२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सामाजिक सञ्जालका असामाजिक प्रकृति

सामाजिक सञ्जालमा बहस गर्नु भनेको आणविक क्षेत्रमा कदम राखे सरह हुन्छ । आफ्नो सुरक्षा गर्नसक्ने अवस्थामा नभएको व्यक्ति पूर्णरूपमा ध्वस्त हुन्छ ।
शशी थरुर

काठमाडौँ — सामाजिक सञ्जालमा हुने टिकाटिप्पणी र प्रहारलाई विषवमनको संज्ञा दिँदै त्यसको आलोचना हुने गरेको छ । त्यो भारतकै समस्या बनेको सर्वविदित विषय नै हो । विदेशमन्त्री शुष्मा स्वराजलाई हेर्ने हो भने पनि भारतीय जनता पार्टीका समर्थकहरूले उनकै बारेमा गरिरहेको नकारात्मक टिप्पणीले त्यसलाई पुष्टि गर्छ ।

सामाजिक सञ्जालका असामाजिक प्रकृति

स्वराजले ट्विटरमा विदेश मन्त्रालयका गतिविधिबारे गरिएका जनताका गुनासाहरू सम्बोधन गर्ने छवि बनाएकी छन् । केही समय अघि भिन्न धार्मिक आस्था भएका एक जोडीलाई राहदानी नदिएको विषयमा एक अधिकारीलाई सरुवा गरिएपछि उनको विरुद्ध पुन: ट्विटरमा प्रहार हुनथालेको छ ।

स्वराज देश बाहिर रहेको अवस्थामा सरुवाको निर्णय राहदानी विभागमा कार्यरत मन्त्रालयका वरिष्ठ अधिकारीहरूले गरेका थिए । तैपनि बीजेपी कार्यकर्ता तथा समर्थकहरूलाई त्यसले रोक्न सकेनन् । उनीहरूले सरुवा गरिएका ती अधिकारीको पक्षमा ट्विट गर्दै स्वराज विरुद्ध निकै कठोर भएर प्रस्तुत भए । स्वराजलाई ‘वेगम’को संज्ञा दिँदै, आफ्नो सीमा नाघेकाले उनको श्रीमानलाई कुटेर भए पनि उनलाई नियन्त्रणमा राख्ने सल्लाहसम्म दिइयो ।

दशकयता बीजेपीले हिन्दु अहंकार, दलितहरूमाथि दमन र उग्र राष्ट्रवादको सन्देश दिँदै प्रतिपक्षीहरूमाथि प्रहार गर्नका लागि ‘साइबर सेना’को समूह नै खडा गरेको छ । यो प्रक्रिया बीजेपी आफैं प्रतिपक्षमा हुँदादेखि नै सुरु भएको थियो । मूलधारको सञ्चार माध्यमबाट बाहिर राखिएको बताउँदै उनीहरूले यसको सुरुआत गरेका थिए । सन् २०१४ मा बीजेपी सत्तासिन हुँदासम्म सामाजिक सञ्जालमा हुने ‘ट्रोल’ उनीहरूको राजनीतिक प्रचार–प्रसारका मुख्य अंग नै बनिसकेको थियो ।

निकै मलजल गरेर तयार पारिएको उक्त साइबर सेनाको ट्विटर, फेसबुक र ह्वाट्सएपमा निकै सशक्त उपस्थिति छ । पत्रकार स्वाती चतुर्वेदीले आफ्नो किताब ‘आई एम ट्रोल : इन्साइड द सिक्रेट वल्र्ड अफ द बीजेपीज डिजिटल आर्मी×’मा गरेको विश्लेषण अनुसार त्यस्ता ‘सेना’लाई देशभित्र र बाहिर रही धेरैवटा एकाउन्ट एकसाथ चलाउनका लागि उचित रूपमा पारिश्रमिक दिइएको छ ।

यी पैसा तिरिएका राजनीतिक सैनिकहरू सामाजिक सञ्जालमा धर्मनिरपेक्षी, उदारवादी र मुसलमान समुदायसँग नजिक रहेका कंग्रेसीहरूमाथि आक्रमण गर्न हरबखत तम्तयार रहन्छन् । बीजेपीको राजनीतिक मुद्दा वा मुसलमान विरोधी चिन्तनका लागि खतरा महसुस भएका कुनै व्यक्ति वा विषयलाई उनीहरूले आक्रमण गरिहाल्छन् ।

यसरी अनलाइन आक्रमण गर्नेहरूको झुन्ड यतिविघ्न असहिष्णु छ कि अपहेलित नभई र गाली नखाई उदारताका साथ सामाजिक सञ्जालमा आफ्नो भनाइ राख्ने कल्पनासम्म पनि गर्न सकिन्न । बीजेपीको शीर्षस्त नेता स्वराजले आफ्नै पार्टीको ‘ट्रोल आर्मी’बाट यस्तो प्रकारको प्रहार यसअघि कहिल्यै सामना गर्नुपरेको थिएन । जब उनीमाथि यस प्रकारबाट आक्रमण सुरु भयो, उनले आफूलाई प्राप्त समर्थन तथा यस प्रकारका उत्पीडनमा आम मानिस उनको साथमा छन् भनेर पनि देखाउन ट्विटरमा सानोतिनो जनमत संग्रह नै गराइन् । तर उनलाई आश्चर्यचकित तुल्याउँदै ४३ प्रतिशत ट्रोलको पक्षमा उभिएको देखिए ।

