझ प्रगतिवादी कहलिएका पुरुष मित्रहरू महिलाको उन्नति हुन नसक्नुको मुख्य कारकका रूपमा शृङ्गार र सुनका गहना नै रहेको दर्शन छाँटेर कहिल्यै पनि थाक्दैनन् । यसरी सुनका सन्दर्भबाट महिलाको आलोचना गर्ने पुरुषहरूले आमा, दिदीबहिनी तथा पत्नीले सुनका गहना किन्न खोज्दा माथि उल्लिखित टिप्पणी गर्ने तर ससुराबाले विवाहमा लगाइदिएका औँठी, सिक्री, ब्रासलेटलगायतका गरगहनामा झिलिक्क परेर हिँड्न पाउँदा गौरवको अनुभव गर्ने दृश्य पनि हाम्रो समाजमा छ ।

सुन बारेका यस्ता सन्दर्भ कुनै व्यक्तिको स्वभाव एवं परिवारको आन्तरिक समस्या भनेर मात्र पन्छिन सकिने स्थिति भने पटक्कै देखिँदैन । राज्यको नेतृत्ववर्गमा रहेका अधिकांश व्यक्तिहरूको सम्पत्ति विवरणमा उल्लिखित सुन दाइजोबाट पाएको भन्ने गरिएकाले पनि सुन संस्कृतिको पालनपोषण राज्य एवं नेतृत्ववर्गबाटै भएको स्पष्ट हुन्छ । अझ रुढिवादी कुसंस्कारहरूको अन्त्य तथा शोषित, उत्पीडित पीडितका पक्षमा ‘जनयुद्ध’ लडेको हवाला दिने र आफूलाई क्रान्तिकारी भनाउन चाहनेहरूले समेत दाइजोमा प्रशस्त सुन ल्याएको/पाएको घोषणा गौरवतापूर्वक (निर्लज्जतापूर्वक ?) गरिरहेका छन् ।

त्यसैगरी ‘दुलही पक्षले दुलाहा पक्षलाई बढीमा चालीस ग्राम सुन वा सो बराबरको प्रचलित मूल्यले हुने रकमको गहना र तोकिएको रकमसम्मको कपडा तथा अन्य जिन्सी सामान राजीखुसीले दिन सक्नेछ’ भनेर नेपालको कानुनमै व्यवस्था गरिएको पाइन्छ भने अर्काेतिर कुनै राजनैतिक पार्टीले ‘आफ्नो पार्टी निर्वाचनमा विजयी भए १२ कक्षा पढेका र विवाहको उमेर भएका महिलालाई आधा तोला सुनको मङ्गलसूत्र वा सो बराबरको रकम दिने’ भनेर घोषणापत्रमै उल्लेख गरेको हास्यास्पद स्थिति पनि हामी सबैले देखेसुनेकै हो ।

हाम्रो पारम्परिक एवं अत्याधुनिक दुवै प्रचलनले महिलाका लागि धेरै गरगहनाको सिर्जना गरेको पाइन्छ । त्यसैले उनीहरूलाई विवाहमा दुलाहा पक्षले गहना दिनु आवश्यक भएको हुनसक्छ । त्यसैले गहना त्यसमा पनि सुन उनीहरूको प्रिय भएको हुनसक्छ । अर्काेतिर हाम्रो सामाजिक संरचनामा महिलाका हातमा चलअचल सम्पत्तिको हिस्सा नहुँदा शरीरमा भएका न्यून रकमका गहनाले उनीहरूलाई सङ्कटको समयमा थोरै भए पनि राहत दिनसक्ने देखिन्छ ।

एकछिन मानौँ— यी विविध कारणले महिला त गहनाका भोका भए रे, तर त्यही सुनको सन्दर्भलाई लिएर महिलाको आलोचना गर्दै उसको अधोगतिको व्याख्या गर्न नथाक्ने दार्शनिक एवं प्रगतिवादी पुरुषचाहिँ ससुराले बाले दिएका सुनका गहनामा झिल्लिक्क परेर किन हिँड्छन् ? अझ यसमा जनवादी एवं प्रगतिवादी राजनीति गर्ने क्रान्तिकारीहरूकै लर्काे ठूलो देखिन्छ । ससुराले ज्वाइँलाई दिने सुनको सन्दर्भलाई परम्परागत प्रचलन रूपमा व्याख्या गर्दै त्यसको विरोध गरेर ठूलाबडाको चित्त दुखाउन नचाहेको भनाइका साथ ‘मैले मागेको होइन, दिनेले दिए के गर्नु त, चलनको विरोध गर्नुभएन’ भन्नेजस्ता गैरजिम्मेवारपूर्ण अभिव्यक्ति पनि मैले धेरै पुरुष मित्रहरूबाट सुनेकी छु ।

