त्रिवि पुस्तकालयमा भीड

झोलाभरि पुस्तक अनि सामलतुमल बोकी पुस्तकालय प्रवेश गर्न लाइन लाग्नु उनीहरूको रहर नभएर बाध्यता हो ।
डा. साधना प्रतीक्षा

काठमाडौँ — साहित्यिक अनुसन्धानका क्रममा त्रिवि केन्द्रीय पुस्तकालयमा लामो समय बिताउँदा मलाई बिहान सधैँ हतारिँदै निवासबाट निस्कनुपर्थ्यो । अलिकति ढिला भयो कि बस्ने ठाउँ नपाइने । पुस्तकालय खुल्नु अगावै ढोकामा कुरिरहेका अनि पुस्तकालयभित्र तथा वरिपरि सर्वत्र बसेर पढिरहेका विद्यार्थीहरू देख्दा म आफूले बेहोर्नुपरेको असहज परिस्थिति बिर्सेर प्रफुल्ल भएँ ।

त्रिवि पुस्तकालयमा भीड

विश्वविद्यालयमा सेमेस्टर प्रणाली लागू भएपछि संख्यात्मक रूपमा विद्यार्थी घटेको देखिए पनि गुणात्मक विकास भने धनात्मक नै रहेछ भनेर म आत्मसन्तोष गरिरहेकी थिएँ । तर मेरो त्यो आत्मसन्तुष्टि धेरै दिन टिक्न सकेन । घरबाट किताबका भारी बोकेर पुस्तकालयको पत्रिका सेक्सनका टेबुल–कुर्सीमा खचाखच गरी पढिरहेकाहरूप्रति मेरो ध्यान गयो ।

उनीहरूले पढिरहेका लोकसेवा तयारीका गाइड, गेसपेपर देखेपछि केही प्रश्न गरेँ, जसको उत्तर यस्तो थियो, ‘लोकसेवा परीक्षाको तयारी गर्दैछौँ ।’ कलेजमा भर्खर भर्खर ब्याचलर भर्ना भएको, कोठामा पढ्ने वातावरण हुँदैन, निद्रा पनि लाग्छ । हामीलाई यहाँका पुस्तकहरू आवश्यक पर्दैनन् । साथीहरूले भनेपछि हामी पनि आउने गरेका हौं ।’


पुस्तकालयभित्र तथा बाहिर जताततै बसेर पढिरहेकाहरूमध्ये अधिकांश विश्वविद्यालयका विद्यार्थी वा पुस्तकालयका अध्येता–अनुसन्धाता होइनन् भन्ने पत्ता लगाउन धेरै समय लागेन । कुराकानीको सिलसिलामा थाहा पाएँ, उनीहरू त्यहाँ आउनाको कारण सबैको लगभग उस्तै देखिन्थ्यो, ‘डिस्टर्ब’ । एउटा कोठामा धेरैजना बस्नुपर्दाको असहजता, टेबुल–कुर्सीको व्यवस्था नभएकाले ओछ्यानमा बसेर पढ्दा निद्रा लाग्ने समस्या, घरभित्र तथा वरपरबाट हुने हल्लाखल्ला, समूहमा छलफल गरी पढ्दा प्रभावकारी हुनुका साथै प्रतिस्पर्धाको भावनाले पढाइतर्फ प्रेरित गर्ने कारणबाट उनीहरू तँछाड–मछाड गर्दै पुस्तकालय धाउने गरेका रहेछन् ।

अझ कसैले त अघिल्लै दिन कापी–किताब पिँmजारेर ठाउँसमेत ओगट्ने गर्दारहेछन् । माथिका कारण हेर्दा उनीहरूले पुस्तकालय प्रयोग गर्नुलाई अनुपयुक्त मान्न सकिँदैन । तर यसबाट पुस्तकालयका अन्य प्रयोगकर्तामा परेको नकारात्मक प्रभावप्रति आँखा चिम्लने अवस्था पनि रहँदैन । पुस्तकालयबाट पाठ्य–सामग्री लिएर पढ्न आएकाहरूलाई ठाउँको अभाव हुनु एउटा समस्या थियो भने अन्यत्र कतै उपलब्ध नहुने पत्रपत्रिकाबाट सामग्री खोजेर अनुसन्धान गर्नेहरू भुइँमा बस्न बाध्य देखिन्थे । त्यसमाथि पनि आवाज निकालेर तथा समूहमा छलफल गरी पढ्नेहरूबाट अनुसन्धानकर्ताहरू हैरान हुनुपर्ने अवस्था छँदै थियो ।


पुस्तकालयमा विद्यार्थीभन्दा गैरविद्यार्थीको चापका कारण विद्यार्थी, शिक्षक, अध्येता–अनुसन्धातालाई जति सास्ती खेप्नुपरेको थियो, त्यति नै असहज परिस्थितिको सामना पुस्तकालय प्रशासनले पनि गरिरहेको यथार्थ पुष्टि पुस्तकालय प्रशासनको प्रस्तुत अभिव्यक्तिले गरिरहेको थियो । ‘यो हाम्रा लागि साँच्चीकै जटिल समस्या बनिरहेको छ । हाम्रो प्राथमिकतामा पुस्तकालयको सामग्री प्रयोगकर्ता विद्यार्थी, विश्वविद्यालयका शिक्षक, अध्येता–अनुसन्धाताहरू हुन् । यी बाहेक पनि यसरी पढ्न आउने सबैलाई समेट्न हामीकहाँ भवनको अभाव छ, त्यसमा पनि भूकम्पले भवन क्षतिग्रस्त भएपछि यो अभाव झनै चुलिएको हो ।

बाहिरबाट पढ्न आउनेहरूका लागि केही टहरा पनि बनाइएको छ । तर लोकसेवा तयारी, विभिन्न तहका ब्रिजकोर्स तयारी, भाषा परीक्षा आदि सबैको तयारीका लागि पुस्तकालय कक्ष प्रयोग गरिदिनाले सही अध्येता/अनुसन्धातालाई असुविधा भएकै छ । हामीसँग विद्यार्थी तथा गैरविद्यार्थी छुट्याउने ठोस आधार पनि छैन ।’ पटक–पटक सूचना टाँस्दै, ‘हामीले यहाँ बसेर पढ्न नपाउने ? भन्ने धम्की आउँछ । क्षतिग्रस्त भवन मर्मत गरेर क्षमता बढाउने सोचाइमा छौँ ।’ भूकम्पले लथालिङ्ग भएको पुस्तकालय व्यवस्थित हुँदैछ । पुस्तकालय परिसरलाई तारबार लगाएर त्यहाँभित्र सञ्चालित चमेनागृह हटाउनुका साथै केही टहरा बनाएर पढ्ने व्यवस्था गरिएको छ । तर विद्यार्थी तथा गैरविद्यार्थी सम्बन्धी समस्या कानुनी नभई व्यावहारिक हो ।

पुस्तकालय प्रशासनसँग त्यसलाई छुट्याउने आधार छैन । सूचना टाँस्नु, केही समय भिडभाड घट्नु अनि पुन: उही क्रम दोहोरिनु बाहेक । यस पटक पनि सूचना टाँसिएपछि कुर्सी–टेबुल केही खाली भए । त्यसैले त्यहाँ बसेर पढ्नेहरूले चाहिने–नचाहिने लेखेर फोतरेका टेबुलहरू देख्न पाइयो । यस सम्बन्धमा पुस्तकालयकी एक कर्मचारीको भनाइ थियो, ‘यति त के हो र ? उता–उताका टेबुलहरू देख्नुभयो भने के भन्नु होला । एउटै बाँकी छैन, कापी त ल्याउँछन् नि, त्यसैमा कोरेको भए टेबुल फोहोर हुने थिएन । के भएका होलान्, पढ्न आउनेहरू पनि ?’ उनको त्यो हैरानीसँगै मेरो अर्को हैरानी पनि थियो । मैले पल्टाएका पुराना अनि दुर्लभ पत्रिकाहरूमा पाना च्यातेर तथा केही अंश काटेर लगिएको देखिन्थ्यो । पुस्तकालयको यसरी दुरुपयोग हुनु दु:खको विषय हो भने यसै बीचको सानो घटनाले मलाई झनै आहत बनाइदियो ।


सधैँभैंm पत्रिका सेक्सनको टेबुलमा अफ्नो काममा व्यस्त थिएँ । आडैको टेबुलमा एक युवक एउटा कुर्सीमा बसेर अर्कोमा खुट्टा राखेर आरामपूर्वक बसेको देखेपछि कर्मचारीले त्यसरी नबस्न भनिन्, तर उसले उपर्खुट्टी हटाउनुको साटो ‘खाली भएको बेला यसरी बस्दा के हुन्छ र ?’ भन्दै मुख लगाएपछि मेरो धैर्यको बाँध भत्कियो र भनेँ, ‘तपाईं हेर्दा त विद्यार्थीजस्तो देखिनुहुन्छ, तर व्यवहार भने विद्यार्थीजस्तो भएन नि ।’ ‘मैले जे गरे पनि तपाईंलाई के सरोकार’ भन्ने उसको जवाफ पाएपछि मैले आफ्नो परिचयसहित भनेँ, ‘सरोकार पक्कै हुन्छ, किनभने यो तपाईंको घर नभएर सार्वजनिक स्थल, अझ पुस्तकालय हो ।

यसको आफ्नै मर्यादा र नियम हुन्छ । यहाँ विद्यार्थीमात्र होइन, शिक्षक, अनुसन्धानकर्ता तथा अवलोकनकर्ता पनि आउँछन् ।’ मेरो कुरा सुनेपछि आँखा तर्दै खुट्टा तल झार्ने ती छात्रलाई देख्दा मेरो गुरुत्व नराम्ररी दुख्यो । के सिकाएछौँ त हामीले हाम्रा विद्यार्थीहरूलाई ? व्यक्तिगत तथा सार्वजनिक जीवनको भेद तथा सार्वजनिक स्थानमा गर्न हुने र नहुने व्यवहारसम्म जानेका रहेनछन्, उनीहरूले ।


यस्तै आहत मनले पुस्तकालयमा देखे/भोगेका परिदृश्य सम्झन्छु— सोही छात्र केही बेरमा फोनमा चर्को आवाज गर्दै निकै बेर कुरा गरेको, पुस्तकालयभित्र घुमी–घुमी आवाज निकालेर पढ्दै गर्नेहरू, सामूहिक अध्ययनका नाममा पुस्तकालय परिसरमा जम्मा भएर हल्लाखल्ला गर्ने जमात अझ पढाइको बहानामा पुस्तकालय परिसरलाई ‘डेटिङ स्पट’ बनाउने रोमान्टिक जोडीहरू । उनीहरू सबैलाई लागेको होला, उनीहरूले जे गरे, त्यो उनीहरूको मौलिक अधिकार हो । यसमा अरुलाई चासो किन ? अधिकारका कुरा गर्दा एक कदम अगाडि बढ्ने अनि कर्तव्यको प्रसङ्ग आउँदा दुई कदम पछि हट्ने संस्कृतिका कारण नै आजसम्म मुलुकले काँचुली फेर्न सकिरहेको छैन । आजका युवा तथा विद्यार्थीको काँधमा देशको भविष्य निर्धारित हुनेहुँदा उनीहरूमा अधिकार तथा कर्तव्यप्रतिको सचेतता अनिवार्य हुन्छ ।

शिक्षाको उच्चतम गन्तव्य विश्वविद्यालय तथा ज्ञानको दुर्लभ संग्रहालय केन्द्रीय पुस्तकालय भएकाले यसको दुरुपयोग गर्ने प्रवृत्ति निरुत्साहित हुनुपर्छ । वास्तविक विद्यार्थी तथा विभिन्न विषय–क्षेत्रका अध्येता/अनुसन्धाताले यहाँभित्र बसेर निर्वाध रूपमा काम गर्ने वातावरण पाउनुपर्छ । यसका लागि पुस्तकालय प्रशासनको प्रयासका साथै सरोकारवाला सबैको सचेतता र दायित्वबोध आवश्यक छ ।


झोलाभरि पुस्तक अनि सामलतुमल बोकी पुस्तकालय प्रवेश गर्न लाइन लाग्नु पनि उनीहरूको रहर नभएर बाध्यता हो । धेरैले सुनाएको बाध्यता अर्थात् ‘डिस्टर्ब’ । पढ्नेहरूका लागि आजभोलि यो गम्भीर सामाजिक समस्या बनेको छ, सहरमा । किनकि विश्वविद्यालयको आवासगृहमा बस्दै आएकी म आफ्नो अध्ययन, अनुसन्धान तथा लेखनकार्यमा सधैं ‘डिस्टर्ब’ झेल्न बाध्य हुनुका साथै पठन–पाठनको वातावरणका लागि झगडा गनुपर्ने परिवेशको साक्षी हुँदै आएकी छु । पढ्न रुचाउनेहरूका मर्मलाई अन्य रुचि हुनेहरूले बुझ्न नसक्दा र आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकार हनन भइरहेकोतर्फ सचेत हुन नसक्दा पढ्नेहरूले सास्ती खेप्नु परिरहेको छ ।

आफू बसेको डेरा, छरछिमेक, साथीभाइ, आफन्तबाट पढाइमा बाधा नहुँदो हो त चाहे लोकसेवा तयारी गर्नेहरू हुन् या अन्य परीक्षा तयारी गर्नेहरू हुन् या विश्वविद्यालयकै विभिन्न तहमा पढ्ने विद्यार्थीहरू हुन्, त्यसरी पुस्तकालयमा भरिनुपर्ने अवस्था आउँदैनथ्यो । जसरी रङ्गशालामा खेलाडीको, रङ्गमञ्चमा कलाकारको पहिलो अधिकार हुनुपर्छ, त्यसरी नै विश्वविद्यालय र पुस्तकालयमा पनि पहिलो अधिकार अध्येता र अनुसन्धाताको हुनुपर्छ ।

विश्वविद्यालयका विभागहरू, अनुसन्धान केन्द्रहरू, पुस्तकालय, आवासगृहहरू, छात्रावासहरूदेखि विद्यार्थीको बाहुल्य हुने सम्पूर्ण स्थानमा पठन–पाठनको उपयुक्त वातावरण बन्नुपर्छ । साथै विश्वविद्यालयको परिवेशभित्र पढ्ने वातावरणकै लागि संघर्ष गर्नुपर्ने अवस्था सदाका लागि अन्त्य हुनुपर्छ ।


त्रिवि, नेपाली केन्द्रीय विभागकी उप–प्राध्यापक प्रतीक्षाले ‘विजय मल्लका नाटकमा नारीवाद’ शीर्षकमा विद्यावारिधि गरेकी हुन् । [email protected]

प्रकाशित : श्रावण २, २०७५ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?