त्यसपछि शुष्मा स्वराजलाई यो कुरा थाहा भयो, जुन हामीलाई धेरै पहिला नै जानकारी भइसकेको थियो– उनकै पार्टीले भारतको सामाजिक सञ्जाललाई आफ्नो विषालु पोष्टहरूका कारण विषाक्त बनाइसकेको छ । त्यसैले सामाजिक सञ्जालमा बहस गर्नु भनेको आणविक क्षेत्रमा कदम राखे सरह हुन्छ । आफ्नो सुरक्षा गर्नसक्ने अवस्थामा नभएको व्यक्ति पूर्णरूपमा ध्वस्त हुन्छ । डा. भिक्टर फ्र्यांकेस्टाइनले पत्ता लगाए जस्तै आफूले बनाएको राक्षस कुनै पनि बेला आफ्नो नियन्त्रणबाट बाहिर जान सक्छ ।

यस्ता अनैतिक झुन्डले विशेष गरेर महिला पत्रकार तथा राजनीतिक कार्यकर्तालाई आफ्नो तारो बनाउन रुचाउँछन् । तिनले यस्ता महिलाहरूको नैतिकतामाथि मात्रै प्रश्न उठाउँदैनन्, पटक–पटक उनीहरूलाई बलात्कार गर्ने धम्कीसमेत दिन्छन् । एक बीजेपी कार्यकर्ताले केही अघिमात्रै ट्विटरमा कंग्रेस पार्टी प्रवक्ता रहेकी एक महिलाको दसवर्षे छोरीको बलात्कार गर्ने धम्की दिएका थिए ।

उक्त केसमा धम्की दिने व्यक्तिलाई पक्राउ गरियो । त्यस्ता व्यक्ति पक्राउको घटनाले महिलालाई दुव्र्यवहार गर्नेहरूले त्यस प्रकारको क्रियाकलाप भविष्यमा पुन: नदोहोर्‍याउने आशा गरिएको छ । तर त्यसले घरिघरि आइरहने छालको बहावलाई परिवर्तन गर्छ भनेर सोच्नु गलत नै हुन्छ । अन्तत: इन्टरनेटले कुनै न कुनै हिसाबमा अपमानजनक व्यवहारलाई प्रश्रय नै दिन्छ ।

किनभने त्यो स्थानमा आफ्नो गोप्यता कायम गर्दै आफ्नो लक्ष्यलाई टाढाबाटै प्रहार गर्न सजिलो हुन्छ । यी कारणहरूले गर्दा पनि आफ्नो राजनीतिक उद्देश्य पूर्तिका लागि बीजेपीका सामाजिक सञ्जालका सेनाहरूले झैं आफ्नो दिमागमा आएका कुनै पनि विचारलाई जोकोहीले पनि प्रकट गरी ट्रोल बनाउन सक्छन् ।

सामाजिक सञ्जालको दुरुपयोग बीजेपी कार्यकर्ताहरूसम्म मात्रै सीमित छैन । यसको प्रयोग विश्वका अन्य देशहरूमा झैं झुठा कुराहरू फैलाउन तथा कुनै पनि तथ्यको जाँच नगरी समाचार प्रसारित गर्न भएको देखिन्छ ।

यस्ता ‘फेक न्युज’ (झुठा समाचार) हरूको असर निकै गम्भीर हुन्छ । केही सातायता सामाजिक सञ्जाल विशेष गरेर ह्वाट्सएपमा फैलाइएको झुठा हल्लाका कारण धेरै व्यक्तिलाई बच्चा अपहरणकर्ता वा गौ हत्यारा रहेको आरोपमा भिडले कुटी–कुटी मारेको छ । विगतको वर्षमा मात्रै भारतका नौ राज्यमा १५ वटा त्यस्ता घटना भए जसमा २७ जनाले आफ्नो ज्यान गुमाएका छन् ।

खासगरी सामाजिक सञ्जालमा आउने झुठा तस्बिरहरूले धेरैलाई समस्या हुने गरेको छ । म्यानमारको समुद्री आँधी पीडितलाई उत्तरपूर्वमा मुसलमान मारिएको तस्बिर भनेर प्रचार–प्रसार गरिँदा केही मुसलमान अधिकारवादीहरूले अन्यत्र बसोबास गरिरहेका उत्तरपूर्वका गैरमुसलमानलाई धम्की दिए ।

त्यहाँको प्रशासनले स्थानीयहरूलाई सामाजिक सञ्जालमा गरिएका पोस्टहरू गलत हुन् भनेर स्पष्ट पार्नुपूर्व नै दसौं हजार उत्तरपूर्वीय भारतीयहरू त्रसित भएर आफ्नो घरबास र काम छोडेर ठूला सहर प्रवेशमा आश्रय लिन जानुपरेको थियो । सामाजिक सञ्जालको प्रकृति नै कुनै पनि सीमा र प्रमाणीकरण बिना नै कसैको संवेदनशीलतामा प्रहार गर्नसक्ने क्षमतालाई सम्मानित गर्ने रहेको देखिन्छ ।

यसको सजिलो समाधान पनि छैन । किनभने विभिन्न नियम र कानुनको परिधिमा यसलाई बाँध्नु भनेको व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामाथि नै अंकुश लगाउनु हो । तर अहिले बीजेपी आफैं नै आफूले सिर्जना गरेका साइबर सेनाबाट पीडित भएपछि भने यो समस्यालाई वास्तवमै समस्याका रूपमा लिन थाल्न सक्छ ।

(प्रोजेक्ट सिन्डिकेटबाट अनुदित)

प्रकाशित : असार ३०, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?