शोषित, उत्पीडित तथा सामन्तवादको अन्त्यका लागि जनयुद्ध लडेर नेतृत्वमा पुगेको धाक दिने र पुग्ने सपना देख्नेहरूले एकजना ती निरीह ससुराबालाई रुढिवादी कुसंस्कारका विरुद्ध सम्झाउने सामथ्र्य नभएको त पक्कै होइन होला । यसरी सुन प्राप्त गर्ने व्यक्तिहरूले दाइजोमा सुन नल्याएको निहुँमा लोग्ने र सासूहरूबाट जिउँदै जलाइएका महिलाहरूलाई जिम्मेवार नेतृत्ववर्गको हैसियतले कसरी पो सान्त्वना देलान् अनि त्यस्ता पीडकलाई कुन नैतिकताका आधारमा कारवाहीका लागि आवाज उठाउने सामथ्र्य राख्लान् ? अर्काेतिर दाइजोमा यसरी सुन बटुलेको सार्वजनिक घोषणा गरेर जग हँसाउन समेत बाँकी नराख्ने प्रगतिवादीहरू नै महिलाको अधोगतिको कारकका रूपमा सुनका गहना रहेको कुरा गरेर थाक्दैनन् । योभन्दा बिडम्बना र हास्यास्पद कुरा यस धर्तीमा अरू के हुन सक्छ ?

यति कुरा गरिसकेपछि मनमा लागेका प्रश्न– महिलाले लगाएर हिँड्दा कमजोरी एवं अधोगतिको कारक मानिने सुन पुरुषले लगाएर हिँड्दाचाहिँ गौरवको प्रतीक कसरी हुनसक्छ ? कमजोरी एवं अधोगतिको कारक मानिने सुन नलगाउन महिलालाई अर्तीउपदेश दिन पछि नपर्ने प्रगतिवादी एवं क्रान्तिकारी मित्रहरूले पुरुष सहकर्मीलाई तिमीलाई सुनका गहना लगाएर किन हिँड्नुपर्‍यो भनेर सार्वजनिक रूपमा सोध्ने हिम्मत राख्छन् कि राख्दैनन् ?

विवाहमा ससुरासँग दाइजोका रूपमा सुन लिनु अपराध हो भनेर सार्वजनिक रूपमा आफ्ना धारणा व्यक्त गर्न किन नसकेको ? आफूले लगानी गरेर जोड्दा मात्र अधोगतिको कारक हुन् अनि अर्कालाई घरखेत बन्धकी राख्न बाध्य बनाई लिएको सुनचाहिँ गौरवपूर्ण के कारणले हुने ? अर्काको सम्पत्तिमा राल किन चुहाएर सित्तै पाए अलकत्रासमेत खाने प्रवृत्तिलाई हामीले कहिलेसम्म बढावा दिइरहने ?

कुनै पनि मानिस व्यक्तिगत रूपमा स्वतन्त्र हुन्छ नै तर एउटा बिम्बात्मक स्वरूप प्राप्त गरिसकेको अनि समाजको प्रतिनिधित्व गर्ने भनिएका व्यक्तिको प्रत्येक क्रियाकलाप सार्वजनिक चासोको विषय बन्नपुग्छ । त्यसैले समाजमा एउटा स्थान बनाइसकेको र बनाउन प्रयत्नरत व्यक्तिको कथनी र करणीमा विपर्यास नहुँदा मात्र सकारात्मक सन्देश प्रवाह गर्नसक्ने यथार्थतर्फ सबैको ध्यान जानु जरुरी छ र यसैमा उसको सफलता निहित हुन्छ ।

