कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गुरुको गरिमा

स्कुल र कलेजबाट गलहत्याइएका गुरु अहिले गुरुद्वार, गुम्बा, गुरुमठ, मन्दिर आदिमा ठिँगुरिएर बसेका छन् ।
भवानीशंकर भट्टराई

काठमाडौँ — स्मृति, नीतिशास्त्र, धर्मशास्त्र र पुराणले गुरुलाई अत्यन्तै आदरका साथ प्रस्तुत गरेका छन् । सोही अनुसार गुरुका अर्थ अनेक छन् : महनीय, गह्रुङ्गो, उपदेशक, मार्गदर्शक, जागरणकर्ता, विद्यादाता, सङ्गीतज्ञ, कलाकोविद, गायत्रीमन्त्र सिकाउने, दीक्षा दिने, आचार्य, सन्त–महन्त, ग्रन्थका रचयिता आदि ।

गुरुको गरिमा

गुरी उद्यमने, गृ निगरणे आदि धातुबाट यसको निर्माण भएको हो, जसअनुसार शिष्यको अबोध मस्तिष्कमा ज्ञानसेचन गराउने, शिष्यका अज्ञानतालाई निल्ने, सदाचार तथा मर्यादामा प्रवृत्त गराउने, परा तथा अपरा विद्याको महिमा बताउने, तत्त्वको उपदेश दिने, ज्ञान, भक्ति र वैराग्य मार्गको वस्तुसत्ता बोध गराउने, स्तुति गर्न योग्य व्यक्ति गुरु हो । संस्कृत वाङ्मयअनुसार विशेषत: धार्मिक र आध्यात्मिक विषयबारे बोध गराउने व्यक्ति हो ऊ । शास्त्रीय अर्थमा गुरुले सामान्यत: पढाउने, जानकारी दिने, वाचन गर्ने, हेर्ने, बुझाउने, पथप्रदर्शन गर्ने काम गर्छ ।

अहङ्कारशून्य, सदाचारी, ज्ञान गम्भीर, उपदेष्टा आदिचाहिंँ यसका धार्मिक–आध्यात्मिक अर्थ हुन् ।

अचेल पढाउने व्यक्तिले ‘म कसरी गुरु भएँ, म त शिक्षक/प्राध्यापक पो त’ भनेको थुप्रै्र सुनिन्छ । गुरुलाई धार्मिक र आध्यात्मिक विषयको उपदेश/शिक्षा दिने व्यक्तित्वका रूपमा बुझ्नेहरू धेरै छन् । त्यसैले स्कुल–कलेजमा गुरु प्राय: देखिँदैनन् । नेपाली पढाउने एकाध शिक्षक, ती पनि उमेरले पाका मात्र गुरु भनिँदा खुसी हुन्छन् । बाँकी सबै सर, शिक्षक, प्राध्यापक ।

यसरी स्कुल र कलेजबाट गलहत्याइएका गुरु अहिले गुरुद्वार, गुम्बा, गुरुमठ, मन्दिर आदिमा ठिँगुरिएर बसेका देखिन्छन् । गुरु शब्दमा वृद्धतासूचक बा थपिएपछि गुरुबा बन्छ, जसको शाब्दिक अर्थ धर्मोपदेश, कर्मकाण्ड, सदाचार र नीतिको उपदेश, अध्यात्म विद्याको प्रचार आदिसँग जोडिन्छ । लोक अर्थमा गुरुबा शब्दले कर्मकाण्डी पुरोहित, पण्डित बाजे, पुरोहित बाजे, गुरुबाजे, याज्ञिक, ऋत्विक् आदिलाई बुझाउँछ । लोकले गुरुपुरोहितलाई त्यति सम्मान गर्दैन, जति गुरुलाई गर्छ । यदाकदा पण्डित बाजे भनेर गुरुबालाई होच्याएको/अपमानित गरेको पनि देख्न सकिन्छ ।

एक जमाना थियो, गुरु र आचार्य देवता समान मानिन्थे । गुरुहरूलाई गुरुदेव भनिन्थ्यो । अहिले समय बदलियो, गुरुहरू पनि छाडा भए, शास्त्रले र लोकले बनाएका मर्यादाबाट उनीहरू च्युत हुँदै गए । गुरुदेवहरू देव रहेनन्, गुरुजी भए अर्थात् सही र गलत दुवै काम गर्ने मानवमा घटुवा भए र समाजले उनीहरूमाथि पगरी गुथायो– जी/ज्यू थपेर । अनि गुरुदेवहरू गुरुज्यू/गुरुजी भए (हिन्दीमा गुरुजी, नेपालीमा गुरुज्यू) । गुरुज्यू/जी पनि समयको बदलावसँगै बदलिए, पतित हुँदै गए, धर्माचरण, सदाचार, शास्त्रीय नियमको पालना आदिबाट भ्रष्ट हुँदै गए ।

शास्त्रप्रति श्रद्धा नगर्ने, यजमानपरस्त, कर्मकाण्डी र द्रव्यप्रिय बन्दै गए, शास्त्रका अपव्याख्याता भए । उनीहरूको कलुषित आचरण, कर्मकाण्डी व्यवहार, स्खलित मर्यादा, आसक्ति, लोभलाचल, सांसारिक भोगप्रतिको तृष्णा, ईष्र्यालु प्रवृत्ति आदि देखेर लोकले उनीहरूलाई गुरुबा, पुरोहित, गुरुबाजे आदिमा घटुवा गर्‍यो । यस्तै अर्थावनति र अर्थसङ्कोच चलिरहँदा समयको अन्तरालमा गाडीका चालक स्वयंले गुरु शब्दका पछाडि जी थपे र आफूलाई सम्मानित व्यक्तित्वका रूपमा चिनाउन गुरुजी शब्दको प्रयोग गर्न थाले । त्यसपछि गाडीका चालक, मार्गदर्शक सबै गुरुजी बने ।

यसरी समयले गुरु शब्दको अर्थमा आमूल परिवर्तन ल्यायो । वर्षौंसम्म साधना गरेर गुरु बनेकाहरू कुनामा पुगे भने प्रायोगिक ज्ञान र सीप हासिल गरेकाहरू वास्तविक गुरुजीजस्ता देखिए । उनीहरूले आफूहरू वास्तविक गुरुजी रहेको भ्रम लोकसामु छरे । लोकले पनि होमा हो मिलायो । गुरुको प्राचीन गरिमा आंशिक रूपमै भए पनि कुनाकन्दरामा जीवितै होला, तापनि अब गुरु गुरु रहेनन् । त्यतिबेलाका जस्ता झर्झराउँदा देखिएनन्, घामले ओइलाएका पातजस्ता क्षीण हुन पुगे ।

आजका सन्तमहन्त, धर्माचार्य, दीक्षक महोदयहरू पनि आफूलाई गुरुभन्दा पनि स्वामीजी, १००८ महाराज, धर्माचार्य, देवाचार्य आदिबाट सम्बोधित गरिँदा गद्गद् हुन्छन् । उनीहरूलाई पनि गुरु शब्द फिका लाग्न थालेको छ । यथार्थमा गुरुको प्राचीन अर्थभित्र मार्गदर्शक, पथप्रदर्शक अर्थ पनि समेटिएको सन्दर्भमा यसबाट चालक अर्थ पनि ध्वनित गर्नै नसकिनेचाहिंँ होइन र व्यापक अर्थमा चालक अर्थ पनि समाविष्ट हुनुलाई अन्यथा मान्नु हुँदैन । चालक पनि यात्रीको पथप्रदर्शक हो, गन्तव्यमा पुर्‍याउने नाविक हो, अत: गुरुको यो आधुनिक अर्थ पनि त्यति अनुपयुक्तचाहिँं छैन । तर गुरु शब्द आफैंमा जेजति गौरवपूर्ण छ, गरिमामय छ, सान्दीपनी, द्रोणाचार्य, आनन्दघोष, समर्थ रामदास, गोरखनाथ आदिका अगाडि जति सुहाएको छ, जति वजनदार देखिएको छ, त्यति पछिल्लोमा छैन ।

विशिष्ट ठाउँमा पुगेकाहरू आज किन आफूलाई गुरु भनिँदा हच्किन्छन् भन्ने प्रश्नको उत्तर भने पङ्क्तिकारले भेटेको छैन । गुरुको गरिमा बढाउने जिम्मा विशिष्ट व्यक्तिहरूकै हो, लोकले त त्यसलाई सकार्ने मात्र हो । जेजस्तो होस्, हामी सबैले गुरुको गरिमालाई बढाउन सकेनौं भने पनि यसको अर्थावनति र अर्थान्तरणचाहिंँ नगरौं, जेजति सकिन्छ, गुरुको गौरव वृद्धिमा योगदान गरौं, गुरुहरूले पनि मर्यादित बन्ने कोसिस गरौं ।

भट्टराई पिण्डेश्वर विद्यापीठ धरानका उपप्राध्यापक हुन् ।

प्रकाशित : श्रावण ११, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?