चिठी र चपेटा

समय रेखा
काठमाडौंमा अलिकति राम्रो अलिक खुला ठाउँ देख्यो कि सरकारले निषेधित क्षेत्र घोषणा गर्नुपर्ने मनोग्रन्थि अनौठो होइन र ? यो मण्डलामा कसको डर थियो र, तपाईंहरूलाई ? प्रतिपक्षी दलको अवस्था अहिले अन्तरकलहले कमजोर भएको छ ।
अभि सुवेदी

काठमाडौँ — तपाईंहरूको ठूलो बहुमतको सरकार बनेपछि अब स्थायी सरकार बन्नेछ र यो विजोग हुनलागेको मुलुकमा अब त केही थिति बस्ला भनेर खुसी हुने मानिसमध्ये म पनि एक हुँ । त्यो कुरा व्यक्त गरेर एकाध यस्तै लेखहरू पनि लेखेको छु । तर केही कुराले अहिले आन्दोलित र किञ्चित् दु:खी भएको कारणले लाग्यो, मनमा लागेका कुरा तपाईंहरूलाई प्रस्ट भनु ।

एक मनले त भन्यो, म तपाईंहरूकोमा गएर यी कुरा सोझै भनु, किनभने तपाईंहरूसँग मेरो चिनजान छ, कतिलाई त पढाएको पनि हुँ । तर झट्ट सम्झेंँ, त्यो मेरो स्वभाव विपरीत हुनेछ । त्यसैले लाग्यो, एउटा तपाईंहरूलाई खुला चिठी लेखुँ ।

मण्डलाबाट सुरु गरौं । यो आममानिस भेला भएर आफ्ना विचार सरकार र समाजका शक्ति नाइकेहरूसम्म पुर्‍याउने माइतीघरको एउटा सानो थलोको नाम हो । यो ठाउँमा पहिला केही व्यक्तिगत घरहरू थिए र यो सडकले घेरिएको थलोको रूपमा थियो । मण्डला अहिले जुन आकारमा बनिएको छ, त्यो योजना गर्नेहरूको सोच राम्रो हो । हाम्रा मित्र कलाकार बत्स गोपाल वैद्यले यसमा मण्डला आकारको पेन्टिङ बनाउन निकै समय लगाएका थिए ।

Yamaha

यस थलोमा अनेकौं महत्त्वपूर्ण विरोध सभाहरू भए, भाषणहरू भए । यो एउटा थलोबाट डा. गोविन्द केसीको एउटा सत्याग्रहको बेला युवाहरू धेरै भएको, तर सबै तहका मानिसहरू सामेल भएको जुलुस संसद् भवनको निषेधित क्षेत्र बाहिरसम्म पुगेको थियो । म पनि त्यसमा सामेल थिएँ । त्यो एउटा बलियो, सुन्दर र लोकतान्त्रिक मार्च थियो । भद्र, शान्तिपूर्ण र कलात्मक थियो, त्यो जुलुस । यहाँ हुने विरोधहरू अनि यहाँबाट निस्किने जुलसहरू शान्तिपूर्ण र लोकतान्त्रिक हुन्छन् र भइआएका छन् । मैले नबुझेको कुरा यहींबाट सुरु हुन्छ । तपाईंहरूलाई यो ठाउँ एकाएक निषेधित गर्ने दिव्यदृष्टि कहाँबाट आयो ? सबैले तपाईंहरूलाई दुई तिहाइको ‘शक्ति उन्माद’ हुनलागेको छ भनेको बेला नै यो निर्णय किन लिनुभयो ? म चकित परेको छु ।

पहिलो कुरा यसमा भेला हुने मानिसहरूले कुन राज्य क्रान्ति वा सरकार हल्लाउने कसरत गर्ने थिए र ? गोविन्द केसी फेरि अनशन बस्नेछन्, अनि यिनको समर्थनमा यहाँ युवा पुस्ता भेला भएर विरोध गर्नेछन् भन्नेमात्र चिन्ता हो भने त्यो अनौठो छ । ती साधारण मनुवा, गोविन्द केसी विष्णुका वामन अवतार हुन्, जसले जहाँ पाइला टेक्नेछन्, त्यहीं अधिकार गर्नेछन् भन्ने भय हो भने अलिक अतिरञ्जना भयो । तिनका माग त साधारण छन् । तर म तपाईंहरूलाई मात्र भन्दिन । पन्ध्रौं पटक यी सत्याग्रहीले अनशन गर्नु भनेको अहिले तपाईंहरू, कमिनिष्टहरू बाहेकका कांग्रेस र संयुक्त सरकारहरू पनि जिम्मेवार भएको कुरा प्रस्ट छ । तिनका १५ वटा सत्याग्रहले लोकतान्त्रिक कालको नेपालको लगभग सबै समय भ्याएको छ ।

भोलिको ऐतिहासिक न्यारेटिभमा लेखिनेछ, एकजना मसिनो देहकायी डाक्टरले भने, मेडिकल शिक्षा राजधानीमा मात्र केन्द्रित नहोस्, टाढा–टाढाका मानिसका निम्ति पनि होस् । केही वर्ष काठमाडौंमा अस्पताल खोल्न मोराटोरियम होस् । के भो र पछि खुल्ने नै छन् । गरिब गुरुवाको पनि मेडिकल उपचार र शिक्षामा पहुँच होस्, इत्यादि । यी मानिसको जस्तै चिन्ता मैले बीपी कोइरालाका लेख र भाषणमा र मनमोहन अधिकारीका बोलीमा सुनेको हुँ ।

मैले तिनलाई लिएर अमेरिकी माक्र्सेली विद्वान प्रेडरिक जेमिसनलाई भेट्टाउन जाँदा मनमोहन अधिकारीले ठिक यही कुरा गरेका थिए– यो देशका सबै विपन्न मानिससम्म हामी पुग्नेछौं । अहिलेका सरकारहरूका काल्पनिकीमा सर्वसाधारण ग्रामीण विपन्नहरू पर्नै छाडेका आभास हुनथालेका छन् । अधिकारीले भनेको चिन्ताले सम्झिन्छौं ।

यो मण्डलामा कसको डर थियो र, तपाईंहरूलाई ? प्रतिपक्षी दलको अवस्था अहिले अन्तरकलहले कमजोर भएको छ । तिनीहरू विशाल जुलुस लिएर मण्डला थर्काउनेगरी आउने सम्भावना केही थिएन । अस्ति मण्डला निषेधको प्रतिकारको विरोध गर्न गएका बेला पानी बाराबार भएका उनीहरू पहिलोपल्ट एक भएर बोलेका थिए रे, एकजना विद्यार्थीले दिएको जानकारी अनुसार ।

अर्को कुरा काठमाडौंमा अलिकति राम्रो अलिक खुला ठाउँ देख्यो कि सरकारले निषेधित क्षेत्र घोषणा गर्नुपर्ने मनोग्रन्थि अनौठो होइन र ? काठमाडौंका लगभग मुख्य ठाउँहरूमा भेला हुन तपाईंहरूले होइन, सडक निर्माणको जिम्मा लिनेले प्रतिबन्धलाई दिएकै छन् नि । भत्केका, अत्याउनेगरी भ्वाङ परेका, बनिएका पनि कुनै ट्राफिक सिग्नल नहुँदा डरलाग्दा भएका, अनि उता डाँडा पारिको मेलम्चीको सन्देश बोकेर प्राय:प्राय: सबैतिर खनिएको अवस्था भएको, भूकम्पले लगभग हरेक ठाउँका सम्पदा भत्काएको यो नगरमा तपाईंहरू जस्तो दुई तिहाइ संख्यामा सांसद भएका सरकारले निषेधित क्षेत्र घोषणा गरेर यत्रो आलोचना खेप्नुपर्ने कुनै कारण थिएन ।

देशैभरि ठेकेदारहरूले यसै निषेधित क्षेत्रहरू घोषणा गरिदिएकै छन् नि । होश गर्नुहोस्, यही मण्डलाको निषेधित क्षेत्रलाई लिएर तपाईंहरू कमिनिष्ट भएकोले शक्ति उन्मादमा परी काम गरेको भन्ने ग्रान्ड न्यारेटिभ जन्मिनेछ । वास्तवमा यो सानो थलो नेपालमा लोकतान्त्रिक चेतना आएको ठाउँको प्रतीकको रूपमा भेटघाट, सम्वाद र उत्सवको भावनाबाट रचना गरेका हुन्, जनताले । हन्ना आरेन भन्ने विख्यात यहुदी विद्वानले दोस्रो विश्वयुद्धपछि अनेकौं जोडदार किताब र लेख लेखेकी छन् । ‘द ह्युमन कन्डिसन’ (१९५८) भन्ने मलाई धेरै मनपर्ने किताब हो । त्यसमा उनले भनेकी छन्, नगरका यस्ता ठाउँहरू, मानिसहरूले सँगै उठबस गर्दा, सँगै बोल्दा बनिएका हुन् ।

