१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

टाउको किन दुख्यो ?

डा. रागेश कर्ण

काठमाडौँ — टाउको दुखाइको अनुभूति नगरेको मान्छे बिरलै पाइन्छ । संसारभरि नै यो सबैभन्दा बढी हुने समस्या हो । करिब ७० प्रतिशत मानिस टाउको दुखाइबाट पीडित छन् । टाउको दुखाइ रुघाखोकी, ज्वरोजस्ता अति सामान्य कारणदेखि मस्तिष्क ज्वरो, ब्रेन ट्युमरजस्ता अति नै घातक कारणले हुने गरेको पाइन्छ ।

टाउको किन दुख्यो ?

चिकित्सकहरूले दुई सयभन्दा बढी थरीका टाउको दुखाइ पत्ता लगाएर उपचार गर्दै आएका छन् । दुखाइका कारणलाई तीन समूहमा राखेर सजिलो तरिकाले बुझ्न सकिन्छ– अति सामान्य, सामान्य र घातक कारण । ९० प्रतिशत टाउको दुखाइ अति–सामान्य वा सामान्य कारणले नै हुने गर्छ । अति सामान्य टाउको दुखाइका कारणमा ज्वरो, रुघाखोकी, तनाव, डिहाइड्रेसन, कफी विथड्रल, ह्याङओभर, पिनास इत्यादि पर्छन् । यस्तो परिस्थितिमा आराम, प्रशस्त पानी तथा झोलिलो पदार्थको सेवन, ज्वरो तथा दुखाइ कम गर्ने औषधि तथा एन्टिबायोटिकको सन्तुलित प्रयोगले मात्र पनि नियन्त्रण गर्न सकिन्छ ।

सामान्य टाउको दुखाइअन्तर्गत माइग्रेन, तनाव तथा ‘क्लस्टर्ड’ इत्यादि पर्छन् । यस्ता टाउको दुखाइ पटकपटक दोहोरिने, विशेष परिस्थिति तथा केही सामान्य परिस्थितिमा पनि भइहाल्ने हुन्छ । यिनको उपचार विशेष प्रकारले गर्नुपर्छ । समुचित उपचार नभएको अवस्थामा जोखिम बढ्छ । यसबाट मनोवैज्ञानिक रूपमा असर परी डिप्रेसन तथा विभिन्न फोबियाजस्ता समस्या उत्पन्न हुन सक्छन् । घातक कारणअन्तर्गत मस्तिष्कघात, ब्रेन हेमरेज, मस्तिष्क ज्वरो (मेनिन्जाइटिस, इन्सेफ्लाइटिस), मस्तिष्कको क्षयरोग वा क्यान्सर (ब्रेन ट्युमर) इत्यादि पर्छन् । यी टाउको दुखाइको लगभग १० प्रतिशत मात्र कारण भए पनि ज्यानै जान वा अंगभंग हुन सक्ने भएकाले समयमै पत्ता लगाउनु तथा उपचार हुनु जरुरी छ ।

टाउको दुखाइको संकेत
पहिलो दुखाइ खप्नै नसक्ने खालको छ भने यसले ब्रेन हेमरेज, त्यसमा पनि ‘सब एरेक्न्वाइड हेमरेज’ संकेत गर्छ । टाउको दुखाइ बढ्दै गएको छ अर्थात संख्या, समयावधि वा दुखाइपना बढ्दै गएको छ वा किसिम फेरिँदै गएको छ भने त्यो ब्रेन ट्युमरको संकेत हो । प्राय:जसो सामान्य टाउको दुखाइ (जस्तै माइग्रेन) ४० वर्ष उमेर नपुग्दै सुरु हुन्छ ।

दुखाइसँगै हातखुट्टा, अनुहार आदिमा कमजोरी वा झमझम गर्ने, पोल्ने गर्छ भने यसले मस्तिष्कघात, ब्रेन ट्युमर इत्यादिलाई संकेत गर्छ । टाउको दुखाइसँगै मान्छे दुब्लाउँदै गएको वा खाना कम रुच्दै गएको छ भने मस्तिष्कको क्षयरोग वा ब्रेनट्युमरजस्तै लिम्फोमा आदिको संकेत हो । दुखाइसँगै ज्वरो आउनु, बान्ता हुनु वा होस कम हुँदै जानु मस्तिष्क ज्वरो अर्थात मेनिन्जाइटिस, इनसेफ्लाइटिसको संकेत हो ।

कारण कसरी थाहा पाउने ?
लक्षणको विश्लेषण मात्र गरेर पनि कारण वा प्रकार पत्ता लाग्छ । जस्तै– बिस्तारै टाउको दुखाइ बढ्दै जाने, ४ देखि ७२ घण्टासम्म दुख्ने, बारम्बार दोहोरिने, धेरै दुखेको बेला खण्ड–खण्ड गरेर दुख्ने, वाक–वाक लाग्ने वा बान्ता हुने, चक्कर लाग्ने घाम, अनिद्रा, तनाव, मदिरा सेवन, भोको पेट इत्यादि परिस्थितिमा दोहोरिने वा दुखाइ बढ्ने आदिले माइग्रेनलाई संकेत गर्छ । टाउकाको एमआरआई वा सीटी स्क्यान केही विशेष परिस्थितिमा मात्र (जहाँ घातक कारण हुने सम्भावना देखिन्छ) आवश्यक हुन्छ । टाउकाको एक्सरेले पिनास पत्ता लगाउन मद्दत गर्छ । रगतको खराबीले पनि टाउको दुखाइ घटाउन वा बढाउन सक्छ । परिस्थिति हेरी त्यस्ता रगत परीक्षण र उपचारबाट टाउको दुखाइ नियन्त्रण गर्न सकिन्छ ।

उपचार
धेरैजसो अति सामान्य टाउको दुखाइ घरमै सामान्य उपचारले निको पार्न सकिन्छ तर विशेष परिस्थितिहरू जस्तै– घातक कारण हुने सम्भावना देखिए अर्थात सामान्य कारण (माइग्रेन, तनाव, क्लस्टर्ड) सामान्य सावधानी अपनाउँदा पनि बारम्बार दोहोरिन थाले वा दैनिक जीवन कष्टकर हुँदै गए तुरुन्त नसारोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ । माइग्रेन तथा तनावबाट हुने दुखाइ इत्यादिलाई जीवनशैली परिवर्तन, खानपानमा संयमता तथा औषधि उपचारबाट कम गर्न गरिन्छ । घातक कारणहरू सक्दो छिटो पहिचान गरी औषधोपचार तथा केही विशेष परिस्थितिमा शल्यक्रिया तथा अन्य उपचार गर्नुपर्छ ।

जीवनशैली परिवर्तन विशेष गरी माइग्रेनका लागि निकै उपयोगी हुन्छ । जस्तै– भोको पेट बस्नु हुँदैन अर्थात खाना समय–समयमा खानुपर्छ, अनिद्रा अर्थात ६ घण्टाभन्दा कम वा अत्यधिक अर्थात ९ घण्टाभन्दा बढी सुत्नु हँ‘दैन । त्यस्तै, चर्को घाम, धेरै चिसो, भीडभाड भएको ठाउँ, भेन्टिलेसन नभएको ठाउँ बार्न‘पर्छ । धेरै तनाव, झैझगडा र वादविवादबाट टाढै बस्नुपर्छ । टीभी, मोबाइल संयमित कम चलाउनुपर्छ । ध्यान (मेडिटेसन) गर्ने बानीबाट पनि धेरै राहत मिल्छ ।

संयमित खानपान पनि विशेष गरी माइग्रेनका लागि प्रभावकारी हुन्छ । मदिरा सेवन गर्नु हँ‘दैन । अमिलो त्यसमा पनि तामा, गुन्द्रुक, दही, मही, सीसीको अचार, तितौरा आदि सेवन गर्न‘ हुँदैन । कागती भने खान सकिन्छ । अजिनोमोटो भएका खानेकुरा (चाउचाउ, चाउमिन, फास्टफुड इत्यादि) कम सेवन गर्न‘पर्छ । कफी अत्यधिक पिउनु वा चीज खानु हुँदैन । कुनै खानेकुरा (जस्तै: आइसक्रिम) ले टाउको दुखाइ बढ्छ भने सेवन नगर्नु बेस ।

कर्ण त्रिवि शिक्षण अस्पताल महाराजगन्जका स्नायु रोगविशेषज्ञ हुन् ।

प्रकाशित : असार ३१, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?