कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भोजले थलिएको मधेसी समाज

मृत्यु संस्कारका बेला शोकसन्तप्त परिवारको आर्थिक हैसियत र प्रतिष्ठा हेरेर कसरी बढी भोज गर्न लगाउने दाउमा नातेदार र गाउँले हुन्छन् ।
रीता साह

काठमाडौँ — मधेसी समाज आधारभूत रूपमा ग्रामीण हो । यो समाज पृत्तिसत्तामा आधारित छ । जातपातको प्रभाव छ । कृषि कर्म मुख्य पेसा रहेकाले मालिक र मजदुर बीचको वर्गीय सम्बन्ध जताततै देख्न पाइन्छ । रेमिटयान्सको प्रभावले समाज आधुनिकतातर्फ पाइला सार्न थालेको आभास मिल्छ ।

भोजले थलिएको मधेसी समाज

तर परम्परागत मूल्य–मान्यतामा कमी आएको देखिँदैन । परम्परा र आधुनिकताबीच संघर्ष गर्दै अगाडि बढिरहेको यो समाजमा अनेक अवसरमा भोजको चलन व्याप्त छ । स्वेच्छाभन्दा समाजको करकाप र देखासिकीको उपक्रम बन्दोरहेछ, भोज । आफन्त, छरछिमेकी, जातीय संघ–संगठनले यसरी परिबन्दमा पार्छन् कि कोही–कोही नचाहँदा नचाहँदै पनि गर्न बाध्य हुन्छन् । दुई वर्ष अघि मेरो परिवारमा यस्तै परिबन्द आइपरेको थियो । यो आलेख बुबाको मृत्यु पश्चात हाम्रो परिवारले गर्नुपरेको काजकिरिया, भोजभात र दानदक्षिणासँग सम्बधित अनुभव हो । यो हाम्रो समाजमा अपवाद घटना पनि होइन ।

बोझिलो दाहसंस्कार
अत्यधिक रक्तचाप र मधुमेहका कारण बुबालाई मस्तिष्क पक्षाघात भएपछि हामीले एक महिनासम्म काठमाडौंका विभिन्न अस्पतालमा उपचार गरायौं । दुवै मृगौलाले काम गर्न छाडेपछि २०७३ मंसिर २० मा उहाँको देहान्त भयो । महिनाभर अस्पताल बसाइ, ओहोर–दोहोरमा हाम्रो परिवार मानसिक, शारीरिक र आर्थिक रूपले थला परिसकेको थियो ।

बुबाको देहावसानपछि कतिपय नातेदारले पशुपति आर्यघाटमै अन्तिम संस्कार गर्न सुझाव दिए । तर गाउँबाट तारन्तार फोन आयो । बुबाको दाहसंस्कार आफ्नो गाउँठाउँमै गर्ने आमाको पनि इच्छा थियो । बुबाले जीवनभर गाउँको स्कुलमा पढाउनुभएको थियो । सम्पन्न परिवार भएकाले बुबालाई सबैले सेठजी भन्ने गर्थे । आफ्नो समाज, नातागोता सबै गाउँमै रहेकाले सबैको सहमतिमा अन्तिम संस्कार गर्न गाउँ गयौं ।

हाम्रो गाउँ कनकट्टा सप्तरीको दक्षिणी भेगमा पर्छ । हामीले सोचेका थियौं, गाउँमा आफ्नै बारी वा फूलबारीमा बुबाको पार्थिव शरीरमा दागबत्ती दिन्छौं । तर गाउँलेको भनाइ थियो, ‘सेठजीलाई गंगा लगेर दाहसंस्कार गर्नुपर्छ । गंगामा दाह संस्कार गर्‍यो भने सिधै स्वर्गको ढोका खुल्छ ।’ कतिपयले तर्क गरे, ‘कोशीको पानी गंगामै गएर मिसिन्छ ।’ त्यही अनुसार कोशी ब्यारेजमा लगेर दाह संस्कार गर्ने निधो भयो । तर धेरैले चित्त बुझाएनन् । ‘यसै बहानामा हामी पनि गंगा स्नान गर्न पाउने थियौं,’ उनीहरूको प्रतिक्रिया थियो ।

३०—३५ किलोमिटर टाढा कोशी ब्यारेज जाने मलामीका लागि दुईवटा बस, दुइटा ट्रयाक्टर र केही मोटरसाइकल व्यवस्था गर्नुपर्‍यो । मलामी जानुलाई मधेसी समाजमा बरियाती जानु भनिन्छ । पुरै बाजागाजा र गीत बजाउँदै बरियाती जानुपर्ने । दाह संस्कार गर्ने ठाउँमा पिउने पानी थिएन । मिनरल वाटर र चिप्सका प्याकेट किनेर ल्यायौं । दाह संस्कार सकिएपछि तीन किलोमिटर वर भारदह चौकमा सबैलाई खाजाको बन्दोबस्त मिलायौं ।

दिनहुँ भोज
पार्थिव शरीर जल्न नपाउँदै केही काकाले म र दिदीलाई अलिक पर बोलाएर सोध्न थाल्नुभयो, ‘तिमीहरूले कति भोज गर्ने ? सेठजीका दुवै दमाद (ज्वाइँ) को आर्थिक अवस्था राम्रै छ, हामी दुवैसँग छुट्टाछुट्टै भोज लिन्छौं ।’ बुबाआमाको मृत्युमा छोरी–ज्वाइँले पनि स्वजातीय गाउँ समाजलाई भोज खुवाउने परम्परा छ । हामीले भन्यौं, ‘पछि सल्लाह गरौंला ।’ तर उहाँहरू मान्नु भएन । धेरैले एकसाथ उर्दी जारी गरे, ‘एक जनाले गाउँभरि पुरी–जिलेबीको भोज गर्ने र अर्कोले दालभातको । नत्र हामी भोज खाँदैनौं ।’

मधेसतिर मृत्यु संस्कारका बेला शोकसन्तप्त परिवारको आर्थिक हैसियत र प्रतिष्ठा हेरेर कसरी बढी भोज गर्न लगाउने दाउमा नातेदार र गाउँले हुन्छन् । गाउँले र जातीय संगठनका व्यक्तिहरूको भोलिपल्ट बैठक बस्यो । कति भोज गर्ने ? भोजमा के–के परिकार पस्किने ? दही कति ल्याउने ? आदि–इत्यादी प्रश्न सोधिन्थ्यो । मेरा दाइ र आमाको मन थियो– गाउँभरि मात्र भोज गरेर स्थानीय स्कुल र स्वास्थ्य संस्थालाई केही सहयोग गर्ने ।

स्कुलमा ल्याइब्रेरी बनाउने वा गाउँमै अस्पताल बनाउन केही जग्गा नै दिने । तर गाउँलेको भनाइ थियो– स्कुल र स्वास्थ्य चौकीका लागि जे गर, तर भोजचाहिँ सकेसम्म दुई सभाको, नभए कम्तीमा एक सभाको त गर्नैपर्छ । एक सभा भोजमा लगभग सोह्रवटा गाउँ पर्दोरहेछ । ती गाउँका स्वजातीय सबै परिवारका पुरुषलाई आमन्त्रण गर्नुपर्ने । गाउँलेको भनाइ थियो, ‘यो गाउँको सबैभन्दा धनी परिवार सेठजीको हो । सेठजीकैमा दुई सभा भोज गरेनन् भने अरु कसले गर्न सक्छ ? यो गाउँका अरु जातिले दुई सभा भोज गरिसके । हाम्रो इज्जतको पनि कुरा छ ।’

दुई–तीन दिनको छलफलपछि एक सभा स्वजातीय र गाउँभरि सर्वजातीय भोज गर्ने तय भयो । भोजको निर्णयकर्ता जातीय संगठनका मान्यजन हुँदारहेछन् । एक सभा, आधा सभा भोज अलि हुनेखानेका लागि अनिवार्यजस्तै हुन्छ । यसरी भोज गर्दा स्वजातीय तथा सर्वजातीय पनि हुने गर्छ । भोजमा सकेसम्म बढी परिकार, बढी दही बाँड्न लगाइन्छ । कुनै–कुनै परिवारलाई सबै आमन्त्रितलाई कम्मल वा लोटा वा गिलासजस्तो कुनै भाँडाकुँडा बाँड्न लगाइन्छ । यसले मृतक परिवारलाई आर्थिक भारले समेत थला पार्छ । भोज गर्दा कसरी अरु जातिभन्दा उत्कृष्ट देखाउने भन्ने होडबाजी हुँदोरहेछ ।

मधेसी समाजमा जातैपिच्छे काजकिरिया गर्ने चलन फरक छ । तर प्राय: सबैमा १३ दिनसम्म चल्दो रहेछ । मृत्युको चौथो दिनदेखि कहिले खिरको, कहिले पुरी–जिलेबी त कहिले दालभातको भोज हुने गर्छ । ठूलो भोजचाहिँ अन्तिम दिनहरूमा हुन्छ । मृतकले कमाएको सम्पत्तिको केही भाग भोजमा खर्च गर्‍यो भने छिट्टै मोक्ष प्राप्त हुन्छ र जति बढी भोज गर्‍यो, त्यति नाम र जश मिल्छ भन्ने विश्वास गरिन्छ । साथै मृत्युपछि स्वर्ग जान सहज हुने बुझाइ पनि समाजमा छ । तर यही चलनका कारण कतिपयलाई ऋण काढ्नुपर्ने, जग्गाजमिन बेच्नुपर्ने अवस्था आउँछ ।

भोजको सामान किन्नेदेखि, निमन्त्रणा दिने काम मृतकको परिवार एक्लैले गर्न सक्दैन । कतिपयले सामान खरिद गर्दा कमिसन खाने गर्छन् । हाम्रो घरको एक सभा भोजमा लगभग पाँच लाख रूपैयाँ खर्च भएको थियो । भोजमा खाने कम तर खानाको बर्बादी बढी हुने । खाना पकाउन क्याटरिङ र सरसफाइमा मजदुरको व्यवस्था गर्नुपर्ने ।

दानदक्षिणा
मृत्यु संस्कारमा दानदक्षिणाको परम्परा धेरै खर्चिलो र झन्झटिलो हुन्छ । दानदक्षिणा लिनेको सीमा हुँदैन । कन्टहा पण्डितले पूजा गराएपछि शुद्धिका लागि अर्को पण्डित चाहिने रे । दुवै पण्डितलाई छुट्टाछुट्टै दानदक्षिणा दिनुपर्छ । १३ दिनसम्म पूजा गर्दा केही न केही दक्षिणा दिइरहनुपर्ने । भोज सम्पन्न भएको अन्तिम दिन श्राद्धको पूजा हुन्छ । मृतकले जीवनयापनका लागि जे–जे कुरा प्रयोग गरेको हुन्छ, ती सबै मृत्युपश्चात नयाँ किनेर पण्डितलाई दान दिनुपर्ने रे । नत्र मृतकको आत्मा भट्किरहन्छ रे ।

बुबाको तेह्र दिन सकेको भोलिपल्ट पण्डित र उनका छोरा मूल दक्षिणा लिन आएका थिए । तेह्र दिनसम्म पूजा गराए बापत छुट्टै दिनुपर्ने दक्षिणा रहेछ । मृतक परिवारको आर्थिक अवस्था र सामाजिक प्रतिष्ठा हेरेर पण्डितले दक्षिणा माग गर्दारहेछन् । हाम्रो बुबाको काजकिरियाको मूल दक्षिणाबापत पण्डितले नगद दस हजार एक रूपैयाँ, एउटा ल्यापटप र एउटा मोबाइल मागेका थिए । भोजमा अलिक बेसी खर्च भएको हुनाले टेलिभिजन नमागेको पण्डितको भनाइ थियो । ‘पण्डितजी दक्षिणा त पैसा पो हुन्छ, मोबाइल र ल्यापटप हुँदैन नि’ भनेर सोध्दा उनले मुसुमुसु हाँस्दै भनेका थिए, ‘सबैजना विदेश बस्ने भएपछि दक्षिणा विदेशीसरह नै हुनुपर्छ नि । पहिलाजस्तो गाई, भैंसी कसले चराउँछ र ? अहिले त जे प्रयोग हुन्छ, त्यति मागेको मात्रै हो ।’

सबैको अपेक्षा पूरा गर्दागर्दै मृतकको परिवार मृत्यु संस्कार सकिँदा आर्थिक, मानसिक र शारीरिक रूपले थलिन पुग्छ । यस्तो परम्पराले मधेसी समाजलाई कहाँ पुर्‍याउने हो ?

प्रकाशित : श्रावण १४, २०७५ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?