फुटबलका नयाँ 'ज्योतिषी'

नवीन रायमाझी

काठमाडौँ — रोमाञ्चक, नाटकीय र स्तब्ध सबै प्रकारका अनुभूति गराउँदै अन्तत: २१औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिता सकिएको छ ।

सम्भवतः सबैले केही न केही किसिमले बुझ्ने, खेल्ने र हेरिने यो खेल हाम्रो देशको सबैभन्दा बढी नै प्रचलित खेल हो भन्दा दुइ मत नहोला। आइतबार राति भएको फाइनल खेल सबैभन्दा रोमाञ्चक बन्यो, क्रोएसियालाई ४-२ गोलले हराएर फ्रान्सले दोस्रोपटक विश्वकपको ट्रफी उचाल्यो।

Yamaha

जसले जिते पनि वा हारे पनि हामीलाई भने 'कागलाई बेल पाक्यो हर्ष न बिस्मात' हो। खेललाई खेलको रुप मै हेर्नु पर्नेमा आवश्यकता भन्दा बढी उत्तेजित भएर एक अर्का विरुद्ध विष बमन र सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्ने गतिविधिले हाम्रो समाज कता जाँदैछ भनेर एकपटक गम्भीर भएर सोच्न ढिलो भइसकेको छ।

पंक्तिकार फुटबल खेलाडी वा कथित विशेषज्ञ होइन। जीवनमा केटाकेटी हुँदा काँचो भोगटेको फुटबल खेलेको कुरालाई छोड्ने हो भने खासै खेलेको पनि छैन। जसले बढी गोल गर्‍यो उही टिमको जित हुन्छ, गोलकिपर बाहेक अरुको हातले छुन हुँदैन भन्ने जस्ता केही सामान्य नियम बाहेक बिस्तृत रुपमा जानकारी छैन। मनोविशेषज्ञका अनुसार जब मान्छेमा आफू निम्सरो छु भन्ने लाग्छ त्यसले सबै कुरा जानेको जस्तो गरेर हरेक विषयमा बोलेकै हुन्छ, चाहे त्यो कुरा वाहियात नै किन नहोस्।

सामाजिक सञ्जालमा लेखिएको कुरालाई आधार मान्ने हो भने प्रतियोगिता हुनु भन्दा पहिले नै यसले जित्छ वा उसले हार्छ भनेर भविष्यवाणी गर्ने ज्योतिषहरु निकै देखिए। यस्तो कुरा कसरी थाहा हुन्छ, जबकी अनेकौं चरण पार गरेर अन्तिम चरणमा पुग्ने सबै देशको टिमहरु कोही पनि उन्नाइस छैनन्, विभिन्न कारणले एउटा टिमले जित्ने र अर्को टिमले हार्ने त निश्चित नै छ। सामाजिक सञ्जालमा गरिएको भविष्यवाणीलाई आधार मान्ने हो भने बेकारमा ९० मिनेट खेल खेलाउनु भन्दा त्यस्ता ज्योतिषसँग सोधेर एउटालाई विजय र अर्कोलाई पराजय को उपाधि दिँदा जाती हुन्थ्यो।

अर्को के भने खेलप्रति टिप्पणी गर्नेहरु प्रायः म जस्तै भोगटेको फुटबल खेलेकाहरु धेरै थिए कि ! राष्ट्रियस्तरका खेलाडी र मेरा मित्रहरु अन्जित बस्नेत, पुष्पमान प्रधान र विराटजंग साहीले त्यस्तो भविष्यवाणी गरेको र खेलको विषयमा कुनै किसिमको टिप्पणी गरेको देखिएन, जबकी एउटा आम मान्छेलाई भन्दा उनीहरुलाई यो खेलको बारेमा बढी जानकारी छ भन्ने कुरालाई कसैले अस्विकार गर्न सक्दैन।

त्यस्तै, आफूले समर्थन गरेको टिम विजयी भएमा खुशी लागेर र पराजित भएमा दुःखी भएर मदिरापान गर्ने गरेको पाइयो, साथै सामाजिक सञ्जालमा अपलोड भएको फुटबल हेर्दै गर्दाको फोटोहरुमा अधिकांश मदिरापान गर्दै फुटबल हेरेको देखियो। मलाई लाग्छ यो फुटबल प्रतियोगिताले मदिराको व्यापारमा पनि वृद्धि भएको हुनुपर्छ। आफूलाई मन नपरेको टिमले जितेमा र हारेमा अपमानजनक र भद्दा टिप्पणी गर्ने गरेको पनि देखियो, जबकी यस्ता कुराको कुनै अर्थ नै छैन। नदुखेको टाउको डोरी लगाएर दुखाएको भनेको जस्तै नेपालीहरुले नेपाली भाषामा गरेको टिप्पणी नेपालीले नै हो पढ्ने अरुले पढ्छन् भन्ने हुँदैन।

कुनैकुनै महा बुज्रुकहरुले देशको बलियो वा कमजोर आर्थिक अवस्थालाई हेरर पनि टिमलाई राम्रो वा नराम्रो भनेर आँकलन गरेको देखियो। यदि प्रतिव्यक्ति आय वा मानव विकास सूचांकको आधारमा विश्वकप फुटबल प्रतियोगितामा छानिने हो भने सधैं अमेरिका, सिंगापुर र नर्वे जस्ता देशले खेल्नु पर्ने थियो, जबकी यो कुरा नै फरक हो।

यो आलेख लेख्नुको अर्थ हामीमा बिस्तारै आफैं मात्र जान्ने सुन्ने, अरुको अस्तित्व स्वीकार गर्न नसक्ने र धैर्यताको अभाव रहेकोले हो। मेरो विचारमा नेपालले विश्वकप फुटबल प्रतियोगितामा गएर खेल्ने भनेको केबल दिवास्वप्न मात्र हो, कमसेकम मेरो पुस्ताको लागि मात्र भने पनि। अब क्लवले कुन प्रतियोगितामा कति गोल गरेको थियो भनेर कण्ठ पारेको भरमा फुटबल विशेषज्ञ उपाधि पाइनुलाई मात्र उपलब्धि मान्ने हो भने त्यसमा मेरो केही भन्नु छैन।

प्रकाशित : श्रावण १, २०७५ ११:२४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मनमा एउटा र बाहिर अर्कै कुरा

नवीन रायमाझी

काठमाडौँ — भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसादले भारतीय समाजको बारेमा भनेका थिए, "जब पैसा बोल्न सुरु गर्छ, त्यसपछि सबै चुप लाग्छन्" अर्थात् समाजमा धनीले जे गरे पनि गरिबले सहन्छन् वा धनीसँग असहमति प्रकट गर्न सक्दैनन् ।

चालिसको दशकको भारतीय समाजको बारेमा उल्लेख भएको यो प्रसंग अहिले पनि मिल्दोजुल्दो छ र सायद पहिलेको भन्दा पनि बढि । बलेको आगो ताप्ने र मौसम अनुसारको ट्युनिक लगाउने हाम्रो समाज पनि डा. प्रसादले उल्लेख गरेको जस्तै छ । हाम्रो समाजमा मान्छेको मूल्यांकन सबैभन्दा पहिले रुप र धनबाट हुन्छ, दुवै पक्ष ठिक छ भने त सुनमा सुगन्ध भयो तर धेरैजसो अबस्थामा रुपलाई पनि धनले नै जितेको हुन्छ ।

