कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

केसी, गान्धी र मार्क्स

समय रेखा
समयले गान्धी सदृश अभियन्ताको जीवनमाथि लामै टिक्टिक् गर्‍यो । यस्ता सरल समाजवादी माग राखेर, पहिले भएकै सम्झौतामा बस भनेर माग गर्ने यी मानिसको वरिपरि उठेको तरङ्गले अब एउटा अर्को चेतना जन्माउन लागेको म देख्छु ।
अभि सुवेदी

काठमाडौँ — डाक्टर गोविन्द केसी मेडिकल शिक्षा सुधारको माग गर्दै पन्ध्रौंपटक अनशन बसेको सत्ताइसौं दिनमा यो आलेख लेख्न बसेको क्षणजस्तो असहज, चिन्ताले आक्रान्त र अनिश्चित मेरो जीवनमा कहिल्यै अनुभव भएन ।

केसी, गान्धी र मार्क्स

नेपालका लोकतान्त्रिक सरकारहरूसँग नेपालका गरिब जनताले पनि चिकित्सा शिक्षा पाऊन् र उपभोग गर्न पाऊन् भन्ने तिनको मागलाई शक्तिशाली दलहरू र सरकारहरूले बेवास्ता गर्दै आएको कथा नेपाली राजनीतिक इतिहासको एउटा विसंगत पाटोको रूपमा लेखिने पक्का भएको छ ।

जनमतका आधारमा बीपी कोइरालाको २०१५ सालको संसद्मा दुई तिहाइ जितेको सरकारपछिको दोस्रो शक्ति सम्पन्न सरकार हो यो । तर बीपीका पछाडि राजा महेन्द्र त्यही संविधानले प्रहार गरेर शक्ति लिन तयार थिए । अहिलेको सरकार काम गर्न स्वतन्त्र छ । विवेक प्रयोग गर्न स्वतन्त्र छ । र सबभन्दा जटिल विषय पनि विवेकको प्रयोग हो । आचार, सिद्धान्त र नैतिक विषयहरूले एकैसाथ काम गर्नुपर्ने हुनाले स्वतन्त्रता चुनौतीपूर्ण हुन्छ ।

अनिश्चित, प्रकम्पित र अभिघातले प्रताडित यो इतिहासका यी क्षणको मूल रहस्य के हो ? अहिले अघि कहिल्यै नगरिएका बहसहरू उठेका छन् । सबै मेडिकल डाक्टर, युवा र नागरिक समाज आन्दोलित छन् । यी दिनहरू हेरिरहेको मनुवाले देखेका र सुनेका कुराहरूले मलाई उथलपुथल गराएका छन् । केही होला, कसैले यी अभियन्ताका मागहरूको विशाल आयामलाई बुझेर केही सकारात्मक कदम चाल्नेछन् भन्ने आशा गरिबसेको हुँ म ।

मलाई भित्र विश्वास लाग्ने आधार, नढाँटी भन्छु, अहिले कमिनिस्टहरूको सरकार छ, त्यसैले विपन्न र टाढाका मानिसका निम्ति ज्यान जोखिममा राखेर अनशन बसेका ती डाक्टरका माग यिनीहरूले आफ्ना माक्र्सवादी सिद्धान्तसँग मिल्ने हुनाले पूरा गर्नेछन् भन्ने विश्वास थियो मेरो । तर बिस्तारै अलग किसिमका भाष्य, अलग तर्कहरू आउँदै गए । मलाई मनपर्ने लेखक, पहिलेको एमालेका एक मन्त्रीले बोलेको सुनँे अनि भत्किन थालेंँ । तिनले भने, ‘अब गोविन्द केसी सत्याग्रही रहनुभएन, अब उहाँ कांग्रेस भइसक्नुभयो ।’ मलाई चक्कर लाग्नु स्वाभाविक थियो ।

कांग्रेसले केसीको समर्थन गरेकाले त्यसो भनिएको रहेछ । कसले समर्थन गर्छन्, कसले विरोध गर्छन्, केसीको सम्बन्धमा त्यो मूल प्रश्न होइन, उनी के भन्दै छन् र कसका निम्ति कांग्रेस, कमिनिस्ट सबै सरकारहरूको शासनकालमा, तिनले मेडिकल र विश्वविद्यालयहरूलाई भर्तीकेन्द्र बनाएका विरोधमा लडिआएका छन्, त्यो मूल प्रश्न हो । त्यसपछि एक शीर्षनेताले के भन्नेहुन् भन्ने प्रतीक्षा थियो । तिनले बोलेपछि म पुरै भत्किएँ ।

मैले देश र विदेशमा यिनको विषयमा बोल्दा र लेख्दा यिनलाई सपना र युगसम्मत चेतनाका बाहक भनेको सम्झेंँ । लेखेको पनि छु । तिनमा प्रशंसा अनि नराम्रा गाली पनि पाएको हुँ । अनि एउटा ठूलो यथार्थ बुभेंँm । गोविन्द केसी किन जुम्लामा अनशन बस्न गएका रहेछन् । मैले त्यति पनि बुझेको रहेनछु । यी टाढाका नरनारीहरूले नेपालका समाजवादी आन्दोलनमा सहयोग गरे । ती विपन्न र राज्यद्वारा ठगिएका मानिसहरूले जसलाई सहयोग गरेका थिए, तिनीहरूले बिर्सिए ।

तिनीहरू राजधानीको नागर परिवेश, त्यसभित्रको एउटा पुँजीवादी माहोलमा हराए र अर्कै किसिमका मानिसहरूको रक्षाको निम्ति काम गर्न थाले । जुम्लीले अस्पताल पाउन्, मेडिकल शिक्षा पाउन् भन्ने यी डाक्टर त्यहाँ फर्किंदा त्यहाँका अदृश्य नारीहरू, वृद्ध र बालकहरू बाहिर आए । अब समयको गति अर्को भएछ, यताबाट उपेक्षितहरूकोमा कुनै पार्टीको एजेन्डा नबोकेका सत्याग्रही र मानवतावादीहरू हतियार होइन, रित्तो पेट लिएर त्यता पुग्ने बेला आएछ ।

समयले यी गान्धी सदृश अभियन्ताको जीवनमाथि लामै टिक्टिक् गर्‍यो । यस्ता सरल समाजवादी माग राखेर, पहिले भएकै सम्झौतामा बस भनेर माग गर्ने यी मानिसको वरिपरि उठेको तरङ्गले अब एउटा अर्को चेतना जन्माउन लागेको म देख्छु । त्यो अहिंसावादी छ । सत्याग्रही दर्शनमा उठेको छ । र कसैलाई घृणा होइन, परिवर्तन हुनसके तिमी ठिक छौ, केही बिग्रेको छैन, नभए समस्यामा पर्छाै भन्ने आह्वानले बनिन लागेको छ । गोविन्द केसीको वार्ता समूहका, हाम्रानिम्ति आफ्नो जीवन अर्पण गर्न तयार केसीका लागि धेरै कुरा छोड्न तयार छौं भन्ने डाक्टरहरू र त्यही समूहका अधिवक्ता ओमप्रकाश अर्यालले टीभीमा दिएका वार्ताहरू हेरेंँ ।

राजनेताहरूका केही आलम्बनका कडा आलोचना गरे पनि आफ्नो विचार बदलेर आउने, भुल सुधार गर्ने नेता र अरू व्यक्तिहरू ठिक हुन् र हुनसक्छन् भने उनले । र थपे, अनशन नबसे पनि हामी सत्यको निम्ति लड्ने सबै सत्याग्रही हौं । सत्यको जित हुन्छ, विडम्बनाहरू खुल्दै जान्छन्, हामी सबैमा असल कर्म गर्ने गुण विद्यमान हुन्छ, तर त्यो कर्म गर्नुपर्छ । सबैको जित हुन्छ, कोही हार्दैन भन्ने ती वाचाल वकिल, डाक्टरहरू, अरू युवाहरू, लेखक, जसमा पहिले माओवादीका नजिक रहेका युवक, उन्यासकार युग पाठक छन्, जसको लेख ‘व्यापारीको हातमा स्टेथेस्कोप ?’ (‘नयाँ पत्रिका’, १० साउन, २०७५) भर्खरै पढेको छु ।

नागरिक समाजका स्वतन्त्र मानिसहरूका बलिया विचारहरूले पहिले कहिल्यै नल्याएको तरङ्ग यसपालि ल्याएको छ । अब डा. केसीको सत्याग्रहको आयाम फराकिलो भएको छ । तिनका सत्याग्रहहरू रूपान्तरित भएर सिद्धान्तहरू जन्मिएका छन् । अब केसी महात्मा गान्धी सदृश भएका छन् । अधिवक्ता अर्यालले एउटा सम्वादमा भने, ‘आजको आतङ्कले आक्रान्त समयमा गोविन्द केसीको सत्याग्रह बलियो शान्तिको शक्ति हो ।’ तिनले थपे, ‘केसीको सत्याग्रहको महत्त्व वैश्विक छ । त्यस अर्थमा उनको जीवनले अब नेपालमा वैचारिक र भोलिको निम्ति एउटा कार्मिक युगको जग बसालिसकेको छ । यो बुझ्दा मन केही शान्त भएको छ ।’

गान्धीका विचार र शासनमा बस्ने र सरकार चलाउनेहरू, खासगरी नेहरू र कांग्रेसहरूको बीचमा सैद्धान्तिक द्वन्द्व भए । नेहरूका विशाल बाँधहरू बनाउने, पानीलाई लिएर महत्त्वाकांक्षी हुने, ठूला कारखाना खोल्ने कुराका गान्धी विरोधी थिए । नेहरूलाई यो बलियो प्रतिरोधले निकै असहज बनाएको कुरा इतिहास भन्छ । ‘स्मल इज ब्युटिफुल’ (१९७३) लेख्ने जर्मन अर्थशास्त्री सुमाखरले गान्धीका विचारको सार यसरी खिचे । अहिंसात्मक, सरल, सानो, पैसा बचाउने, ग्राममा आधारित, आत्मनिर्भर र काम पाउन सक्ने अर्थनीतिको अवलम्बन गर भन्ने गान्धीको भनाइ थियो ।

तर नेहरू र पटेल आदिहरूले मुक्ति संघर्षमा गान्धीकै विचार र नेतृत्व माने । गान्धीको हतियार सत्याग्रह थियो । त्यसको राजनीतिसँग सम्बन्ध थियो । केसीको सत्याग्रहमा अहिलेका राजनेताहरूले जतिसुकै अन्धाधुन्द राजनीतिक चरित्र देखेको गफ लाए पनि तिनका मागहरू अति ‘सरल, साना, पैसा बचाउने, अहिंसात्मक’ दर्शनले निर्देशित राजनीति इतर छन् । यसपालिको सत्याग्रहले नयाँ आयामहरू खोलिदिएको छ, जुन अस्पतालका अमूक कोठामा अनशन बस्ने गोविन्द केसीको अवस्थासँग मात्र सीमित रहेन ।

यही साउन २ गते कान्ति बाल अस्पतालमा संगीता थापाको निमन्त्रणामा कलाकारहरूले बालक बिमारीहरूको शान्तिको निम्ति गरिरहेका पेन्टिङहरूको प्रदर्शनमा बोल्न गएको थिएँ । युवा कलाकारहरूले बालकहरूसँग बसेर बनाएका कलाको प्रभाव धेरै बुझियो । अर्कै लेखको विषय हो । तर अस्पतालका डाइरेक्टर डा. गणेशकुमार राईले अस्पतालको हालत अत्यन्त दु:खित मुद्रामा परिचय गराएपछि म अत्यन्त विह्वल भएँ । बालक बिमारीले पिउने पानी छैन, तिनलाई राख्ने कोठा छैन, एकैसाथ राख्दा बिमार सरेको छ । उपचारको साधन कम हुँदै गएको छ । काम गर्नेलाई दिने तलब छैन ।

सबैतिरबाट घेरिएर धराशायी हुनलागेको जुम्लादेखिका बालकहरू उपचार गर्न आउने देशको यो एकमात्र बाल अस्पताल सबैका निम्ति अदृश्य रहनुले हामीलाई डा. गोविन्द केसी के भन्दैछन् भन्ने कुरा सुन्नैपर्ने आह्वान भएको छ । त्यसको दुई दिनपछि सुर्खेतका २ जनामध्येका एक बालरोग विशेषज्ञ डा. नवराज केसीले प्रधानमन्त्रीलाई लेखेको चिठी ‘कान्तिपुर’मा छापियो, जसमा उनले भनेका छन्, ‘म सरकारले पठाएको चिकित्सक होइन... यहाँ छु र रहनेछु ।’ उनले सोधेका छन्, ‘काठमाडौंमा ७ मेडिकल कलेज छन्...। हाम्रो प्रदेशमा १ पनि नहुने ? यो बाल मृत्युदर कसरी घट्ला ?’

अन्तत: २७ औं दिनमा डा. केसीले अनशन तोडेका छन्, नौबुँदे सहमति गरेर । म भावातीत भएर आशा गर्छु, अब अपूर्व उज्यालो दिन आउनेछ ।

प्रकाशित : श्रावण १२, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?