कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

फेरिएको रूस

१ महिना अघिसम्म सुनेको थिएँ, रसियनहरू अंग्रेजी भाषा बोल्दैनन्, बोल्न चाहँदैनन् । विदेशी भनेपछि हेर्न पनि चाहँदैनन् । सारै असहयोगी हुन्छन् । विश्वकप यात्रामा मेरा ती सबै भ्रम तोडिए ।
राजु घिसिङ

काठमाडौँ — विगतका विश्वकपले महिनौं अघिबाट मिडियामा ठूलै स्थान लिने गरेका थिए । यसपालि भने त्यस्तो देखिएन । न्युजविक, टाइम लगायतले ६ महिना अघिदेखि बारम्बार विश्वकप फुटबललाई लिएर कभर स्टोरी बनाउने गरेका थिए । यसपालि त्यस्तो अंक दुर्लभै देखियो र भएका पनि नकारात्मक मात्रै । जसमा रूसको शासकलाई गाली गर्ने शब्दहरूमात्र खर्चिएका हुन्थे । बेलायती मिडिया बीबीसी पनि त्यस्तै रह्यो ।

फेरिएको रूस

अमेरिकी, बेलायती मिडिया आफ्ना राष्ट्रिय स्वार्थ बाहिर जाँदैनन् भन्ने सतही जानकारी थियो । किनभने पाठकको रूपमा हाम्रो पहुँचमा भएका मिडिया यिनै हुन् । अमेरिकी, बेलायती लगायत पश्चिमी मिडियाले सन् २०१४ को विश्वकप र २०१६ को ओलम्पिक खेलकुद आयोजक ब्राजिलको पनि चर्को आलोचना गरेका थिए । तर ब्राजिलले विश्व खेलकुदका दुई ठूला प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गरेर देखाइदिएको थियो । त्यसैले विश्वकपको रूस संस्करणमाथिका नकारात्मक टिप्पणी र समाचारहरूलाई शतप्रतिशत सही भनेर पत्याइहाल्ने आधार यसपालि भएन ।

अमेरिकी पक्षधर देशहरूसहित युरोपेली युनियन (ईयू) लगायत धेरैले आफ्ना नागरिकलाई भ्रमणका लागि खतराको सूचीमा राखिएको देश हो– रूस । नेपालीको लागि पनि खर्चिलो छ, यो देश । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलोपल्ट खुला रूपमा विश्वकपको टिकट बिक्री गरेपछि १ महिने प्रतियोगिताको उद्घाटनबाटै हुलका हुल नेपालीले रूसको यात्रा गर्न थालेका थिए । अनलाइन वा एन्फामार्फत विश्वकपको टिकट लिनेलाई भिसा अवश्यक थिएन, टिकट लिएको आधारमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले बनाइदिएको ‘फ्यान आईडी’ पर्याप्त थियो ।

नेपाली राष्ट्रिय टिम विश्वकप छनोटको प्रारम्भिक चरणबाटै बाहिरिएको थियो । तर ४ सय बढी नेपालीले विश्वकपका खेल सञ्चालन गरिएका रंगशालामा चन्द्र–सूर्य अंकित झण्डा फहराएका थिए । फ्यान आईडी भएकालाई खेलको दिन सार्वजनिक यातायातमा भाडा नलाग्ने र अर्को सहरमा यात्राको लागि पनि पहिला बुक गरिएको टिकट भएमा निशुल्क यात्रा गर्न पाउने सुविधा भएकाले धेरैले मस्को, सेन्ट पिटर्सबर्ग, सोची लगायत विश्वकपका ११ आयोजक सहर घुम्ने अवसर गुमाएनन् ।