प्रकाशित : असार २८, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्

शक्तिशाली फ्रान्सको भाग्य

फ्रान्स पहिलो सेमिफाइनलमा बेल्जियमलाई १–० ले हराएर १२ वर्षपछि विश्वकपको फाइनल पुगेको छ ।
राजु घिसिङ

सेन्ट पिटर्सबर्ग — डिडियर डेसच्याम्पको कप्तानीमा फ्रान्स सन् १९९८ को विश्वकप फाइनल पुगेको थियो । त्यस बेलाको उसको उपाधि होड डिफेन्डिङ च्याम्पियन ब्राजिलविरुद्ध थियो । फ्रान्स घरेलु टिम भए पनि ब्राजिललाई उपाधिको मख्य दाबेदार मानिएको थियो ।

तर, जिनेदिन जिदानप्रेरित फ्रान्स ३–० को जित निकालेर पहिलोपल्ट विश्वविजेता बनेको थियो ।

उनै कप्तान डेसच्याम्पको टिमले फेरि विश्वकपको फाइनल खेल्ने पक्का गर्‍यो । रुसमा भइरहेको २१ औं विश्वकपको पहिलो सेमिफाइनलमा बेल्जियमलाई १–० ले हराएर फ्रान्स दोस्रोपल्ट विश्वविजेता बन्ने अभियानमा अगाडि बढेको हो । यसबीच फ्रान्सले सन् २००६ मा पनि विश्वकप फाइनल खेलेको थियो । त्यतिबेला उसलाई इटालीले ट्रफी चुम्नबाट रोकेको थियो ।

डिफेन्डर सामुइल उम्टिटीको हेडर गोलसँगै फ्रान्स सेन्ट पिटर्सबर्ग रंगशालामा मंगलबार बेल्जियमलाई १–० ले हराएर तेस्रोपल्ट विश्वकप फाइनल पुर्‍यो । फ्रान्ससँग यसपालि निकै उत्कृष्ट खेलाडीहरूको साथ छ । प्रशिक्षकका रूपमा डेसच्याम्पले सम्हालेको टिमले रुसमा सुस्त सुरुआत गरेर पनि सही समयमा लय समातेको छ ।

फ्रान्सले अन्तिम १६ मा लियोनल मेसीको अर्जेन्टिनालाई ४–३ ले हराएको थियो । उक्त खेललाई यो प्रतियोगिताकै सबैभन्दा सनसनीपूर्ण खेलका रूपमा लिइएको छ । त्यसमा देखिएको डिफेन्सको कमजोरीलाई फ्रान्सले क्वाटरफाइनलमा लुइस स्वारेजको टिम उरुग्वेलाई २–० ले परािजत गर्दा सच्याएको थियो । स्टार खेलाडीले भरिएको बेल्जियमलाई सेमिफाइनलमा पन्छाएपछि फ्रान्स उपाधिका लागि परिपक्व टिममा उभिएको छ ।

तर, डेसच्याम्पको टिमको विश्वकप जित्ने भाग्य १९९८ मा ब्राजिलको जस्तै नहोला पनि भन्न सकिन्न । किनभने त्यतिबेला ब्राजित एकपछि अर्को उत्कृष्ट खेल पस्कँदै फाइनलमा पुगेर पनि डेसच्याम्प नेतृत्वको टिमसँग निरीह भएको थियो । त्यति टाढा पनि जानुपर्दैन । दुई वर्षअघिको युरोपियन च्याम्पियनसिपमा लोभलाग्दो खेल प्रदर्शन गरेको डेसच्याम्पकै टिम फ्रान्स फाइनलमा पुगेको थियो । जसोतसो फाइनल पुगेको पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले चोट बेहोर्दै चाँडै मैदान छाड्नुपर्‍यो । फाइनलमा पनि फ्रान्सको खेल राम्रै थियो । तर, अतिरिक्त समयमा एडरको गोलमा पोर्चुगल च्याम्पियन भइदियो ।

जितपछि फ्रान्सेली टोली  । तस्बिर : एपी

त्यसैले हरेक खेलमा कमजोरी सच्याउँदै राम्रो खेल पस्किरहेको फ्रान्स नै यसपालि विश्वकप च्याम्पियन हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । उसको फाइनलको प्रतिस्पर्धी इंग्ल्यान्ड वा क्रोएसिया हुनेछ । यी दुवै टिम ठूलालाई पन्छाउँदै अघि बढेका होइनन् । र, उनीहरूलाई फ्रान्सभन्दा बलियो मान्ने आधार पनि छैन । वास्तवमै भन्ने हो भने क्रोएसिया वा इंग्ल्यान्डको फाइनल यात्रा ‘अन्डर डग’ को रूपमा रहनेछ ।

पिटर्सबर्गमा भएको सेमिफाइनलमा एन्टोइन ग्रिजमनले हानेको कर्नरमा बार्सिलोनाका डिफेन्डर उम्टिटीले हेडद्वारा ५१ औं मिनेटमा गोल गरेका थिए । अन्तत: त्यही गोल सुपर स्टारहरूको टिमको प्रतिस्पर्धामा निर्णायक बन्यो । चार वर्षयता डेसच्याम्पले फ्रान्सेली टिम सम्हालिरहेका छन् । र, उनीसँग जुन स्तरका खेलाडी छन्, जस्तो टिम छ त्यसका आधारमा फाइनलमा पुग्नु एकदमै ठूलो सफलता भने होइन । रुसमा उसको सफलतालाई खाली उपाधिसँग मात्र जोडेर हेरिनेछ । किनभने यो टिममा उही खेलाडीको वर्चस्व छ, जसले युरो २०१६ को फाइनल पनि खेलेको थियो ।

रोबर्टो मार्टिनेजको टिम बेल्जियमले क्वाटरफाइनलमा ब्राजिललाई २–१ ले पराजित गर्दा उत्कृष्ट प्रदर्शन गरेको थियो । त्यस आधारमा उसले फ्रान्सलाई कडा टक्कर दिने अनुमान गरिएको थियो । लेस ब्लुजको तुलनामा बेल्जियन दर्शकको बाहुल्य रहेको पिटर्सबर्ग रंगशालामा त्यस्तो भएन ।

ब्राजिली डिफेन्सलाई ध्वस्त बनाएका केभिन डी ब्रुयन, इडेन हाजार्ड र रोमेलु लुकाकुले उम्टिटी, राफेल भारान, बेन्जामिन पाभार्ड र लुकास हर्नान्डेजको फ्रान्सेली रक्षापंक्ति तोड्न सकेनन् । ब्रुयनको शक्तिशाली आक्रमणलाई २१ औं मिनेटमा गोलकिपर ह्युगो लोरिसले बचाउ गरेका थिए । मारोउने फेलानी, नासेर चाड्ली र मौसा डेम्बेले मैदानमा हराएजस्तै देखिएका थिए ।

ओलिभिएर जिरुड फेरि एकपल्ट गोलको खाता खोल्न असफल भए पनि १९ वर्षीय फरवार्ड केलियन एमबाप्पे र एन्टोइन ग्रिजमनले बेल्जियन डिफेन्सलाई पूरा खेलमा दबाबमा राखेका थिए । टिममा फर्किएका मिडफिल्डर ब्लेसी मतोउडी पनि मैदानमा जमेका थिए । दुई पहेँलो कार्डको कारण निलम्बित रहेका डिफेन्डर थोमस मुनियरको अनुपस्थिति बेल्जियन टिममा खटकएको थियो ।

प्रतियोगितामा सर्वाधिक गोल गरेको बेल्जियमको यो टिमलाई स्वर्णिम पुस्ता मानिन्छ । यसपालि सेमिफाइनलमा रोकिएपछि यो पुस्ताको अन्त्य उपाधिविहीन रूपमै टुंगिने हो कि भन्ने डर बढेको छ । बेल्जियम दोस्रोपल्ट अन्तिम चारमा रोकिएको हो । यसअघि सन् १९८६ मा डिएगो म्याराडानाप्रेरित अर्जेन्टिनाले बेल्जियमलाई सेमिफाइनलमा हराएको थियो । त्यो विश्वकपमा अर्जेन्टिना च्याम्पियन नै भएको थियो । दोस्रोपल्ट विश्वकप विजेता बन्ने फ्रान्सको भाग्य भने यसपालि १५ जुनमा लुजनिकी रंगशालामा हुने फाइनलमा उसैका स्टार खेलाडीहरूको प्रदर्शनमा निर्भर हुनेछ ।

प्रकाशित : असार २८, २०७५ ०८:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्