कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

योगमायाको योगदान

समाज रूपान्तरणका लागि सशक्त आवाज उठाएकी योगमायालाई राष्ट्रिय विभूतिका रूपमा सम्मान गर्न ढिला गर्नु हुँदैन ।
दुर्गा घिमिरे

काठमाडौँ — धार्मिक र आध्यात्मिकवादी नेतृ योगमायाको विषयमा अहिले धेरै चर्चा–परिचर्चा हुनथालेको छ । भोजपुरमा १०० वर्ष अगाडि जन्मिएकी योगमायाले नेपाली समाजमा देखिएका विकृति, विसंगति अन्याय, अत्याचार, महिलाप्रति हुने हिंसा र धर्म–संस्कृतिका नाममा महिलामाथि लादिएका बन्धनहरू गरिब र धनी बीचको असमानता विरुद्ध तत्कालीन समयमा उठाएका आवाज अहिले बिभिन्न शोध र पुस्तकहरूका रूपमा आइरहेका छन् ।

योगमायाको योगदान

ती पढ्दा लाग्छ, योगमाया कति साहसी र दृढ इच्छाशक्ति भएकी महिला रहिछन् ! सय वर्ष अगाडिको सामाजिक संरचना, पितृसत्तात्मक सोच र अवधारणा, क्रूर राणाशासनका बेला बोल्न र अधिकारका निम्ति माग गर्नु चानचुने कुरा थिएन । कतिपय अवस्थामा यस्तो आवाज उठाउनेलाई मृत्युदण्ड पनि हुनसक्थ्यो । तर उनले हिम्मतका साथ विसंगति विरुद्ध आवाज उठाइन् । उनले उठाएका विषय हाम्रा समाजमा अझै विद्यमान छन्, केही परिवर्तन पनि भए । सामन्ती सोच र महिलाप्रति हेर्ने दृष्टिकोणमा अझै ब्यापक परिवर्तन आउन जरुरी छ ।

योगमायाको विवाह ७ वर्षकै उमेरमा भएको उनका सम्बन्धमा गरिएका अनुसन्धानले बताउँछन् । उनको विवाह ४ वर्षमात्र टिक्यो । उनले दोस्रो विवाह गरिन् । त्यो विवाह पनि लामो समय टिक्न सकेन । उनले तेस्रो विवाह पनि गरेको देखिन्छ । त्यस बेलाको समयमा उनले विधवा विवाह गर्नु ठूलो अपराध मानिन्थो । त्यस विरुद्ध प्रशस्त टिकाटिप्पणी भए पनि योगमायाले कुनै पर्वाह गरिनन् । आफ्नो ब्रह्मले जे ठिक देख्यो, उनले त्यही गरिन् ।

योगमायाले पितृसत्तात्मक सोच र मान्यता, सामाजिक–सांस्कृतिक विकृति, महिलामाथि हुने हिंसा, जातीय भेदभाव विरुद्ध संगठित रूपमा आवाज उठाएकी थिइन् । उनलाई आवाजविहीनहरूको आवाज उठाउने महिलाको रूपमा हेरिन्थ्यो । विशेष गरेर दीनदु:खी र पिछडिएका महिलाको पक्षमा आवाज उठाउने दृढ महिलाका रूपमा उनलाई हेरिन्छ ।

उनलाई धेरै महिलाले साथ थिए, कतिपय अनुयायी पनि भए । योगमायाले तत्कालीन राणाशासनका तीन प्रधानमन्त्री जुद्ध शमशेर, मोहन शमशेर र चन्द्र शमशेरलाई भेटेर आफ्ना मागहरू बुझाएकी थिइन् । मागलाई सरकारले बेवास्ता गरेपछि उनले आफ्ना १४० जना सहयोगीसहित अग्निदाह गर्ने चेतावनी दिएकी थिइन् । तर सरकारले उनलाई जेलमा पनि राख्यो । राणा सरकारले मागलाई बेवास्ता गरेपछि उनले ६८ जना अनुयायीलाई लिएर अरुण नदीमा जल समाधि पनि लिइन् । यति ठूलो संख्यामा महिलाले जल समाधि लिएको कुनै पनि देशमा सुन्न र देख्न पाइँदैन । यसबाट के प्रस्ट हुन्छ भने योगमायामा दरिलो संगठन गर्ने क्षमता र शक्ति पनि रहेछ ।

‘योगवाणी’ पुस्तकले योगमायाले सामाजिक विकृतिविरुद्ध पनि आवाज उठाएकी थिइन् भन्ने प्रस्ट पार्छ । भ्रष्टाचार विरुद्ध कैयौं ठाउँमा कवितामार्फत तिखो प्रहार गरेकी थिइन् । उनले राणा प्रधानमन्त्रीहरूसँग धर्म राज्य स्थापनाको लागि पनि आवाज उठाएकी थिइन्, जसलाई अहिले हामी सुशासन र विधिको शासन पनि भन्छौं । सामाजिक जागरण र महिला अधिकारको पक्षमा लड्ने सशक्त महिला सबैका निम्ति उदाहरणीय व्यक्ति हुन्, जसलाई कुनै पार्टीको टीका लगाइदिनु हुँदैन ।

यस्ता गौरवशाली महिलाका निम्ति आयोजना गरिने कार्यक्रममा राजनीतिकर्मी मात्र हैन, महिला अधिकारकर्मी पनि समावेश गरिनुपर्छ । कार्यक्रममा आवाजविहीनका आवाज पनि सुनिनुपर्छ । अहिले जे कुरामा पनि राजनीति गर्ने परम्परा बसेका बेला कमसेकम यस्ता महिलालाई सबैको सम्मानको पात्र बनाइनुपर्छ । योगमायाबारे विदेशी विद्वानहरूले पनि पुस्तक निकालेका छन् । उनको जीवनका बिभिन्न आयाममा अझै खोजी जरुरी छ ।

२०१६ मा नेपाल सरकारले योगमायाको स्मृतिलाई जीवन्त राख्न हुलाक टिकट पनि निस्काशन गरेको छ । उनको नाममा संस्थाहरू स्थापना गर्ने पनि निर्णय भएको छ । उनको जीवन सम्बन्धी पुस्तकहरू स्कुलको पाठ्यक्रममा पनि राखिनुपर्छ । यसले बालबालिकालाई उत्प्रेरित गर्न सक्छ । सादा जीवन उच्च विचारकी योगमाया नेपालकी उज्ज्वल तारा हुन् । उनका बारेमा देशभित्र मात्र नभएर देश बाहिर पनि प्रचार गरिनुपर्छ । उनको जन्मथलोलाई पनि पवित्र तीर्थस्थलका रूपमा विकास गरिनुपर्छ । योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्नेबारे चर्चा चलिरहेको छ । समाज रूपान्तरणका लागि यति धेरै आवाज उठाएकी महिलालाई राष्ट्रिय विभूतिका रूपमा सम्मान गर्न ढिला गर्नु हुँदैन ।

प्रकाशित : असार २९, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?