कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

उत्कृष्ट शिक्षक

स्कुल जीवनमा धेरै शिक्षकले पढाउँछन् । तर असाध्यै मनपर्ने शिक्षक कम हुन्छन्, जसलाई हामी भुल्न सक्दैनौं वा पछिसम्म स्मरण गर्छौं ।
रोश्ना सुब्बा

काठमाडौँ — गत सोमबार पञ्चकन्या आधारभूत विद्यालय, काठमाडौं पुगेकी थिएँ । घन्टी लागेर शिक्षक फेरिने क्रममा कक्षा ३ खाली देखेपछि त्यहाँ छिरेँ । विद्यार्थीले ‘गुड आफ्टरनुन मिस’ भन्दै कक्षामा स्वागत गरे । आफ्नो परिचय दिएपछि मैले उनीहरूलाई सबभन्दा मनपर्ने विषय के र शिक्षक को हो भन है मात्र के भनेकी थिएँ, धेरैजसो विद्यार्थी एकै स्वरमा भन्न थाले, ‘गणित विषय । सीता बोहरा मिस ।’

उत्कृष्ट शिक्षक

कक्षा १० को नतिजा अनि शिक्षा मन्त्रालयको अध्ययनले देखाइसकेका छन् कि सामुदायिक विद्यालयका विद्यार्थी कमजोर रहेकामध्ये एउटा विषय गणित हो । तर ती केटाकेटीले गणित सजिलो भनेपछि मलाई शिक्षक सीता बोहराको शिक्षण हेर्न मन लाग्यो । संजोगले उनकै पिरियड रहेछ । ‘विद्यार्थीहरूले साह्रै मनपराउँदा रहेछन्,’ मैले उनलाई सुनाएँ । हंँसिलो अनुहार बनाउँदै उनी साह्रै खुसी भइन् ।

कुनै पनि अंकलाई शून्यले गुणन गर्दा गुणनफल किन शून्य हुन्छ ? भन्ने अवधारणा दिन उनले विद्यार्थीका पेन्सिल बक्स अनि ज्यामिति बक्स प्रयोग गरेर यसरी सिकाइ प्रक्रियामा सहभागी गराइन् कि अगाडि, पछाडि कुना सबैतिर बस्ने विद्यार्थी म भन्ने म गर्ने भन्दै कराइरहेका थिए । कतिलाई यस्तो कक्षाकोठा कति हल्ला हुने कक्षा वा कस्ता अनुशासनहीन केटाकेटी जस्तो लाग्न सक्छ । तर शिक्षक बोहराले उनीहरूलाई हल्ला नगर भनेर गाली गरिनन् । उनलाई त्यो अनुत्पादक हल्ला होइन भन्ने थाहा थियो ।

साँच्चै त्यहाँ सिकाइ जीवन्त थियो । यस्तो लाग्थ्यो, त्यहाँ रमाइलो खेल भइरहेको छ र केटाकेटीहरू खुसीसाथ खेलमा सहभागी हुन चाहिरहेका छन् । उनीहरूमा आफूले बुझेको कुरा शिक्षकसामु व्यक्त गर्न डर वा हिचकिचाहट थिएन । यसबाट प्रस्ट हुन्थ्यो, उनले आफ्ना विद्यार्थीसँग कस्तो सम्बन्ध बनाएकी छन् र किन उनको रोजाइमा प्रिय शिक्षक हुन् भनेर ।

आफूलाई आफ्ना विद्यार्थीहरूले राम्रो शिक्षकका रूपमा सम्झिऊन् भन्ने प्राय: सबै शिक्षकको चाहना हुन्छ । तर केही शिक्षकमात्र यस्ता हुन्छन्, जो विद्यार्थीका लागि आदर्श र प्रिय बन्छन् । समय बित्दै जाँदा कति शिक्षकको त नाम पनि याद हुँदैन । स्कुल जीवनमा धेरै शिक्षकले पढाउँछन् । तर असाध्यै मनपर्ने शिक्षक कम हुन्छन्, जसलाई हामी भुल्न सक्दैनौं वा पछिसम्म स्मरण गर्छौं ।

नेपाल सरकारका पूर्व मुख्य सचिव विमल कोइराला, आफ्ना शिक्षक कृष्णप्रसाद भगतलाई सबभन्दा प्रिय शिक्षकका रूपमा सम्झन्छन् । कोइराला, साढे ५ दशकअघि विराटनगरस्थित जनता हाईस्कुलमा पढ्दा भगत त्यहाँका हेडसर तथा अंग्रेजी विषयका राम्रा शिक्षक थिए । अलि अघि रेडियो कार्यक्रममा कुराकानीका क्रममा कोइरालाले भनेका थिए, ‘भगत सर, फलानो विद्यार्थीको यी कमजोरी छन्, उसको स्तर उकास्न मिहेनत गरिदिनोस् है भनेर सम्बन्धित शिक्षकलाई अनुरोध गर्नुहुन्थ्यो । अभिभावकलाई घरमै भेटेर सचेत गराउनुहुन्थ्यो ।’ कमजोर विद्यार्थीलाई अघि ल्याउन विशेष ध्यान दिने र पेसामा पूर्ण रूपमा समर्पित शिक्षक भगतलाई पूर्व मुख्य सचिव कोइराला आदर्श शिक्षक मान्छन् ।

केही शिक्षक यस्ता पनि हुन्छन्, जो आफ्नो विषय राम्ररी पढाएर मात्र आफ्नो दायित्व पूरा नभएको ठान्छन् । त्यसैले विद्यार्थीका अन्य समस्या बुझ्न अनि सहयोग गर्न अघि सर्छन् । र सबभन्दा मनपर्ने शिक्षक बन्छन् । ‘मेरो दृष्टिविहीनपनलाई अनुभूत गरेर पढाइमा सहयोग गर्न मसँग ब्रेल लिपि सिक्ने शिक्षक मोमिला जोशी सबभन्दा मनपर्ने शिक्षक हुन्, ‘आफ्नी बेस्ट टिचरलाई यसरी याद गर्छिन्, एक गैरसरकारी संस्थाकी कार्यकारी निर्देशक निर्मला ज्ञवाली । ललितपुरको एक संस्थागत स्कुलमा साढे २ दशकअघि कक्षा ५ मा भर्ना हुँदा साहित्यकार जोशी, नेपाली विषयकी शिक्षक थिइन् । त्यहाँ ज्ञवाली मात्र दृष्टिविहीन विद्यार्थी थिइन् । त्यसअघि ४ कक्षासम्म कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुलमा पढ्दा ज्ञवालीले ब्रेल लिपि सिकेकी थिइन् ।

प्लास्टिक सर्जरी विज्ञका रूपमा सेवा गरेर अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति कमाएका डा. शंकर राई आफ्नो बुबा नेपाली सेनामा जागिरे भएका कारण गोर्खा, ओखलढुंगा र खोटाङका ३ वटा विद्यालयमा पढे । ती विद्यालयमध्ये ७ देखि १० कक्षासम्म पढेको खोटाङको दिक्तेलस्थित ऐँसेलुखर्कमा रहेको त्रिभुवन पब्लिक माध्यमिक विद्यालयका प्रधानाध्यापक सुमन राजभण्डारीलाई डा. राई विशिष्ट क्षमता भएका अति आदरणीय र प्रिय शिक्षक मान्छन् । ४ दशकअघि ऐच्छिक गणित विषय छान्ने राई आफ्नो कक्षामा एक्लो विद्यार्थी थिए । तर अरू नै विषय रोज नभनीकन प्रधानाध्यापक राजभण्डारीले उनलाई घरमै पढाए र यो विषय पढ्ने उनको धोको पूरा भयो ।

यस्तै चर्चित फुटबल खेलाडी विमल घर्ती मगरले पनि विद्यालय तहको पढाइ पूरा गर्ने क्रममा आफ्नै गृहजिल्ला नवलपरासीसहित रूपन्देही र काठमाडौं गरी ३ जिल्लाका ३ विद्यालयमा पढे । यीमध्ये उनी आफ्नो गाउँ भुताहामा रहेको साल्भास बोर्डिङ स्कुलका शिक्षक नवराज श्रेष्ठलाई अति प्रिय शिक्षक मान्छन् ।

विमललाई सानैदेखि पढाइमा पटक्कै ध्यान थिएन । उनी स्कुलबाट भागेर गाउँमा हुने खेल हेर्न जान्थे । स्कुल छुटाएकामा सबभन्दा बढी अनुपस्थित हुने विद्यार्थी भनेर शिक्षकहरूबाट पिटाइ खान्थे । ‘तर म माने पो । स्कुल नगएर फुटबल टुर्नामेन्ट हेर्न छाड्दै छाडिनँ मैले ।’ उनले भने, ‘नवराज सरले चाहिँं पिट्नुहुन्नथ्यो । धेरै स्कुल नछुटाऊ भनेर सम्झाउनुहुन्थ्यो ।’ शुक्रबार साप्ताहिक रूपमा स्कुलमा हुने खेल प्रतियोगिताहरूमा उनी मेडलहरू जित्थे । ‘विमलले पढाइमा राम्रो गर्न नसके पनि खेलमा असाध्यै राम्रो गरेको छ । खेलमा ऊ बेस्ट छ । सरले त्यसो भन्दा म एकदम खुसी हुन्थेँ,’ आफ्ना प्रिय शिक्षकलाई सम्भँmदै विमल भन्छन्, ‘सबै साथीका अगाडि मलाई राखेर उदाहरण दिँदै उहाँले त्यसो भन्दा मलाई फुटबल खेलिराखुँ जस्तो लाग्थ्यो ।’ उनी अगाडि थप्छन्, ‘नवराज सरले विद्यार्थी जीवनमा मलाई सहयोग नगरेको भए आज म जहाँ छु, त्यहाँ हुन्नथेँ ।’

आफ्नो विषयमा पोख्त भएर राम्रो पढाउने मात्र होइन, विद्यार्थीसँग सुमधुर सम्बन्ध बनाउने र सिक्न अनि जीवनमा अघि बढ्न प्रेरित गर्ने शिक्षक मात्र विद्यार्थीको हेराइ र बुझाइमा ‘बेस्ट टिचर’ बन्न सक्छन् । किनकि यस्ता शिक्षकले विद्यार्थीको क्षमता निखार्दै सुन्दर भविष्य निर्माणमा भूमिका खेल्न सक्छन् । खेलेका हुन्छन् । विद्यार्थीले राम्रो शिक्षकका रूपमा सम्झे भने शिक्षकका लागि यो नै सबभन्दा ठूलो सम्मान हुन्छ ।

[email protected]

सुब्बा शिक्षा पत्रकार समूहकी अध्यक्ष हुन् ।

प्रकाशित : श्रावण ११, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?