२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

पाकिस्तान : लोकतन्त्र 'नजरको धोखा' नहोस् 

दिवाकर बागचन्द

न्युयोर्क, अमेरिका — म क्रिकेट धेरै खेल्ने गर्थें । अहिले खेल्नुभन्दा बढि हेर्छु । एउटा महान् क्रिकेटर चुनाव जितेर प्रधानमन्त्री बन्न लागि रहँदा, हेरिरहन मन लागेन । कलमसँग खेल्न मन लाग्यो । इमरान अहमद खान नियाजी अर्थात लोकप्रिय "इमरान खान" युवतीहरुका प्रिय पात्र हुन् ।

पाकिस्तान : लोकतन्त्र 'नजरको धोखा' नहोस् 

उसो त सबै क्रिकेटर युवतीहरूका प्रिय हुन्छन नै, चाहे भगवानले सुन्दर रुप दिएको होस् या नहोस् । कारण जगजाहेर छ । तर इमरानले सुडौल शरीर, सुन्दर मुहार दुवै पाएका छन् । उनी बलिवूड या हलिवूडका नायक भन्दा कम छैनन् । क्रिकेटको दुनियामा अल-राउन्डर सफलतम् खेलाडी मानिन्छन इमरान खान ।


अहिले उनको क्रिकेट र सुन्दरताले भन्दा उनले रचेको राजनीतिक इतिहासको कारण बढी चर्चामा छन् । उनको चुनावी जितको बारेमा थुप्रै लेख लेखिई सकेका छन् । किताबहरू लेखिईसकेका होलान् र भविष्यमा अझै किताबहरू लेखिइने छन् । उनी आफैले पनि किताब लेखेका छन् । मैले लेख्ने आवश्यकता थिएन र मेरो आलेखले भिन्दै "इनसाइट" दिने या विश्लेषण गर्ने ध्येय राख्दैन । इमरान खानको "पाकिस्तान : अ पर्सनल हिस्ट्री" भन्ने किताव झैं मेरो लेख पनि व्यक्तिगत विचार, बुझाई र भोगाईको अभिव्यक्ति मात्र हो ।


म कुनै राजनीतिक विश्लेषक होइन, न कुनै "पोलिटिकल साईन्टिस्ट” नै हुँ । पत्रकारिता गरिरहँदा पनि राजनीतिक सवालमा कमै रिपोर्टिंग गरें । त्यसको आफ्नै राजनीति छ । जसको चर्चा अर्थहिन हुन्छ । तर, मनन् योग्य के छ भने हामीलाई मन परोस् वा नपरोस् राजनीतिको परिधिभन्दा बाहिर कोही रहन सक्दैन । मानवीय अस्तित्वको टार्न नसकिने कालजयी यथार्थ हो राजनीति । राजनीतिलाई नजर अन्दाज गर्न मिल्ला तर यसबाट भाग्न सकिन्न । राजनीतिको परिणामबाट भाग्न सकिन्न । यो हत्केलाले सूर्य छेक्न खोजे जस्तै हो ।


१९९२ वर्ल्ड कप क्रिकेट विजेता पाकिस्तानी पूर्वकप्तान इमरान खानको पाकिस्तान तेह-रि-के इन्साफ पार्टीले यस चुनावमा सबभन्दा ठुलो पार्टी बन्न पुग्यो । इमरानले ११ अगस्तमा सपथ लिने छन् । आफुलाई मन पर्ने खेलाडी प्रधानमन्त्री बन्ने कुराले उनका लाखौं प्रसंशक जस्तै म खुशी हुनु स्वभाविक थियो । तर यो खुशी क्रिकेटको जितका लागि भए स्वभाविक हुन्थ्यो । मलाई यो राजनीतिक जितको खुशीमा केही अस्वभाविकता देखियो । यो खुशी नै दक्षिण एसियाको अलपत्र राजनीति र दुर्दशाको कारक हो झै लाग्यो ।


प्रथमत : हामी चेतन या अर्धचेतन अवस्थामा एउटा संरक्षक या मालिकको खोजीमा हुन्छौं । अर्थात “ पेट्रोन क्लाइन्ट” मा सुरक्षित महशुस गर्छौं । हामी कुनै व्यक्तिलाई “लार्जर देन लाईफ” को आकार दिन्छौं । नेता त्यो आकार पाएर फुल्छन् र आफ्नो धरातल छाड्छन् । दोस्रो, हामी संस्था अर्थात “इन्स्टिच्यूसन” खडा गर्नमा लाग्छौं । त्यसपछि संस्थामा मुल्य र मान्यताका कुरा गर्न थाल्छौं । जबकी पहिले मुल्य र मान्यता तय गरेर त्यसको जगमा संस्था निर्माण गर्नुपर्ने हो ।


यी दुई प्रवृतिले दक्षिण एसियाको लोकतन्त्रले सामाजिक न्याय, विकास र सम्वृद्धि दिनु भन्दा नाम ठुला भएका नेता मात्र जन्माएको छ । लोकतन्त्रलाई चुनावमा सिमित गरेको छ । चुनाव पछि सरकार र जनताबीच सम्बन्ध शून्य प्राय: बन्न पुग्छ ।


पाकिस्तानको राजनीति अलि विचित्रको छ । त्यहाँको लोकतन्त्र सेनाले चलाउँछ । त्यहाँ कुनै पनि नेताको अरोह र अवरोह बडो नाटकीय हुन्छ । यसो भनि रहँदा पाकिस्तानी जनमतको अपमान गर्न खोजेको होइन । इमरान खान चुनाव जितेर आएका हुन् । यसमा कुनै सन्देह छैन । २०१८ को चुनावको केही समय अगाडि “लाहोर जल्सा” अर्थात र्‍यालीमा उनले पाकिस्तानी जनतालाई चार आग्रह गरे । जस्ले उनको राजनेता बन्न सक्ने क्षमता दर्शाउँछ । लाहोर जल्सामा उनले गरेका चार आग्रह :


१) हामी कहिलै झुटो नबोलौं, सदैब सत्य बोलौं ।

२) हामी अहम् त्यागौं र राष्ट्रको बारेमा सोचौं । जहाँ ११ करोड मानिस गरिवीको रेखामुनि जीवन व्यतित गर्द्छन् ।

३) हामी डरको साग्लो तोडौं ।

४) हामी न्यायपूर्ण समाज स्थापना गर्न लागौं । यदी हाम्रो आफन्तले पनि अन्याय गर्दछ भने उसलाई पनि न्यायको काठघरामा ल्याऔँ ।


लोकतन्त्र र सामाजिक न्यायको सुन्दर अभिव्यक्ति थियो त्यो ।


यसरी न्याय र भ्रष्टाचारविरुद्ध नारा दिएर दक्षिण एसियामा थुप्रै पार्टी र व्यक्ति सत्तामा पुगेका छन् । तर भ्रष्टाचार झन जरो गाड्दैछ किनभने हामीले जनताको समस्यालाई सम्बोधन नै गरेनौं । पैसा, पद र शक्तिले सफलताको मापन गर्ने हाम्रो घर, समाजको मानसिकता परिवर्तन गर्ने राजनीतिको प्रारम्भ नभएसम्म, राजनीति चुनावमुखी मात्र हुनेछ । लोकतन्त्र शब्दमा सिमित रहनेछ । जसरी इमरान खानको व्यक्तिगत सफलताको चर्चा हुँदै छ यो ठिकै हो । उनलाई यहाँसम्म पुर्‍याउन शतप्रतिशत उनको धैर्यता, मेहनत र लगनशीलताले काम गरेको हो । तर चुनावी जितमा भने यो सतप्रतिशत लागु नहोला । किनभने १९९९ मा पर्वेज मुसर्रफको “कु” को समर्थन गर्ने इमरान नै हुन् र मुसर्रफले दिएको प्रधानमन्त्रीको कुर्सी नकार्ने पनि इमरान नै हुन् ।


लाहोर जल्सामा भने झैं पाकिस्तान बनाउन इमरान खानले मुल्य र मान्यताको जग बसाल्नु पर्ने हुन्छ । पाँच सालभन्दा परको दुरदृष्‍टि राख्नु पर्ने हुन्छ । सेना र आइएस्आइको शासन चल्ने देशमा उनले यो गर्न सक्लान् ? जवाफ खोज्न धेरै पछाडि इतिहासको गर्भमा जानु पर्दैन । मुसर्रफ र नवाज सरिफलाई हेरे पुग्छ ।


क्रिकेटमा झैं इमरान खानको कार्यकाल सफल रहोस् । तर उनको आरोह जति नाटकीय छ, अवरोह त्यस्तै भयो भने ? लोकतन्त्र फेरी एक पटक “नजरको धोखा” साबित हुनेछ।

प्रकाशित : श्रावण १७, २०७५ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?