३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बालबिहेले बिथोलेको जीवन

काठमाडौँ — चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको हात्तीवाङमा हामी पुग्दा विष्णुमायालाई हतार थियो । चिटिक्क लुगा र मेकअपमा ठाँटिएकी उनी कसैको प्रतीक्षामा थिइन् । भान्साबाट खानाको मिठो बास्ना आइरहेको थियो । उनका आँखा अधैर्य थिए र तारन्तार बाटोतर्फ कसैलाई खोजिरहेका थिए ।

बालबिहेले बिथोलेको जीवन

विष्णुमाया उमेरले २८ वर्ष लाग्दै थिइन् । अनुमान गरौं, घरमा एक्लै उनको प्रतीक्षा कसको लागि थियो होला ? के प्रेमी उनलाई भेट्न घरमै आउँदै थिए ? के हाम्रो उपस्थितिले उनको प्रेमीसँगको एकान्तलाई बाधा हाल्दै थियो ? उनका ती आँखा नवविवाहित छोरी–ज्वाइँ आगमनको प्रतीक्षामा रहेछन् । उनकी १४ वर्ष पुग्न ४ महिना बाँकी रहेकी छोरी प्रेमबिहे गरेर आमा भेट्न आउँदै थिइन्, ज्वाइँसँगै ।

यो अपवाद घटना होइन । चेपाङ समुदायको बाहुल्य भएको यस गाउँपालिकामा बालविवाह गर्ने प्रशस्त भेट्न सकिन्छ । कान्छो जिल्ला नवलपुर (तत्कालीन नवलपरासी जिल्ला राज्य पुन:संरचनापछि अहिले नवलपुर र नवलपरासी दुई जिल्लामा विभक्त छ) को पहाडी बस्ती डेढगाउँको एउटा होटलमा खाना खाने क्रममा खाना थप्न आएकी एक फुर्तिली नानीले पछाडि पिठ्युँमा सानो बच्चा बोकेकी थिइन् । त्यो उनकै बच्चा थियो । मैले ती बहिनीसँग कुरा गरेँ ।

उनले १३ वर्षको उमेरमा उनले १५/१६ वर्षको केटासँग भागीविवाह गरेकी थिइन् । भरतपुर बसेर ज्याला मजदुरी गर्दागर्दै उनी गर्भवती भइछिन् । ‘म काम गर्न नसक्ने भएपछि श्रीमान रिसाउन थाल्यो । रक्सी खाएर पिट्न थाल्यो । अन्तिममा डेरा आउनै छाड्यो,’ उनले सुनाइन्, ‘दुई सातासम्म नआएपछि म घर गएँ । सासुले पस्नै दिनुभएन । श्रीमानसँग भेट भएन । त्यसपछि माइत गएँ । छोरा त्यहीँ जन्मियो ।’ छोरा ३ महिनाको भएपछि उनी एक्लै भरतपुर गएर अर्कोसँग बिहे गरिछिन् । त्यसपछि होटलमा काम थालेकी उनले भनिन्, ‘छोराको पनि जिम्मेवारीले केही नसोची दोस्रो बिहे गरेँ ।’

बच्चाले बच्चा जन्माएपछिको विडम्बना !
इच्छाकामना गाउँपालिका चितवनकी एक किशोरीले आफ्नो कथा सुनाइन्, ‘१३ वर्षकी थिएँ, स्कुल पढ्थेँ । फुपू कम उमेरमै बित्नुभएको थियो । ३५ वर्षका पुसाईं (फुपाजू) लाई सम्झाउँदै बुबाले जेठी छोरी दिन्छु भन्नुभएको थियो रे । त्यही वचन राख्न बुबाले पुसाईंसँग मेरो बिहे गरिदिनुभयो । बिहेपछि पढाइ छुट्यो । पुसाईंसँग बस्न मन लाग्दैनथ्यो । कहिले कता कहिले कता बस्थेँ । बिहेको एक वर्षपछि यस्तै रहेछ भनेर पुसाईंसँगै बस्न थालेँ । ३ छोरा जन्मिए । पछि सानातिना कुरामा झगडा पर्न थाल्यो । अहिले छुट्टै बसेको छु । गुजारा चलाउन के गर्ने थाहा छैन ।’

गत वर्षे फागुनमा सुर्खेत सहारेको दलित बस्तीमा पुग्दा भेटिएका सबैजसो महिला १३/१४ वर्षमै बिहे गरेका र १५ वर्ष पुग्दा–नपुग्दै बच्चा जन्माइसकेका भेटिएका थिए । त्यस्तै डडेलधुराको दोबाटेमा भेटिएकी १९ वर्षीया किशोरी भेटिएकी थिइन् । उनका तीन छोराछोरी थिए, पहिलो छोरा ५ वर्षको भने पछिल्लो काखकी छोरी ४ महिनाकी ।

यी बालबिहे र त्यसपछिका परिणामका केही तस्बिर हुन् ।

नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्भे, २०१६ अनुसार नेपालमा महिलाको पहिलो विवाहको औसत उमेर १७.९ वर्ष छ । यस प्रतिवेदन अनुसार २५ देखि ४९ वर्ष उमेर समूहका १३ प्रतिशत महिलाले १५ वर्षभन्दा कम उमेरमा, ५२ प्रतिशत महिलाले १८ वर्षभन्दा कम उमेरमा र ७१ प्रतिशत महिलाले २० वर्षभन्दा कम उमेरमा विवाह गरेका छन् । पुरुषको सन्दर्भमा भने यो क्रमश: ३ प्रतिशत, १९ प्रतिशत र ३८ प्रतिशत छ ।

राष्ट्रिय जनगणना २०६८ का आधारमा १०–१८ वर्ष उमेर समूहका ५९ लाख ९५ हजार १ सय १३ जनामध्ये ३ लाख ४२ हजार ७ सय ४६ जना (५.७ प्रतिशत) को १८ वर्ष नपुग्दै विवाह भएको देखिन्छ । १०–१८ वर्ष उमेरभित्र विवाह गर्नेमा सबैभन्दा बढी मधेसी (१०.२ प्रतिशत), मधेसी दलित (१०.२ प्रतिशत), पहाडी दलित (७.८ प्रतिशत), पहाडी जनजाति (५.६ प्रतिशत) र मधेसी जनजाति (५.२ प्रतिशत) छन् । यस उमेर समूहमा विवाह गर्नेमा सबैभन्दा कम पहाडी बाहुनमा २.४ प्रतिशत र त्यसपछि नेवारमा २.६ प्रतिशत छ ।

त्यसो त विवाह व्यक्तिको स्वविवेकीय अधिकार हो । तर पनि विवाहलाई व्यवस्थित गर्न हरेक देशले विवाहयोग्य उमेर कानुनमै तोकेको हुन्छ । नेपालको कानुनले २० वर्षलाई न्यूनतम विवाहयोग्य उमेर मानेको छ । संविधानले बाल विवाहलाई बाल अधिकार हननका रूपमा लिएको छ । संविधानको धारा ३९ (५) ले बालविवाह गर्न नपाइने भनी यी कार्य संघीय कानुन बमोजिम दण्डनीय हुने व्यवस्था गरिएको छ ।

यस्तो संवैधानिक, कानुनी व्यवस्थाका बाबजुद पनि बाल विवाहको अवस्था र त्यसको परिणाम भयावह छ । सुदूर पश्चिमको डडेलधुरादेखि चितवतनसम्मका माथि उल्लेखित प्रतिनिधि घटनाले बाल विवाहको चरित्र र परिणाम एकै किसिमको रहेको देखाउँछ । बालविवाह आफैमा समस्या हो वा होइन, बहसको विषय होला, तर त्यसबाट सिर्जित परिणाम भने दु:खद छन् ।

किशोर–किशोरीमा यौनजन्य उत्सुकतालाई व्यवस्थापन गर्न नसक्दा बालविवाह बढेको देखिन्छ । पछिल्लो समयम सञ्चारका माध्यमको बढ्दो प्रयोग र यसमार्फत यौनजन्य सामग्रीमा सहज पहुँचले पनि उनीहरूलाई कम उमेरमै यौन तथा बिहेतर्फ आकर्षित गरेको देखिएको छ । बाल विवाहका परिणामस्वरूप व्यक्ति शिक्षाबाट वञ्चित हुने, शिक्षाको अभावमा रोजगारीको अवसरका विकल्प कम हुने, परिणामत गरिबीको दुष्चक्रमा पँmस्ने गरेको देखिन्छ । सानै उमेरमा बिहे गर्दा आफ्नो स्वास्थ्य र समग्र जीवनमात्र होइन, जन्मने बच्चाको जीवन तथा भविष्य जोखिमपूर्ण हुनसक्ने यथार्थ बुझ्न नसक्दा किशोर–किशोरीले बिहे गरेको देखिन्छ । बाल विवाह गरेकाहरू आमाबुबा बनेपछि पछुताउँछन् । तर ढिलो भैसकेको हुन्छ । कानुनले बिहे गर्ने उमेर २० वर्ष कायम गर्नुको औचित्यसहित जनचेतनामूलक कार्यक्रम किशोर–किशोरी र तिनका अभिभावक लक्षित गरेर सञ्चालन गर्नु उपयोगी हुन्छ ।

समाजमा समस्या छ, त्यसैले त समाधानको बाटो खोज्नैपर्ने भएको छ । समस्याको जरामा गरिबी छ । गरिबीले शिक्षासम्मको पहँुचमा अवरोध पुर्‍याउँछ । शिक्षाको अभावमा चेतना स्तरमा कमी आउँछ । चेतनाको अभावले सामाजिक समस्या सिर्जित हुने गर्छन् र ती समस्याबाट कसरी बाहिर निस्कने भन्ने उपाय पनि भेटिँदैन । गरिबी, अशिक्षा र चेतनाको अभाव एकअर्कामा नछुट्टिनेगरी जेलिएका हुने रहेछन् । गरिबीको यस्तो दुष्चक्रबाट बाहिर नआउँदासम्म यस्ता समस्या ज्युँकात्युँ रहन्छन् ।

अन्त्यमा, चेपाङ समुदायको बाहुल्य रहेको इच्छाकामना गाउँपालिकाको काउलेको चर्चा पहिल्यै सुनेकी थिएँ । त्रिभुवन विश्वविद्यालयमा एकपटक चर्चा चलेको थियो कि त्यहाँ १/२ वर्षका बच्चालाई जाँड वा रक्सी खुवाउँछन् रे, ताकि आमाबुबा काममा जाँदा बच्चा सुतिरहुन् । अहिले आफ्नै आँखाले देखेर आएँ । यस्तो जीवन बाँच्न अभिशप्त नेपालीलाई पनि ‘समृद्ध नेपाल सुखी नेपालीको नारा’ले छोओस् ।

प्रकाशित : श्रावण ८, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?