संसद्‌मा पञ्चायतको छाया

गणतन्त्रका पहिलो शिक्षामन्त्रीले डा. केसीको अनशनको सन्दर्भमा किन प्रयोग गरे लाचार छाया ?
भैरव रिसाल

काठमाडौँ — हाम्रो संसद् (गणतन्त्र संसद्) मा शिक्षा, विज्ञान र प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘लाचार छाया’ पञ्चायतको भूत पसाए, पहिलोपल्ट २५ असार २०७५ मा । म सिद्धान्त र व्यवहारमा पनि भूतप्रेत मान्दिन । परन्तु भूतप्रेतको नेपाली समाजमा, संस्कारमा जबर्जस्त भ्रमपूर्ण मान्यता छ, जो कुसंस्कार हो । डा. गोविन्द केसीले मेडिकल माफियाको निर्दयी कब्जामा स्वास्थ्य शिक्षा नपरोस् भन्ने पावन उद्देश्य राखी जुम्लामा आमरण अनशन गरिरहेका छन् । उहाँको यो अनशन पन्ध्रौं हो ।

संसद्‌मा पञ्चायतको छाया

अनशनको आगो निभाउन सकिन्छ कि भन्ने झिनो र उधारो आशाले मन्त्री पोखरेलले पञ्चायती भूतको ‘लाचार छाया’ निम्त्याएका हुन् कि ? ‘डा. केसीले भनेको मानौं अनि अघि बढौं भन्ने हो भने संसद् व्यक्तिहरूले गर्ने आन्दोलनको ‘लाचार छाया’ हुन्छ,’ उनले भनेका छन्, ‘डाक्टर सावले भनेको मात्र गर्ने हो भन्ने हो भने निर्वाचित सार्वभौम संसद्को औचित्यमै प्रश्न उठ्छ ।’ सार्वभौम संसद्को अधिकारलाई सम्मान गर्न मन्त्रीले डा. केसीकै ध्यानाकर्षण पनि गराए । मन्त्री पोखरेलको सक्कली परिचय यही हो त ?

लाचार छायाको पुनरावृत्ति
यो ‘लाचार छाया’ निरंकुश पञ्चायती सत्तामा आफू नरहेका बेला सूर्यबहादुर थापाले ‘क्वाइन’ गरेको शब्द हो । यो शब्द पञ्चायतसँगै समाधिस्थ भैसकेको थियो । यसैले ‘लाचार छाया’लाई म पञ्चायतको भूत भन्ने गर्छु । पञ्चायतसँगै समाधिस्थ ‘लाचार छाया’लाई प्रजातन्त्र पुन:स्थापनापछि र अझ गणतन्त्र लागू भएपछि पहिलोपल्ट गणतन्त्रका पहिलो शिक्षामन्त्री गिरिराजमणिले जगाए, डा. केसीको अनशनको सन्दर्भमा । किन प्रयोग गरे ‘लाचार छाया’ ? मन्त्रीलाई नै सोध्नुपर्ने हुन्छ ।

भूमिगत गिरोह कहिले ?
मेरो बुझाइमा सूर्यबहादुर थापालाई लाग्दो रहेछ, उनी उपरको राजाको दृष्टिकोण र कारबाही राजा आफ्नो इच्छाबाट मात्र नभएर रानी, राजाका भाइ, बुहारी, दिदी–बहिनी, ज्वाइँ–भिनाजु, शरदचन्द्र जस्ता राजाका आसेपासे र सक्कली–नक्कली भारदारको इच्छा, उक्साहट एवं दबाबमा भएको हो । अनि सूर्यबहादुर थापाले अनेक प्रतीकात्मक शब्द कथे । उनैले द्वैध शासन, गैरसंवैधानिक शक्तिकेन्द्र, भूमिगत गिरोह र लाचार छायाजस्ता शब्द प्रयोग गर्न थालेका हुन् ।

छ जनाले तीन दशक ?
संसारमा कोही दीर्घजीवी हुन्छन् भने केही अल्पजीवी । २०१७ सालमा राजा महेन्द्रले रोजेको पञ्चायती राज्य प्रणाली झन्डै तीन दशक चल्यो । त्यो राज्य पद्धतिमा डा. तुलसी गिरी, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, नगेन्द्रप्रसाद रिजाल, लोकेन्द्रबहादुर चन्द, मरिचमान सिंह श्रेष्ठसहित ६ जना आलोपालो गरी सरकार प्रमुख भए । त्यो अवधिमा कहिले को, कहिले को प्रधानमन्त्री हुन्थे, फेरि बर्खास्त हुन्थे ।

फेरि प्रधानमन्त्री बन्थे, फेरि खारेजीमा पर्थे । यो नाटक लामै समय चल्यो । यी एउटै मन्त्रीमण्डलमा पनि अटाउँथे, कहिलेकाहीं भने अटाउँदैनथे । यीबीच अन्तरसम्बन्ध र अन्तरविरोधको सम्बन्ध थियो । थापा र गिरी दुई जनाको बीचमा कीर्तिनिधि विष्ट पस्न खोज्थे, यदाकदा । गिरी, थापा र विष्ट नितान्त निकट र नितान्त टाडा पनि बस्न सक्ने स्वभावका थिए ।

धैर्य टुटेपछि
सूर्यबहादुर थापालाई लामो समय सत्ता बाहिर बस्ने धैर्य भएनछ । तसर्थ २०२९ साउन २९ मा काठमाडौंको इटुमबहालमा आमसभा गरी पञ्चायतलाई भित्तो पुग्नेगरी हानेछन् । त्यो दङ्गलमा राजालाई पनि तानेछन् । त्यो सह्य भएन । कीर्तिनिधि विष्ट प्रधानमन्त्री थिए । त्यही साँझ थापा पक्राउ परे । हनुमानढोका प्रहरी थानामा नजरबन्दमा राखिए । थापा छिटै गल्छन् भन्ने रहेछ ।

थापा नगलेपछि केन्द्रीय कारागारमा सारिए । थापाको यो नजरबन्द राजाको संकेत नपाई विष्टको औकातबाट मात्र सम्भव थिएन होला, त्यो जमानामा । सूर्यबहादुर उक्त थानामा थुनिँदा थुन्ने कोठा साना थिए । त्यही कोठामा एउटा प्वाल हुने रे । थुनुवाले त्यही प्वालबाट दिसा–पिसाब गर्नुपर्ने रे । पछि सूर्यबहादुर प्रधानमन्त्री भएपछि ती प्वाल टाल्न लगाएका रे, जेल सुधार अन्तर्गत ।

मेरो कथामा जोडिएका ओली
२०४३ सालमा ‘एसियाली मापदण्ड मन्त्रीमण्डलको ठगिखाने भाँडो’ शीर्षकमा मैले लेख छपाए बापत पक्राउ परेँ, राजकाज अपराध अन्तर्गत । मलाई जेल लानुअघि दुई दिन थुनियो । म सूर्यबहादुर थुनिएकै कोठामा थुनिएछु । त्यो कथा त्यहीं थाहा पाएको । त्यतिबेला झापा काण्डका अभियुक्त हालका प्रधानमन्त्री केपी शर्मा ओली त्यही थानामा रहेछन् । म थुनिएको कोठामा आएर उनले भनेका थिए, ‘तपाईको घरबाट खाना र विस्तरा आउँछ–आउँदैन ? आएन भने खबर गर्नुहोला, बाँडेर टारौंला ।’ त्यो अवस्थामा त्यति वचन पनि माने लाग्ने हुनेरहेछ । म आज पनि सम्झन्छु । मेरो घरबाट खाना–विस्तरा आयो, त्यता लाग्नै परेन ।

जेलमा कालो टीका
सूर्यबहादुर चार महिना थुनिँदा पनि उनको सम्पूर्ण राजबन्दीको रिहाइ लगायत १३ वटा मागउपर कुनै सुनुवाइ भएन । तब उनी रिसले आगो भए । १ पुसमा केन्द्रीय कारागारमा के–के नाममा यज्ञ गरेछन् । तिलक (कालो टीका) लगाएछन् । तर १ पुसमा सूर्यबहादुरले कालो टीका लगाएर पञ्चायत सत्ताको विरोध गर्‍यो भन्ने हल्ला चल्यो । उनी छुटेनन् । बरु त्यही माघ २३ बाट अनशन बसे, नुनपानी मात्र खाएर ।

२१ दिनसम्म पनि कुनै रेस्पोन्स नभएपछि आफै ग्लुकोज पानी खाएर टुङ्ग्याए अनशन । तैपनि रिहा भएनन् । २०३० असारमा सिंहदरबार आगलागीपछि नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्री भए । अब बल्ल मुगाली काजी सूर्यबहादुर थापा त्यही असोज १७ का दिन छुटे जेलबाट, साढे १३ महिनापछि ।

महाअभियोगबाट ढालिए
२०३६ जेठ १० मा जनमत संग्रहको घोषणा भयो । राजा महेन्द्रले २५ सालमा फालेका सूर्यबहादुरलाई राजा वीरेन्द्रले टपक्क टिपे र प्रधानमन्त्री बनाए । चार वर्ष नेपालको मुख्तियार बने थापा । यो अवधिमा राजा चिडिएछन् र राजीनामा गर्न भनेछन् । थापाले नटेरेपछि राष्ट्रिय पञ्चायतमा महाअभियोग लगाएर बेइज्जत गरी घोक्र्याइए । १४० सदस्यीय राष्ट्रिय पञ्चायतमा थापाको विपक्षमा १२३ मत पर्‍यो । पञ्चहरू बीच बेलाकुबेला शक्ति परीक्षण भैरहन्थ्यो ।

सत्तामा भएका पञ्चहरूको एउटा पक्षविरुद्ध अर्को पक्षले र्‍याली निकाल्थ्यो । र्‍याली भाँड्न गाउँ–गाउँका बाटो बनाउने नाममा बिगार्न डोजर लगाउने काम हुन्थ्यो । अब ती दुवै हस्ती थापा र विष्ट यो धर्तीका छैनन् । यो इतिवृत्त शिक्षामन्त्री गिरिराजमणिले संसद्‌मा ‘लाचार छाया’ निम्तो गरेपछि आएको हो ।

प्रकाशित : श्रावण ४, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?