अहिले तपाईंहरूको भाष्यमा सपनाको कुरा आउँछ । सपना नदेख्नेले राज्यका भावी परियोजना गर्न सक्तैनन् । ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ भने कवि लक्ष्मीप्रसाद देवकोटाले । सपना देख्नेले आक्रोश होइन, प्रेम, सरसल्लाह र सहकार्य गर्नुपर्छ । यो देशमा सबैले सपना देखेका छन् । सपना देख्न समय लाग्दैन, पुरा गर्न भने लाग्छ । सबै स्वप्नधारीका चिन्ता मिल्दा नयाँ युग आउने हो । यो साहित्यले बुझ्ने चरित्र हो ।

नेपालका राजनीतिक दलहरूको राजधानी मोह ठूलो छ । ठूला दलहरू, खासगरी क्रान्तिकारीहरूले, बाहिरको, टाढा–टाढाको नेपाल छोड्दै क्रमश: राजधानी केन्द्रित गरे राजनीति । त्यसैले गर्दा पनि राजधानीलाई उनीहरूले एउटा संवेदनशील, एकमात्र थलोका रूपमा मान्न थाले । सबै कुराको केन्द्र यहीं बन्न पुग्यो । तर पुँजीवादी युगमा राजधानीका चरित्र अत्यन्त तीव्र गतिमा बद्लिन्छन् । तिनमा बनिने सडकहरू र मण्डलाजस्ता त के ठूलठूलै चोक र घुम्तीहरू विदेशी पुँजीवादी र व्यापारीहरूका उत्पादन गाडी गुड्ने किसिमले बनिन्छन् । यहाँ अहिले भारतका गुड्छन्, अब अरूका पस्तैछन् ।

तपाईंहरूले तिनै पुँजीवादीहरूका योजनामा थाहा पाएर वा नपाई अबका सडक सञ्जाल बनाउँदै जानुहुनेछ, बनाउँदै हुनुहुन्छ । सबै खाले पुँजीवादीको मूलमन्त्र सडक निर्माण हो । जुलुस प्रतिबन्ध गर्नेतिर खासै चिन्ता नगरे हुन्छ । हिजोका अधिनायकवादी शासकहरूलाई पो जुलुसको डर थियो । तपाईंहरूले किन डर लिने ? काठमाडौंका पुराना नगरहरू जुलुस गर्ने नभई जात्रा र नाच गर्ने थलोहरू राखिएका वास्तु शैलीमा बनिएका हुन् । ती सहरहरूमा तपाईंहरू भूमिगत हुँदा सकुशल लुक्न सक्नुभएको त्यही कारणले हो ।

‘द गार्डियन’ पत्रिकाले ७ सेप्टेम्बर २०१७ को अंकमा २०१६ मा गरिएका जुलुसको एउटा विश्वव्यापी सर्भे निकालेको छ । यस अनुसार त्यो वर्ष बर्लिन, जोहान्सबर्ग, म्याड्रिड, प्यारिस, द हेग, एथेन्स, सिड्नी, संयुक्त राज्य अमेरिका, मेक्सिको सिटी प्रत्येक सहरमा सालाखाला ३ हजार ठूला जुलुसहरू निस्के । दिल्लीमा पनि निस्के । ती लोकतान्त्रिक मुलुक हुन् । त्यहाँ गरिने जुलसलाई त्यहाँका लोकतान्त्रिक सरकारहरूले आकाशै खस्न लाग्यो जस्तो गरेर हेर्नुको कुनै औचित्य छैन ।

दिल्लीमा पहिले पार्लियामेन्ट अगाडि राजपथमा ५ लाखसम्मका जुलुस हुन्थे । धेरै मानिस भएकाले पछि जन्तर–मन्तरमा सरे जुलुस । पत्रकार अखिलेश शर्मा लेख्छन्, सरकार, हामी मरेका छैनाैं, खाता सच्याऊदेखि लिएर हामीले आत्महत्या गर्न पाउनुपर्छ सम्मका अनि सबै थरीका राजनीतिक माग र विरोधका जुलुस हुन्छन् यहाँ । ‘इन्डिया अफ्टर महात्मा गान्धी’ भन्ने किताबमा रामचन्द्र गुहाले जन्तर–मन्तरलाई सानो भारत भनेका हुन् । प्रजातन्त्रमा जुलुस जीवन हो, त्यसलाई प्रवाहित हुने ठाउँ चाहिन्छ ।

तपाईंहरूले संस्कृत विश्वविद्यालयका कुलपति कुलप्रसाद कोइरालालाई गरेको व्यवहारले दु:खी भएको छु । प्राज्ञिक जगतमा तरङ्ग चलेको देख्नुभएको छ । दलहरूका नजिक भएर नियुक्ति लिने र तिनका निर्देशनमा काम गर्ने, स्वतन्त्रता र प्रज्ञालाई भन्दा तपाईंहरूको समूहमा बस्ने र भागबन्डामा पर्ने अभ्यास गरेकोले हामी अहिले तेजोवध देखिएकै हौं । अबका दिनमा प्रज्ञा र विश्वविद्यालयलाई स्वतन्त्र राख्नुपर्छ भन्ने तपाईंहरूको विचार भएन भने सबै बिग्रिनेछ । नभए बाहिर जगतमा हाम्रो विश्वास नराम्ररी गुम्नेछ ।

अन्त्यमा, साना कुरामा विरोधी र अलग विचार राख्ने दलहरूसँग सम्बन्ध तिक्त बनाउने कसरतले नेपालको यो महान कालखण्डको उचित प्रयोग हुन सक्दैन । आशावादी भएर सुझाव दिन्छौं, लोकतन्त्रको नेपाली चरित्र विश्वमा एउटा नमुना बनाउनोस्, विसंगत नाटक होइन । शुभकामना । अहिले यत्ति नै ।

Esewa Pasal

प्रकाशित : असार ३०, २०७५ ०८:००
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जिप्सीमाथि पश्चिमी दृष्टि

समय रेखा
युरोपेली र अमेरिकाली पश्चिमी संस्कृतिले रोमामाथि विभ्रममा परेको तिनको राजनीति र दृष्टिलाई बदल्न नसकुन्जेल यो एउटा विडम्बनाको विषय भइरहनेछ ।
अभि सुवेदी

काठमाडौँ — सभ्यता, पुनर्जागरण, प्रजातन्त्र, समानता र मानव अधिकारजस्ता कुरा पश्चिमी देशहरूकै भूमिमा सयौं वर्षदेखि चलेका केही अभ्यासका आधारमा हेर्दा चकित पार्ने किसिमका देखिन्छन् । एडबार्ड सइदले ओरियन्टालिजम (१९७८) किताब लेखेर त्यसले प्रभावित गरेको पनि निकै वर्ष भइसक्यो ।

त्यस किताबमा तिनले पश्चिमी नीतिहरू कसरी प्राच्य वा ‘ओरियन्ट’को अतिरञ्जक चित्रका वर्णन र तिनका प्रभावले बनेका हुन्छन् भन्ने देखाएका छन् । भारोपेली मूलको रोमा भाषा बोल्ने उत्तर–पश्चिम भारतबाट निस्केका भनिएका यी मानिसहरूलाई हेर्ने पश्चिमी दृष्टि सइदले भनेको ‘ओरियन्टल’ विचारले प्रभावित छैन भन्न सकिंँदैन । जिप्सीको हजार वर्षको यात्राबारे अनेकौं अध्ययन भएका छन् । भाषाशास्त्रीहरूले किताब लेखेका छन् । नदीहरूका पुलमुनि धेरै पानी बगिसकेको छ, उखानकै कुरा गर्दा पनि । विद्यार्थीहरूसँग जिप्सीमाथिको पश्चिमी व्यवहारबारे गरिएको एउटा छलफलको कुरा, मेरा अनुभव र सम्झना यस छोटो लेखका विषय बनेका छन् ।

आजको विश्वमा घरबाट खेदिएका, स्वेच्छाले घर छाडेर झुन्डका झुन्ड निस्किने, जाति हत्या गरिने भयको कारणले लाखौंको संख्यामा छिमेकी मुलुकमा शरण लिएर अमानवीय अवस्थामा जीवन गुजार्ने, धनी मुलुकमा पस्ता बालबच्चाहरू खोसिएर खेदिने, विषादी हतियारहरू विस्फोट भएर सास थुनिएर मर्ने, बन्दी बनाएर यातना घरहरूमा राखेर पिटाइ गरिएका, आफ्नै देशका डिक्टेटरहरूद्वारा बोल्ने र साधारण जीवनयापन गर्ने अधिकार खोसिएका र त्यसको निम्ति यातना भोगेका मानिसहरूको जगतमा अहिले सिद्धान्त र भविष्यवाणी कर्कलाको पातमाथिको पानीजत्ति पनि टिक्न छोडिसके । एउटा अनुभवले मलाई प्रेरित गरेको छ र त्यसले हल्लाइबस्छ । त्यो एउटा अनौठो संजोग थियो ।

चीनको कुनमिनमा १८–२२ नोभेम्बर २०१३ को दोस्रो एसियाली सांस्कृतिक फोरममा भाग लिन र कार्यपत्र प्रस्तुत गर्न गएको बेलाको अनुभव हो । दुई कलाकार भाइहरू धन याख्खा र रविनकुमार कोइराला पनि गएका थिए । त्यो सेमिनारमा अमूर्त कला र त्यसको संरक्षणको विषयमा थियो, मेरो कार्यपत्र । युरोपेली मूलका युनेस्कोमा काम गर्ने विद्वानहरू पनि आएका थिए । कार्यपत्रपछि छलफलको सिलसिला चल्यो ।

ती एकजना युनेस्कोका व्यक्तिले अनौठो तर्क राखे । तिनले भने, दक्षिण एसियाको सबभन्दा ठूलो कमजोरी भनेको घर नभई हिंँडिबस्ने मानिसहरूलाई राज्यले व्यवस्था गर्न नसक्नु हो । विजोगै छ, युनेस्कोको दृष्टिमा, तिनले थपे । मैले भनेँ, ‘मित्र, सत्य हो, गरिबी भयानक छ । सामन्ती युगको संस्कारबाट यताको समाज मुक्त भएको छैन । थोरैले मस्ती गर्छन्, धेरैको कन्तविजोग छ ।

ठिक हो, तर सयौं वर्षसम्म तिम्रो युरोपको सबभन्दा ठूलो लाखौंलाख संख्याको जिप्सी वा रोमा भनिने अल्पसंख्यक मानिसलाई तिम्रा प्रजातान्त्रिक र महान युरोपेली राज्यहरूले नदेख्नु, देखेर पनि तिनमाथि यातना गर्नु कस्तो व्यवस्था हो ? यसमा घरबारविहीनको बिनाकुनै कारण व्यवस्था नगर्नुमा युरोपेली समाजको चरित्र देखिएको छ । मैले थपेंँ, दक्षिण एसियामा घुम्ने र बस्नेहरूका संस्कृतिको द्वन्द्वात्मक संवादिक सम्बन्ध हुन्छ, जसले गतिशील संस्कृति बन्छ ।

असमान र अत्याचारी समाज छन्, मान्छु, तर घरबासी र ‘नोम्याड’हरूको भाषिक र सांस्कृतिक संवाद प्रस्तुतिकला र समान संगीत र नाटकका चलनमा भइरहन्छ । तर जिप्सीहरूलाई अतिरिक्त वा ‘द अदर’ मानेर ६ सय वर्षभन्दा बढी ढुक्क हुने तिम्रा समाजको चरित्र के हो ? ‘मलाई सबैभन्दा यो विषयमा अझ काम गर्ने प्रेरणा त्यतिबेला भयो, जब मैले चिनियाँ उपन्यासकार, एकाध वर्ष पहिले नोबेल पुरस्कार पाएका, मो यानलाई भेटेंँ ।

मानिसको भिडले हो कि के हो, उनलाई भेट्न मुस्किल परेको बेला परैबाट मो यानले मलाई बोलाए । उनका मानिसले दिएको छोटो समयमा पनि मैले केही अन्तर्वार्ता गर्न पाएँ । कलाकार भाइहरूले फोटो खिचिदिए । मो यानले भने, ‘तपाईंले युनोस्कोका मानिसलाई दिएको उत्तर अत्यन्त राम्रो, खुसी लाग्यो । यसमा अझ काम गर्नु राम्रो । कुन समाजमा कस्तो मानिस अदृश्य मानिन्छ, त्यो बुझेर त्यो अदृश्यको निम्ति काम गर्नु सबभन्दा ठूलो प्रजातान्त्रिक कर्म हो ।’ त्यसबाट प्रेरित भएर मैले त्यसपछि जिप्सी वा रोमाहरूमाथि अध्ययन गरेँ, गर्दैछु । विषय ठूलो छ । तर अहिले जिप्सीहरूको विषय युरोपमा फेरि उठेको छ ।

यस विषयमा बहस सुरु भएका छन् । त्यसैले युरोपेली रोमा जातिहरूले भोगेका कुरामा कसरी पश्चिमी समाजका नीतिका विडम्बना प्रतिविम्बित हुन्छन्, त्यो कुरा अलिकता उठाउन चाहन्छु ।

मैले रोमा मानिसहरूलाई युरोपका एकाध ठाउँमा उनकै परिवेशमा गएर देख्न पाएका अवसर सम्झिन्छु । सन् २००० को विश्व रंगमञ्च सम्मेलन फ्रान्सको मासेमा भएको थियो । त्यसमा गएका बेला एउटी नाट्यकर्मीले भनिन्, ‘म रोमाहरूको प्रस्तुति कलामा काम गर्छु ।’ मेरो अनुरोधमा तिनले रोमाहरू भेट्न लगिन् । त्यहाँ पुगेर जे देखेंँ, त्यसले अत्यन्त प्रभावित भएँ ।

त्यहाँ जाँदाको मल युवाहरू र उज्याला नरनारीहरू त्यो खुला ठाउँमा एउटा जीवनको प्रवाहमा सहज बगिरहेका थिए । मलाई एउटा कपाल घुमेको, अग्लो र गहुँगोरो उज्यालो केटोले खिच्यो । त्यो मैले सम्झिरहेको मेरो कान्छो छोरा गिरीशजस्तै थियो । गिरीशको जस्तो त्यो रोमा बालकको राज्य थिएन, बस्ने अब यही हो भन्ने घर थिएन । शिक्षा लिने ठाउँ थिएन ।

युरोपेली कल्याणकारी समाज र राज्यहरूका नीतिले नछुने त्यो बालकमाथि घोरिंँदा म भत्किएको थिएँ । निकै वर्षपछि संगीतकार गिरीशले २०१४ नोभेम्बरको ‘इकोनोमिस्ट’ पत्रिकामा निस्केको मनिटास द प्लाटा भन्ने ९३ वर्षको उमेरमा दिवंगत भएका एकजना विश्वका सबभन्दा प्रसिद्ध फ्लेमेङको स्पेनिस गितारवादक जिप्सी संगीतकारमाथि लेखेको लेख दियो । त्यो अद्भुत श्रद्धाञ्जली पढ्दा मैले सधैं घुमिहिंँड्ने संस्कृति भएका जिप्सी र प्रकृतिको गहन अन्तरसंवाद बुझँें । आज त्यो बुझाइले विश्वलाई बचाउन सक्छ ।

द प्लाटालाई भेटेर अन्तर्वार्ता गर्ने यी लेखकले ती संगीतकारलाई उनको संगीत जीवन र अनुभवबारे सोधिन् । द प्लाटाका शब्द थिएनन्, तर तिनले गितारबाटै उत्तर दिए । ती लेख्छिन् : मैले उनको जीवनी भन्न आग्रह गरेंँ । तिनले माने अनि गितारको धुन उठ्यो, जसमा दक्षिण फ्रान्सको कार्मागको दलदले किनारा टिनिटिनिटिनी गरेर गितारको स्वच्छ ध्वनिमा चम्कियो ।

प्याजी फ्लेमिङ्गो चराहरू तलतिर घोप्टिएका लयका पखेटा फट्फट् बजाउँदै उठे । अन्त्यमा मैले मित्रता, स्वास्नीमान्छे र मृत्युको विषयमा सोधेंँ । उनले गितारलाई यस्तो गतिले सुमसुम्याए कि एउटा सुरिलो स्वर उठ्यो, अनि त्यो तिनको गर्धन छोपेको कपाल मुनिबाट सुन ठोकेका दाँतमा फिस्स चम्कियो । ती ब्वाँसोले हुर्काएका बालकजस्तै जंगली थिए ।

तिनका गितारमा पिकास्सोले चित्र बनाए, साल्भाडोर डालीले चित्र बनाए, लेखक बिज्रित बार्दो, जोन स्टाइनबेकले तिनको प्रशंसा गरे । अमेरिकादेखि रेकर्ड गराउने कम्पनीका मानिस लाखौं डलर लिएर आएर तिनका रिकर्ड गराउने सम्झौता गरे । तिनले धेरै धन कमाए । तर नजानेर तिनले सबै उडाए । तर तिनले आफ्ना जिप्सी जातिका मानिसको चिहानको निम्ति ठूलो जमिन किने । जिप्सी भनेको त्यही व्यक्तित्व भयो । तिनको संगीत भनेको त्यही प्रतिभाको प्रस्फुटन हो । फिल्म बनेका छन्, रोमा संगीतमाथि ।

यसरी ५/६ सय वर्षदेखिको रोमाको जीवन युरोपेली मुलुकमा सहज थिएन । हिटलरले मात्रै ५ लाख जिप्सी मार्‍यो । यसरी प्रकृतिका अंग तर त्योसँग जोडिन नपाउने, राज्यमा बस्ने, तर नागरिक हुन नपाउने यी १ करोड २० लाख जिप्सीहरू ‘प्रजातान्त्रिक’/‘समाजवादी’ युरोपेली महान कल्याणकारी देशका मानिस हुन् । विडम्बना छ ।

भर्खरै शक्तिमा आएको इटली सरकारका गृहमन्त्री मात्तेओ साल्भिनीले रोमाहरू पहिचान गरेर निकाल्नु हुनेजति निकाल्छु भनेपछि अहिले युरोपमा तरङ्ग र विरोध चलेको छ । टेस्सा डन्लप ‘द गार्डियन’ (२६ जून) को लेखमा भन्छिन्, ‘रोमा यहुदीसँगै सहादत भए, तर यहुदीको जस्तो रोमाको कुनै इजरायल छैन, यी भूमिहीन छन् र महान प्रजातान्त्रिक र पहिलेका साम्यबादी देशहरूमा असहज समय भोग्छन् ।’

निचोडमा भन्दा मानव र मानवतावादको साँचो प्रयोगमात्र एउटा उपाय हो । त्यही नै धराशायी भएको छ । तर यी सबै विस्थापन र विचल्लीभन्दा अलग अर्को एउटा विचल्लीको कथा छ । त्यो अनौठो छ । त्यो यसरी देखेर पनि अदृश्य भएको छ कि मानौं लाखौंलाख मानिसले भोगेको देशहरू भित्रको इतिहास केही पनि होइन । ती दु:ख भोग्ने मानिसहरू नै होइनन् । यो शक्तिमा बस्नेहरूको मनोग्रन्थि हो । यो अनेकौं ढंगले प्रयोग हुन्छ । जिप्सीको उदाहरण एउटा सबैभन्दा भिन्न मानिसको शक्ति अन्धता हो । तर समाजमा त्यहाँका विपन्न मानिसहरूलाई शक्तिमा आसिन हुने, ठूला कुरा गर्ने शासक र राजनेताहरूले नदेख्नु पनि त्यही मनोग्रन्थिको रूपक हो ।

अहिले युरोप जिप्सीहरूको प्रभावबाट मुक्त हुन सक्तैन । रूसका पुस्किनदेखि, अंग्रेजी लेखक डी.एच. लरेन्स र कविहरू, संगीतकारहरू सबैका लय र भाष्यमा जिप्सीहरू छन् र रहनेछन् । तर युरोपेली र अमेरिकाली पश्चिमी संस्कृतिले यो रोमामाथि विभ्रममा परेको तिनको राजनीति र दृष्टिलाई बदल्न नसकुन्जेल यो एउटा विडम्बनाको विषय भइरहनेछ ।

प्रकाशित : असार १६, २०७५ ०७:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT