जहिल्यै ट्राफिक जाम

मुकुन्द मरासिनी

काठमाडौँ — हामी मास ट्रन्सपोर्टेसन पद्धतिमा जानुपर्छ । यो ‘हाम्रो सहर राम्रो सहर’ को सार्थक विकल्प हो । स डक, सवारी र समयले मानव जीवनको जन्मदेखि मृत्युसम्म सबै प्रकारको विकास र निकासमा प्रभाव पारिरहन्छ ।

हामी मास ट्रन्सपोर्टेसन पद्धतिमा जानुपर्छ । यो ‘हाम्रो सहर राम्रो सहर’ को सार्थक विकल्प हो ।
स डक, सवारी र समयले मानव जीवनको जन्मदेखि मृत्युसम्म सबै प्रकारको विकास र निकासमा प्रभाव पारिरहन्छ । कुनै पनि देशको विकास त्यहाँको सडक फुटपाथको चौडाइबाट प्रतिविम्बित हुन्छ । व्यवस्थित ट्राफिक व्यवस्थापन सहरको सुन्दरता हो । राजधानी काठमाडौंसहित उपत्यकाको क्षेत्रफल ५७० स्क्वायर किमि छ । राजधानीको क्षेत्रफल सानो भएकाले ट्राफिक व्यवस्थापन सहज र सुन्दर हुनुपर्ने हो । तर हामीलाई दिनानुदिन ट्राफिक व्यवस्थापनले झन्झट सिर्जना गरेको छ । उपत्यकामा जुन प्रकारले सहरीकरण हुँदैछ, त्यसको मुख्य पूर्वाधार ट्राफिक व्यवस्थानमा भने व्यवस्थित छैन । उपत्यकाको ट्राफिक व्यवस्थापन कसरी सुधार्ने त ?

Yamaha

सडकको इन्जिनियरिङ
जनसंख्या वृद्धि, उद्योग, पर्यटनको विकासलाई परिलक्षित गरी सडकको विकास हुनुपर्नेमा जग्गा प्लटिङ गर्नेहरूले बनाएको बस्ती र सडकले राजधानीलाई दीर्घकालीन निकास दिन सक्दैन । उपत्यकाको जम्मा १५९४.६७ किमि सडकमध्ये ८० प्रतिशत बिना इन्जिनियरिङ निर्माण गरिएको छ । जहाँ साना–ठूला गरी ११,३२,९२५ सवारी साधन वागमती अञ्चलको नाममा दर्ता छन् । जुन सडकको आधारमा शतप्रतिशत बढी हो । यही अहिलेको प्रमुख चुनौती हो ।


नयाँ बन्ने बस्तीहरूमा दीर्घकालीन रूपमा समस्या समाधान हुनेगरी सडक निर्माण नगरे पछिल्लो पिढीलाई अन्याय हुनेछ । हाम्रा मुख्य सडकमा अनगिन्ती व्यक्तिका घर–घर जाने ‘राइट टर्न’ छन्, जबकि हाम्रो देशमा ‘लेफ्टसाइड ड्राइभ’ छ । विकसित देशहरूमा दैला–दैलामा ‘लेन’ हुन्छन्, नकि ‘टर्न’ । यसको कारणले सयौं दुर्घटना र घन्टौं जाम हुन्छ ।


हामीकहाँ आवश्यकता अनुसार वैकल्पिक सडक पनि छैनन् । सवारी पार्किङ, पिक एन्ड ड्रप सकेसम्म मूल सडक छाडेर गर्नु राम्रो हुन्छ । राजधानी कस्तो बनाउने हो, त्यही अनुसार वैज्ञानिक रेखाङ्कन र गुणात्मक भौतिक संरचना निर्माण गरौं । भविष्यमा तोड्न, फोड्न र भत्काउन नपरोस् । पार्किङ, पिक एन्ड ड्रप, वान–वे, राइट टर्नबारे ध्यान दिनुपर्छ ।

कम गति, साना सवारी साधन
कम गतिमा चल्ने थोत्रा सफा टेम्पो २५२८, माइक्रोबस ३,०४४ छन् । यिनलाई सहरको मुख्य स्थानभन्दा अन्य स्थानमा व्यवस्थापन गर्नुपर्ने तत्काल आवश्यकता छ । जम्बो हाइस, रिक्सा, ठेलागाडाहरू सहरको मुख्य स्थानहरूमा थपिँदै जानु अर्को समस्या हो । यसकारण सहरका मुख्य सडकमा ठूला र सुविधायुक्त गाडीहरू र भित्री सडकमा सानो तर सुविधायुक्त सवारी साधनहरू सञ्चालन गरेर सेवा प्रदान गर्न सकिन्छ ।


यसले जाम कम हुन्छ र सहज गन्तव्यमा पुग्न सकिन्छ । सहर सफा र सुन्दर हुन्छ । सार्वजनिक र व्यक्तिगत दुवैथरी सवारी साधनहरूको समय–सीमा निर्धारण गर्नु पर्नेछ । जीर्ण भइसक्दा पनि सवारी साधन चलाइरहनाले प्रदूषण, दुर्घटन बढ्ने र सडकमै बिग्री जाम बढिरहेको छ । हामी मास ट्रन्सपोर्टेसन पद्धतिमा जानुपर्छ ।


यो ‘हाम्रो सहर राम्रो सहर’को सार्थक विकल्प हो । मास ट्रान्सपोर्टेसनले आवागमनमा सहजता, वातावरणीय प्रदूषणमा कमी, दुर्घटनाका कारण मानवीय तथा भौतिक क्षतिमा कमी हुनुका साथै इन्धन खपतमा पनि कमी आउनेछ ।

मुख्य चोकहरूको व्यवस्थापन
केही मुख्य स्थानहरू जहाँ इन्टरसेक्सन व्यवस्थापन हुनसकेको छैन । एउटा चोकमा कम्तीमा ८ क्रसिङ दिनुपर्ने बाध्यता छ । साना सडकमा ठूला र कम गतिका सवारी साधनहरूको सञ्चालन र पैदल यात्रीहरूले पनि सडकबाटै बाटो काट्नुपर्ने बाध्यताले गर्दा सामान्य अवस्थामा पनि १०–१५ मिनेट कुर्नुको विकल्प छैन, एकपटक क्रसिङ पाउन । अन्तर्राष्ट्रिय मान्यता अनुसार ९० सेकेन्डमा पालो पाउनुपर्ने हो ।


उपत्यकाका ९ स्थानमा तत्काल क्रसिङ व्यवस्थापन गर्नु पर्नेछ । गौशला, मित्रपार्क, नारायणगोपाल चोक, चावहिल चोक, नयाँबानेश्वर, कोटेश्वर, जडिबुटी, सातदोबाटो, कलंकी र माइतीघर । यी स्थानमा अन्डरपास वा फ्लाइओभर निर्माणका लागि प्राकृतिक बनोटका हिसाबले सहज पनि छ । उल्लेखित स्थानहरूमा मात्र क्रसिङ व्यवस्थापन गरेमा सवारी आवागमनमा सहजता र सरलता हुनेछ । जामको समस्या निकै कम हुनेछ । नयाँ बस्तीहरूमा फुटपाथसहित कम्तीमा ४ लेन र भित्री सडक २ लेनको भएमा भविष्यका लागि पनि निकास र विकास साँघुरिने थिएन ।

अव्यवस्थित सहरीकरण
हामीकहाँ व्यक्तिको आफ्नै योजना अनुसारको निर्माण पद्धति विकास भयो । यसले सहरलाई एकरुपता दिन सकेन । त्यसकारण सम्पूर्ण क्षेत्रमा असर परेको छ । विकसित मुलुकहरूले भौतिक संरचना निर्माण गर्दा समयको आवश्यकता, त्यसको उपयोगिता, असर र उपलव्धिलाई मूल्याङ्कन गरी निर्माण गरेको देखियो । तर हामीकहाँ सीमित समूह वा व्यक्तिगत आवश्यकताको आधारमा निर्माण गर्दा समस्या बल्झेको छ ।


आआफ्नै शैलीमा निर्माण गरिएका बस्तीहरू, व्यक्तिले निर्माण गरेका साँघुरा सडकहरू बाहेक अन्य कुनै आवश्यक सामाजिक संरचनाविहीन सहरीकरणले ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न गरेको छ ।

मोटरसाइकल
मोटरसाइकल (मोसा) बढी भएको सहरलाई फोहोर सहर भनिन्छ । २०७४/७५ मा २१ लाख ८९ हजार मोसा रहेको छ । उपत्यकामा मात्र १० लाख १७ हजार मोसा छन् । प्रकार प्रकारका मोसा छन् । यस्तो छुट हाम्रो मुलुकमा मात्र हो । मोसा कुन प्रयोजनको लागि बनेको हो ? हाम्रो सडकमा उपयुक्त छ/छैन ? वातावरणमा के कस्तो प्रभाव पार्छ ? सडकको गति क्षमता कति हो ?


कुनै अध्ययन नगरी हामीले आयात गरेका मोसाबाट हुने सवारी दुर्घटना मानवीय क्षति, भौतिक क्षतिको गणना गर्दा कहालीलाग्दो छ । वार्षिक उपत्यकामा मोसा दुर्घटना ५,००० भन्दा बढी हुन्छन् । १०० भन्दा बढी मृत्यु हुनेको संख्या छ । तर पनि हामीले यसको असर र दूरगामी प्रभावबारे सोचेका पनि छैनौं । यो ट्राफिक व्यवस्थापनको लागि भयावह अवस्था र प्रमुख चुनौती हो । मोटरसाइकल दुर्घटनाबाट सबैभन्दा बढी मानिस मर्ने गरेका छन् ।

सडक सभ्यता
भौतिक संरचनाहरू बनाउन, भत्काउन/हटाउन र व्यवस्थापन गर्न सकिने भए पनि मानवीय प्रवृत्ति व्यवस्थापन गर्न जटिल हुँदोरहेछ । बुझेर पनि अटेरी प्रवृत्ति हामीकहाँ कसरी विकसित भयो ? विश्वका धेरै देशका विकास निकास, शैली सभ्यताहरू हामीले देखेका छौं । ती ठाउँमा पुग्दा हामी सबै नियम मान्छौं, राम्रो पनि भन्छौं । तर आफ्नो देशमा आएपछि बिर्सिन्छौं । यही हो– हाम्रो विडम्बना । पहिला आफू परिवर्तन भए मात्र लोकलाई परिवर्तन गर्न सकिन्छ।

मरासिनी ट्राफिक निर्देशनालयका एसपी हुन्।

प्रकाशित : श्रावण २, २०७५ ०७:५९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ट्राफिक व्यवस्थापनमा नागरिक दायित्व

कसैको ओठमा मुस्कान नहराऊन्, खुसी नलुटिऊन्, अभिभावकका सपना अन्धकारमा परिणत नहोऊन् ।
मुकुन्द मरासिनी

काठमाडौँ — सडक विकासको प्रमुख पूर्वाधार हो । कुनै पनि सहरको सुन्दरता व्यवस्थित ट्राफिक व्यवस्थापनले मात्र देखाउँछ । सडक संकटकालीन अवस्थाको निकास र राष्ट्रिय एकताको विकास पनि हो । सडकमा आतंक कुनै एकजना मूर्ख व्यक्तिका कारणले हुने हैन, उनान्सयजना असल व्यक्तिको मौनताले हुने गर्छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार काठमाडौं उपत्यकाको जनसंख्या करिब २५ लाख छ । राजधानीमा रोजगार, व्यापार–व्यवसाय लगायत विभिन्न सिलसिलामा अस्थायी बसोबास गर्नेको जनसंख्या ४० लाखभन्दा बढी छ । यहाँको सडकको लम्बाइ भने १ हजार ५ सय किमिमात्र छ । दैनिक साना–ठूला गरी ९ लाखभन्दा बढी सवारी साधन उपत्यकाको सडकमा गुड्ने गर्छन् । दैनिक करिब २० देखि ३० लाखसम्म मानिसले उपत्यकाको सडक प्रयोग गर्छन् । उपत्यकाको सडक फुटपाथमा माग्नेदेखि करोडको सवारी साधन चढ्नेसम्मका लागि साझा थलो हो । तर जिम्मेवारीमा कुनै फरक छैन ।

पार्किङ स्थलसम्म जाने वा राख्ने फुर्सद छैन, सडकमै गाडी तेस्र्याउँछन् । बालुवा, गिट्टी, छड, रड, इँट्टा, मोटर ग्यारेज अस्तव्यस्तसंँग सडक छेउमै । जुलुस, धर्ना सडकमै । २०७४/७५ को फागुन मसान्तसम्म मात्र सडक अवरोध हुनेगरी १ सय ९४ पटक सडकमा जुलुस निस्कियो । १० मिनेट सडकमा सवारी रोकिँंदा कहाँसम्म प्रभाव पर्छ, कसैले सोचेका छौं ? चौडा सडक, सडक बत्ती, चिल्ला सवारी साधनले मात्र ट्राफिकको समस्या समाधान हुने हैन । हामीले सडक प्रयोग गर्ने संस्कृतिमा सुधार र परिवर्तन नल्याएसम्म यस्ता समस्या भइनै रहन्छन् । सडक संस्कृति विकास भएमात्र ट्राफिक व्यवस्थापनमा सहयोग पुग्न सक्छ ।

सडकको सर्वमान्य नियम भनेकै आफूभन्दा अगाडिकालाई पहिला जानदिने र आफू पछि जाने हो । तर हामीमा बाटोमा कुनै सानो ठाउँ छ भने पनि अगाडि नै जाने प्रवृत्ति छ । अझ बायाँबाट लेन मिचेर उछिन्दा त सर्वश्रेष्ठ नै भएको सम्झिन्छौं । सबैभन्दा बढी सडकमा गल्ती गर्नेमा मोटरसाइकल चालकहरू पर्छन् । आर्थिक वर्ष २०७४/७५ को फागुन मसान्तसम्ममा मात्र १ लाख ३ हजार ९ सय २८ मोटरसाइकल चालक सवारी नियम पालना नगरेको कसुरमा कारबाहीको दायरामा परेका छन् । त्यही अवधिमा २ हजार ५ सय ८५ वटा मोटरसाइकलका चालकले सवारी दुर्घटना घटाएका छन् । मृत्यु हुने चालक १ सय २७ मध्ये ६७ जना मोटरसाइकलका चालक हुन् । नेपालमा सडक दुर्घटनाका कारण वार्षिक २ हजारभन्दा बढी मानिसको ज्यान जान्छ । यसमा ८० प्रतिशत युवा हुन्छन् ।

ट्राफिक व्यवस्थापन गर्न तीन मुख्य कुरामा विशेष जोड दिइन्छ– १) बाटोको वैज्ञानिक रेखाङ्कन २) कानुनको कडा कार्यान्वयन ३) सडक सचेतना । मुख्य विषय सडक सुरक्षा सम्बन्धी जनचेतना वृद्धि नै हो । यसमा कसैको मुख ताक्नु पर्दैन । तर चेतना भएर पनि पालना नगर्नु हाम्रो कमजोरी हो । अहिलेको मुख्य समस्या पनि यही हो । एक–एक व्यक्तिबाट निर्मित समाज पनि एक–एक जनाबाटै सुधार गर्नुपर्छ । त्यसैले सडक नियमको पूर्ण पालनाका लागि हामीले प्रण गर्न जरुरी छ । आफ्नो कारणले अरूलाई समस्या हुनुहुँदैन भन्ने बुझ्नुपर्छ । प्रहरी देख्दामात्र सडक नियम अनुशासन पालना गर्ने प्रवृत्ति हटाउनु आवश्यक छ । दुर्घटना जहाँ पनि हुनसक्छ । कामना गरौं, बिनाकरण कसैको ओँठमा मुस्कान नहराउन्, खुसी नलुटिउन्, अभिभावकका सपना अन्धकारमा परिणत नहोउन् ।

पैदल यात्रीले उपलब्ध जेब्राक्रसिङ तथा आकाशे पुलबाट मात्र बाटो काट्ने, सडकमा राखिएका संकेतहरूको चालक तथा परिचालकले पूर्ण पालना गर्ने, पहिला आउनेलाई जानदिने र आफू जाने, जथाभावी सडकपेटी तथा सडक छेउमा पार्किङ भुलेर पनि नगर्ने, बायाँतर्फको लेन हमेसा खुल्ला राख्ने, बायाँतर्फबाट बाटोमा ओभरटेक नगर्ने पद्धति बसाउनुपर्छ । कसैले सडक नियमको पालना गरेको छैन भने सवारी नम्बरसहित टोल फ्रि नम्बर १०३ मा जानकारी गराइदिने जिम्मेवारी सम्पूर्ण नागरिकबाट निर्वाह गरे सवारी आवागमनमा सहजता र सुविधाको महसुस हुनेछ । त्यसले एक जिम्मेवार नागरिक भएको गर्व पनि दिलाउनेछ । उल्लिखित कार्य गर्न कसैले कसैको मुख ताक्न, समय कुर्न र लगानी गर्नु पर्दैन ।

मरासिनी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक हुन् ।

प्रकाशित : वैशाख ७, २०७५ ०८:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT