कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

भुत्ते पत्रकारिता

भवानी बराल

काठमाडौँ — ‘हाम्रो पत्रकारिता भुत्ते भएको छ । भुत्ते चक्कुले घाउ बनाउँदैन ।’ चिनियाँ क्रान्तिको दौरानमा माओ त्सेतुङले चिनियाँ पत्रकारिताबारे भनेका थिए । यस्तै आशय गत असार ३० गते कान्तिपुर दैनिकमा ज्येष्ठ पत्रकार भैरव रिसालले नेपाली पत्रकारिताबारे ‘प्रतिप्रश्न : पत्रकारिता तिखार्ने औजार’ शीर्षकमा बकेका छन् । हुन त प्रतिप्रश्न गर्नुले मात्र पत्रकारितालाई गुणस्तरीय बनाउने होइन ।

भुत्ते पत्रकारिता

प्रतिप्रश्न पत्रकारितालाई गुणग्राही बनाउने एउटा औजार भने अवश्य हो । अर्थात प्रतिप्रश्न, दरोखरो पत्रकारिता गर्ने मेलोमेसो जुराउने हतियारसम्म हो । उनले लेखेका छन्, ‘नेपालको पत्रकारिता नतिखारिनुमा वा भुत्ते हुनुमा राजनीतिक, प्रशासनिक र प्राज्ञिक नेतृत्व हो । पत्रकारितासंँग यी नेतृत्व नतर्सने, भयभीत नहुने र नआत्तिने हो भने साँच्चै पत्रकारिता तिखारिन्छ, भुत्ते हुँदैन ।’ रिसालले उदाहरण दिएर उठाएका ‘प्रतिप्रश्नको सूत्र’ले समसामयिक पत्रकारितालाई उजिल्याउने कामसम्म गर्ला, तर पत्रकारितालाई पूर्णतामा पुर्‍याउन भने सक्दैन । राजनीतिक, प्रशासनिक र प्राज्ञिक नेतृत्व पत्रकारितासंँग तर्सिएकाले मात्र पत्रकारिता भुत्ते भएको होइन । स्वयम् पत्रकार नै भुत्ते भएकाले पत्रकारिता नतिखारिएको हो । प्रतिप्रश्न गर्ने ज्ञान, सीप र साहसको अभावमा नेपाली पत्रकारिता भुत्ते भएको हो । यस्तो भुत्ते (चक्कु) पत्रकारिताले घाउ बनाउने प्रश्नै छैन । यस मानेमा माओको भनाइ अर्थपूर्ण छ ।

पार्टीकरण पत्रकारिता
केही समयदेखि नेपाली पत्रकारितामा व्यापक पार्टीकरण छाएको छ । यसलाई चलनचल्तीको भाषामा राजनीतिक (लक्ष्यमुखी) पत्रकारिता पनि भनिन्छ । तर आजको नेपाली पत्रकारिता राजनीतिक लक्ष्यमुखी पत्रकारिता होइन । राजनीतिक पत्रकारिताको जगमात्र बसेको थियो ।

लोकतान्त्रिक गणतन्त्र स्थापनाका भीषण संघर्षहरूमा राजनीतिक लक्ष्यमुखी पत्रकारिता भएको थियो । त्यसयता यस्तो पत्रकारिताको विकास हुनसकेको छैन । दुई विश्व दृष्टिकोण (लोकतन्त्रवादी र साम्यवादी) अनुसार पत्रकारिताको विकास नभएकाले पार्टीकरण पत्रकारिता फस्टाएको हो । अझ नेपालमा व्यक्ति, गुट र समूहकृत पत्रकारितामा भ्रष्टीकरण भएको छ । यस्तो पत्रकारितालाई ‘पार्टीसन’ भन्ने गरिएको छ ।

