कस्तो पुरुष उत्पादन गर्दै छौं ?

हाडनाता, कलिला बच्ची, वृद्ध आमा र पितृ हुन लागेका हजुरआमा पनि नभनी कामुक तृष्णाको पछि लाग्ने पुरुषको उत्पादन कहाँ भएको छ ?
सरिता तिवारी

काठमाडौँ — भर्खरै ‘अन’ गरेको मोबाइलको मेसेज बक्समा कसैले पठाएको कञ्चनपुरको दुर्दान्त खबरको भिडियो क्लिप देखियो । खोलेर हेर्दाहेर्दै चेतनाशून्य, रनन्नन भएँ । ‘नोटिफिकेसन बार’मा प्रकट थियो, निर्वाचन आयुक्त इला शर्माले म लगायत केही महिला लेखकलाई ट्याग गरेको एउटा ट्विट ।

पुरै पढ्नसमेत भ्याइनँ । छोरी थिई सँगै, गणितको अभ्यास गरिरहेकी । हामी आमाछोरी दुबैले मुस्किलले भिडियोका शब्द सुन्यौं । दृश्य हेर्ने आँट आएन ।

कञ्चनपुरको एउटा गाउँमा घटेको नृशंष घटना । तेह्र वर्षीया किशोरीको अर्धनग्न शव भेटिएको थियो, हिलाम्य उखुबारीभित्र । घटनाको बयान सुन्दासुन्दै मेरो चेतनामा सयौं ओरिगाँठेका हजारौं खुट्टाहरू चल्मलाइरहेका थिए । त्यही बेला एक पत्रकार मित्र र लेखक साथी सावित्री गौतमबीच ट्विटरमा चलिरहेको उत्तर–प्रतिउत्तरले मलाई झन् गम्भीर बनाइरहेको थियो । रणभूमि बनिसकेको ट्विटरका भित्तामा त्यसपछि के–के टिप्पणी र प्रतिटिप्पणी लेखिए होलान्, यसको अनुमान म लगाउन सक्थेंँ ।

Yamaha

एउटा जघन्य हत्या भैसकेको थियो । र त्यसपछि पनि स्थितिको साक्षी बस्न पुगेको भीडका आँखाले कलिलो तेह्र वर्षीया त्यो अचल नग्न शरीरको फर्काई–फर्काई अघाउन्जेल सिकार गरिसकेको थियो । भिडियोमार्फत मजस्ता लाखौं उपभोक्ताका आँखामा ‘हट ब्रेकिङ न्युज’ भैसकेको त्यो प्रतिक्रियाहीन शरीरले कति मानिसलाई कस्ता–कस्ता प्रतिक्रिया दिने बनाइरहेको हुँदो हो ? मैले कल्पना गरेंँ । यो कल्पना एकाएक भयावह भयो । आफ्नै कल्पनाको आतंकले लखेटिएर थुच्च खाटमा बसेंँ र भर्खरै कापीको अर्को अभ्यासमा कलम दौडाइरहेकी छोरीतिर फर्किएँ ।
***

महिलामाथि कुटपिट, ज्यादती, जबर्जस्ती करणी र ज्यानै जानेगरी जब–जब कुनै जघन्य घटना हुन्छ, त्यसपछि एउटा वर्ग सामाजिक सञ्जालमा यस्तरी सल्बलाउन थाल्छ, मानौं महिलाका पक्षमा आवाज उठाउनेलाई तोकेरै गाली गर्ने अवसर जुरेको हो यो । उनीहरूको एकोहोरो खेदोखनाइ हुन्छ : अधिकारकर्मी भनाउनेहरू कहाँ गए ? यस्तो लाग्छ, जोसुकैलाई पनि डलर र युरो खाने करार गरिदिने र दुर्वाच्य वमन गर्ने स्वर्णिम अवसर ती कुनै हालतमा ‘मिस’ गर्न चाहन्नन् ।

घटनाको संवेदनशीलता र त्यसप्रतिको विवेकसम्मत चासोभन्दा पनि तिनको सरोकार हुन्छ, सामाजिक न्याय र लैङ्गिक समताको पक्षमा लेख्ने–बोल्नेमाथि जाइलाग्नु । एकातिर पीडित पक्षको परिवारजनमा घटनाको अभिघातले थिचेर शोकको आँसुसमेत बग्न नसकेको अवस्था हुन्छ, अर्कोतिर पीडक उम्किने र फरार हुन सक्ने प्रचुर सम्भावना रहन्छ ।

त्यहीँ राजनीतिक दल र समाजका गन्यमान्यको अगुवाइमा घटनालाई आपसी समझदारीमा मिलाउने पहल सुरु भैसक्छ । ज्यानसमेत गइसकेका मुद्दामा दोषीको पहिचान गर्ने र कारबाही गर्नेभन्दा आरोपीलाई लुकाउने, भगाउनेदेखि प्रहरीले समातिहाले छुटाउने कुरामा दलहरूको स्थानीय र जिल्ला नेतृत्व नै भिडेर लाग्छ । यस्तो देखिँदै आएको छ । यस्ता घटनामा स्थानीय र जिल्ला तहका राजनीतिकर्मी, अधिकारकर्मी महिलाहरू जागरुक त हुन्छन्, तर तिनलाई स्थानीय र जिल्ला तहको आफ्नै पार्टीले पटक–पटक निरुत्साहित गर्ने, सावधान र सतर्क गराउने काम सामान्य हो ।

