जुम्लामा गान्धी

दिवाकर बागचन्द

न्यूयोर्क (अमेरिका) — नेपालको राजनीतिक मौसम देखेर होला २०४६ सालमा बहुदलीय व्यवस्था स्थापना गर्न गरिएको आन्दोलनमा भाग लिएका मेरा एक मित्रले मलाई सोधे, "के लोकतन्त्र अहिले खतरामा छ ?"  मैले उनलाई  भनेँ, "सक्छौ भने  जुम्ला जाऊ ।"

मेरा मित्रले मलाई यसरी हेरे मानौं उनका आँखा भन्दै थिए, "मगज खुस्केको मान्छे, मेरो यति सिधा प्रश्नको यति टेडो जवाव?"

Yamaha

मैले उनलाई जुम्ला जान किन भनेँ ? यस्को कारण छ । विश्व प्रसिद्ध जुम्लाको स्याउ नेपालीले नै देखेका छैनन् । प्राकृतिक छटा र सौन्दर्यको जीवन्त तस्बिर हो, जुम्ला । नीति-निर्माता र नेताको प्राथमिकतामा नपरेको धर्ती हो, जुम्ला । आफु हेपिंदा-हेपिंदै, मौन रहेको, सहनशीलताको अद्भुत उदाहरण हो, जुम्ला । तर आज एकाएक जुम्ला नेपाली राजनीतिको यपि सेन्टर बन्न पुगेको छ । त्यो पनि एउटा कमजोर शरीर, साधारण देखिने, आत्मबल र सिद्धान्तवादी चिकित्सकका कारण । चिसो कोठामा पातलो ओछ्यान, छेउमा केही किताब राखेको स्वास्थ्य शिक्षामा सुधारको माग राख्दै बिगत केही दिनदेखि अनसनरत डा. गोबिन्द केसीको तस्बिर जताततै देखिन पाइन्छ ।

हेर्दा साधारण लाग्ने यो तस्बिर बिल्कुल साधारण छैन । पहिलो कुरा यो तस्बिर काठमाडौंको होइन । दोस्रो, "आइ यम विथ डा. के.सी" भनेर सेतो कागजमा लेखेर जुम्लेली जनताले सेल्फि खिचेर गम्भिर मुद्दालाई हल्का बनाएनन् । बरु अगाध माया र न्यानोपन दिए । तेस्रो, तस्बिर नियालेर हेर्ने हो भने, गान्धीको छायाँ देख्न सकिन्छ । मैले डा. केसीलाई गान्धीको दर्जा दिन खोजेको होइन । खाली यतिमात्र भन्न खोजेको हुँ, उनी एक सत्याग्रही हुन् । मेरो लागि सत्याग्रही शब्दको र रचयिता गान्धी हुन् । सत्य, आग्रह भएको न्यायको लागि लड्ने हरेक व्यक्ति आफैँमा सानो, ठुलो गान्धी हो ।

यसो भनी रहँदा डा. केसी कसरी सत्याग्रही भए त? काठमाडौंमा देखिने भीड के हो? र डा. केसीको जीवन किन अमूल्य छ भन्ने प्रश्नको जवाफ खोज्न जरुरी हुन्छ । गान्धीले "मेरो सपनाको भारत" ( मधुसुदन अधिकारीद्वारा अनुवादित ) किताबमा भनेका छन :

१. सविनय अवज्ञा सहि भावना र आदरपूर्वक गरिनु पर्छ । त्यसमा कुनै प्रकारको उद्दण्डता हुनु हुँदैन । त्यो कुनै ठोस सिद्दान्तमा आधारित हुनुपर्छ । त्यसका पछाडि द्वेष वा तिरस्कार रत्तिभर हुनु हुँदैन । यी महत्वपूर्ण कसी हुन । यसमा खारिए मात्र शुद्ध सत्याग्रही बन्न सकिन्छ ।

२. सत्याग्रह प्रत्यक्ष कारवाही हो, अत्यन्तै बलवान् उपाय मध्ये एक हो । त्यसैले सत्याग्रहीले सत्याग्रहको आश्रय लिनु भन्दा पहिले सबै उपायको प्रयोग गरी हेरिसकेको हुन्छ । यसका लागि उ सधैं निरन्तर सत्ताधारी समक्ष पुग्छ ।

३. शुद्ध उपवासमा स्वार्थ, क्रोध, अविश्वास, अधैर्यका लागि कुनै स्थान हुँदैन ।

४. म एउटा सामान्य सिद्धान्त उल्लेख गर्न चाहन्छु । सत्याग्रहीले उपवासको उपयोग अन्तिम् उपायको रूपमा गर्नु पर्दछ । सफलताको आशक्ति राखेर पनि उपवास बस्नु हुँदैन ।

यि चारै कसीमा डा. केसी एक सच्चा सत्याग्रही, एक क्रान्तिकारी हुन् ।

यो समय डा. केसीको कमजोरी केलाउन उपयुक्त समय होइन । उनी अहिले जीवनसँग संघर्ष गर्दै छन् । उनको बारेमा नकरात्मक टिप्पणी गर्नु असमवेदनशील हुन्छ । तर गान्धीको परिभाषामा खरो उत्रिन गान्धीले भने झैं लोकमतलाई एक सत्याग्रहीले प्रभावित र शिक्षित तुल्याउनु पर्छ । गान्धी अगाडि भन्छन्, "प्रतिपक्षको कुभलो चाहनु या उसको क्षतिको कामना गर्नु, यी दुई भनाईको विश्लेषण गर्ने हो भने केही समय पहिले डा. केसीको केही व्यक्तिसँग भएको वाक-युद्धले डा. केसी चुकेका त होइनन भन्ने भान हुन्छ । डा. केसी एक मानव न हुन् । सत्याग्रह एउटा सिक्ने प्रकृया पनि हो ।

दोस्रो सवाल, काठमाडौंको भीड डा. केसी अनसन बस्दा मात्र किन उर्लन्छन् ? उनको अनसन अघि ब्यापक जनमत तयार पार्न किन अग्रसर हुँदैन? "आइ एम विथ डा. केसी " भनेर किन सेलिब्रिटी बन्ने प्रयास गरिन्छ? किन सोझो, सालिन मानवताका प्रतिमुर्ती एक चिकित्सकको जीवनलाई तमासा बनाइन्छ ? तपाईं डा. केसीको साथमा हुनु हुन्छ, हुनुहुन्न, त्यो नाराले केही अर्थ राख्दैन । चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि अनवरत संघर्षशील डा. केसीले प्रा. केदारभक्त माथेमाको नेतृत्वमा बनेको समितिको प्रतिवेदन अनुरुप आउँदो दश वर्षमा काठमाडौंमा कुनै पनि मेडिकल कलेज खोल्न नहुने र एउटा विश्वविद्यालयले पाँच वटा भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिने नसकिने सुझावको कार्यान्वयनका लागि माग राखेका छन् । यी मागको जनमुखी पाटो छ । स्वास्थ्य सेवालाई जुम्ला जस्तो ठाउँमा सहज तरिकाले पुर्याउने उनको सपना छ । जो आफुलाई उहाँहरूको समर्थक भन्नु हुन्छ, डा. केसीका सिद्धान्त र कामलाई तपाईंले कसरी सहयोग गर्नु भएको छ, भिड जम्मा गर्नु वाहेक? अर्थ यसले राख्छ । यही भिन्नता छ जुम्ला र काठमाडौंमा ।

तेस्रो, सबैभन्दा अहम् सवाल हो, राष्ट्र धर्म । हरेक नागरिकको जीवन रक्षा गर्नु एक राष्ट्रको परम धर्म हो । यहिबाट राष्ट्र भन्ने अवधारणा बनेको हो । ब्रिटिश साम्राज्य, जसले हरेक कुरामा तोलतोल गर्थ्यो, फाईदाको सौदा गर्थ्यो, त्यस्तो निर्मम उपनिवेशवादी शासकले समेत दुब्लो पातलो, धोती लगाएको खाली पेटमा लडिरहेको सत्याग्रही गान्धीलाई मर्न दिएन, मारेन । बरु उनको सत्याग्रहको अगाडि झुक्यो ।

आखिर किन नेपाल सरकार डा. केसीप्रति यति धेरै उदासिन छ? हो, राज्यका लागि सबै नागरिकको जीवन बराबर हुनुपर्छ । तर सर्वजनिक हितका लागि आफ्नो प्राणको आहुति दिन तयार सत्याग्रहीको जीवनको अर्थ र त्यसले दिने सन्देशले अझ बढी महत्व राख्छ ।

डा. केसी अब एक व्यक्ति मात्र होइनन् । एक प्रतीक हुन् । उनले काठमाडौं केन्द्रित नेपाललाई जुम्लाको महत्व बुझाई दिएका छन् । भोकमरी, झाडापखाला, अकाल मृत्‍युका कारण समाचार बन्ने जुम्ला, सत्याग्रह स्थल बन्यो । मौन कर्णालीले अब चुप नरहने उद्घोष गरेको छ । जुम्लाले एक सत्याग्रही पाएको छ । यो युगको नयाँ गान्धी पाएको छ ।

मित्र त्यसैले, मैले लोकतन्त्र खतरामा छ भन्ने तपाईंको प्रश्नको जवाफको उत्तर खोज्न जुम्ला जानु भनेको हुँ । जबसम्म तपाईं जस्ता लोकतन्त्रका सिपाही र डा. केसी जस्ता सत्याग्रही लडिरहन्छन् । लोकतन्त्र खतरामा हुनै सक्दैन । खतरामा त लोकतन्त्रलाई कुल्चने प्रयास गर्नेहरू हुन्छन् । ईतिहास यसको शाक्षी छ ।

प्रकाशित : श्रावण २, २०७५ १५:५२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

स्थानीय तहमा विपद् व्यवस्थापन समिति 

प्रतिक्षा काफ्ले

स्याङजा — जिल्लाका प्रत्येक स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गर्नुपर्ने कानुनी प्रावधान छ । समितिसँगै विपद् व्यवस्थापन कोष र विपद् व्यवस्थापनका लागि स्वयंसेवक गठन गर्नुपर्ने हुन्छ ।

जस अनुसार स्याङजाका ५ नगर र ६ वटा गाउँपालिकामा विपद् व्यवस्थापन समिति गठन भएका छन् । वर्षात्‌को समय आइपर्ने दैवी प्रकोपलाई मध्यनजर गर्दै कार्यपालिकाहरुले केही महिना अगाडि मात्र समिति गठन गरेको बताएका छन् ।

विपद् व्यवस्थापन समिति र विपद् व्यवस्थापन कोष समिति गठन गरिएको भएपनि ११ वटै स्थानीय तहले विपद् व्यवस्थापनका लागि स्वयंसेवक भने गठन गरेका छैनन् ।

कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश खनाल भन्छन्, ‘हामीले विपद् व्यवस्थापन समिति गतवर्ष नै गठन गरेका हौँ ।

समिति गठन भएसँगै कोषको पनि स्थापना गर्यौ । स्वंमसेवक भने नियुक्ति गरिएको छैन ।’ उनले विपद् व्यवस्थापन कार्यविधि बनाएर नै काम गरेको बताए ।

पुतलीबजार नगरप्रमुख सीमा क्षेत्रीका अनुसार गतवर्ष नै विपद् व्यवस्थापन समिति गठन भएको हो । ‘विपद् व्यवस्थापनका लागि यसवर्ष ३ लाख बजेट विनियोजन गरेका छौँ’ उनले भनिन्, ‘विपद् कोषमा बजेट अड्कल्ने होइन ।

दैवी प्रकोप भनेको जुन समयमा जेपनि हुन सक्छ । हामी यसतर्फ सचेत छौँ ।’ उनले आफ्नो नगर क्षेत्रभित्र भएको दैवी प्रकोप र हुन सक्ने समस्या साथै जोखिम स्थानलाई मध्यनजर गर्दै काम गरेको बताइन ।

यस्तैगरी वालिङ, भीरकोट, चापाकोट र गल्याङ नगरपालिकाले पनि विपद् व्यवस्थापन समिति, विपद् व्यवस्थापन कोष गठन गरेको बताएका छन । हरिनास, विरुवा, अर्जुनचौपारी, आँधीखोला र फेदीखोला गाउँपालिकामा पनि समिति गठन भएका छन् ।

तर कुनैपनि स्थानीय तहले स्वंमसेवक नियुक्ति गरेका छैनन् । वालिङ नगरपालिकाले भने विपद् व्यवस्थापनका लागि आवश्यक उद्धार सामाग्रीसमेत खरिद गरेको बताएको छ ।

यहाँका सबै स्थानीय तहले विपद् व्यवस्थापनको कार्यविधि नै बनाएर समिति गठनसँगै कार्य गर्दै आएको बताएका छन् । विपद् व्यवस्थापन कोषको लागि बजेट नै विनियोजन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले विपद् व्यवस्थापनका लागि उद्धार सामाग्री समेत संकलन गरिसकेको बताएको छ । जिल्ला प्रशासनका प्रशासकीय अधिकृत यादवराज शर्माका अनुसार ४० घरपरिवारलाई पुग्ने उद्धार सामाग्री पूर्वतयारीका साथ संकलन गरिएको छ ।

प्रकाशित : श्रावण २, २०७५ १५:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT