कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

चौतारीमा सुस्ताउँदा

पोखरी भएका स्थानमा सधैं चिस्यान हुने हुँदा यसले हरितगृह सुधारमा ठूलो भूमिका राख्छ ।
कृष्ण रिमाल

काठमाडौँ — आउनुहोस्, एकछिन् चौतारीमा बसेर, चौतारीको चर्चा गरौं । म जन्मेको ठाउँ साविक कटुवा चौपारी हो । धार्मिक मान्यता अनुसार चौपारीमा वर–पीपल हुन्छन् र तिनीहरूको बीचबाट बाटो बनाउनु युक्तिसंगत कुरा होइन । तर विशेष कारणवश मेरो स्कुलनेर चौतारी काटेर बाटो जान्थ्यो । त्यसैले यसको नाम कटुवा चौपारी भएको भनी मलाई बुबाले बताउनुभएको हो । देशका धेरै ठाउँ छन्, जसको पछाडि चौपारी वा चौतारी शब्द जोडिएको छ ।

चौतारीमा सुस्ताउँदा

चौतारोलाई भगवानको प्रतीकको रूपमा बुझिन्थ्यो र पुरानो समयमा गाउँमा न्यायनिसाफका काम हुँदा भगवान साक्षी राखेर न्याय सम्पादनको काम गरिन्थ्यो । सबै चौतारीमा वर, पीपल र समीका रुख हुन्थे । यसो किन भएको हुनुपर्छ भने यिनीहरू ठूला हुन्थ्ये र ठाढासम्म छहारी प्रदान गर्थे । पुराना सहर बाटाहरूमा प्रशस्त चौतारी निर्माण गरिएको पाइन्छ ।

चौतारीले भरिया र बटुवाहरूलाई शीतलता र ओत दिन्थ्यो भन्ने हिँड्न नयाँ ऊर्जा । जतिबेला हाम्रा पुर्खालाई कार्बन डाइ–अक्साइड र अक्सिजन जस्ता कुरा थाहा थिएन, त्यति नै बेलादेखि यिनीहरूको मर्म र आवश्यकता स्थापित हुनु र चौतारी धार्मिक सभ्यता हुनुले हामीले बिर्से जस्तो गरेको हाम्रो दर्शन आधारभूत कुरामा कति मजबुत छ भन्ने कुरा यो एउटा आज पनि जीवित साक्षीयुक्त प्रयोग हो ।

आज पनि कति धेरै रेडियो, टिभी तथा अनलाइन खबरहरूको पछाडि चौपारी या चौतारी देख्छौं । यो विम्बात्मक प्रयोग हो । हामीले अहिले चर्चामा ल्याउने हरितगृह प्रभावको न्यूनीकरणका लागि रुख वा वनसम्पदाको संरक्षण महत्त्वपूर्ण कुरा हो । यसका लागि चौतारी सभ्यतालाई आधुनिकीकरण गर्नु जरुरी छ । पायक पर्नेगरी हामीले चौतारीहरू निर्माण गर्दा त्यसले हाम्रो सुन्दर परम्परालाई थप मजबुत बनाउनेछ ।

मेरी हजुरआमा सानोमा मलाई प्राय: कथा सुनाउनुहुन्थ्यो । एउटा कथामा एउटा रमाइलो गाउँमा एकपटक निकै ठूलो खडेरी पर्छ । जताततै पानीको हाहाकार मच्चिन्छ । पानीको खोजीमा एउटा मृग कताकताबाट आफ्ना शावक लिएर हाम्रो गाउँ नजिकका जंगलमा आउँछ । गाउँको अलि तलपट्टि गजबको फाँट छ । खडेरीले फाँट पनि पुरै बालीविहीन हुन्छ । त्यही फाँटको बीचमा कुनै एउटा दु:खी मानिसले आफूले अरू केही गर्न नसके पनि एउटा चौतारी र पोखरी बनाएका हुन्छन् ।

चौतारीको शीतलताको काखले उक्त पोखरीको पानी आधा घटे पनि सुकिसकेको हँुदैन । संयोगवश उक्त पोखरीमा त्यो गर्भिणी मृग शावकसहित आइपुग्छे र पेटभरि पानी पिउँछे । उसले त्यो पानी पिएर सन्तुष्ट भावमा पोखरी बनाउने मान्छेलाई धन्यवाद दिन्छे । हजुरआमा भन्नुहुन्थ्यो– भगवान आफैलाई पृथ्वी घुम्ने मन भएको हुँदा मृगको स्वरूप धारण गरेर पृथ्वीमा आएका थिए । त्यो पोखरी निर्माण गर्ने व्यक्तिसँग स्वयम् भगवान प्रसन्न भएकोले त्यसपछि त्यो दु:खी मानिसका दु:खका दिन सकिन्छन् र उसको प्रगति हुँदै जान्छ ।

मलाई थाहा छैन, सायद मृग भगवानको रूप होला/नहोला, तर तिर्खा लाग्दा पानी पिएर प्राप्त सन्तुष्टि हामी आफैले अनुभव गरेको कुरा हुनाले त्योजस्तो सुन्दर कुरा अरू केही हुँदैन । हाम्रा धार्मिक दर्शन र मान्यताले समाजको सबभन्दा तल्लो तहलाई पानी धार्मिकताको आडमा कति सुन्दर मन र सहयोगी बन्न सिकाएको हो भन्ने कुरा यसै कथालाई प्रमाणको रूपमा लिन सकिन्छ । पानी जीव र वनस्पति जगतका लागि प्रकृतिले निशुल्क उपलब्ध गराएको सबैभन्दा आवश्यक कुरा र अधिकार हो ।

हामीले आफ्ना सामान्य आवश्यकता पुरा गर्न पानीजस्तो महत्त्वपूर्ण कुरामा पनि मानवजातिको एकल वर्चस्वजस्तो व्यवहार गरेका छौं, जसको कारण केही आना जग्गाको लोभमा पोखरी सभ्यताको नष्ट गरिरहेका छौं ।

आफै पानी जमेका साना जलकुण्डहरू हुन् या मानव निर्मित जलाशय या पोखरीहरू तिनीहरूले परोक्ष रूपमा मानव बस्तीलाई फाइदा पुर्‍याएकै हुन्छन् । जलचरहरू हाम्रो जीवन निर्वाहमा सहयोगी हुन्छन् । यस्ता खाले जलचरको सहज अस्तित्वका लागि पनि पोखरीहरूको ठूलो भूमिका हुन्छ । पोखरी भएका स्थानमा सधैं चिस्यान हुने हुँदा यसले हरितगृह सुधारमा निकै ठूलो भूमिका राख्छ । पोखरीहरूको सहायताले कृषि प्रयोजनका लागि स–साना पानीका स्रोत जम्मा गरी सिंचाइ गर्न सकिन्छ । गाईवस्तु तथा अन्य जंगली जनावरका लागि पानीको मुहानको रूपमा यसको प्रयोग गर्न सकिन्छ ।

हामीले हाम्रो विगतको सुन्दर र सपाट सभ्यतालाई मिचिरहँदा गाउँघरमा कर्मकाण्डीय शैलीमा भए पनि चौतारी, पोखरीलाई भगवान विष्णु र लक्ष्मीको स्वरूप मानेर विवाह गरिदिने प्रचलन रहनुले यो सभ्यतालाई पुन: जागरण गर्ने विकल्प जस्ताको त्यस्तै छ । गाउँपालिका तथा नगरपालिकाहरूले जलविधानमा पोखरीजस्ता महत्त्वपूर्ण कुरालाई प्रत्यक्ष रूपमा संरक्षित हुनेगरी विधान निर्माण गरिदिए यो कानुनी राज्य सक्रिय भएको समयमा पोखरीहरू संरक्षित हुने थिए ।

चौतारी, पोखरीजस्ता पारिस्थितिक पद्धतिका संरक्षक चक्रलाई अब बहसमा ल्याएर चरा, जीव तथा वनस्पति संरक्षणका लागि आवश्यक कुरालाई समाजको सबैभन्दा तल्लो तहबाट संस्थागत गर्नु आजको आवश्यकता हो । हाम्रो व्यावहारिक, सुन्दर र शालिन सभ्यताका यी जीवित प्रमाणलाई संरक्षण, सम्बद्र्धन र यथाशक्य विकास गर्ने काममा गाउँपालिका र नगरपालिका तथा तपाई–हामी सबै मनदेखि लागेऊँ भने यिनीहरूलाई वैज्ञानिक तथा व्यावहारिक रूपमा स्थापित गर्न सक्छौं ।

यी साना तर निकै महत्त्वपूर्ण कुरालाई कुनै राष्ट्रिय गौरवका आयोजनाजस्तो ठूलो धनराशि र उच्च कौशल जनशक्तिको आवश्यकता पर्दैन । यस्ता कुराले न राज्यकोषमा ठूलो व्ययभार सिर्जना गर्छ, न तल्लो वर्गका जनमानसमा थप करको उत्पत्ति गर्छ । त्यसैले आधुनिक विकास भनेर सिमेन्ट, रड, बालुवा र डोजर प्रयोग गर्ने अभियान सँगसँगै यिनै पारिस्थितिक पद्धतिपूर्ण सम्भाव्यता निर्माणमा ध्यान पुर्‍याउन हो कि ?

शंकरदेव क्याम्पसका वाणिज्यशास्त्रका विद्यार्थी रिमाल मिडिल मोदी जलविद्युत् आयोजनाका लेखा अधिकृत हुन् ।

प्रकाशित : श्रावण ५, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?