पत्रकार पनि पार्टीसन छन् र तिनले गर्ने पत्रकारिता स्वत: त्यही बमोजिम हुने नै भयो । व्यक्तिमुखी, गुटमुखी पत्रकारिताको बोलवाला छ । एउटा गुट वा व्यक्तिको भजन गाउने वा तिनको तेजोवध गर्ने पत्रकारिताको विकास भएको तथ्य हामीसामु छर्लङ्ग छ । विचार सिद्धान्तका आधारमा व्यक्ति, पार्टी चलेको छ, छैन ? तिनले जनतामा कुन विचार निर्यात गरिरहेका छन् ? यस्तो विचार शृङ्खलामा नेपाली पत्रकारिता कित्ताबन्दी हुनसकेको होइन । पार्टीभित्र विचार समूहहरू छैनन्, वैचारिक आधारमा पत्रकारिता छैन । जस्तो आफू त्यस्तै च्यापु भनेको सायद यही हो ।

सेल्फ सेन्सरसिप
नेपाली पत्रकारितामा देखिएको अर्को रोग सेल्फ सेन्सरसिप हो । माओवादी र मधेसवादी आन्दोलनताका सेल्फ सेन्सरसिपमा पत्रकारिता परेको विषय खुब उठ्यो । गोष्ठी, सेमिनार भए । पञ्चायतकालमा प्रत्यक्ष सेन्सरसिप थियो । त्योभन्दा खतरनाक सेल्फ सेन्सरसिपलाई लिइयो । नेपाल पत्रकार महासंघले राष्ट्रिय, अन्तर्राष्ट्रिय अभियान चलायो । यी आन्दोलनको समापनसँंगै सेल्फ सेन्सरसिपको मुद्दा गायब भयो । तर सेल्फ सेन्सरसिप राजनीतिको हाटमा मात्र थिएन ।

तर्क बढी तथ्य कम
जनमत निर्माण पत्रकारिताको धर्म हो । विचार पृष्ठमा प्रकाशित आलेखमार्फत विचार निर्माण हुन्छन् । तर मुख्य पत्रिकाहरूका विचार पृष्ठमा प्रकाशित आलेख विचार निर्माण उन्मुख देखिन छाडेका छन् । यस्ता आलेखमा तर्क बढी तथ्य कम हुने गरेका छन् । कुनै घटना विशेषको टिप्पणी, पृष्ठपोषण र एकहोरो आलोचना बढी पाइन्छ । यस्ता आलेखले जनमत निर्माण गर्ने नभई पाठकमाझ भ्रम छर्छन् । सम्पादकीय स्वतन्त्रताको अभावमा विचार निर्माणको प्रश्न ओझेलमा पर्ने हो । अहिलेको भुत्ते पत्रकारिताको प्रस्थानविन्दु यहींबाट सुरु भएको छ ।

रहलपहल
राज्यका तीन अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको निगरानी गर्ने चौथो अङ्ग प्रेस जगत यतिखेर निस्सासिएको छ । जनपक्षीय, जनउत्तरदायी प्रेसको अभाव खड्कँदो विषय भैसकेको छ । पार्टीकरण (पार्टीसन), सेल्फ सेन्सरसिपले स्वतन्त्र र निष्पक्ष पत्रकारिता तेजोवध हुने क्रममा छ । यस्तो परिदृश्यबाट पत्रकारितालाई जोगाउनु, चौथो अङ्गलाई पुन:स्थापित गर्नु अपरिहार्य भैसकेको छ ।

मिडियाको हाट लगाएर मात्र हुन्न । प्रेसको आलोचनात्मक छविको अभाव खड्कँदो विषय हो । मिडिया उपभोक्ताले स्तरीय उत्पादन उपभोग गर्ने नैसर्गिक अधिकार पनि स्थापित हुनुपर्छ । प्रेस अन्यायमा काँडाभन्दा तिखा, जनपक्षधरता निम्ति फूलभन्दा नरम हुनुपर्छ ।

[email protected]

प्रकाशित : श्रावण १, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?