प्रतिप्रश्न : पत्रकारिता तिखार्ने औजार

नेताले, नेतृत्वले प्रतिप्रश्न गर्ने पद्धति बसाल्ने हो भने पत्रकारिता पक्कै तिखारिन्छ ।
भैरव रिसाल

काठमाडौँ — नेपालको पत्रकारिता नतिखारिनुमा वा भुत्ते हुनुमा राजनीतिक, प्रशासनिक र प्राज्ञिक नेतृत्व हो । यदि पत्रकारितासँग यी नेतृत्व नतर्सने, भयभीत नहुने र नआत्तिने हो भने साँच्चै पत्रकारिता तिखारिन्छ, भुत्ते हुँदैन । नेपालमा धेरै अघिदेखि नै यी क्षेत्रको नेतृत्व गर्नेहरू प्रेस–पत्रकार भनेपछि सहज रूपमा लिन असहज ठान्छन् ।

यसमा पत्रकारिता प्रारम्भको अवस्थामा छँदाको स्थिति त विजोगै थियो । २००७ सालपछि मात्र नेपालमा पत्रकारिता स्थापना भएको हो । २००७ फागुन ८ बाट सरकारी आर्थिक सहयोगमा सुरु भएको दैनिक ‘आवाज’ वर्ष २ अङ्क १०७ सम्ममात्र प्रकाशित हुनसक्यो । त्यसपछिको दैनिक हो, ‘समाज’ दुई पृष्ठ मोटो १० वाइ १५ आकारको । मूल्य ५ पैसा । २०११ भदौ २४ बाट प्रकाशन प्रारम्भ भएको थियो । के हो, के हो ? पत्रिका भनेपछि लोभ गर्ने तर पत्रकार भनेपछि सत्ता र शासन नजिक पर्नै नचाहने । वास्तवमा असल सरकार र सत्ता त पत्रिकाको सकभर निकट हुन चाहनुपर्ने हो । तर व्यवहारमा उल्टो । पत्रिका, पत्रकार र समष्टिमा पत्रकारिताले अपवादमा बाहेक कहिल्यै सरकारको नजिक बस्न त के स्नेह र माया पनि पाउन नसकेको विगत छ ।

भैँसीदेखि घोडा, घोडादेखि भैँसी ?
नेतृत्व जहिले पनि पत्रकारिताको नजिक पर्न नचाहने । हामी त्यति बेलाका पत्रकार पनि पत्रकारिता नपढेका, गर्दै सिक्दै जाने पद्धतिका भने यता सबै फाँटको नेतृत्व गर्नेहरू त्यही पत्रकारिताको पनि सामिप्य नचाहने । अन्तरविरोध † नेपालको राजनीतिक नेतृत्व पनि यही समाजबाट जन्मेको हो । डेढ प्रतिशत नेपाली पनि साक्षर थिएन होलान्, नेपालको राजनीतिक आन्दोलन प्रारम्भ हुँदा ।

Yamaha

राजनीति त्यो समाजमा पनि जसरी सुरु भो, त्यो नै धन्य हो । पत्रकारिता र राजनीतिक नेतृत्वबीच जति नै कटाक्ष वा आशंका वा अविश्वास भए पनि यी दुई तत्त्व एउटा कमजोर भए अर्को स्वत: कमजोर हुने, एउटा दुब्लाए अर्को पनि दुब्लाउने कस्तो रसायन मिलेको ? नेपालमा अपवादमा बाहेक राजनीतिक, प्राज्ञिक र प्रशासनिक नेतृत्व आमने–सामने पर्दा पत्रकार समक्ष कहिल्यै प्रतिप्रश्न नगर्ने । प्रतिप्रश्नको जंघार तर्नपरेको भए पो त पत्रकारिता छरितो, चुस्त–दुरुस्त र तिखारिएको हुन्थ्यो, धारिलो हुन्थ्यो । नेतृत्वबाट प्रतिप्रश्न आउँदैन, अनि आफ्नो पहँ‘च त के फुट्टी नजानेको विषयमा पनि प्रश्न सोध्ने पत्रकार, कनिकुथी उत्तर दिन तम्सने नेता † दुवै पक्ष कमजोर भैंसीदेखि घोडा तर्सने घोडादेखि भैंसी तर्सने जस्तो ।

