कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला विश्वकप फुटबल

हरेक चार वर्षमा महिला विश्वकप फुटबल हुन्छ, चर्चा हुँदैन । अर्काे वर्ष क्यानडामा हुँदै छ, त्यतिबेला पनि हेर्नुहोला, त्यसको चर्चा हुनेछैन ।
रेखा शाह

काठमाडौँ — विश्वकप फुटबलको प्रभाव जताततै छ । जुनसुकै मुलुकका जुनसुकै सहरका मानिसमा यसको असर छ । आकर्षण छ । हेर्ने र आनन्द लिने क्रम छ । धर्म, वर्ग, राज्य र रङलाई भुलेर सबै देशका मानिस फुटबलको मोह र नशामा छन् । सबै उमेरका मानिसलाई फुटबलको मजाले तानेको छ ।

महिला विश्वकप फुटबल

पत्रिकाका समाचार, विज्ञापन, बहस, पक्ष/विपक्षको चर्चाले कोही पनि विमुख नभएझैं लाग्छ । खेल खेल्ने खेलाडीको प्रशंसामा मात्रै होइन, राज्यको झन्डा र खेलाडीको नाम अंकित टि–सर्ट धारण गरी फुटबलप्रतिको नजानिँदो मोह प्रदर्शन सहर–सहरमा भइरहेको छ ।

सायद फाइनल खेलको नतिजा घोषणापछि पनि विश्वकप फुटबलको बहस रोकिन केही हप्ता कुर्नुपर्नेछ । फुटबल खेलसँगै मानव मनमा उमङ्ग ल्याउने विभिन्न प्रयास भएका छन् । बाजी थाप्ने, नशामा उन्मत्त हुने र अनावश्यक हल्ला र बहस चर्काएर समाजमा विकृति र कुसंस्कृति ल्याउन खोज्ने पनि प्रशस्त छन् । जोसमा होस गुमाई मानव अस्तित्व बिर्सेर हिंडेका युवाशक्ति सहरका गल्ली, चोक जताततै भेटिन्छन् ।

सभ्यता र प्रजातन्त्रको जननी ठान्ने विकसित देशहरूमा पनि फुटबलको मज्जाका नाममा
विसङ्गति र विकृति भित्रिएको तथ्यले स्पष्ट पार्छ । विश्वकप आयोजनाले धनी र सामथ्र्यवान् राज्यले आफ्नो व्यापारिक प्रभाव बढाएर नाफा आर्जन गर्ने महत्त्वपूर्ण अवसर बन्दै छ ।

मानव समाजमा अत्यन्तै प्यारो, प्रभावशाली र आकर्षणको केन्द्र बनेका पुरुषहरूको फुटबल प्रतियोगिताले जताततै प्रभाव र दबाब छोड्दा महिला सहभागी फुटबलको चर्चा किन हुँदैन ? १९९१ नोभेम्बर १९ मा चीनबाट आरम्भ भएको महिला विश्वकप फुटबलमा २६ वर्षअघि अमेरिकी महिला फुटबल खेलाडीहरूले प्रथम भई विश्वकपको ट्रफी उचालेका थिए ।

१९९५ मा नर्वे, १९९९ मा अमेरिका, २००३ र २००७ मा जर्मनी, २०११ मा जापानले महिला विश्वकपको सिल्ड चुम्ने अवसर पाएको थियो । २०१५ मा क्यानडामा आयोजित महिला विश्वकप फुटबलमा अमेरिका र जापानबीचको फाइनल खेलमा अमेरिकाले प्रथम भई विश्वकपको उपाधि प्राप्त गर्‍यो । तर यसरी विभिन्न मितिमा विभिन्न देशमा आयोजना गरिएका महिला फुटबल प्रतियोगिताको प्रभाव किन पर्दैन समाज र सहरमा ? पुरुष सहभागी भएको विश्वकप फुटबल खेलमा शोभा बढाउन महिला आवश्यक पर्ने, बियरको मातमा मातिएका पुरुषलाई महिलाको अँगालो जरुरी छ, आफ्नो इच्छा/तिर्खा पूरा गरी सन्तुष्ट बनेर मैदानमा उभिँदै दुनियाँका घरघरका टेलिभिजन, रेडियो र पत्रपत्रिकामा फोटो देखाउन दम्भ र घमन्ड प्रदर्शन गर्ने प्रशिक्षक र खेलाडीका अन्तर्वार्ता आउँछन् । उनीहरूका जीवनवृत्त छापन्छिन् ।

पुरुष खेलाडीका नाम र नम्बर अंकित टि–सर्टको व्यापार अत्यधिक गराइन्छ । पुरुष मात्र फुटबलका लागि वरदान प्राप्त प्राणीझैं ठानेर विश्वबजारमा प्रचार गरिन्छ । उनीहरूको प्रशंसा र सम्मानमा विभिन्न अवसर खडा गरिन्छ तर महिला फुटबलको महिमा किन हुँदैन ? खेलमैदानमा उत्रिएर रोमाञ्चक फुटबल खेल प्रदर्शन गरेका विश्वकप विजेता महिलाहरूबारे सञ्चारजगत किन चुप ? नारी शक्तिको महिमा फुटबलमा पनि छ भन्ने कुरामा प्रायोजकहरूको ध्यान किन त्यति जान सक्दैन ? पुरुष विश्वकपको चर्चा महिनौंदेखि गर्न नथाक्ने सञ्चारगृह महिला विश्वकपको समाचार बनाउन थोरै श्रम किन गर्छ ? कुरा स्पष्ट छ ।

शक्तिशाली ठानिएका देश र समाजले त नारी अधिकारको कटौती गरेको तथ्यले प्रमाणित गर्छ भने हाम्रोजस्तो देशका पुरुषमा नारीप्रतिको दृष्टिकोणमा कसरी परिवर्तन सम्भव छ ? संसारभर अत्यन्तै छिटो प्रभाव छोड्ने फुटबलजस्तो खेलमा महिलाको उपस्थिति सौन्दर्य, यौन र सहयोगी पात्रका रूपमा लिने प्रणालीले नारी महिमा र क्षमताको अवमूल्यन गरेको छ । विजेताको घोषणा भएका खेलाडीहरूलाई सम्मान र पुरस्कार दिँदा पनि सायद पुरुषहरू अगाडि उभिन्छन् र महिलाहरूलाई किस्ती बोकेर पछाडि उभिने पात्रका रूपमा मात्र चित्रित गरिन्छ होला । के पुरुषको खेलौना र पछाडि उभिने सहयोगीपात्र मात्र हुन् महिला ?

विश्वमा समय–समयमा नारी प्रतिभा र क्षमताका लागि विश्व सुन्दरी प्रतियोगिताजस्ता कार्यक्रम हुँदै आएका छन् । तर नारीलाई सौन्दर्यसित मात्र तुलना गर्नु के अन्याय होइन ? नारीको क्षमता भनेको पुरुषको मन, आँखा र शारीरिक सम्पर्कमा मात्र मापन हुने हो र ? नारीको खुट्टाले गोलको वर्षा गराएको सुन्दर दृश्य पुरुषको आँखामा नअट्ने हो र ? विपक्षी नारीलाई छलेर अनि दुनियाँभरका मानिसमा नारीको जादुगरी शैली प्रस्तुत गरेर पुरुष मनहरू रमाउन र आनन्दित हुन नसक्ने के कारण होला ? पुरुषको चामत्कारिक फुटबल खेल हेर्न खाजा, खाना, रसपान र ओछ्यानसमेत मिलाइदिनुपर्ने नारीले आफ्नै वर्गको खेल हेर्ने अवसरमा किन कन्जुस्याइँ गर्छ यो जगत् ?

पुरुषशासित विश्वजगत नारीको प्रतिभा, प्रगति, अवसर र अधिकारमा जानेर पनि बोल्न चाहँदैनन् । नारी शक्तिको संरक्षण, सफलता र मूल्याङ्कनमा चासो दिनै चाहन्न वर्तमान समय । अधिकार र कर्तव्यको कुरामा कर्तव्यच्युत व्यवहार मानवजगतमा पुरुषवादी सोचाइले गरेको छ ।

रोनाल्डो, मेसीजस्ता चर्चित खेलाडी जन्माउने नारी हुन्छिन् भने तिनैको नामको सट्टामा नारी खेलाडीको चर्चा अति नै कम किन ? नारी फुटबलको इतिहास किन यति छोटो ? एउटी अपरिहार्य शक्तिकी विराट रूप धारण गरेकी नारीको अपमान र तिरस्कारबाट अर्को शक्तिको पनि ह्रास निश्चित हुन्छ भन्ने बुझ्दै फुटबलसँग सम्बन्धित राष्ट्रिय/अन्तर्राष्ट्रिय निकाय र संघ/संस्थाले महिला विश्वकप फुटबलको महिमा र आकर्षण बढाउने दीर्घकालीन योजना र रणनीति ल्याउनु आवश्यक छ ।

लैंगिक दृष्टिले केही असमानता होलान् तर धर्ती त दुवैको साझा हो । घाम, पानी, वायु पनि दुवैको हो । एउटाको प्रगतिमा अर्कोले सहयोग, विश्वास र समपर्ण देखाउन सक्दा मात्र समग्र मानव जातिको भलाइ निश्चित हुन्छ । अवसरले मात्र मानिसको क्षमताको मूल्याङ्कन गर्ने हुनाले लैंगिक विभेदको अन्त्य गर्दै नारी शक्तिको प्रभावलाई विश्व समुदायले एकपटक बुझ्न सक्ने वातावरण बनाऔं । जसरी पुरुषको फुटबल खेलमा नारीले साथ, हौसला र उत्साह थपेकी छन्, त्यसैगरी महिला विश्वकप फुटबलका लागि पनि पुरुषवर्गले आआफ्ना क्षेत्र र स्थानबाट भूमिका खेलौं ।

एकाङ्गी प्रचारको बाटो छाडेर दुवै जातको खेलको प्रचार र प्रतिभा विकासमा आजको समयलाई सदुपयोग गरौं । यसो गर्नु न्यायपूर्ण पद्धतिको थालनी हो । सभ्यताको थालनी गर्दै युग–युगसम्म मानवअस्तित्वको आधार एवम् सिर्जना र सभ्यताकी मुहान बनेकी नारी शक्तिप्रतिको सम्मान पनि हो । सन् २०१८ को विश्वकपको प्रचार–प्रसार, तयारी र समापन अकल्पनीय रूपबाट भयो । त्यस्तै गरी सन् २०१९ को महिला विश्वकप फुटबल प्रतियोगिता पनि नारी शक्तिको सम्मानसहितको प्रतिभा प्रदर्शन गर्ने खेल बन्न सकोस् । नारी अवसर र सशक्तीकरणको एउटा नवीन इतिहास तयार हुन सकोस् । विभेद नहोस् विश्वकप फुटबलमा ।

शाह लोकगायिका हुन् ।

प्रकाशित : श्रावण १, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?