‘खेल हेर्ने र रूस घुम्ने राम्रो अवसर विश्वकप हो । रूसलाई राम्ररी नियाल्ने अवसर मिल्यो । सुनिएको भन्दा फरक रहेछ,’ प्रारम्भ दाहालले भने । मस्को, पिटर्सबर्ग, सोची, भोल्गोग्राड, मइकाप, क्रास्नोडार घुम्न भ्याएका उनले थपे, ‘एकदमै व्यवस्थित आयोजना देखेँ । सबै मनिस सहयोगी भेटेँ । यस्तो सोचिएको पनि थिएन ।’ उनले समूह चरणमा जापान र पोल्यान्डको खेल भोल्गोग्राडमा हेरेका थिए । उनलाई मात्र होइन, सबैलाई लाग्ने त्यस्तै रहेछ ।

मैले पनि त्यस्तै अनुभव गरेँ । ४ वर्ष अघिको विजेता जर्मनी यसपालि समूह चरणबाटै घर फर्कियो । लियोनल मेसीको अर्जेन्टिना, क्रिस्टियानो रोनाल्डोको पोर्चुगल र २०१० को च्याम्पियन स्पेन अन्तिम १६ भन्दा अगाडि बढ्न सकेनन् । त्यसपछि विश्वकपका खेलहरू प्रत्यक्ष नियाल्न रूस पुगेको थिएँ । मस्कोस्थित भुनुकोभा विमानस्थलमा ओर्लने बित्तिकै रातो ड्रेसमा स्वयम्सेवक तैनाथ थिए । उनीहरूले आगन्तुकहरूलाई सबै किसिमको सहयोग गरिरहेका थिए ।

रोमाञ्चक प्रतिस्पर्धा
भनिन्छ, फुटबल मैदानमा खेलिन्छ, तर त्यसमा पनि इतिहासका नतिजाले मनोवैज्ञानिक रूपमा सबभन्दा ठूलो भूमिका खेल्छ र हारजितको आधार त्यही हुन्छ । ८८ वर्षअघि दक्षिण अमेरिकी देश उरुग्वेबाट सुरु भएको विश्वकप फुटबलको इतिहास त्यस्तै थियो । ठूला टिम विरलै चाँडै घर फर्केका थिए । त्यसैले त ८ टिमले मात्र विश्वकपको ट्रफी चुम्ने अवसर पाएका छन् । र रूसमै आएर मात्र क्रोएसिया फाइनल खेल्ने १३ औं देश बन्यो ।

सर्वाधिक ५ पल्टको च्याम्पियन ब्राजिलको हैसियत पनि क्वाटरफाइनलमा बेल्जियमले देखाइदियो । बेल्जियमले यसपालिको उपाधि होडमा सबभन्दा बलियो मानिएको ब्राजिल र उसका स्टार खेलाडी नेयमरको साख झारिदिएको थियो । अन्तर्राष्ट्रिय फुटबलमा कुनै पनि उपाधि नजितेको भएर पनि बेल्जियम कुशल खेलाडीहरूको उपस्थितिमा भने बलियो टिम थियो । उसले सेमिफाइनलमा फ्रान्स विरुद्ध निराश भएर पनि फुटबलको जन्मदाता इङल्यान्डलाई हराएर अहिलेसम्मकै सबभन्दा ठूलो उपलब्धिको रूपमा कास्यपदक हात पार्‍यो ।

युवा खेलाडीले भरिएको इङल्यान्ड पनि अन्तिम चारसम्म पुग्ने अनुमान गरिएको थिएन, नत क्रोएसियाले फाइनल खेल्ने भविष्यवाणी गरिएको थियो । तर फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पले भनेजस्तै क्रोएसिया कागजी रूपमा मात्र सानो टिम थियो । किनभने पूर्वी युरोपको यो टिमसँग रियल म्याड्रिड, बार्सिलोना, युभेन्ट्स, लिभरपुल, इन्टरमिलान, एसी मिलान लगायत ठूला क्लबहरूमा खेलिरहेका खेलाडी थिए । ल्युका मोडरिच प्रेरित टिमले लुजनिकी रंगशालामा ७८ हजार दर्शकसामु फाइनलमा लोभलाग्दो खेल पस्किएर फुटबलप्रेमीको मन जित्यो, उपाधि भने फ्रान्सले कब्जा गर्‍यो ।

हरेक तहमा उत्कृष्ट खेलाडीहरूको सम्मिश्रण भएकोले फ्रान्स दोस्रोपल्ट विश्वकप च्याम्पियन बन्ने धेरैले अनुमान गरिसकेका थिए । तर फाइनलमा उसको प्रदर्शन त्यति फितलो भने अपेक्षा विपरीत थियो । उसका १९ वर्षीय फरवार्ड किलियन एम्बाप्पे नयाँ पेलेका रूपमा उदाए । २० वर्षपछि विश्व विजेता बनेको खुसियाली फ्रान्सेलीहरूले यसरी मनाए कि प्रहरीले गोली चलाउनुपर्ने अवस्था आयो । क्रोएसिया र बेल्जियमले ऐतिहासिक उपलब्धिमा खेलाडीलाई लाखौंले स्वागत गरेका थिए ।

फाइनल खेल टेलिभिजनमा ९० करोड बढीले हेरेको फिफाले जनाएको छ । आयोजक ११ सहरमा बनाएको फ्यन फेस्टका ठूला स्क्रिनमा १ महिनासम्म खेल हेर्नेको संख्यामात्रै ७७ लाख थियो । यसले फुटबलको लोकप्रियता देखाउँछ । लाखौं खर्च गरेर ४ सय बढी नेपालीले रूसको यात्रा गरे । आयोजक रूसको अन्तिम ८ यात्रा, क्रोएसियाको ऐतिहासिक फाइनल र साना टिमहरूको जुझारु खेलले यसपालिको विश्वकपलाई अझै रोमाञ्चक बनाइदियो । भिडियो असिस्टेन्ट रेफ्री (भार) को प्रयोगले रेफ्रीको दोषलाई कम गरिदियो । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले पनि अहिलेसम्मकै सबभन्दा राम्रो विश्वकपको रूपमा रूस संस्करणलाई घोषणा गरिदिए ।

फ्रेन्च स्टाइल
डिडियर डेसच्याम्प फ्रान्सले घरेलु मैदानमा १९९८ मा भएको विश्वकप उपाधि जित्दा कप्तान थिए । यसपालि प्रशिक्षकका रूपमा उनले ट्रफी उचाले । खेलाडी र प्रशिक्षकका रूपमा विश्वकप जित्ने उनी तेस्रा व्यक्ति हुन् । विश्वकपमा हरेक खेलपछि पत्रकार सम्मेलन हुन्छ । यसमा प्रशिक्षकको अनिवार्य उपस्थिति हुन्छ भने कुनै बेला खेलाडीलाई पनि बोलाइन्छ । लुजनिकीमा उपाधि जितेपछि डेसच्याम्प पत्रकार सम्मेलनमा बोल्ने तयारी गरिरहेका थिए । एक हुल खेलाडी हलभित्र प्रवेश गरेर उनलाई उचाल्दै च्याम्पियन गीत गाउन थाले । पउल पोग्बा, एन्टोइन ग्रिजमन, ओलिभर जिरोउ, एम्बाप्पे, उम्टिटी लगायत टिमका आधाजसो खेलाडीले टेबलमा राखिएका पानीलाई हलभरि छरे । सजाइएका बल उडाइदिए । सिसाकै फ्रेममा चढेर पनि पोग्बाले नाच्न भ्याए ।

पत्रकार सम्मेलनमा मोबाइलले फोटो, भिडियो खिच्न मनाही थियो । तर पोग्बा शैलीको हर्षोल्लासको भिडियो कैद गर्न भने पाइएको थियो । दुईपल्ट गरी ४ मिनेटसम्म चलेको यस्तो खुसियालीमा खेलाडी सारै उच्छृङखल देखिएका थिए । प्रशिक्षक डेसच्याम्पले भने पनि, ‘यी खेलाडीहरू युवा छन् । १९ वर्षमै विश्व विजेता भएका छन् । आज यिनीहरूले के मात्रै गर्ने हुन्, मलाई थाहा छैन ।’ खेलाडी हर्षले उन्माद नहोउन् पनि कसरी ? ८८ वर्षको इतिहासमा बल्ल त दोस्रोपल्ट फ्रान्स च्याम्पियन भएको छ ।

फाइनल जितेपछि आलोचकलाई इंगित गर्दै मुख बन्द गर्न हातले संकेत गरेका पोग्बाले हलभित्र भने भलाद्मीपन देखाए । म्यानचेस्टर युनाइटेडका यी मिडफिल्डरले माफी माग्दै टेबल पुछिदिए, फाइल मिलाइदिए, नाच्दा कुल्चिएको सिसाको फ्रेमलाई पनि मजाले नियालेर सफा गरिदिए । केही मजाक पनि गरे । पत्रकार सम्मेलनमा यस्तो दृश्य दुर्लभै हुन्छ । कारण खुसियाली मनाउने उत्तेजक शैली प्राय: ड्रेसिङ रुममा हुन्छ, जहाँ पत्रकारको पहुँच हुँदैन ।

राष्ट्रपतिको रूप
भीआईपी प्यारापिटमा बसेर खेल हेरेका फ्रान्सेली राष्ट्रपछि इम्यानुएल म्याक्रोनको खुसी मनाउने शैली गज्जबकै थियो । उनी फ्रान्सले गोल गरेपछि कोट खोलेर आफ्नो सिटबाट उप्रिँmदै अघि बढेका थिए । ठिक त्यसबेला क्रोएसियाका राष्ट्रपति कोलिन्डा ग्रेभर—कितारोभिचले भने टाउकोमा हात राख्न पुगेकी थिइन् ।

म्याक्रोन, कोलिन्डा, रूसका राष्ट्रिपति भ्लादिमिर पुटिनसँगै फाइनल हेर्न गेबोन, आर्मेनिया, सुडान, मोल्दोभाका राष्ट्रप्रमुख तथा कतारी आमिर पनि लुजनिकी रंगशालामा थिए । भीआईपी स्ट्यान्डमा म्याक्रोनको खुसी मनाउने शैलीले ध्यान तानेको थियो । पुरस्कार वितरण समारोहमा भने पुटिन र कोलिन्डाले ध्यान खिचे । वर्षाबीच भएको समारोहमा पुटिन एक्लैलाई छाता ओढाइएको थियो । त्यसको चर्को आलोचना पश्चिमी मिडियाले गरे । म्याक्रोन र कोलिन्डा भने निथ्रुक्कै भिजेर पनि खेलाडीलाई बधाई दिइरहेका थिए ।

रातो—सेतो जर्सीमा उपस्थिति कोलिन्डाले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको पुरस्कार गोल्डेन बल जितेका ल्युका मोडरिचलाई अंकमाल मात्र गरिनन्, फाइनल हारेको पीडामा आँसु पनि बगाइन् । उनले क्रोएसियाका सबै खेलाडीलाई अंकमाल गरिन् । फ्रान्सका नयाँ स्टार एम्बाप्पेलाई पनि अंकमाल गरेर बधाई दिइन् । क्रोएसियाले यो विश्वकपमा खेलेका ७ मध्ये ६ खेलमा कोलिन्डा आफै रंगाशाला पुगेकी थिइन् । ड्रेसिङ रुममै पुगेर खेलाडीलाई हौसला दिन भ्याएकी उनले ब्रसेल्समा भएको नाटो समिटको कारण इङल्यान्ड विरुद्ध भएको सेमिफाइनल मात्र गुमाएकी थिइन् । कोलिन्डाप्रति सामाजिक सञ्जालमा प्रशंसाको ओइरै लाग्यो । धेरैले ट्विट गरे, राष्ट्रपति होस् त कोलिन्डाजस्तो ।

विरोधीमाथि गरिएको जेनोसाइड आक्रमणलाई लिएर सुडानी राष्ट्रपति ओमार हसन अल अहमद अल बसिरको भने फाइनलमा अथिति बनाइएको भन्दै रूस र फिफाको पश्चिमी मिडियाले खुबै आलोचना गरे । तर ती आलोचना अनलाइनमा मात्रै देख्न पाइन्थ्यो, रूसमा कतै आभाष भएन । रूसमा मानव अधिकारको लागि कार्यरत पुसी रुटका ४ कार्यकर्ता फाइनलमा मैदानमै दौडन पुगेका थिए ।

पुटिन शासनमा मानव अधिकार हनन भइरहेको भन्दै संसारको ध्यान आकर्षित गर्न उनीहरूले केही क्षण खेल बिथोलेका थिए । प्रहरी पोसाकमा मैदान छिरेका उनीहरूलाई १५ दिनको जेल र ३ वर्षसम्म खेल मैदानमा प्रवेश निषेधको सजाय सुनाइएको छ । त्यस घटनाले रूसमा विपक्षीको आवाज दबाइएको हुनसक्ने देखाउँछ । हुन पनि सक्छ, किनभने पछिल्लो चुनावमा विपक्षी नेताहरूले खर्च कसरी संकलन गर्छन् भनी बाहिरी सहयोगलाई सरकारी टेलिभिजनमा रिपोर्ट नै बनाइएको रहेछ ।

भ्रमको खेती
ओलम्पिक र विश्वकप जस्ता ठूला खेल महोत्सव आफ्नो समृद्धि देखाउन चाहने देशहरूले आयोजना गर्ने चलन छ । आयोजनाका लागि पैसाको खोलो बगाउन पनि तयार हुन्छन् । विश्वकप आयोजनामा रूसले १४ अर्ब अमेरिकी डलर लगानी गर्‍यो । बेलायतलाई पन्छाएर ८ वर्षअघि आयोजना गर्ने अधिकार रूसलाई फिफाले दिएको निर्णयप्रति अझै प्रश्न तेस्र्याइन्छ । तर रूसले वास्तवमै सफल आयोजना गरेर संसारलाई देखाइदियो ।

विश्वकै महाशक्तिको लडाइँमा अमेरिकी अलायन्सलाई टक्कर दिने पहिलादेखिकै देश रूस हो । युरोपमा ८० प्रतिशत ग्यास सप्लाइ रूसले गर्छ । त्यसैले उसलाई युरोपेली देशहरूले भने हेप्ने हिम्मत गर्दैनन् । तर सन् २०१४ मा युक्रेनको एक भाग क्रिमिया कब्जा गरेपछि रूसमाथि ईयू र अमेरिकी अलायन्सले नाकाबन्दी लगाएको छ, जुन अहिलेसम्म कायमै छ ।

‘क्रिमिया युद्धपछि व्यापार व्यवसाय चौपट भएको छ,’ मस्कोमा अनलाइन व्यवसाय गरिरहेका नेपाली गणेश रामदामले भने, ‘पहिला रसियनहरू मनग्गे खर्च गर्थे । चाहेको सामान किनिहाल्थे । तर क्रिमिया युद्धपछि थोरै खर्च गर्न पनि धेरै सोच्ने भएका छन् । अति आवश्यक सामग्री मात्र खरिद गर्छन् ।’ २६ वर्षदेखि रूसमा रहेका उनी ७५ प्रतिशतसम्म व्यापार घटेको बताउँछन् ।

५ वर्षअघि रुबल (रसियन मुद्रा) को मूल्य प्रतिअमेरिकी डलर २३ थियो, अहिले ६३ पुगेको छ । त्यसैको प्रभाव बजारमा परेको हुनसक्छ । ‘विदेशबाट सामान ल्याएर गरिने व्यवसायमा ठूलो गिरावट आएको छ । स्थानीय उत्पादनको बजार भने बढिरहेको छ,’ मस्कोका अर्का नेपाली व्यवसायी गोविन्द आचार्यले भने । रूसमा ठूला नेपाली व्यवसायी रहेका उपेन्द्र महतो, जीवा लामिछाने पनि यहाँबाट बाहिरिइसकेका छन् । अरूको अवस्था पनि नेपाल फर्किन हतार भए जस्तै देखियो ।

क्रिमिया कब्जा गरेपछि रूसको पर्यटन व्यवसाय खस्किएको थियो । जताततै नकारात्मक समाचारमात्र आइरहेको थियो । विश्वकपपछि भने अनुमान गरेभन्दा फरक रूस रहेको भन्दै बीबीसीले एउटा लेख प्रकाशित गरेको छ । पश्चिमी मिडियाले रसियन भन्ने बित्तिकै लुटपाट, ठगी, विदेशीलाई शंकालु दृष्टिले मात्र हेर्ने र एकदमै असहयोगी चित्रण मस्तिष्कमा बसाइदिएको थियो । तर १७ दिने रूस बसाइको अनुभव ठ्याक्कै उल्टो रह्यो ।

मस्को बाहिर १८ घन्टाको रेल यात्रामा सामरा पुगेँ । काजान र सेन्ट पिटर्सबर्ग पनि डुलेँ । तर रातभरि एक्लै डुल्दा पनि कहीं कतै समस्या भोग्नु परेन । धेरै ठाउँ गुगल म्यापले काम गर्‍यो । स्वयम्सेवक प्राय: सबैले अंग्रेजी बोल्थे । स्थानीयको भाषा नबुझे पनि गुगल ट्रान्सलेसन उपयोगी बन्यो । ट्याक्सी, मेट्रोको लागि एप काफी भयो । कहीं कतै बाटो बिराउँदा वा ट्याक्सीको खोजी गर्दा स्थानीयले ४० मिनेटसम्म लगाएर व्यवस्था गरिदिए । यसरी सहयोग गर्ने मैले कल्पना पनि गरेको थिइन, नेपालमा सुनेको–देखेको पनि थिइन । अपराधको एउटा खबर पनि आएन । विश्वकपको अवसरमा रूस पुगेका १० लाख पर्यटकको अनुभव यस्तै हुनुपर्छ ।

१ महिना अघिसम्म सुनेको थिएँ, रसियनहरू अंग्रेजी भाषा बोल्दैनन्, बोल्न चाहँदैनन् । विदेशी भनेपछि हेर्न पनि चाहँदैनन् । सारै असहयोगी हुन्छन् । विश्वकप यात्रामा मेरा ती सबै भ्रम तोडिए । बीबीसी, सीएनएन, न्युयोर्क टाइम्स, टाइम लगायत विश्वकै चर्चित मिडियाका समाचार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेक न्युज’ भन्ने गरेका छन् । रूसबारे उनीहरूका समाचार वास्तवमै नक्कली समाचार हो भन्ने महसुस भयो ।

च्याम्पियन प्रशिक्षक डिडियर डेसच्याम्पले पनि २१ औं संस्करणको आयोजनाको खुलेरै प्रशंसा गरे । ‘होटल राम्रो । मैदान राम्रो । रंगशाला राम्रो । मानिसहरूको व्यवहार राम्रो । त्यसैले रुसको बसाइ धेरै राम्रो भयो । अझ राम्रो त हामी च्याम्पियन नै भयौं,’ पत्रकार सम्मेलनमा उनले भने । इंग्ल्यान्डका डिफेन्डर एस्ले योङले पनि आयोजकको खुलेरै प्रशंसा गरे । ‘जे जस्तो सुनेको थिएँ यहाँ (रुस) आएपछि विल्कुलै फरक पाएँ । सबै कुरा राम्रो लाग्यो । व्यवस्थापन धेरै राम्रो । एकदमै खुशी छौं,’ उनले भने ।

सात महिना अत्याधिक चिसो हुने राजधानीमा अनुहार हेर्दै रिसाए जस्तो देखिन्छ । कामको व्यस्तताले होला, मस्कोका धेरै रसियनको अनुहार रिसाए जस्तो देखिएको थियो । त्यसैकारण मस्को मन नपरेको काजानकी स्थानीय लियाले बताइन् ।

मस्को बाहिर भने हँसिलो मुहार देखिन्छन् । ‘रसियन भनेपछि बाहिरका सबै मिडियाले नराम्रो खबरमात्रै दिन्छन् । हाम्रोमा राम्रा कुरा धेरै छन् । त्यसलाई भने स्थान दिइँदैन । त्यसैले हामीलाई युरोपका अरू देश र अमेरिका मन पर्दैन,’ कानुन व्यवसायी लियाले भनिन्, ‘विश्वकपमा धेरै विदेशी आए । अब रूसबारे छरिएको भ्रम तोडिएला भन्ने लागेको छ ।’ मस्कोमा व्यवसाय गरिरहेका गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष रामेश्वर गौतम भन्छन्, ‘सोभियत संघ विघटनपछि सुरु भएको समस्या केही वर्ष अघिसम्म कायमै थियो । ५ वर्षयता भने निकै परिवर्तन पाएका छौं । शान्ति छ । कतै लुटिएला, मारिएला भन्ने छैन । रातको १/२ बजे पनि कुनै युवती एक्लै सडकमा हिँड्नु यहाँ सामान्य हो ।’

एक तथ्यांक अनुसार सन् २०१३ मा ३ करोड ३० लाख पर्यटक रूस पुगेका थिए । त्यो क्रिमिया युद्ध अघि थियो । त्यसयता स्वात्तै घटेको छ । सन् २०१७ मा २ करोड १० लाखले रूसको भ्रमण गरेका थिए । विश्वकपको कारण यसमा तत्काल १५ प्रतिशत वृद्धि हुने रूसी सरकारले अपेक्षा गरेको छ । फ्यान आईडी भएकाहरूलाई २०१८ मा भिसा नलाग्ने पुटिनको घोषणाले पनि त्यसलाई सहयोग पुर्‍याउनेछ ।

अमेरिका यसपालि विश्वकपको छनोटमै असफल भयो । रूस जानुपर्ने भएकाले अमेरिकी टिम छनोट हुन नचाहेको हल्ला पनि आयो । तर ८८ हजार अमेरिकी फ्यान आईडी लिएर रूस पुगेका थिए । इङल्यान्डसहित धेरै युरोपेली दर्शक पनि सुरुमा रंगशालामा थोरै देखिन्थे । प्रतियोगिता अघि बढ्दै जांँदा लन्डनबाट दर्शक विमानै चार्टर गरेर ओइरिएका थिए ।

क्रोएसिया विरुद्ध फ्रान्सको फाइनल अघि लुजनिकी रंगशालामा ७८ हजार दर्शकलाई नचाउने अमेरिकी गायक विल स्मिथ र निकी जाम थिए । उनीहरूलाई एरा इस्त्रेफी र एइदा गेरिफुलिनाले साथ दिएका थिए । फाइनलमा मात्र होइन, हरेक खेलमा रंगशालाको माहोल कुनै म्युजिक पार्टीकै जस्तो हुन्थ्यो । चर्चित डिजेहरूले खेलको ३ घन्टा अघिदेखि आफ्नो संगीत कला देखाइरहेका हुन्थे । विश्वकपबाट खुलेको रूसको अर्को पाटोलाई पुटिन सत्ता अब कायमै राख्न चाहन्छ ।

ट्वीटर @rghising

प्रकाशित : श्रावण ५, २०७५ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?