नजानेको विषयमा प्रश्न नै नगर्ने
कुरो हो, २०२० सालको हो । तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष डा. तुलसी गिरीले राजीनामा दिएछन् । यो भो हिजो बेलुकीको घटना । मलाई पनि पत्रकार बन्नैपर्ने । भोलि बिहानै गएँ, राजीनामा स्वीकृत भई खालिखण्डे भएका डा. गिरीकहाँ । त्यतिबेला उनी त्रिपुरेश्वरको एउटा सरकारी घरमा बस्थे । गिरीले किन राजीनामा दिए भनी प्रतिक्रिया लिन गएको थिएँ । उनले कुराएनन् । आउनाको कारण सोधे । मैले सोधेँ, किन दिनुभो त राजीनामा ? प्रश्न गर्नासाथ डा. गिरीले हठात् जवाफ दिइहाले, ‘मतभेद भएर’ ।

मैले तत्कालै सोधेँ, ‘कोसँग मतभेद ?’ डा. गिरी खरो उत्रिए, मसँग नै प्रतिप्रश्न गरे, ‘तपाई पत्रकार होइन ?’ मैले पनि सहसा उत्तर दिएँ, ‘पत्रकार भएकैले त तपाईलाई सोधेको नि †’ उनले ठाडो शब्दमा मसँगै सोधे, ‘मेरो कोसँग मतभेद हुन्छ, त्यति पनि बुझ्नु हुन्न ? तैपनि पत्रकार रे’ पो त भन्छन् डा.गिरी । म पनि सिकारु नै पत्रकार थिएँ क्यार । डा. गिरीसँग त्यसभन्दा पर जाने आँटै आएन । त्यसपछि म अलि पाको हुन खोजेँ । आफूले जान्न खोजेको विषयमा थोरै भए पनि अध्ययन नगरी कहिल्यै प्रश्न नगर्ने भएँ ।

प्रतिप्रश्न गर्ने हुनासाथ स्तरीय हुने
एउटा अर्को उदाहरण बेलायतमा एकपल्ट हिथ प्रधानमन्त्री भए । उनी अविवाहित रहेछन् । बेलायतमा प्रधानमन्त्री पत्नीले प्रधानमन्त्री निवास टेन डाउन स्ट्रीटमा भब्य समारोह गर्ने परम्परा रहेछ । बिहे नै नगरेका प्रधानमन्त्री भएपछि एउटा कौतूहल हुने नै भो, खासगरी पत्रकारलाई । एउटी भर्खरकी केटी पनि रहिछन्, त्यतिबेला प्रधानमन्त्री हिथसँग भेट्ने पत्रकार समूहमा ।

उनले प्रश्न गरिछन्, प्रधानमन्त्री हिथसँग, ‘अब टेन डाउन स्ट्रीटमा कसले आयोजना गर्छ, त्यो भब्य पार्टी ?’ तब फ्याट्ट प्रतिप्रश्न गरेछन्, प्रधानमन्त्री हिथले, ‘के तपाईले मसँग बिहे गर्ने प्रस्ताव राख्नुभएको हो भन्ने सम्झौं ?’ उनी लाजले भुतुक्कै भइछन् । संयोग, ती प्रश्नकर्ता महिला पत्रकार पनि अविवाहित रहिछन् । त्यसो हुँदा यो प्रश्नोत्तर अरू गहकिलो र मार्मिक हुनपुग्यो । सभाहल हाँसोले मस्त भएछ । यस्तो रमाइलो र रोचक बनाउँछ, प्रतिप्रश्नले । नेताबाट, नेतृत्वबाट यस्ता प्रतिप्रश्न आउने वातावरण भए प्रश्न गर्ने पत्रकारले आफूले गर्ने प्रश्नबारे विषय जानेको हुनुपर्ने भो, फाल्तु प्रश्न नगर्ने भो । भेटघाट, पत्रकार सम्मेलन स्तरीय हुने भो । पत्रकार तिखारिने भो ।

यता होइन, उता सोध्नोस्
कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए २०४६ सालको जनआन्दोलनले पञ्चायत राज ढालेपछि । प्रधानमन्त्रीको हैसियतमा भारतको राजकीय भ्रमणमा गएका बेला आयोजित पत्रकार सम्मेलनमा एकजना भारतीय पत्रकारले प्रश्न गरे प्रधानमन्त्री भट्टराईलाई, ‘नेपाली सेनामा तराईका नेपाली किन भर्ती गरिन्नन् ?’