मेरो एक छिमेकी संयुक्त परिवारमा बस्छन्, बाबुआमा, तीन बिबाहित छोरा बुहारी र उनीहरुका बच्चाहरु तथा एक अबिबाहित छोरासहित १३ सदस्यीय परिवारमा सबै एकै प्रकारको आर्थिक अबस्था भएको हुने कुरा भएन । करेसो जोडिएको घर भएको कारण नचाहेरै पनि धेरै कुरा देखिन्थ्यो र बुझिन्थ्यो । कमाई राम्रो हुनेको चुरीफुरी हुने नै भयो र उनीहरुको अगाडी सबै नतमस्तक हुने नै भए, जसको कमाई राम्रो थिएन उसले घरको सबै काम गरेर पनि चौबिसै घण्टा गाली खानु पर्थ्यो । लगभग उस्तै उमेरका भए पनि अरुले धनीको बच्चालाई गर्ने ब्यबहार र गरिबको बच्चालाई गर्ने ब्यबहारमा आकाश पातालको फरक थियो । धनीको बच्चा रोए भने उसलाई फकाउन कोहि गीत गाउने त कोहि नाच्ने गर्थे र गरिबको बच्चा रोए भने "हरे यो कति रुन्छ" भनेर मुख बिगारेर झनै तर्साउथे । यस्ता ब्यबहार त मैले बाहिरबाट मात्र देखेर अनुमान लगाएको हो, घर भित्र कस्तो ब्यबहार हुन्थ्यो होला त्यो म अनुमान लगाउन सक्दिन । उसैपनि कुनै घरमा दुई वा दुई भन्दा बढि बुहारीहरु छन् भने जो सबैभन्दा गरिब छ वा जसको माइती कमजोर छ उसलाई त्यसै पनि हेप्ने गरिन्छ ।

मेरो एक आफन्तको घरमा एक बुहारी बिधवा छिन् । आर्थिक रुपमा असक्षम र खासै नपढेकी उनको अबस्था मध्ययुगिन दासको जस्तै छ । घरको हरेक काम गरेर पनि पेट भरि खान नपाउनु उनको नियति बनेको छ । त्यसमा पनि कोहि घर बाहिर जान लाग्यो भने उनले बाहिर देखिनु हुँदैन, कतै गएर लुक्नु पर्छ, यदी त्यस्तो समयमा बाहिर निस्कन लागेको मान्छेले उनलाई देख्यो भने साइत बिग्रिन्छ भन्छन् उनका घरका सदस्यहरु । मैले आजसम्म कसरी साइत बन्छ वा बिग्रिन्छ त्यो बुझ्न सकेको छैन, सायद अल्पज्ञानको कारणले हुनुपर्छ ।

एकदिन म त्यो घरमा काम विशेषले बिहानको करिब सात बजे नै गएको थिएँ । म पुग्दा नै उनलाई सबैले तथानाम गाली गरिरहेका थिए । करिब आधा घण्टा म त्यो घरमा बस्दा उनी माथि धारा प्रबाह गालीको बर्षा भइरह्यो । कुरा बुझ्दा के थाहा भयो भने त्यो घरको एउटा सदस्यले उठ्ने बित्तिकै पहिले उनको अनुहार देखेको रहेछ, उसको भनाइमा बिहान बिधवाको अनुहार देख्यो भने दिन भरि नराम्रो समाचार मात्र सुन्नु पर्छ, तर मेरो बिचारमा गाली गर्नेको भन्दा गाली खानेको साइत बिग्रेको हुनुपर्छ किनकी उसको अनुहार देख्ने बित्तिकै बिना कुनै अपराध अपशब्द सुन्नु पर्यो ।

त्यस्तै बोल्ने बेलामा दायाँ बायाँ नसोचेर बोल्ने अनि पछि रिस उठेको बेलामा के के बोलियो वा रक्तचाप बढेर रिस थाम्न सकिएन भनेर भन्ने गरिन्छ । यो रिस भन्ने जिनिस पनि बढो अच्चमको छ आफु भन्दा कमजोर को अगाडी मात्र उठ्छ, शक्तिशाली को अगाडी बसेको बस्यै गर्छ । पियनको रक्तचाप बढेर हाकिमलाई थप्पड हानेको कुरा मैले आजसम्म सुनेको छैन तर हाकिमको रक्तचाप बढेर पियन माथि कुटपिट र अभद्र ब्यबहार भएको समयसमयमा सुनिन्छ । यसको मतलब यो रक्तचाप बढ्ने कुरा शतप्रतिसत वाहियात हो, रक्तचाप बढेको निहुँमा आफु भन्दा कमजोर माथि थिचोमिचो गरेको हो ।

आफूभन्दा कम उमेरको मान्छेलाई र विशेष गरेर घरघरमा सासुले बुहारीलाई बिना काम थिचोमिचो गर्ने गरेको पाइन्छ । कुनै कारणले सहनशक्तिले नभ्याएर सानो मान्छेले प्रतिकार गर्यो भने सबै एक मुख लगाएर बुढाबुढी मान्छे कचकच गर्छन् हामीले सहनु पर्छ भनेर निशुल्क ज्ञान दिन्छन् । मैले नबुझेको कुरा कुन उमेर पार गरेपछि अर्को मान्छेको भावनामा ठेस पुर्याउन पाइन्छ वा अरुको चित्त दुखाउने "लाइसेन्स" प्राप्त हुन्छ? मेरो व्यक्तिगत अनुभवमा पनि चित्त नबुझेको कुरामा असहमति जनाउने स्वभाव भएको कारण धेरैले मलाई रुचाउँदैनन् । आफ्नो ह्दयले ठिक मानेको कुरा गर्दा अरु कसैको "क्यारेक्टर सर्टिफिकेट" को जरुरत पर्दो पनि रहेनछ ।

यसको बिपरित हाम्रो समाज दुई वटा कुरामा भने निकै उदार छ । पहिलो, अमेरिकासँग सम्बन्धित ब्यक्ति र उनीहरुको गतिबिधि र दोश्रो, पुरुषले लगाउने कोट पाइन्ट (सुट) । अमेरिकामा बस्ने ब्यक्तिलाई गर्ने ब्यवहार र उसको कुरालाई दिएको इज्जत हेर्दा उनीहरु कुनै अर्कै ग्रहबाट आएको प्राणी जस्तो लाग्छ । नेपालमा अर्काको छोरी बुहारीलाई सानोसानो कुरामा चरित्र हत्या गर्नेहरुले पनि अमेरिकामा जति सुकै गति छाडेर हिडेको कुरालाई पनि सजिलै पचाउँछन् । नेपालमा गर्नै नहुने भनेको कुरा पनि अमेरिकामा गर्दा भने यता चल्छ भनेर स्वीकार गर्छन्, यस्तो उदारता किन? अमेरिकी डलर एकको एक सय भन्दा बढी हुने भएर त होला । त्यस्तै तपाईंले जति सुकै पुरानो डिजाइनको सुट लगाउनुस् कसैले खिसी टिउरी गर्दैन । यद्यपि सुटको पनि आफ्नै नियम छ । राती लगाउने र दिउँसो लगाउने, जाडोमा लगाउने र गर्मीमा लगाउने फरकफरक किसिमका सुट हुन्छन् भन्ने कुरा जानकारहरुले पंक्तिकारलाई बताएका छन् । अरु कुरा भयो भने तिललाई पहाड बनाउने हाम्रो समाज सुटको लागि भने किन यति उदार छ त्यो मैले बुझ्न सकेको छैन । सायद त्यो किसिमको लुगा बनाउन अरु किसिमको लुगा बनाउनु भन्दा आर्थिक रुपले महँगो परेर हो कि?

कुल मिलाएर नेपाली समाज धनको पछाडी दौडिने छ र त्यही समाजमा जन्मे हुर्केको कारण पंक्तिकार पनि कुनै अपवाद होइन । हामी मुखले पैसा भनेको त के हो र आउँछ/जान्छ तर सम्बन्ध ठुलो कुरा हो भनेर भन्छौं । तर पैसाको कारणले रगतको सम्बन्ध पनि चकनाचुर भएको देखिएको छ । त्यसैले आफ्नो जीवनमा जे महत्वपूर्ण हुन्छ त्यही कुरा मन खोलेर भन्ने साहस गर्नु पर्छ, बाहिर एउटा र भित्र अर्को कुरा गर्नु शतप्रतिसत पाखण्ड मात्र हो ।

@twitter#naviinr

प्रकाशित : असार ११, २०७५ १८:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT