कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

सात समुन्द्र पारीबाट देखिने मेरो देश 

मेघराज सापकोटा

युएई — देश त खत्तम् नै भो, बरबादै भो । नेताहरुले देश बिगारे । देश लुटे । देशलाई कङ्गाल बनाए । जता त्यतै बेथिति छ । राजनीतिक निकाय भ्रष्ट छ । डाक्टरहरु चोर छन् । लुटेरा छन् । गरिब बिरामीहरुलाई लुटेर जिउँदै मार्छन् ।

सात समुन्द्र पारीबाट देखिने मेरो देश 

ईन्जिनियरहरु भ्रस्ट छन् । पैसा खाएर जस्तो सुकै घर, पुलहरु र बाटो पनि पास गरिदिन्छन् ।


शिक्षकहरु खत्तम् छन्, उनीहरु खुलेआम राजनीति गर्छन् तर स्कुलमा गएर पढाउँदैनन् । बैंकर्स कमिसनखोरी छन्, कमिसन नखाइ ऋण दिदैनन् । कर्मचारी घुसखोरी छन्, घुस नखाइ फाइल अघि नै बढाउँदैनन्, काम गर्दै गर्दैनन् । प्रहरी प्रशासन पैसामा बिकेको छ । कालोकोटे वकिलहरुलाई पैसा भए पुग्छ, सत्य असत्य जे पनि बोलिदिन्छन् । न्यायाधीशहरु पैसामा बिक्छन् । न्यायलय पैसाको मुठोमा किनिन्छ । नागरिक समाज डलरमा बिकेको छ । नागरिक समाज युरोपीयन युनियन र अमेरिकीहरुको डलरमा जे पनि बोलिदिन्छ, जे पनि लेखिदिन्छ । नेपालमा के छ ? केही छैन । नेताले देशलाई बरबाद पारे । नेपालको बारेमा यस्तै यस्तै निराशाका कुरा सुन्न बिदेश आउनु पर्छ । लाग्छ गैर आबासीय नेपालीहरुको जीवन यस्तै निराशाले खाइसकेको छ ।


दुबईको बरदुबईबाट शेख जायद बाटो पक्डेर जबल अली तिर अघि बढ्दा बाटोमा बिशाल गगनचुम्बी महलहरु देखिन्छन् । आकाशे पुलहरुले भरिभराउ उक्त बाटोको दाँयाबायाँ निर्मित आधुनिक घरहरु देखेपछि जो कोहीले पनि समृद्ध नेपालको सपना देख्छ । फिनान्सियल सेन्टर रोडको अलिकति अगाडि ठिङ्ग उभिएको विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा देखे पछि मजदुरी गर्न गएको दुरदराज नेपालको एउटा मजदुरले बिकसित नेपालको कल्पना गर्छ । आफु धेरै नपढेको, पढ्न नपाएको वा नसकेको, राम्रो प्रगति गर्न नसकेको, प्रगति गर्न अवसर नपाएको, गरिब घरमा जन्मनु परेको, गरिब देशमा जन्मनु परेकोमा आफुलाई अभागी ठान्छ । दिनभरी साहुको रुखो गाली र चर्को घामले पिल्सिएको त्यो नेपाली बेलुकी दुई तले फलामको ओछ्यानमा ढल्केर देश बिग्रिएकोमा फेरी चिन्ता गर्छ । नेताहरुलाई गाली गर्छ ।


नेपालमा बर्षायामको सिजन छ । पानी परेको पर्‍यै छ । प्राय नेपालका सबै बाटोहरु कुनै न कुनै बेला बर्खाको पानीको कारण अबरुद्ध हुने गरेका छन् । नदी र पहिरोले गर्दा यात्रुहरु बिचल्लीमा पर्ने गरेका छन् । ती बिचल्लीमा पर्नेहरुका कोही न कोही आफन्त नातागोता छोरा भतिजा बिदेशमा काम गर्छन् । सामाजिक सञ्जालले उनीहरुलाई जोडिदिएको छ । नेपालका हरेक घटना बारे उनीहरु जानकार हुन्छन् । नेपालका आफन्तहरुबाट दु:ख पाएको र बर्बादी भएको फोटो र भिडियो प्राप्त गर्छन् । सामाजिक सञ्जालमा हालेर सरकारप्रति तुरुन्त बितृष्णा पोख्छन् । यस्ता फोटाहरु सयौंको संख्यामा शेयर हुन्छन्, एकाएक भाईरल भईदिन्छन् ।

नेपालमा रहेका हरेक राजनीतिक दलका भातृ संगठनहरु बिदेशमा छन् । उनीहरुले ती घटनाहरुलाई सामाजिक सञ्जालमा अझ उछाल्छन् । बिपक्षी दलका कार्यकर्ताहरुले बर्तमान सरकारले देश त बरबादै पो बनायो भनेर सामाजिक सञ्जालमा राजनीतिक नारा लगाउँछन् । सरकार बिरोधी धारणा तयार गरी आफ्नो भोट बनाउने उद्देश्यले परिचालित यस्ता सन्देशहरुले दिन प्रतिदिन बिदेशमा बस्ने जनताहरु निराशाको शिकार बन्दै गईरहेका छन् । कार्यकर्ताहरु स्वयम् निराश बन्दैछन् । अन्ततगत्वा उनीहरु सबै डिप्रेसनको शिकार बन्ने खतरा पनि उत्तिकै छ ।


गतवर्ष तत्कालिन माओवादी केन्द्रका उपाध्यक्ष तथा नेपाल सरकारका पूर्व उपप्रधान तथा भौतिक योजना मन्त्री टोप बहादुर रायमाझी युएई घुम्न आएका थिए । उनीसँगको भेट र भलाकुसारीमा पंक्तिकारले यिनै निराशाहरुको पोको फुकाएको थियो । उत्तरमा रायमाझीले बिष्णुमतीको किनारामा बन्दै गरेको बगैचा र करिडोरको उदाहरण दिंदै छिट्टै नै काठमाडौंबासीले सफा हावाको सास फेर्ने बताए । गाउँगाउँमा बाटो बनेको, बन्दै गरेको, नदीहरुमा पुल बन्दै गरेको, सयौ मेगावाट बिजुली उत्पादन गर्न सरकार लागि परेको आदि उदाहरण दिंदै निरास नबन्न उनले सुझाए । यसो सम्झे, हो त नि किन निरास हुने ? मन हलुङ्गो भो, देश समृद्ध हुने कुरामा ढुक्क भईयो । हरेक पार्टीका नेताहरु जबजब युएई भ्रमण गर्न आउँछन् तब यस्तै भन्छन् ।


गत वर्ष नै नेपालमा स्थानीय निकायको निर्वाचन सम्पन्न भयो । संघीयतासहित गाँउगाउँमा सिंहदरबार भन्ने नाराले जनता उत्साहित बनेका थिए । संघीय सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएर स्थाई सरकारको निर्माण पछि बिकासले गति लिने र देश समृद्धी उन्मुख हुनेमा देश भित्र र देश बाहिर रहेका सबै नेपालीहरु विश्वस्त थिए ।


सरकार सञ्चालनको क्रममा गृहमन्त्री राम बहादुर थापाले सिण्डिकेट बिरुद्ध चालेको कदमले जनतालाई उत्साहित बनायो । सुनकाण्डमा सरकारको कदमले देश बाहिर बसेका जनताहरु खुशी भए । गुण्डाराज हटाउन टोलटोलका गुण्डाहरुको नामावली संकलन हुँदैछ भन्ने सुनेर सुशासनको कल्पना गर्न थालियो । बैदेशिक रोजगारतर्फ श्रममन्त्री गोकर्ण बिष्टको मलेसिया पठाउँदा कामदारलाई लुट्ने कार्य बन्द गर्ने निर्णयले सरकारले वाहवाह बटुल्यो । खानेपानी मन्त्री बिना मगरले मेलन्ची आयोजनामा ठेकेदार र कन्सल्टेन्ट मिलेर कमाउने धन्दाको बिरुद्धमा चालेको कदमको मुक्तकण्ठले प्रशंसा गरे । प्रधानमन्त्री स्वयमको भारत भ्रमण र चीनको भ्रमणबाट जनताहरु थप उत्साहित भए । चीनको चुच्चे रेल र भारतको लाम्चे रेलले नेपालको ब्यापार बिस्तार भई देश समृद्ध हुनेमा सबै आशाबादी थिए ।


प्रधानमन्त्री केपी ओलीको हाँस्यब्यङ्य मिश्रित बोलीले जनताहरु उत्साहित बनेका थिए । निराशाका तमाम रेखाहरुलाई चिर्न प्रधानमन्त्रीको भाषण निकै सफल देखियो । त्यही कारण पनि जनताले उक्त समयमा एकीकरण हुँदै गरेको पार्टी नेकपालाई भोट दिए र झण्डै दुई तिहाइ मत दिएर जिताए । पाँच वर्षसम्म स्थायी सरकारको लागि म्यान्डेट दिए । लाग्थ्यो अब दु:खका दिन गए ।


सरकारले काम सुरु गरेकै थिएन । माहोल एकाएक फेरिन थाल्यो । गर्न पाएकै थिएन वा बिबिध कारणले सुरु गर्न सकेको थिएन । जनताहरु खासखुस गर्न सुरु गरिसकेका थिए । काठमाडौंमा मोनोरेल कहिले कुद्ने छ भनेर जनताहरु सोध्न थालेका थिए । २ वर्षभित्र उपत्यकामा मोनोरेल चल्ने घोषणा गरेका मेयर बिद्या सुन्दर शाक्य साहेब गुमनाम छन् । २ वर्षमा मेट्रो र मोनोरेल चल्नको लागि एक वर्षमा कति काम भए? अर्को वर्ष रेल कुद्ने हो कि हैन भन्ने जनताको प्रश्नको उत्तर कही कतै थिएन । उत्तर दिने कोही छैनन् । सिङगापुर र स्वीजरल्याण्ड बन्ने सपना बोकेको मेरो देश धुलोले ग्रस्त थियो । के शहर के गाउँ, बर्खामा पानीले सडक हिलाम्य छ । बिदेशमा बस्ने प्रत्येक नेपालीहरुको देशप्रतिको चासो र चिन्ता बढ्यो । धुलो कहिले हट्ने ? हिलो कहिले हट्ने ? कोहीसँग पनि यी तमाम प्रश्नको उत्तर थिएन र छैन ।


त्यसो त काम गर्न समय लाग्छ । तर शुरुवात गर्नु पर्यो । यहाँ त जनताले त्यो शुरुवात पनि देखेनन् । बिकास निर्माणका दिर्घकालिन कार्यहरु कहीं कतै शुरु भएनन् । स्वयम् अर्थमन्त्री युवराज खतिवडाका भाषण निराशाजनक भए । देशमा पैसा छैन । राज्यको ढिकुटी रित्तिएको छ । कर्मचारीलाई तलब बढाउन सकिन्न, बृद्धभत्ता बढाउने पैसा छैन, ठुला परियोजनाहरुमा लगानी गर्ने पैसा छैन आदि ईत्यादी । जति आशावादी भाषण प्रधानमन्त्री ओलीको मुखारबृन्दबाट सुनिन्थ्यो उत्ती नै निराशाजनक भाषण अर्थमन्त्रीको मुखबाट आउन थाल्यो । संचारमन्त्रीले आबेगमा होस् गुमाए । श्रम तथा रोजगार मन्त्रीको अङ्ग्रेजीले लोकलाई हसायो । बिदेशमा बस्नेहरु अझै धेरै हाँसे । लाग्छ देश धेरै नै अस्तब्यस्त छ । बाटो बिराएको हरिणकै चाल् झै अलमल्लमा परेको छ मेरो देश ।


बैदेशिक रोजगारका दलालहरु फेरी सलबलाएका छन् । भिजिट भिसाको अबैध ब्यापार चलेकै छ । एअरपोर्टमा सेटिङमा मान्छे बेचिएकै छन् । सरकारी कार्यालयमा भ्रष्टाचार रोकिएको छैन, बरु मौलाएको छ । डाक्टरहरुले सरकारी तलब खाएर क्लिनिक चलाएकै छन् । ब्यापारीहरुले टोल टोलमा साप्ताहिक दादा भत्ता तिर्नु परेकै छन् । प्रहरी प्रशासनलाई पैसाले पेल्नु परेकै छ । नयाँ सरकारको खुशी र आशाका त्यान्द्रोहरु चुढिन लागेकै थियो । कमजोर बनेको प्रतिपक्ष मस्त निन्द्रामा सुतेको थियो ।


त्यसो त सरकारले केही प्रयास गरेकै हो । दुनियाँमा छाडातन्त्रमा मात्रै जथाभाबी बोल्न र हिंड्न पाईन्छ । छाडातन्त्रमा जथाभाबी बिरोध गर्न पाईन्छ । विश्वका कुनै पनि प्रजातान्त्रिक भनिने बिकसित मुलुकहरुमा मध्य सडकमा उभिएर बाटो छेक्न पाइन्न । प्रजातान्त्रिक सरकारले आफ्नो आवाज बुलन्द गर्न र खुलारुपमा सडकमा गएर बिरोधको लागि स्थान तोकिदिएकै हुन्छ । युरोप अमेरिका तिर त्यही हो । भारतका पनि केही स्थानहरुमा जथाभाबी सडकमा कराउन पाइन्न । बिरोधलाई ब्यवस्थित गर्न र आम जनताको अधिकारलाई सुनिश्चित गर्न प्रजातान्त्रिक सरकारहरुले यस्तो ब्यवस्था गरेका हुन्छन् ।


निरंकुशतन्त्रको बिरुद्धको बिद्रोह गर्नु र प्रजातान्त्रिक सरकारको बिरोध गर्नुलाई एकै आँखाले हेरियो । जनतालाई अधिनायकबादको डर देखाईयो । दुनियाँको प्रजातान्त्रिक नियम नेपालमा लागु हुननसक्ने भयो ।


एकाएक डाक्टर गोबिन्द केसीले अनसन शुरु गरे । गोर्खा फुजेलकी गंगामाया अनसन बसिरहेकै थिईन् । सोही समयमा पूर्व प्रधानन्यायाधिश शुशिला कार्कीले सरकारलाई बेस्मारी गाली गरिन् । शान्ति समाजका मानव अधिकारबादी कृष्ण पहाडीले बीच बाटोमा ठिङग उभिएर बोल्न पाउनु पर्छ भन्दै बिरोध शुरु गरे । त्यसपछि प्रतिप्रक्षी दल पनि झल्याँस्स ब्युाझिए जस्तै भएको छ । सामाजिक सञ्जालमा बिरोधका आवाज बुलन्द भए । सरकारको आलोचना भयो । राम्रो कामको पनि आलोचना भए भने नराम्रो कामको त हुने भईहाल्यो ।


एक महिनाको छुट्टीमा नेपाल गएर आउने कोही पनि नेपालीलाई दुबईको बरदुबईको चोकमा भेट्नु भो र नेपालको बारेमा सोध्नु भो भने उसले के जवाफ फर्काउला ? उसले भन्नेछ, ‘के हुनु, खत्तमै छ । झापादेखि काठमाडौं बल्ल बल्ल २ दिनमा पुगियो । काठमाडौंमा त झन घाम लागे धुलो खानु पर्ने, पानी परे हिलोले छ्यापिनु पर्ने, खै के भन्नु र ? नबन्ने रहेछ नेपाल, ऊफ !’ कति निराश जवाफ । कति निराश छन् जनता ? बिदेशमा बस्ने आम नेपालीहरुमा निराशा झनै बढ्न थालेको छ ।


यही निराशाले जनतामा सरकारप्रति रिस र आबेग पलाउनेछ । लोकतान्त्रिक गणतन्त्रको परिवर्तनलाई संस्थागत गर्न नपाई प्रतिक्रान्ति मडारिने अर्को खतरा बढ्नेछ । निरंकुश अधिनायकबादले मुन्टो उठाउनेछ । त्यसको लागि बर्तमान सरकारलाई कछुवाको गतिमा आरामले काम गर्ने छुट छैन । सरकार खरायो झै दौडन सक्नु पर्दछ ।


मुर्दा राजतन्त्रका मतियारहरु सामाजिक साजालमा खुलेआम राजाको गुणगान गाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको बिरोधमा ढ्वाङ फुक्न थालेका छन् । हरेक दिन समाचारमा, सामाजिक साजालमा नेताको भाषण सुनेर जनता हाँस्न थालिसके । यस्तो लाग्छ नेता र दलप्रति जनताको हिजोको भरोसा टुटिसकेको छ । तर यति छिट्टै ?


माथि उल्लेख गरिएका निराशाहरुले राम्रो संकेत दिएका छैनन् । जनतामा निराशा बढ्नु राम्रो लक्षण हैन । यी त केही उदाहरण मात्र हुन् । तर सरकारले गति कहिलेसम्ममा लेला ? बिकास निर्माणका काम कहिले शुरु होलान? रोजगारी सिर्जनाको लागि सरकारले पहलकद्मी कहिले लेला? यी प्रश्नहरुको जवाफ को बाट र कहिले पाईएला? के आफुले काम नगरी अरुलाई आरोप लगाएर उम्कन सरकारलाई अब पनि मिल्छ? सात समुन्द्र पारीबाट त संकेत राम्रो देखिएन है !


प्रकाशित : श्रावण ४, २०७५ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?