प्रधानमन्त्री भट्टराईले हाजिर जवाफको शैलीमा भारतीय प्रधानमन्त्रीतिर संकेत गर्दै प्रश्नकर्ताको मुखमा हेरेर सटिक जवाफ दिएछन् । ‘यो यता होइन, उता सोध्नोस् । भारत सरकार गोर्खा फौजमा तराई मूलका नेपालीलाई किन भर्ती गर्दैन ?’ तब ती प्रश्नकर्ता निरुत्तर भएछन् । उनले भारतीय प्रधानमन्त्रीसँग त्यो प्रश्न गर्ने आँटै गरेनछन् । भारतको गोर्खा ब्रिगेडमा पहाडी नेपाली त्यो पनि पाएसम्म गुरुङ, मगर, राई, लिम्बु युवामात्र छानिन्छन् । बाहुन जातिका पल्टनका लागि योग्य युवा रहेछन् कोही भने भर्ती हुँदा बाहुन नभन्ने । राई, लिम्बु, मगर, गुरुङ भन्ने । त्यसो भन्दा पनि नाक लाम्चो र थेप्चोको कारण नठहरिने हुँदा जातमा क्षत्री लेखाउने अक्कल सिकाउँदो रहेछ, गल्लावालाले नै ।

गल्याङ्ग्रोपनबाट मुक्त हुन प्रतिप्रश्न
विश्वेश्वरप्रसाद कोइराला यदाकदा प्रतिप्रश्न गर्ने गर्थे । खासगरी भारतीय पत्रकारहरूसँग त्यो पनि चीन—नेपाल सम्बन्ध, चीन—नेपाल—भारतको त्रिदेशीय सम्बन्धका प्रश्न आउँदा । त्यस्तै पञ्चायत राजको प्रसङ्ग उठ्दा । डा. के.आई. सिंह पनि आक्कल–झुक्कल प्रतिप्रश्न गर्थे । टंकप्रसाद आचार्य प्रतिप्रश्न नगर्ने । नगेन्द्रप्रसाद रिजाल उस्तै । पञ्चायतका प्रधानमन्त्रीमा डा. तुलसी गिरी र मरिचमान सिंह प्रतिप्रश्न गर्थे ।

बहुदलपछि गिरिजाप्रसाद कोइराला पनि प्रतिप्रश्न गर्थे, बेला–बेला । नेताले, नेतृत्वले प्रतिप्रश्न गर्ने पद्धति बसाल्ने हो भने पत्रकारिता पक्कै तिखारिन्छ । यो प्रक्रिया राजनीतिक क्षेत्रमा भएर मात्र पर्याप्त हुँदैन, शिक्षा क्षेत्रमा, विश्वविद्यालय, महाविद्यालय एवं साधारण विद्यालयसम्म पनि पुर्‍याउनुपर्छ । विद्यार्थी एउटा तहमा प्रश्न गर्ने अवस्थामा हुन्छ भने अर्को तहमा उत्तर दिने । प्रतिप्रश्नको प्रणाली स्थापना र विकास गर्न सक्यौं भने उच्च तहको उपलब्धि वा प्रतिफल प्राप्त हुन्छ ।

सबै सेवा चुस्त–दुरुस्त भई सुशासन कार्यान्वयन हुनथाल्छ, गल्याङ्ग्रोपनको अन्त्य हुन्छ । एकजना फ्रान्सेली दार्शनिक भोल्टेयरले भनेका छन्, ‘मान्छेलाई उसले दिएको उत्तर हेरेर भन्दा उसले गरेको प्रश्न हेरेर मूल्याङ्कन गर ।’ अहिले नेपालमा पत्रकारितामा स्नातकोत्तर गर्ने धेरै दर्जन भैसके । विद्यावारिधि गर्ने युवासमेत दर्जन वरिपरि पुगे । तर आजको पत्रकारिताको स्तर पत्रकारिता नपढेका म जस्ताले गरेको भन्दा पनि कमजोर जस्तो लाग्छ । पत्रकारिताको प्राणतत्त्व नै विश्वसनीयता हो । आजको पत्रकारितामा हो, त्यसैको कमी छ।

Esewa Pasal

प्रकाशित : असार ३०, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

हीरक वर्ष खोतल–खातल

राजा महेन्द्रले २०२१ वैशाख २६ गते विश्व रेडक्रस दिवसको उपलक्ष्यमा रेडक्रस नेपालको कार्यालय त्रिपुरेश्वरमा गएर रक्तदान गरे ।
भैरव रिसाल

काठमाडौँ — पसिना बेचेर मात्र भरियाहरूको जीविकोपार्जन हुँदैनथ्यो । त्यसैले पहाडी मूलका २५–६५ वर्षका १८/२० जना भरियाको जमघट भइरहन्थ्यो, वीर अस्पतालको रगत उपलव्ध गराउने एकाइको अगाडिको सडकमा, सडकको पेटीमा । त्यति धेरै भरिया किन त भन्दा रगत चाहिने कुन रक्तार्थीलाई कुन समूहको रगत हो, ठेगान नहुने हुँदा त्यो हुल जम्मा भएको हो ।

सुरु–सुरुमा एक युनिट (मात्रा) रगत दिने भरियालाई १ सय रुपैयाँ दिने गरिन्थ्यो । त्यो पैसो भरियाका लागि प्रशस्त ठानिन्थ्यो । सय कमाउन दिनभर भारी बोक्दा पनि मुस्किल पथ्र्यो । फेरि बोक्न भारी पनि त पाउनुपर्‍यो नि । एकछिन एक युनिट रगत दियो, सय रुपैयाँको नयाँ नोट गोजीमा । एकाध वर्षपछि रक्तदाताहरूको बित्पातै शोषण भो भन्ने परेछ– परोपकार, रेडक्रस जस्ता संस्थालाई बेठिक लागेछ क्यार र २५ रुपैयाँ बढुवा भएछ, त्यो पनि नमागिकनै । रक्तदाता भरियाको भाग्यै खुल्यो भन्न थालेछन् । त्यो परिस्थितिमा रगत बेच्नेहरूबीच तँछाड–मछाड हुने कहिलेकाहीं त † केही वर्षसम्म नै चल्यो, रगत बेच्ने यस्तो दयनीय प्रतिस्पर्धा । लगातार धेरैपल्ट रगत दिँदा स्वास्थ्यमा पर्ने प्रतिकूलताबारे सोच्ने सोच नै टुसाएको थिएन, समकालीन समाजमा, समुदायमा । त्यसको कस्तो परिणाम भयो होला ? हेरिएन ।

पहिलो रक्तदाता
नेपालमा रक्तदानको इतिहास थालनी भएको धेरै भयो भनौं या धेरै भएको छैन भनौं जे भने पनि ७५ वर्ष लाग्यो । नेपालका पहिलो रक्तदाता हुन्– अदम्य साहसी एवं उत्साही, प्रचण्ड समाजसेवी दयावीरसिंह कंसाकार । उनले नेपालमा जुद्धशमशेर राणा श्री ३ महाराज रहेका बेला पहिलोपल्ट रक्तदान गरेका रहेछन् । दयावीर आफ्नो नातेदार अस्पताल भर्ना भएकोले भेट्न गएका रहेछन् । त्यतिबेला एउटी महिला बिरामीनिर बसेर रोइरहेकी । दयावीरले किन रोएको भनी सोध्दा उनको बिरामी छोरालाई रगत दिनुपर्छ, नत्र बचाउन सकिँंदैन भनी डाक्टरले भनेपछि रोएकी रहिछन् । जल्दोबल्दो हृष्टपुष्ट खाइहाल्दो युवा दयावीरले रगत दिन्छन् कि भनी रोएकी रे । दयावीरले ‘आफ्नो छोरालाई आफै दिनोस् नत रगत’ भन्दा ‘म मरेंँ भने नि रगत झिक्दा’ भनिछन् । दयावीरलाई दया लागेछ र रगत दिन तयार भएछन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. देवव्रत दास गुप्ताले दयावीरको रगत झिकी बिरामी रत्नकाजी तुलाधरलाई दिएछन् । तै रगतको समूह मिलेछ । त्यतिबेला नेपालीहरूमा रक्तदानबारे थाहै थिएन । विहा भएको मात्र होइन, छोराछोरी समेत भइसकेका दयावीरले परिवारको परवाहै नगरी रक्तदान गरेका थिए । उनले बाँचुन्जेल ८ पल्ट रक्तदान गरे । २००४ सालमा दयावीरकै अग्रसरतामा परोपकार संस्था सरकारबाट खड्ग निसानाद्वारा अनुमति प्राप्त भएपछि रक्तदाता स्वयंसेवकहरू टोली नै बनाइएछ । त्यसपछि रक्तदानको स्थिति बस्न थालेको हो । कस्तो थियो होला, त्यस युगमा रक्तदाताहरूको मनोविज्ञान र रगत लिने बिरामी र उनका परिवारको मनोविज्ञान ।

