१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

केटाकेटीलाई के सिकाउने ?

टीका भट्टराई

काठमाडौँ — एकथरी हाम्रा केटाकेटीलाई तत्काल के सीप, ज्ञान चाहिन्छ त्यही सिकाउनुपर्छ भन्छन् भने अर्का थरी भविष्यमा आवश्यक हुन सक्ने विषयवस्तु पढाउनुपर्छ भन्छन् । अब पाठ्यपुस्तक घोकाएर त हुने कुरै भएन, विषयवस्तु के बनाउने, कस्तो विधि प्रयोग गर्ने भन्ने आम प्रश्न हो ।

केटाकेटीलाई के सिकाउने ?

बाँच्ने सीप
हाम्रो शिक्षाले तत्कालै उपयोग हुने वा भविष्यमा बाँच्ने सीप सिकाउन सकेन, प्रविधिको उपभोगसम्म गर्न जानिहाले पनि विज्ञान र प्रविधिको विकासमा काम गर्न सक्ने बनाएन, उनीहरू आत्मनिर्भर हुन सकेनन् भन्ने ठम्याइ छ । यो कुरा खाद्यान्न उत्पादन हेर्दा स्पष्ट हुन्छ । संसारको ठूलो हिस्साले बिस्तारै खेती गर्ने क्षमता गुमाइरहेको छ ।

खाद्यान्न उत्पादन, प्रशोधन र नियन्त्रण बिस्तारै केही कम्पनीका कृषिविज्ञका हातमा सीमित हुँदै छ । खाद्यसंकट निवारण गर्ने हो भने विश्वको ठूलो जनसंख्या प्रत्यक्ष रूपमै यसमा संलग्न हुन जरुरी छ । अहिलेको वतावरणीय संकट बुझ्न पनि कृषि उत्पादन पद्घति बुझ्नुपर्छ । यस दृष्टिले कृषि एक बहुपक्षीय जीवन सीपका रूपमा देखिएको छ । केही औद्योगिक देशले प्राथमिक तहदेखि नै कृषिको प्रयोगात्मक शिक्षा दिन थालेका छन् ।

तेस्रो सहस्राब्दीमा कस्तो शिक्षा चाहिन्छ भनी सुझाउन फ्रान्सले आफ्ना पूर्वशिक्षामन्त्री एवं युनेस्कोका पूर्वनिर्देशक डेलर्सको अध्यक्षतामा आयोग बनाएको थियो । आयोगको एउटा सुझाव थियो– बदलिँदो परिस्थितिमा के सिकाउने भन्ने निश्चित गर्न नसकिने भएकाले केटाकेटीलाई बदलिन सिकाउनुपर्छ । बदलिन केटाकेटीलाई बृहत् चित्र दिनुपर्छ ताकि उसले आफैं किन र कसरी फेरिनुपर्छ भन्ने कुरा गर्न सकोस् । हामीकहाँ गाउँघरमा काम गर्दै पढेर हुर्केका केटाकेटी बढी परिवर्तनशील देखिन्छन् किनभने उनीहरूले जीवनलाई समग्रतामा देख्न र भोग्न पाएका हुन्छन् । उनीहरूमा खट्न सक्ने शारीरिक क्षमता पनि हुन्छ । सफलताका लागि शारीरिक स्वास्थ्य महत्त्वपूर्ण हुन्छ ।

हामीले विशिष्टताका नाममा हरेक वस्तुलाई टुक्रा पारेर हेर्नेबुझ्ने गरेका छौं । कतिपय अवस्थामा यसो गर्न आवश्यक हुन्छ तर काम विशिष्ट पक्षमा गरे पनि बुझाइ समग्रतामै हुनुपर्छ । अर्थात् कसैको टाउको दुख्यो भने डाक्टरले उसको पेटबारे पनि बुझेको हुनुपर्छ । व्यक्तिलाई एक व्यक्तिका रूपमा बुझ्न उसलाई आवश्यक पर्ने सकेसम्म सबै पक्ष बुझाउन सकियो भने उसले आफूलाई परिस्थितिअनुरूप ढाल्न सक्छ ।

विद्यालय तहमै कर तिर्नेजस्ता आर्थिक अभ्यास सिकाउन जरुरी रहेको कुरा उठिरहेको छ । बचत गर्ने शिक्षा हराइसकेको छ । बचत गर्नु उपभोगभन्दा महत्त्वपूर्ण हो । बचत र दान सँगै आउनुपर्छ । यो सानैदेखि सिकाउनुपर्ने र सिकाउन सकिने विषय हो । बचत पैसाको मात्र नभएर अन्न अनि स्रोतको पनि हो । स्रोतको उपभोग घटाउने, पुन: प्रयोग गर्ने र त्यसको रूपान्तरण गर्ने शिक्षा व्यक्तिगत बचतदेखि विश्वको तापक्रम घटाउन योगदान गर्नेसम्म जोडिएको छ ।

संवेगात्मक बुद्घिमत्ता
मेरा पिता भन्नुहुन्थ्यो, ‘आफूमा भय उत्पन्न गर्ने काम गर्नु हुँदैन ।’ यस्ता कुरा भावनात्मक बुद्धिमत्ताका हुन् । बेलाबेला यी कुरा धर्म, विवेक, नैतिक शिक्षाजस्ता विषयसँग पनि मिसाइन्छन् । तर त्यहाँ स्वनिर्णयभन्दा उपदेश बढी हुन्छ, तर्क कम हुन्छ । संवेगात्मक बुद्धिमत्ताको लक्ष्य आनन्दमा रहन सक्नु हो । आनन्द आफूले सकेजति प्रयत्न गरेर आफू जेजस्तो अवस्थामा छ, त्यसलाई सगौरव स्वीकार गर्न सक्ने प्रवृत्तिले आउँछ । यो सिकाउनैपर्छ ।

तनावले मानिसलाई सफलता दिन्छ भन्ने दृष्टिकोण पनि बाहिर आएका छन् । शैक्षिक जगत्ले त्यसलाई पद्धतिगत रूपमा स्विकार्न बाँकी छ । एक किसिमले परीक्षा यसै दृष्टिकोणको अभिव्यक्ति हो । हाम्रामा बढी भएको हो ।

सम्हाल्ने सीप
समय, वस्तु, स्थान व्यवस्थापन गर्न हाम्रो सिकाइ कमजोर छ । पाठ्यपुस्तक घोक्न सक्नेहरूले उच्च अंक ल्याउँछन् तर धेरैजसोमा संगठनात्मक वा अरू सीप निकै कमजोर रहन्छ । यसैकारण पनि उच्च अंक ल्याउनेहरू जीवनमा सफल हुन संघर्ष गर्छन् । व्यवस्थापनको शिक्षा सकेसम्म अभ्यासबाटै सिकाउनुपर्छ । पढेलेखेका मानिसभन्दा अनपढ भनिने गृहिणी धेरै संगठित छन् । पुरुषको उन्नति उनीहरूकै मूल्यमा हुने गर्छ ।

परम्परागत विषयवस्तु र रुचि
भाषा, गणित, विज्ञान, सामाजिक शास्त्र, इतिहास, भूगोल, संस्कृति विद्यालयमा सिकाइने मुख्य परम्परागत विषय हुन् । अलिकति हुनेखानेहरूले गणित, विज्ञान, अर्थकरी विद्या अर्थात् पैसा कमिने विषय, ती विषय सिक्न आवश्यक हुने दृष्टिले अंग्रेजी भाषा पढ्न पढाउन जोड दिन्छन् । रोजगारीको अर्को होड चलेको छ । आवश्यक छ । तर तुरुन्त पैसा नकमिने, समाज बुझ्ने विषय पनि त्यत्तिकै जान्नु आवश्यक छ । संसार जति पैसाले चलेको छ, सायद त्योभन्दा बढी नैतिक बल र विश्वासले चलेको छ । हामीले धर्म निरपेक्ष रूपमा त धर्मबारे पढाएकै छैनौं । कि त अन्ध अनुयायी बनाउन सिकाएका छौं या त वास्तै गरेका छैनौं । सायदै कुनै विद्यालयले आफ्ना विद्यार्थीलाई पशुपति वा स्वयम्भू वा मस्जिद वा चर्च लगेको छ ।

पढ्ने केटाकेटीको रुचि अर्को ज्यादै महत्त्वपूर्ण विषय हो । अहिले संगीत सिक्ने मानिस इन्जिनियर भइरहेछन् । इन्जिनियर हुनुपर्ने मानिस समाजशास्त्री । मूलत: पैसा र महत्त्वका कारणले यस्तो भएको छ । यथार्थमा कुनै विषय कम र अर्को महत्त्वपूर्ण भन्ने छैन । विषय यस्तै कुरा हो । समाजमा सबै किसिमका विषय, दृष्टिकोण चाहिन्छन् । प्रकृतिले मानिसमा यो विविधता दिएको छ । सबैका लागि शिक्षा धारणाका प्रवर्तक डेलर्स यसलाई ‘आफू आफू बन्ने सिकाइ’ भन्छन् । हामीले हाम्रा केटाकेटीलाई आफूलाई चिन्न सिकाउनुपर्छ र पैसाले रोकेन भने त्यसअनुसारको विषय रोज्न दिनुपर्छ । कति देशमा उच्च शिक्षामा पस्नुअघि आफूले सिक्ने विषयसँग सम्बन्धित काममा पस्ने अवसर दिइन्छ ।

आलोचनात्मक चिन्तन र सिर्जनशीलता
आलोचनात्मक चिन्तन र सिर्जनशीलता एक अर्काले परस्पर माग गर्ने विषय हुन् । आलोचनात्मक चिन्तनले सिर्जनशील बनाउँछ भने सिर्जनशील हुन आलोचानात्मक चिन्तन जरुरी छ । शिक्षावादी सर केन रविन्सन कलाको अध्यापनबाट यो कुरा हासिल हुने तर कला, नृत्य, संगीत, चित्रकलाजस्ता पाठ्यक्रमको प्राथमिकतामा पुछारमा पर्ने गरेको बताउँछन् । अभिव्यक्ति कला सिर्जनशीलताको एक भाग हो । सामान्यत: सिर्जनशीलता अवलोकनबाट प्राप्त हुन्छ । घोकेर ठीक उत्तर दियो भने उच्च अंक दिने परिपाटीलाई सुधार गर्नु दीर्घकालीन हितका दृष्टिले जरुरी छ । परीक्षा र पढाइको तरिका फेरेर सिर्जनशीलता प्रवद्र्धन गर्न सकिन्छ । शिक्षकले आफ्नो दिमाग चलाउन भने अलि मेहनत गर्नुपर्छ ।

उत्सुकता अनि एकाग्रता
हामी बोलीचालीमा ‘पढी सक्ने’ शब्दावली प्रयोग गर्छौं । पढ्ने भन्नुको सट्टा सिक्ने भन्नासाथ सिकेर कहिले सकिन्न भन्ने अभिव्यक्ति आइहाल्छ । विद्यार्थीमा पढ्ने उत्सुकता बनाइराख्नु महत्त्वपूर्ण छ । परम्परागत शिक्षाशास्त्रीहरूले त्यति महत्त्व नदिने गरेका विचारक ओशो भन्छन्, ‘त्यो शिक्षक महान् हो, जसले विद्यार्थीमा सिक्ने भोक जगाउँछ ।’

सिकाइ औपचारिक तरिकाबाट मात्र हुँदैन । अहिले सूचना र प्रविधिको विकासले ज्ञान मानिसको पहुँचमा छ । आफूलाई आवश्यक पर्ने मात्र ज्ञान कसरी प्राप्त गर्ने भनेर सिक्न जरुरी छ । यसले समय प्रशस्त लिन सक्छ । प्रविधिको उपलब्धताका कारण सूचनाको बाढी छ । कसरी ध्यान भंग हुनबाट आफूलाई जोगाउने भनेर सिक्न पनि त्यत्तिकै महत्त्वपूर्ण छ । शिक्षा मनोवैज्ञानिकहरू सहमत छन्, सिकाइ त्यतिबेला हुन्छ, जतिबेला सिकारु एकाग्र भएर सिक्नमा लाग्छ ।

भट्टराई शिक्षा नीति तथा अभ्यास केन्द्रसँग सम्बन्धित छन् ।

प्रकाशित : श्रावण १३, २०७५ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?