कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

‘हराइरहेका’ हेपाटाइटिस रोगी

सन्दर्भ : विश्व हेपाटाइटिस दिवस
कलेजो धेरै नबिग्रिएसम्म खासै लक्षण नदेखिनाले संसारभर नै दीर्घकालीन हेपाटाइटिस बी र सी संक्रमित १० मध्ये ९ जना आफ्नो रोगबारे अवगत छैनन् ।
डा. अनन्त श्रेष्ठ

काठमाडौँ — आज जुलाई २८, अर्थात विश्व हेपाटाइटिस दिवस । हेपाटाइटिस बीको जीवाणु पत्ता लगाएका डा. बराक स्यामुयल ब्लुम्बर्गको जन्मदिन । यही अवसर पारेर हरेक वर्ष जुलाई २८ लाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाइन्छ । विश्वभरका करिब ३२ करोड मानिस दीर्घकालीन हेपाटाइटिस बी र सीबाट संक्रमित भएको अनुमान छ ।

‘हराइरहेका’ हेपाटाइटिस रोगी

समयमा उपचार नपाए दीर्घकालीन हेपाटाइटिस बी र सी संक्रमित व्यक्तिमा कलेजोको सिरोसिस भई उक्त अंगले काम नगर्ने अवस्था (लिभर फेलियर) आउँछ । कलेजोको क्यान्सरको पनि उच्च जोखिम रहन्छ । कलेजो धेरै नबिग्रिएसम्म खासै केही लक्षण नदेखिनाले संसारभर नै दीर्घकालीन हेपाटाइटिस बी र सी संक्रमित १० मध्ये ९ जना आफू संक्रमित भएकोबारे अवगत छैनन् ।

आफू संक्रमित भएको थाहा पाएकाहरू पनि हीनताबोध र सामाजिक अपहेलनाका कारण आफ्नो रोग लुकाउन बाध्य छन् । धेरै बिरामीहरूमा हेपाटाइटिस बी र सीको उपचार सम्भव छ भन्नेसमेत जानकारी नै छैन, जुन आजका दिनमा साह्रै दुर्भाग्यको विषय हो । केही वर्षदेखि विश्व हेपाटाइटिस एलायन्स र विश्व स्वास्थ्य संगठनले २०३० भित्र हेपाटाइटिस निर्मूलीकरणको लक्ष्य बनाएका छन् ।

यस वर्ष विश्व हेपाटाइटिस दिवसको मुख्य नारा ‘हराइरहेका रोगीको खोजी’ छ । संक्रमित व्यक्तिहरू पत्ता लगाई निदानमा जोड दिनु नै यो वर्षको लक्ष्य छ । यदि २०३० सम्ममा हेपाटाइटिस निर्मूलीकरण गर्ने लक्ष्य लिने हो भने हरेक व्यक्ति यसबारे सचेत हुन जरुरी छ । साथै हेपाटाइटिस परीक्षण र संक्रमित भए–देखिएमा यसको उपचारमा लाग्न अत्यन्तै जरुरी देखिन्छ ।

नेपालमा करिब १ लाख ३० हजार हेपाटाइटिस सी र २५ लाख हेपाटाइटिस बीबाट दीर्घकालीन रूपमा संक्रमित छन् । वैदेशिक रोजगारीमा जाने वा रक्तदान गर्ने क्रममा रगत परीक्षण हुँदा केही व्यक्तिमा संक्रमण भएको पत्ता लाग्ने गरेको छ । तैपनि धेरै मानिस आफ्नो रोगबारे अनभिज्ञ छन् । समयमा उपचार नगरिएको खण्डमा, यी जीवाणुले संक्रमित व्यक्तिको कलेजो क्रमश: बिगार्दै लान्छ र अन्त्यमा कलेजोले कामै गर्न नसक्ने अवस्थामा पुग्छ । यस्तो अवस्थालाई कलेजोको सिरोसिस भनिन्छ । त्यसैगरी दीर्घकालीन हेपाटाइटिस बी र सीको संक्रमणको कारण कलेजोको क्यान्सर हुने सम्भावना पनि उच्च हुन्छ ।

कलेजोको सिरोसिस वा क्यान्सर भैसकेपछि यस रोगको निदान र उपचार त्यति प्रभावशाली हुँदैन । त्यसैले दीर्घकालीन हेपाटाइटिस लागिसकेपछि समयमा यसको निदान र उपचार हुन अत्यन्त जरुरी देखिन्छ । कलेजोमा धेरै असर नपरेसम्म खासै कुनै लक्षण नदेखिने हुनाले आफूमा दीर्घकालीन हेपाटाइटिस बी र सी छ या छैन भन्ने थाहा पाउन यस सम्बन्धी रगत परीक्षणको विकल्प छैन ।

हेपाटाइटिस ‘बी’
हेपाटाइटिस बीका जीवाणु संक्रमित व्यक्तिको रगत र शरीरका तरल पदार्थको सिधा सम्पर्कबाट अन्य व्यक्तिमा सर्ने गर्छ । नेपालमा ६–१५ वर्षको उमेरमा यो रोग सर्ने गरेको देखिन्छ । तर केही समुदाय जस्तै– तिब्बती शरणार्थीमा भने यो रोग बच्चा जन्मने बेला संक्रमित आमाबाट बच्चामा सर्ने गरेको देखिन्छ । हेपाटाइटिस बीका जीवाणुले एकपटक हाम्रो शरीरलाई संक्रमित तुल्यायो भने अटुट रूपमै जोडिएर बस्ने गर्छ । तर सबै संक्रमित व्यक्तिमा यो जीवाणुले कलेजो खराब गराउँदैन ।

करिब २५ प्रतिशत दीर्घकालीन रूपमा संक्रमित व्यक्तिमा मात्र हेपाटाइटिस बी सक्रिय रहने गर्छ । यस्ता व्यक्तिमा कलेजोको सिरोसिस र क्यान्सर हुने जोखिम उच्च हुन्छ । बाँकी ७५ प्रतिशतमा यो जीवाणु निष्क्रिय नै रहन्छ । लामो समयको संक्रमणपछि पनि कलेजो स्वस्थै रहन्छ ।

केही रगत परीक्षण र कलेजोको कडापन नाप्ने प्रविधिबाट संक्रमित व्यक्तिमा हेपाटाइटिस बी सक्रिय छ वा निष्क्रिय, सजिलै पत्ता लगाउन सकिन्छ । सक्रिय रहेको खण्डमा हेपाटाइटिस बी विरुद्ध एन्टिभाइरल औषधिको प्रयोगबाट यस जीवाणुलाई पुन: निष्क्रिय बनाउन र कलेजोको सिरोसिस वा क्यान्सर हुनबाट जोगाउन सकिन्छ ।

हेपाटाइटिस ‘सी’
हेपाटाइटिस सीका जीवाणु हेपाटाइटिस बीजस्तै रगतबाट सर्ने गर्छ । प्राय: लागुपदार्थ दुव्र्यसनी, असुरक्षित रगत चढाइएका व्यक्तिमा र असुरक्षित सुई लगाएका, टाटु खोपेका व्यक्तिमा हेपाटाइटिस सी बढी देखिन्छ ।

पश्चिम नेपालमा सीमापारिका भारतीय अस्पतालमा शल्यक्रिया गरिएका व्यक्तिमा पनि हेपाटाइटिस सी संक्रमण बढी देखिने गरेको छ । हेपाटाइटिस बीजस्तै यो रोगमा पनि सुरुको अवस्थामा कुनै लक्षण हुँदैन । धमिराले काठलाई भित्रभित्रै खाएजस्तै लामो समयको संक्रमणपछि यो रोगले कलेजोको सिरोसिस र क्यान्सर गराउन सक्छ । सबै व्यक्तिमा उत्ति नै सक्रिय नरहे तापनि यो रोग पूर्णरूपमा निको र निर्मूल हुनसक्छ । विगत केही वर्षमा हेपाटाइटिस सीको उपचारमा चिकित्सा विज्ञानले ठूलो फड्को मारेको छ ।

‘डाइरेक्टली एक्टिङ एन्टिभाइरल’ (डीएए) औषधिहरूको आविष्कारले करिब ९९ प्रतिशत केसमा हेपाटाइटिस सी पूर्णरूपमा निर्मूल हुने गरेको छ । न्यून ‘साइडइफेक्ट’ । सजिलै उपलब्ध । ३–६ महिनासम्म दिनमा १ गोली खाएरै हेपाटाइटिस सीसँगै सिरोसिस र कलेजोको क्यान्सरको जोखिम पूर्णरूपमा निर्मूल गर्न सकिन्छ । यो चिकित्सक तथा संक्रमितका लागि पनि साँच्चै खुसी प्रदान गर्ने विषय हो ।

विकसित देशमा डीएए औषधिहरू साह्रै महँंगा छन् । नेपालमा भने बाहिरको मूल्यको करिब १ प्रतिशत मूल्यमा पाइने गरेको छ । उपचार अगाडि नै सिरोसिस भैसकेको खण्डमा भने यसको प्रभावकारितामा केही ह्रास आउने गरेको देखिन्छ । त्यस्ता व्यक्तिमा हेपाटाइटिस सीका जीवाणु पूर्णरूपमा निर्मूल भए पनि कलेजोमा क्यान्सर पलाउने जोखिम भने रहिरहन्छ । तसर्थ यो रोग पत्ता लाग्ने बित्तिकै उपचार गरेर चाँडोभन्दा चाँडो निर्मूल बनाउनुपर्छ ।

एक त दीर्घकालीन रूपमा हेपाटाइटिस बी र सीका संक्रमित बिरामी यस रोगबारे अनभिज्ञ छन् । दोस्रो थाहा पाएका व्यक्तिमा पनि यो रोगबारे चेतना कम छ । सामाजिक अपहेलनाका डरले रोगको समयमा सही उपचार हुनसकेको छैन । संक्रमितहरू कलेजो रोग विशेषज्ञसम्म पुग्नसकेका छैनन् । २०३० सम्ममा नेपालले हेपाटाइटिस उन्मूलनको लक्ष्य राख्ने हो भने यी सबै चुनौतीका बाबजुद सबै सम्बन्धित निकायहरू एकजुट भई यस रोगविरुद्ध लाग्नुपर्छ ।

कलेजोरोग विशेषज्ञ श्रेष्ठ ‘नेप्लिज एसोसिएसन फर द स्टडिज अफ द लिभर’ का सचिव हुन् ।

प्रकाशित : श्रावण १२, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?