मैले पनि रक्तदान गरेंँ
म रासस (राष्ट्रिय समाचार समिति) को प्रमुख संवाददाता थिएँ । समाचार संकलनका निम्ति समारोहहरूमा गइरहनुपर्ने । रक्तदान नगरिकन त्यस्ता कामको रिपोर्टिङ गर्न जान अप्ठेरो लाग्यो । राससका साथीहरूसँग सल्लाह गरेँ, रक्तदान दिन । १३ जना पत्रकार तयार भयौं । तर १३ जनामध्ये ५ जना अयोग्य ठहरिए । बाँकी ८ जनाले रक्तदान गर्‍यौं । त्यो बेलासम्म पनि रक्तदाताले रेडक्रसमा नै गएर रगत दिनुपर्ने अवस्था थियो । हामीले रक्तदान गरेको २०३४ भदौ ७ गते हो । मेरो रगत ‘ए पोजेटिभ’ रहेछ । मैले ५०० सीसी रगत दिएको रहेछु । त्यतिबेला रक्तदातालाई नेपाल रेडक्रस सोसाइटीकी अध्यक्ष श्री ५ अधिराजकुमारी प्रिन्सेप शाहले दस्तखत गरेको प्रशंसा पत्र दिइँदो रहेछ । मेरो प्रशंसा पत्रमा २५ नं. लेखिएको छ । त्यो २५ नं. केका आधारमा लेखिएको अहिले पनि बुझिन । आर.एच. प्लस भीई (पोजिटिभ) लेखिएको छ । त्यसरी आफूले पनि रक्तदान गरेपछि आफ्नो मनोबल र नैतिकबल पनि बढ्यो । ग्लानि र हीनताबोध त कता हरायो कता । त्यसपछि रक्तदान गर्नुहोस् भन्ने मेरो बोली ठूलो र दरिलो बन्न लाग्यो । दानको परिणाम स्वत: सबल आधार हुनेरहेछ । मेरो निजी अनुभव हो ।

राजा महेन्द्रले पनि गरे रक्तदान
राजा महेन्द्रलाई पनि रक्तदान गर्न मन लागेछ । २०२१ वैशाख २६ गते विश्व रेडक्रस दिवसको उपलक्ष्यमा रेडक्रस नेपालको कार्यालय त्रिपुरेश्वरमा गएर रक्तदान गरे । त्यो रिपोर्टिङ गर्न राससबाट म गएको थिएँ । त्यो आजभन्दा ५४ वर्ष पहिलेको कुरा हो । त्यतिबेला रगत दान गर्नु सरल मानिँदैनथ्यो । जनतामा स्वास्थ्य चेतना पनि निकै कम थियो । रेडक्रसको कार्यालय नेपाल रेडक्रसका अगुवा रमेश शर्माको घरमा त्रिपुरेश्वरमा थियो । ब्लड बैंक पनि शिशु अवस्थामै थियो । अहिले रक्तदान गर्न ब्लड बैंक पुग्नु पर्दैन ।

रेडक्रसको ब्लड बैंकबाट सम्बन्धित विज्ञ सहितको टाली नै आउँछ– टोल–टोलमा, गाउँ–गाउँमा । तर २०२१ सालमा रक्तदान गर्न स्वयं राजा महेन्द्र पनि नेपाल रेडक्रस कार्यालय जानुपरेको थियो । दरबारमा गएर रगत लिनु सहज थिएन । राजा महेन्द्रको रगत प्रत्यारोपण गर्न एकजना व्यापारी रतिरामले इच्छा गरेछन् । तर गु्रप मिलेनछ र वीर अस्पतालमा उपचार गराइरहेकी ३० वर्षीया साधारण महिला शान्ति प्रधानलाई वैशाख २९ गते त्यो रगत दिएछन् ।

प्रकाशित : जेष्ठ ३१, २०७५ ०७:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT