३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भुटानी राजाको बदलिँदो कार्यशैली

बलराम पौड्याल

काठमाडौँ — हाम्रा छिमेकी शिवराज गुरुङ र पासाङ छिरिङ लेप्चाका सहपाठी थिए, युवराज जिग्मी सिङे वाङचुक । शिवराज र पासाङ असल, चरित्रवान् युवराज साथी पाउँदा आफैँलाई भाग्यशाली सम्झन्थे । हिन्दु चाड–पर्वमा उनको अधिक रुचि रहन्छ भन्ने चर्चा हुन्थ्यो । उच्च शिक्षाका लागि दार्जिलिङ पुगेका युवराजलाई नेपाली सुमदायको भाषा, कला, संस्कृति, धर्म, परम्पराबारे अनुभव नभएको होइन ।

भुटानी राजाको बदलिँदो कार्यशैली

भारतस्थित कालिम्पोङका नेपाली समाजभित्र हुर्किएकी महारानी आशी केजाङ वाङचुकका छोरा हुनाले भावी राजा असल पाइने विश्वास साँचिन्थ्यो ।

उपचारका लागि नैरोबी लगिएका राजा जिग्मी दोर्जी वाङचुकको अचानक मुत्यु भएपछि सत्र वर्षीय युवराज जिग्मी सिङे वाङचुक चौथा राजा बनाइए । राजा हुन एक्काइस वर्ष पुग्नैपर्ने बाध्यकारी प्रावधानले उनको राज्यारोहणकाल सहज भएन । दक्षिणका जनप्रतिनिधिहरूको समर्थनबाट अघिल्लो निर्णय निलम्बन गराई उत्तराधिकारीको वैधता दिलाइयो । सन् १९७४ मा राज्याभिषेक हुनै लाग्दा दरबारभित्रैबाट रचिएको राजा मार्ने षड्यन्त्रसमेत दक्षिणका नागरिकको सूचनाबाट असफल तुल्याइयो । सन् १९८८ मा चारवटी रानीसितको विवाहको औपचारिकतासँगै चार राजकुमार, चार राजकुमारीसहित नौ वर्षीय जिग्मी खेसार नाम्ग्येल वाङचुक युवराज भनी घोषणा हुँदा दक्षिणका ल्होछाम्पाहरूले चन्दा संकलन गरी राजारानीलाई ठेकी, खुकुरी, दाइने शंख, राडी–आसानी, पाखी, लुकुनी, हात्ती र धेरै संख्यामा गाई गोठ उपहार दिए ।

राजा जिग्मी सिङे वाङचुकबाट अन्तर्राष्ट्रिय सम्मेलनहरूमा दिइएका भाषण विचारमूलक, गहकिला र प्रशंसनीय थिए । त्यसबखत अत्यन्त प्रभावकारी, शालीन कहलाइएका राजामाथि जनताको धेरै ठूलो अपेक्षा रह्यो । राजतन्त्रप्रति आस्था र राजाप्रति विश्वास थपियो । दक्षिणी जिल्लाहरूको भ्रमण हुँदा ल्होछाम्पाहरू दार्जिलिङ, कालिम्पोङ भेकका नेपालीभन्दा भिन्न परिश्रमी, देशभक्त र विकासप्रेमी नागरिक हुन् भनी सबैको मन जितेर देश विकासमा श्रमदानका लागि उत्साहित तुल्याए ।

मध्ययुगीन सामन्ती प्रथाबाट राज्य सञ्चालन हुँदैआएको मुलुकमा युवा राजाको शासन व्यवस्थामा परिवर्तन ल्याउने जमर्को प्रशंसनीय ठहरियो । मुलुकमा विकेन्द्रीकरण नीति लागू हुने निश्चित हँुदै थियो । ग्रामीण विकासका योजना द्रुतत्तर गतिमा बढ्दै गए । स्कुल भवन, स्वास्थ्य सेवा, झोलुङ्गेण् पुल आदि जनश्रमदानबाट निर्माण गरिए । राजधानी जोड्ने मूल सडकसमेत जनश्रमदानकै हिस्सा बन्दै गएको अवस्थामा ताम्जी जगर, आशी याङ्की, दागो छिरिङ, दावा छिरिङ, जिग्मी वाई थिन्ले, याप दोर्जी, लाक्पा दोर्जीजस्ता कट्टरवादी दक्षिणका जनताप्रति गलत सल्लाह र सूचना प्रवाह गर्दै राजालाई हरेक क्षेत्रबाट असफल तुल्याउने योजनामा सक्रिय देखिए ।

व्यापारी घरानामा हुर्किएका रानीहरूका माध्यमबाट राजाको ध्यान मुलुकको विकासभन्दा विलासी जीवनतर्फ केन्द्रित गराउने कसरत अघि बढ्यो । सन् १९४९ को सन्धिको शक्ति प्रयोग गरी भुटानको आन्तरिक सुरक्षा र बाह्य सम्बन्धमा बलियो पकड जमाएको भारतीय योजनामुताबिक जातीय द्वन्द्व भड्काइयो । सिक्किमलाई भारतमा विलय र दार्जिलिङमा छुट्टै गोर्खा प्रान्तको मागबारे जातिसितको सम्बन्ध जोडेर भुटानका नेपालीभाषी नागरिकप्रति त्रास फैलाउँदै घृणाको विशाल पर्खाल खडा गराउने निन्दनीय दुस्साहस थपियो ।

सामन्तीहरूको दीर्घकालीन योजनाबाट इच्छालाग्दो कानुन बनाई राजामार्फत लागू गराउने दुष्कर्म त्यतिबेला साकार भयो, जब विवाहको औपचारिकतापछि राजा विलासी र उद्दण्ड देखिए । मुलुकको शासन सम्हाल्नेभन्दा पनि रानीहरूका खोपीमा रमाउने राजाबाट मुलुकको हित, अहितबारे ख्यालै गर्न नसकेको महसुस हुन्छ । हिजोसम्म शान्त, शालीन, कुशल स्वभावका, दिनरात मुलुकको द्रुतत्तर विकासतर्फ केन्द्रित हुने प्रशंसित राजा अनायासै नेपाली पाठ्यपुस्तक जलाउने, जनताको पहिरन च्यात्ने, जातीय भाषा बोल्न नदिने र ङालोङ्क समुदायभन्दा अर्को जाति मुलुकमा रहनुहुन्न भन्दै ‘एक देश, एउटा मात्र जाति’ जस्तो कठोर नीति लागू गर्न कस्सिए । शोषण, दमन र अत्याचारले पराकाष्ठा नाघेपछि जनतालाई मौलिक अधिकारका लागि आवाज उठाउने बाध्यता आइलाग्यो ।

जब राज्यव्यवस्था भताभुङ्गको स्थितिमा पुग्यो, राजा हडबढाउँदै राजगद्दी युवराजलाई सुम्पिएर पर्दापछि लुक्न विवश भए । उनले अचानक तोकिएको समयअगावै राजगद्दी त्याग्नुमा बीस प्रतिशत जनता निर्वासनमा धकेलिएको आत्मग्लानि मूल विषय रह्यो । साधारण विमानचालककी छोरी जेत्सुन पेमासित विवाह गरेका पाँचौं राजा जिग्मी खेसार नाम्ग्येल वाङचुकको कार्यशैली पूर्वराजाहरूभन्दा भिन्न पाइन्छ ।

उनको शासनशैली जनताप्रतिको समर्पण, युवाप्रति आकर्षण र धर्मप्रतिको आस्था र विश्वासतर्फ लक्षित छ । पिताद्वारा ध्वस्त पारिएका देवालयको पुनरुद्धार गराउन सक्रिय देखिन्छन् । बढ्दो ईसाइ धर्मको प्रभाव निरुत्साहित गराउने लक्ष्य र भगवान् शिवको पूजा, आराधनाबाट मुलुकलाई युवराज प्राप्त भएको विश्वासमा हिन्दु आस्था बढाउनेतर्फ नयाँ राजाको झुकाउ बढ्दो छ ।

वैधानिक विवाहपछि राजारानीका कोखबाट सन्तान नहुने भुटानी लामाहरूको भविष्यवाणी थियो । राजारानी लामाबाट आशीर्वाद पाउन सिक्किमको रुम्तेक गुम्बासम्म धाए । सफलता हात नलागेपछि दिल्ली प्रस्थान गरे । दुवै राजारानी राजस्थानसम्म पुगेर प्रसिद्ध मन्दिरहरू अवलोकन गर्दै साधुसन्तलाई यथाशक्य दान, दक्षिणा दिए । महन्त, ज्योतिषीबाट उत्तराधिकारीका लागि भगवान् शिवको ध्यान, आराधना भए इच्छा पूर्ण हुने आत्मविश्वास दिलाएपछि पूर्ण भक्तिभावले पूजा, अर्चनामा सातादिन बिताए । भारतमा निर्मित प्राचीन हिन्दु मन्दिरहरूको दर्शन र कलात्मक बनावटबाट रानी जेत्सुन मन्त्रमुग्ध भइन् अनि त्यस्तै प्रकारका हिन्दु मन्दिरहरू भुटानमा निर्माण गराउन राजालाई राजी गराइन् ।

सन्तान प्राप्तिको उपाय खोज्दै भौंतारिएका राजाले इच्छा पूर्ण हुने विश्वासमा ज्योतिषी, साधुसन्तसमक्ष रानीको चाहनामुताबिक भारतीय वास्तुकला विशेषज्ञको सहयोग लिएर कलात्मक हिन्दु मन्दिर निर्माण गराउने संकल्प लिए । स्थापित पुरानो मूर्ति हटाई आफ्नै ढाँचाको नयाँ मूर्ति राख्ने पूर्वराजाको मूर्खता भएकै स्थानबाट भव्य मन्दिर निर्माणकार्यले प्राथमिता पायो । संयोग कस्तो रह्यो भने साम्ची जिल्ला सदरमुकामस्थित शिवालयलाई नयाँ ढाँचामा परिणत गराउन सुरु गरिएको केही महिना नबित्दै रानी गर्भवती भइन् ।

निर्माणकार्य पूर्ण हुने अवस्थामा राजाले राष्ट्रिय दिवसको अवसर पारेर जनतासमक्ष रानी गर्भवती भएको खुलासा गरे । राजधानी थिम्पुस्थित क्युनसेल–फोड्राङ क्षेत्रमा विशाल देवी मन्दिर निर्माण गराउने राजाको अर्को योजनामा पूर्वराजा (पिता) बाट गोप्य रूपमा भुटानी ढाँचातर्फ निर्माण केन्द्रित गराउने कुप्रयास भएबाट निर्माणकार्य थाती राखी सामान सामराङस्थित भैरवकुण्ड पुर्‍याएर कलात्मक ढाँचाको मन्दिर निर्माण भइसकेको छ । जनताद्वारा निर्माण गरिएका पुराना देवालय दर्शन गर्दै जीर्णोद्धारका लागि आर्थिक सहयोग दिने गरिएको छ ।

प्रथम राजा सर उग्येन वाङचुकले मुलुकमा राजतन्त्र स्थापना गरेर ख्याती कमाए । राजा जिमी वाङचुकले छिमेकी भारतसित नयाँ सन्धि गरी मैत्रीसम्बन्ध विस्तार भयो । तेस्रो राजा जिग्मी दोर्जी वाङचुक भुटानलाई संयुक्त राष्ट्र संघको सदस्यता दिलाउन सफल भए पनि अवैध रानीका कारण पारिवारिक कलहमै जीवन बित्यो । चौथो राजा जिग्मी सिङे वाङचुक भने अधिक रानी थुपारेर कलंकित बने, देश विकासमा संलग्न नागरिकलाई गलहत्याए ।

नयाँ राजाको सद्भावले पिताले भत्काएका मन्दिर नयाँ ढाँचामा परिणत हुँदै छन् तर हिन्दु देवालय पुनर्निमाणको सार्थकता तब मात्र पूर्ण होला, जब पूर्वराजाका गलत व्यवहार, अनुदार शैली र जातिविरोधी नीतिका कारण गलहत्याइएका राष्ट्रप्रेमी नागरिकलाई आफ्नै भूमिमा प्रत्यावर्तन गराउने कार्यले प्राथमिकता पाउला । भुटान एक सार्वभौम सम्पन्न राष्ट्र थियो, छ र भविष्यसम्म रहनुपर्छ भन्ने मूलमन्त्र जागृत गराउन प्रजातन्त्रको संवद्र्धन र प्रवर्धनका लागि विगतको दुराग्रहबाट तहसनहस पारिएका पीडित मनलाई विश्वासमा लिएर बढ्नुपर्छ ।

राजाको प्राथमिक कार्यशैलीबाट जनतामा झिनो विश्वास अङ्कुरित भएको छ तर दमन, शोषणको पीडाबाट मुलुक कहिले मुक्त हुने निश्चित छैन । शासक देशभक्त नभए नागरिकलाई राजभक्त भइरहने बाध्यता नरहला । मुलुकवासी, निर्वासित नागरिक, प्रमुख राजनीतिक दलहरू स्वावलम्बी भुटान निर्माणका लागि संवैधानिक राजासहितको समावेशी प्रजातन्त्र स्थापना हुनुपर्छ । राजाले निरङ्कुश विचार त्यागी राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गरेर तीन दशक लामो समस्या समाधानमा नयाँ कीर्तिमान चुम्ने इच्छाशक्ति देखाउन सक्नुपर्छ ।

पौड्याल भुटान पिपल्स पार्टीका अध्यक्ष हुन् ।

प्रकाशित : श्रावण ६, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?