गतवर्ष चितवनमा घटेको दुई नाबालिकाको हत्या प्रकरणमा सबै खाले पार्टी पंक्ति एकातिर र सबै पार्टीका महिला नेतृत्व अर्कोतिर उभिएको देखेपछि स्थिति कति भयावह छ भन्ने अनुभव गरिएको हो । सबै विचारका पार्टी यस्तो कुरामा कसरी एक ठाउँ आए ? भन्नै परेन । तिनका झुटनीतिका अगाडि पार्टी सम्बद्ध महिलाहरूको संयुक्त संघर्ष समिति कसरी ‘फेल’ हुनेरहेछ ! आरोपी छुटाउन एकजुट हुने राजनीतिक दलहरूले कसरी स्थानीय तहलाई समेत अकर्मक ‘डमी’ बनाइदिन सक्दारहेछन् ! यस्तोमा ‘रात रहे अग्राख पलाए’ भन्ने कुरो चरितार्थ भई अनुसन्धान गर्ने निकाय ‘प्रमाणको पर्याप्त आधार नभएको’ भन्दै कसरी टक्टकिन्छ र न्याय अधुरै रहन्छ ? प्रश्न गम्भीर छ, तर उत्तर अलभ्य छैन । राजनीतिमा पितृसत्तात्मक वर्चस्वको योभन्दा गतिलो उदारहण अरु के होला । यही वर्चस्वले राजनीतिक क्षेत्रलाई महिलामाथि हुने यति डरलाग्दा हिंसामाथिको संवेदनहीनतालाई प्रश्रय दिइरहेको छ ।
***

बलात्कार सरसर्ती हेर्दा स्त्री शरीरमाथिको जैविक अपराधका रूपमा देखिन्छ । तर यो शरीरमाथिको अपराध मात्रै होइन । बारम्बार मानसिक रूपले बलात्कृत हुने क्रमको थालनी हो । यसरी पीडित सार्वजनिक रूपले आजीवन ‘पीडित’ भैरहनुपर्ने र पीडकलाई कानुनले तोकेको भौतिक सजायबाट समेत सहजै उम्काइदिने अवस्थामाथि सार्वजनिक भत्र्सना र न्यायको पहलकदमी लिने कुरामा राज्य र समाजको सरोकार शून्यता डरलाग्दो देखिन्छ ।

यस्तो किन भैरहेको होला ? बलात्कारलाई सामान्य मान्ने प्रवृत्तिका कारण होइन ? किन सामान्य मानिन्छ ? आम रूपमा अझै पनि स्त्री शरीर केवल भोग्नकै लागि हो भन्ने मनोविज्ञान मेटिएको छैन, बरु झन् जब्बर छ । यौनजन्य हिंसा लगायत महिलाका मुद्दामा बारम्बार लेख्ने स्तम्भकार रामेश्वरी पन्तको भनाइ छ, ‘पैसाले न्याय किन्न सकिन्छ भन्ने मनोविज्ञान सबैभन्दा हावी कतै छ भने जबर्जस्ती करणीको मुद्दामा छ । पैसाको खेललाई निस्तेज पार्न सार्वजनिक सरोकार र खबरदारीमा उल्लेख्य वृद्धि हुनैपर्छ ।’

आफूलाई नारीवादी मान्ने समीक्षक लक्ष्मण श्रेष्ठ विश्वव्यापीकरण र उपभोक्ता संस्कृतिले महिलालाई पुँजीवादको पहिलो माल बनाएको छ भन्छन् । ‘यसले महिलाको भोग्याकरणलाई प्राथमिक सूचीमा राख्छ । महिलाको भोगमै आफ्नो पुरुषार्थ देख्ने मनोवृत्ति भएको पुरुषलाई पुँजीवादले झन् खतरनाक पुरुषवादी बनाइदिएको छ,’ उनी भन्छन् ।

दिनानुदिन सार्वजनिक भैरहेका बलात्कारका घटना हेरौं । यी कुनै न कुनै रूपले समाजको लैङ्गिक धारणाका अभिव्यक्ति नै हुन् । समाजले पुरुष बच्चालाई महिलाप्रति अनुदार र भोगवादी विचारले हुर्काइरहेका उदाहरण हुन् । जबकि यही समाजले महिलालाई अनगिन्ती खाले आचारसंहिता लगाउँछ । एउटी महिलाको जीवनको जग नै हल्लाइदिने यस्ता अपराधसँग समाजको आर्थिक प्रणाली र पितृसत्ता दुबैका जरा एकैसाथ जोडिन्छन् । महिलाको शरीरमाथि हैकम र जबर्जस्ती गर्ने प्रेरणा केवल शरीरको क्षणिक क्षुधाले मात्रै दिइरहेका छैनन्, बरु महिलाहरू पुरुष आश्रित र कमजोर नै हुन् भन्ने मानसिकताले एउटा पुरुषलाई क्रमश: यौनजन्य हिंसातर्फ बढ्न प्रेरित गरिरहेको छ ।

लामो समयदेखि भारतको सर्वोच्च अदालतमा बहस गरेका अधिवक्ता तथा लेखक अरविन्द जैन महिलामाथि हुने सबै प्रकारका हिंसा र बलात्कारपछिको हत्या लगायत घटनाहरूको कडी खोज्न पितृसत्ताको चरित्र उधिन्नुपर्छ भन्छन् । कानुनको परिभाषादेखि लिएर न्यायको भाषा निरुपण गरुन्जेल पाइलैपिच्छे पितृसत्ताको जगजगी छ ।

अपराधको खबर बाहिर आइसकेपछि पुरुषमा उत्तेजना उत्पादन हुने लुगाका लम्बाइबारे सार्वजनिक स्तरमा चल्ने बहसको भाषा होस् या मृत पीडितलाई नै दोषी देखाएर अपराधी चोख्याउने प्रवृत्तिमा होस्, यता पनि आलोचनाको तारो महिला नै बन्छन् । त्यति मात्रै होइन, अपराधपछिका घटनाक्रममा सत्यनिरुपणको लिगेसी कसले लिने हो भन्ने विषयलाई पनि करिब–करिब महिला अधिकारवादीको मात्रै सरोकारभित्र राखेर उल्टै उनीहरूलाई डलर र युरो खान पाए मात्रै बोल्ने आरोप लगाइन्छ । यसो हुनुमा सार्वजनिक वृत्तमा बोलवाला र स्वीकृति रहेको मर्दवादी भाषिक चमत्कारकै भूमिका छ । कारण, सार्वजनिक वृत्तमा अझै पनि महिला वर्ग सिमान्तीकृत नै हो । त्यहाँ त्यस्तै विवेकहीन पुरुष अट्टाहासकै वर्चस्व छ । त्यहाँ ज जसले ‘धृष्ट’ पहल गरेर बोल्छन्, ती अधिकारकर्मी होइनन्, ‘धिक्कारकर्मी’ भनिन्छन् ।

यौनजन्य हिंसाबारे बारम्बार लेखिरहने लेखक राजेन्द्र महर्जन बलात्कारका घटनासँग व्यक्तिको, समाजको मर्दवादी र स्त्रीद्वेषी मनोविज्ञानको भूमिका छ भन्छन् । यही मनोविज्ञान हो, जसले आपराधिक मनोवृत्तिको बिजारोपण गराउँछ । त्यसलाई मलजल गर्छ । यसैको संरक्षणमा फल्छन्, फुल्छन्, ‘महिलाको इज्जत सियोको टुप्पोमा हुन्छ’ भन्नेदेखि महिलाको निजत्वलाई ‘सेतो कपडा’सँग दाँज्नेसम्मका संकथन । त्यसैमा संरक्षित हुन्छ, अनेक कूटनीति गरेर पीडकलाई उन्मुक्ति दिने खेल । यो पुरुषले मात्रै गर्दैन, उस्तै परे हामी महिलाले पनि गर्छौं । समस्यालाई जता पल्टाएर हेरे पनि महिला नै दोषी बन्ने पद्धतिगत मनोविज्ञानलाई समूल नउखेल्ने हो भने तथाकथित मर्दवादको भट्टीमा धेरै बहिनी र छोरीहरूको आहुति हुनेछ ।
***

हामीकहाँ बलात्कार र हत्याका हरेक घटनापछि फाँसीको सजाय गर्नुपर्ने माग उठ्छ र बिस्तारै सेलाउँछ । मृत्युदण्डको कानुनको निर्माण गरेर मात्रै अपराध रोकिने रहेनछ भन्ने उदाहरण भारतको मुजफ्फरपुरस्थित बालिका गृहको हालै सार्वजनिक सनसनीखेज काण्डले दिएको छ । हिंसाको मनसायलाई छेक्ने चिज कानुन मात्रै पनि रहेनछ, जब कानुन पैसा, पद र पावरमा विनिमय हुुन्छ ।

हामीले अब सोच्नैपर्नेछ– कानुनले निषेध नै गरेका हाडनातासमेत नभनी, कलिला बच्ची, वृद्ध आमा र पितृ हुन लागेका हजुरआमा पनि नभनी कामुक तृष्णाको पछि लाग्ने पुरुषको उत्पादन कहाँ भएको छ ? के यी पुरुष हाम्रै बीचबाट, हाम्रै घर जस्केलाबाट निस्केका हाम्रा भाइ, छोरा, बाउ, दाजुहरू नै होइनन् ? अपराधका घटना देख्दा च्व:च्व: पनि गर्ने तर अपराधीलाई आफ्नै माझमा राखेर संरक्षण गर्ने हामी नै होइनौं ? हामीले कस्तो पुरुष उत्पादन गरेका छौं ? हाम्रो पद्धति र मनोविज्ञानले बनाएको पुरुषको चरित्र के हो ? यसको दोषी एक्लो पुरुष मात्रै हो कि सिंगो पद्धतिगत मनोविज्ञान ? यसलाई कहाँ–कहाँबाट सच्याउने? यसबारे गम्भीर भएर सोच्न ढिला भयो कि?

प्रकाशित : श्रावण १४, २०७५ ०७:३३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

रति : कविता थेरापीकी दूत

पात्र
रतिलाई लाग्छ– महिलाका दीन, हीन कुरा लेखेर मात्रै नारीवादी भइँदैन । यसो गर्नु ‘छद्म नारीवाद’ हो । महिलालाई सामाजिक जागरणका हिस्सा बनाउन हाम्रा रचना कति सहायक भएका छन् ? उनीहरूभित्रको शौर्य र शक्तिलाई सार्वजनिक गर्न हामीले कति मिहिनेत गरेका छौं ?
सरिता तिवारी

काठमाडौँ — महिलालाई एक बिचरी र निरुपायका रूपमा मात्रै चित्रित गर्ने कुराको म जहिल्यै विरोधी हुँ । महिला दया र कृपाका पात्र होइनन् । यसको मतलब उनीहरू महान् र सौर्यवान् मात्रै छन् भन्ने पनि होइन तर महिलाका विषयलाई लिएर बोल्दा वा लेख्दा दैनन्दिन उनीहरू कति सामान्य तरिकाले कति असामान्य जिन्दगी बाँचिरहेका छन् भन्ने पनि बुझ्नु जरुरी छ ।

प्रगतिशील लेखक संघ, राजस्थानद्वारा जयपुरमा आयोजित समानान्तर साहित्य उत्सवको पहिलो दिन— जनवरी २७ ,२०१८ । पछिल्ला केही वर्षयता खुब हल्लीखल्लीका साथ जयपुरकै डिग्गी प्यालेसमा आयोजना हुने जयपुर लिटरेचर फेस्टिभलबारे त हामी भलिभाँती जानकार नै छौं । तर त्यो फेस्टिभलबारे भारतीय लेखक र बौद्धिक समुदायबीचका कैयौंं मतान्तर हामीलाई थाहा छैन । भारतीय माक्र्सवादी लेखकहरू यसले ‘मार्केट ओरिएन्डेड’ (अ) लेखकहरूलाई नै धेरै स्पेस दिएको, यसका मञ्चमा साहित्य वा लेखनबारे गम्भीर छलफल नहुने बरु ‘सेलिब्रेटी’ लेखकको नाम बेचेर विचारको दुनियालाई कर्पोरेटहरूले हस्तक्षेप गरिरहेको जस्ता आरोपसहित यहाँ असहभागी हुँदै आएका छन् । यस पटक जेएलएफकै समानान्तरमा त्यो पनि मिति जुधाएरै आयोजना गरियो— पीएलएफ अर्थात् समानान्तर साहित्य उत्सव । अभिजात ‘लिट्–फेस्ट कल्चर’ विरुद्ध जनस्तरबाट लेखकहरू स्वयंले खर्च हालेर थालेको भनिएको थियो । प्रलेस, राजस्थानका ईशमधु तलवारको निम्तो मान्न नेपालबाट साइकलयात्री तथा फोटो पत्रकार उषा तितिक्षुको नेतृत्वमा लेखकहरू अभय श्रेष्ठ, युग पाठक, पत्रकार रोहेज खतिवडा र जिज्ञासु पाठक मित्र कृष्ण यात्रीसहित हामी छ जना थियौं । लोकबाजा र नृत्यसहित पहिलो दिनको रौनक विशेष थियो । मुक्तिबोध मञ्चमा उद्घाटन सत्र सकिएपछि हामी ‘बिज्जिकी बैठक’ को पण्डालभित्र छिरेका थियौंं— भारतीय स्त्रीलेखन र स्त्रीविमर्शमाथिको बहस सुन्न ।
***

प्यानलमा बसेकामध्ये एक थिइन् केरलाबाट आमन्त्रित कवि रति सक्सेना । माथिको अभिव्यक्ति यिनैको थियो । यहाँ उपन्यासकार मैत्रेयी पुष्पा, लेखक/राजनीतिकर्मी कात्यायनी र एक जना मुस्लिम महिला अधिकारकर्मी (नाम बिर्सें) पनि उनीसँगै बहसमा थिए ।


आकासे नीलो सारीमा च्याट्ट परेर बसेकी यी कवि यति वाचाल होलिन् भन्ने मलाई लागेको थिएन । औंलाहरूमा चाँदी र ढुंगाका कलात्मक औंठी, औंलाभन्दा पनि लामा र ठूला † मुखमण्डलमा विशेष सतर्कता र व्यक्तित्वमा वास्तविक उमेरलाई छेकिरहेको तेज † कतिपय लेखक देख्छु ,लेखनको भन्दा लुगा र गहनाको प्रदर्शनी गर्न बढ्ता रुचि राख्ने लेखक । यिनी पनि त्यस्तै पो हुन् कि क्या हो ? तर उनले बोलिरहेका कुराले मेरो प्रारम्भिक अनुमान र अनुभवजन्य तर्जुमा फेल ख्वाइरहेका थिए ।


आक्रामक शैलीमा यिनी भन्दै थिइन्, महिलाको आत्मशक्ति र दैनन्दिन जिन्दगीका रुटिनभित्र उसको सहभागिताको प्राकृत रूपलाई न मिडियाले महत्त्व दिएर छाप्छ न लेखकले नै । केरलाको एउटा घटनालाई जोड्दै उनले भनिन्, एउटी माझी महिलामाथि बीच बजारबाटै घिसार्दै लगेर सामूहिक बलात्कार भयो । त्यसबारे चौतर्फी हल्ला मच्चिएपछि भोलिपल्ट राज्यका मुख्यदेखि कनिष्ठ सबै प्रकारका अखबारका संवाददाता उनको घरमा पुगे । ‘बिचरी’ ती बलात्कृत ‘दु:खी’ महिलालाई भेटेर कुरा गर्न र समाचार बनाउन । तर, कसैले उनलाई घरमा भेट्न सकेनन् । उनी त सबेरै उठेर माछाबजार पुगिसकेकी थिइन् । माछा बेच्न व्यस्त थिइन् ।


कसैले उनलाई सोध्यो, यस्तो बेलामा पनि तिमी माछा बेच्न आएको ? तिनले भनिन्, ‘मैले मेरो काम गर्न नआए भोलिदेखि मेरा बच्चा भोकभोकै मर्छन् । मेरा लागि बलात्कारभन्दा असहनीय पीडा मेरा बच्चाको भोक हो । के म विलाप गरेर चुपचाप बसूँ र मेरा बच्चाहरू भोकले छटपटिएको हेरिरहूँ ?’
पत्रिकाहरूमध्ये कुनैले लेखेनन् ,‘हेर कति बहादुर महिला ? कति ठूलो साहस † कत्रो इच्छाशक्ति !’
बरु लेखे, ‘बलात्कार भएको भोलिपल्टै बजारमा मुख देखाउन सक्ने हेर कस्ती निर्लज्ज आइमाई !’
केरलाकी स्थायी निवासी भएकाले ऊबेला दिल्लीका कुनै सम्पादकले रतिलाई गरिब माझी महिलामाथि एउटा कविता लेखेर पठाउन पत्र लेखेको स्मरण गर्दै यिनले अगाडि भनिन्— म मध्यमवर्गीय महिला हुँ । म निम्नवर्गका महिलाको विषयमा न्याय गरेर त्यस्तो गतिलो कविता लेख्न सक्दिनँ, जति अनुभव र आधिकारिकतासाथ मध्यमवर्गीय महिलाको विद्रोह र संवेदनालाई उतार्न सक्छु । म स्वस्फूर्त रूपले जे आउँछ, त्यही नै लेख्न सक्छु ।


माछा बेच्ने उक्त महिलाको बीस–बाइस वर्ष पुरानो प्रसंगलाई ताजा गर्दै उनले भनिन्, ‘केरलाका माझी महिलाजत्तिको आत्मविश्वासी महिलाहरू मैले आजसम्म कहीं देखेकी छैन । उच्च या मध्यमवर्गीय महिलाभन्दा यी कति हो कति निडर र दुस्साहसी हुन्छन् । न लोग्नेको कमाइ खाएर पराधीन बाँच्छन् न जीवनका कुनै दुर्घटनाले गलित र थकित हुन्छन् । कम्मरमुनि धोतीजस्तै देखिने ‘मुन्ड’ बेर्ने र माथि ब्लाउज लगाउने केरल ‘मछुवारन’ हरू हामीझैं वक्षस्थलका उभार छेक्न कुनै पछ्यौरा या दुपट्टा ओढ्दैनन् । गलामा पातलो गम्छा हुन्छ, बस् । टाउकामाथि माछाको टोकरी लिए, हिँडे । ऊ बेला म तिनीहरूको आत्मविश्वासले भरिएको हिँडाइसँग मोहितै हुन्थें । ठान्थें, अरे मसित पनि होओस् यस्तो शक्ति † आर्थिक विपन्नताले पनि नलतार्ने ,नझुकाउने तिनको त्यो अद्भुत आत्मविश्वास † म बडो सम्मान र कौतूहलले यिनलाई हेर्थेँ । रातिको नौ/नौ दस/दस बजेतिर बल्ल बजारबाट घर फर्किरहेका हुन्थे । ऊ बेला त्यो शक्ति र निडरता मध्यमवर्गका महिलाका लागि त दुर्लभ नै थियो ।’
***

रतिलाई लाग्छ— महिलाका दीन, हीन कुरा लेखेर मात्रै नारीवादी भइँदैन । यसो गर्नु ‘छद्म नारीवाद’ हो । ‘महिलालाई सामाजिक जागरणका हिस्सा बनाउन हाम्रा रचना कति सहायक भएका छन् ? उनीहरूभित्रको शौर्य र शक्तिलाई सार्वजनिक गर्न हामीले कति मिहिनेत गरेका छौं ?’ उनले भनिन् ।


महिला आत्मिक रूपले कमजोर छैनन्, बरु परम्परादेखि विभिन्न मिथक कथेर कमजोर बनाइएका छन् भन्न उनले अरू केही दृष्टान्त पनि थपिन् । ‘यसो हुनुमा संस्थापनावादी मिडिया र लेखकवर्गको पनि उत्तिकै दोष छ,’ रतिको कथन थियो ।
***

जन्मले राजस्थानी रति हिन्दी र अंग्रेजी दुवै भाषामा लेख्छिन् । केरलाको त्रिवन्द्रुम निवासी यिनी कविता सुनाउन संसार डुल्ने थोरै भारतीय कविमध्ये पर्छिन् । यिनी कहाँ–कहाँ पुगिनन् कविता सुनाउन ? एक छिन औंला भाँचेरै गन्नुपर्छ । नियात्रा, अनुवाद र सम्पादनमा पनि ईष्र्यालाग्दो गरी यिनको हात चलिरहेको छ । हिन्दीकी निवृत्त प्राध्यापक, वैदिक दर्शनमाथि अनुसन्धान गरेकी यिनीसँग प्राज्ञिक डाक्टरको उपाधि पनि छ । आफ्नै पहल र निर्देशनमा दसौं वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको कविता उत्सव गर्ने उत्साहीकर्मी पनि हुन्
यिनी † त्यसो त संसारका दर्जनभन्दा बढी भाषामा यिनका कविताहरू अनुवाद भइसकेका छन् । दुई महिनाअघि मात्रै टर्किस भाषामा अनूदित कवितासहित इस्तानबुल पुगेर फर्केकी यी कवि हालसालै चिनियाँ भाषामा प्रकाशित संसारभरका कविहरूका कविताको संकलनमा परेकी सय समकालीन कविमध्ये एक मात्र भारतीय कवि हुन् ।


विद्यार्थीकालमा माक्र्सवादी रुझानबाट प्रभावित हुन्— रति । पार्टीको क्रियाशील सदस्यसमेत रहिन् तर अहिले आफूलाई एक स्वतन्त्र लेखक भन्न बढ्ता रुचाउँछिन् । पछिल्ला केही वर्षयतादेखि वल्र्ड पोइट्री मुभमेन्टकी संस्थापक सदस्य र ‘पोइट्री थेरापी’ की अभियन्ताका रूपमा कवितालक्षित विश्व संगठनकी सहकर्मीसमेत रहँदै आएकी छन् । यही अभियानको सहजीकरणले पनि उनी अनेक विदेशी भाषामा अनूदित भएकी हुन् । भारतमै भने उनको उतिसारो प्रचार छैन रे, यिनले आफैं भनेकी । भन्न त भन्छिन्, ‘मलाई यस्तो कुराले केही फरक पार्दैन’ तर त्यस्तो कुन कवि होला जसलाई आफ्नो देशभित्रको ख्याति र प्रशंसाले नलोभ्याओस् ?’


सप्रसंग, मैले उनको नाम यसअघि नसुनेको कुरा गर्दा भृकुटी खुम्च्याउँदै उनले भनिन्, ‘खासमा म कुनै त्यस्तो विशेष गुट वा समूहमा छैन नि त जसले मेरो वा मेरा कविताहरूको प्रचार गरोस् ।’


समानान्तर साहित्य उत्सवको एउटा सत्रमा नेपाली कविताहरूको वाचन र छलफल पनि राखिएको थियो । सत्रभरि यिनी हाम्रा कुरा ध्यानपूर्वक सुनिरहेकी मात्रै थिइनन्, २०५२–२०६२ युद्धोपरान्त नेपाली कविताको दिशाबारे अन्तरक्रिया गर्नसमेत उत्साहित भइन् ।


‘नेपाली कविताको ध्वनि यति ‘स्टनिङ’ र जबर्जस्त होला भन्ने मलाई थिएन । तर अनुवादमा प्रशस्त काम गर्नुपर्नेछ जस्तो लाग्यो है †’ हामीले वाचन गरेका कवितामाथि तिनले उपयोगी टिप्पणीसमेत गरिन् । एक जिज्ञासुले मलाई बारम्बार ‘कमरेड’ सम्बोधन गर्दै नेपालमा माओवादी आन्दोलनको बैठानबारे केही गम्भीर छलफल गर्दै थिएँ । म यो सम्बोधनको ओज र उत्तरको प्राधिकार बोक्न आफैंमा कति समर्थ थिएँ ? त्यो अलग्गै प्रश्न थियो तर ती कवि भने जिज्ञासु मित्रसँगको त्यो वार्ता रुचिपूर्वक सुन्दै थिइन् ।


‘पहिले म पनि कमरेड थिएँ’ उनले प्रसंगवश मसँग भनिन् ।


उनको मतलब कम्युनिस्ट कार्यकर्ता हो भन्ने बुझ्न गाह्रो थिएन । अहिले हुनुहुन्न ? मैले सोधें । ‘आफूलाई साम्यवादी भनेर सत्तारोहण गर्नेहरूले श्रमजीवी जनतामाथि कहिल्यै न्याय गरेनन् । केरलामा यी सब चीज मैले नाङ्गा आँखाले देखेकी छु ।’


उनलाई अहिले पनि लाग्छ— माक्र्सवाद एउटा समृद्ध विचार हो, यो जरुरी छ । तर, केरलाको कम्युनिस्ट पार्टीले माक्र्सवादका दार्शनिकतालाई ‘भोटको राजनीतिका लागि दुरुपयोग मात्रै’ गरिरहेको दृश्यले उनलाई दु:खी बनाएको छ । सर्वहाराको नाममा मध्यमवर्गको त उच्चवर्गमा उत्थान भयो तर पद्धतिबाट वास्तविक गरिब वर्ग लाभान्वित हुन पाएन । यसले उनलाई माक्र्सवादको छद्म राजनीति गर्नेप्रति चिढ्याउँछ । तर ‘कमरेड’ शब्दप्रतिको प्रेम अझै उस्तै हुँदो हो र त भनेकी हुँदी हुन्, ‘म पनि कुनै बेला कमरेड थिएँ’ भनेर । हामीले यहाँ पनि देखेका छौं, पार्टी राजनीतिसँग वा सरकारमा गएपछि कम्युनिस्टहरूले देखाउने रवैयासँग जति झोंक चले पनि लेखक र बौद्धिकहरू ‘कमरेड’ शब्दको मोह त्याग्न सक्दैनन् । यो पनि आफैंमा कम रोचक कुरा होइन ।


रति दक्षिण भारतमा बसेर वर्षौंदेखि कविताको अन्तर्राष्ट्रिय ‘इभेन्ट’ मात्रै गरिरहेकी छैनन्, संसारभर सञ्जाल फैलिएको पोइट्री थेरापी अभियानको पनि प्रवक्ताजस्तै बनेकी छन् । भौतिक विज्ञान र अध्यात्मलाई नजोडी मानिस सुखी हुनै सक्तैन रहेछ, उनको अनुभव छ । क्वान्टम भौतिकी र सापेक्षतावादको सिद्धान्त निर्देशित भौतिकविज्ञान र पूर्वीय वैदिक दर्शनलाई मिलाएर बोधको क्षितिजमा उभिँदा बल्ल ब्रह्माण्डको लीला बुझिन्छ भन्ने यिनी दलाई लामाको कथ्य उद्धृत गर्दै अगाडि तर्क गर्छिन्— केही भिन्नताका बाबजुद बुद्ध दर्शन र क्वान्टम भौतिकीले कहींनेर हात मिलाएका छन् ।


पोइट्री थेरापीबारे एउटा लामो लेखमा उनको सार कथन छ, ‘अध्यात्मलाई धार्मिक रुढीबाट झिकेर विज्ञानसम्मत स्थिर चित्तमा पुर्‍याउन सक्दा त्यसबाट एउटा रोगी मानिसको अवचेतन तन्त्रीले राहत महसुस गर्न सुरु गर्छ ।’ निराशा र विचलनको किनारमा पुगेका मानिसलाई धार्मिक अन्धता र नाम नामका ईश्वरको शरणमा छोड्दिने कि अध्यात्मतर्फ ल्याउने भन्ने नै मूल कुरा हो, यिनी भन्छिन् ।


हुन त औषधि विज्ञानमा एउटा विभाग नै छ, साइकोथेरापी । पोइट्री थेरापी र साइकोथेरापी अलिअलि त मिल्छन् पनि । तर पोइट्री थेरापी साइकोथेरापीजस्तो अध्ययनको छुट्टै विधा होइन ।


पोइट्री थेरापी मेडिकल प्राज्ञहरू र कविहरूको अगुवाइमा प्रयोगमा आइरहेको बिरामीको मानसिक उपचारको एउटा पूरक विधि मात्रै हो । यद्यपि, यो उस्तो नयाँ कुरा भने होइन । यसलाई चार हजार वर्षअघि इजिप्टवासीद्वारा बिरामीको थप उपचारका रूपमा प्रयोगमा ल्याइएको पाइन्छ भने मध्यकालमा ग्रीक डाक्टरहरूले समेत प्रयोग गर्थे भन्ने तथ्य भेटिन्छ । अठारौं शताब्दीदेखि अमेरिकाको पेन्सिल्भेनिया हस्पिटलबाट फेरि प्रयोगमा आएको यो विधिलाई डा. बेन्जामिन रसले पुनर्प्रचलित गरेको मानिन्छ जुन पछिल्ला केही दशकयता लागूपदार्थका दुव्र्यसनी र विभिन्न किसिमका अभिघात संक्रमितलाई जीवनको लयतर्फ तान्नका लागि प्रचलित छ ।
***

रति भन्छिन्, ‘विज्ञान र कविता फरक कुरा हुन् । कविता अवचेतनका पत्रहरूभित्र पुगेर काम गर्ने कला हो भने विज्ञानसँग सुस्पष्ट परिभाषा र निश्चित तथ्य हुन्छन् । विज्ञानसँग तर्क र तथ्यले तय गरेको सीमित शब्दले बाँधिएको भाषा हुन्छ तर, कवितामा शब्दको शक्ति अथाह र अनन्त हुन्छ । कवितासँग संवेग हुन्छ । यसमा थोरै शब्दले पनि बोक्न सक्ने असीमित अर्थ हुन्छन् । जोड–घटाउमा विज्ञानको पल्ला कम होला र, आवेगहरूको पल्ला भारी । तर, विज्ञानका क्षेत्रमा पसेर कविताले गरेको एउटा मानवीय हितको कर्म हो नै यो ।’
एउटा शब्दकर्मी, कविका लागि यो पनि रमाइलो र गौरवयोग्य कुरा हो । जता फर्कौँ, अन्तत: दुनियाँलाई कविता नै चाहिने रहेछ † कविताको सामथ्र्य कहाँ–कहाँ र कतिसम्म फैलिएको छ ?


तर्क आउँछ— आखिर हरेकजसो असल कवि थेरापिस्ट नै हो । कविका शब्दको शक्ति नै हो त्यो चीज जसले ब्यक्तिका मात्र होइन, समाज र मानवजातिले भोगिरहेको चेतनाको अभिघात निको पार्छ ।
तर, रतिहरू घोषित थेरापिस्ट कवि हुन् । पश्चिमबाट उदाएको थेरापी कविताको मर्मलाई अथर्ववेदका कतिपय सुक्त र सार प्रयोग गरेर आफूले पूर्वीय दर्शनको सुगन्धले ‘गार्निस’ गरेको यिनको दाबी छ ।
***

समुद्रको सपनामा माछाहरू हुन्नन्/सिपी, घोंघी, जलजीव हुन्नन्
डुङ्गाहरू र जहाज हुन्नन् /जहाजका मस्तुल हुन्नन्
लहरहरू उठ्ने र बेस्सरी छालिने केही पनि हुन्नन्
नदीहरू हुन्नन् र हुन्नन् तिनका कुनै चक्चक

समुद्र सपना देख्छ
र उसको सपनामा हुन्छन्
धर्ती र त्यसमाथि चढेका पहाडहरू/ त्यहाँमाथि उभिएका रुखहरू
र ती एक एक कुराहरू
जसलाई नदीहरूले समुद्रसम्म पुग्दा /छोडेर आइसकेका छन्...
–‘सपने देखता समुद्र’ बाट

मूलत: कवि नै हुन्— रति सक्सेना । कविका रूपमा चिनाउन उनका चार कविताकृति पर्याप्त छन् । माया महाठगिनी, अजन्मी कविता की कोख से जन्मी कविता, सपने देखता समुद्र र एक खिड्की आठ सलाखें । उनका संस्मरण पनि छन्, ‘चिटीं की पर’ (हिन्दी) र अंग्रेजीमा लिखित ‘एभ्रिथिङ् इज पास्ट टेन्स’ लगायत । कविता र गद्य गरी मलयालम भाषाबाट हिन्दीमा गरिएका अनुवाद पनि छन्, १२ वटा । यिनै अनुवादका लागि रतिले भारतको केन्द्रीय अकादमी पुरस्कारसमेत पाएकी छन् ।


साम्यवादी विचारकी कार्यकर्तादेखि अथर्ववेदकी प्राज्ञसम्म रतिको यात्रा रोचक छ । ‘अ सिड अफ माइन्ड : ए फ्रेस अप्रोच टु अथर्ववेदिक स्टडी’ रतिले गरेको महत्त्वपूर्ण अनुसन्धान हो जसले उनलाई देशको एक उच्च सम्मानित अध्येतावृत्तिसमेत दिलायो । वेद अध्ययनको प्रभाव उनको बोलीपिच्छे भेटिन्छ । पोइट्री थेरापीकै प्रसंगमा पनि अथर्ववेदका सुक्तहरूको बारम्बार उल्लेख गरिरहन्छिन् । उनलाई लाग्छ— वेद एक साम्यवादी दर्शन नै हो जसले भन्छ— ‘सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया...।’


तर, वेदको समर्थन गर्न माक्र्सवाद छोड्नुपर्छ भन्ने छैन, यिनी भन्छिन् । माक्र्सवाद त्यागेर वेदविज्ञानी बनेकी होइनन् यिनी बरु अपिल गर्छिन्, वेदलाई माक्र्सवादीहरूले बिनाआग्रह वैज्ञानिक दृष्टिले पढून ।


पार्टी प्रतिबद्धताको घेरा बाहिर भएकाले पनि वेद र माक्र्सवादको फ्युजनका कुरा गरिहिँड्न सजिलो भएको हो कि ? प्रश्न अनुमानित मात्र हो । रतिका कविताको भाषा र ध्वनि ‘एक्टिभिस्ट’ कविताको जस्तो लाग्दैन । पुराना केही कविताबाहेक यिनका अधिकांश कविताको रूप झेन कवितासँग मिल्छ— छोटा तर गम्भीर । यिनका कविता ‘कमरेड कवि’ का कविताजस्ता पटक्कै छैनन् । बात मारेजस्ता छन्, ध्यानबाट जागृत मानिसले गर्नेजस्ता मिहिन र गहिरा कुराले भरिएका ।


रमाइलो कुराचाहिँ के हो भने यिनलाई अझै पनि उस्तै छ ‘कमरेड’ शब्दसँगको प्रेम । यी अझै पनि भन्छिन्— विचारले म साम्यवादी हुँ र रहिरहन्छु।
tiwarisarita36@gmail.com

प्रकाशित : असार ३०, २०७५ ०९:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT