स्तनपान: जीवनको आधार

सगुन न्यौपाने

काठमाडौँ — विश्व स्वास्थ्य सँगठन र युनिसेफको संयुक्त पहल तथा वर्ल्ड अलाएन्स फर ब्रेस्टफिडिङ एक्सनको सहजिकरणमा सन् १९९२ देखि सुरु गरिएको स्तनपान सप्ताह हरेक वर्षको अगस्ट महिनाको पहिलो साता मनाइन्छ। नेपालमा पनि स्तनपानलाई प्रबर्द्धन गर्न समुदायस्तरमा विभिन्न किसिमका कार्यक्रमहरु गरी मनाइँदै आइएको छ। 

स्तनपान: जीवनको आधार

शिशु जन्मेको १ घण्टा भित्र आमाको दूध खुवाउने, जन्मेदेखि ६ महिनासम्म स्तनपान मात्र गराउने, ६ महिना पुगेपछि स्तनपानसाथै पुरक खाना खुवाउनेबारेमा सचेतना प्रदान गर्ने, स्तनपानका फाइदाहरु तथा स्तनपान नगराउँदा हुने समस्याहरुलाई जनसमुदायस्तरसम्म पुर्‍याइ सचेत गराउनु यस दिवसको मुख्य उद्देश्य हो। यसवर्ष 'स्तनपान: जीवनको आधार' भन्ने नारासहित विश्वभर र नेपालमा पनि साउन १६ देखि २२ गतेसम्म सरकारी, गैरसरकारी तथा अन्य सरोकारवाला निकायहरुको आयोजनामा विभिन्न कार्यक्रमहरु गरी स्तनपान सप्ताह मनाइँदै छ ।


स्तनपानको महत्वलाई विकासका विभिन्न पक्षहरुसँग जोडेर हेर्दा सन २०३० सम्म विश्वलाई विकासित बनाउने दिगो विकास लक्ष्य पुरा गर्नको लागि स्तनपानको पनि भूमिका रहेको छ। जीवनभर स्वस्थ रहन, गरिबी निवारण, बाल शिशु मृत्युदर घटाउन, मातृशिशु मृत्युदर घटाउन, एचआइभी एड्स, मलेरिया तथा अन्य रोगको प्रकोप घटाउन स्तनपानको प्रत्यक्ष भूमिका रहेको छ भने दिगो विकास लक्ष्यका अरु सुचकहरुमा अप्रत्यक्ष रुपमा भूमिका निर्वाह गरेको हुन्छ।


शिशुको शारिरिक तथा मानसिक विकासको लागि आवश्यक पर्ने सम्पूर्ण तत्वहरु आमाको दूधमा नै पाइने हुँदा स्तनपानलाई पहिलो खोपको रुपमा पनि लिइन्छ । बच्चा जन्मने वित्तिकै स्तनपान गर्न पाउनु उसको नैसर्गिक अधिकार पनि हो । शिशु जन्मेपश्चात जति सक्दो छिटो अथवा १ घण्टा भित्रैमा आमाको शरिरबाट आउने पहिलो बाक्लो बिगौती दूध स्तनपान गराउनुपर्दछ । कतिपय ठाउँ तथा समुदायमा अझै पनि जन्मने बित्तिकै आमाको दूध खुवाउनुको सट्टामा अन्य केही चटाउने चलाउने छ भने पहिला आएको दूध विषालु हुन्छ भन्ने गलत धारणा रहिआएको पनि छ।


सुरुमा आउने आमाको दूधमा अझ धेरै किसिमका पौष्टिक आहारहरु पाइने हुँदा बिगौती दूध नवजात शिशुलाई अनिवार्य खुवाउनु पर्छ। बाक्लो, पहेँलो बिगौती दूधमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक तत्व हुनाले शिशुलाई हानी गर्न सक्ने जिवाणु तथा किटाणुहरुलाई मार्छ र शिशुलाई रोगबाट बचाउन सहयोग गर्छ । शिशु जन्मेपछि ६ महिनाको उमेरसम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरु आमाको दूधमा नै पाइने हुँदा जन्मेको ६ महिनासम्म निरन्तर आमाको दूध मात्र खुवाए पुग्छ। शिशु ६ महिना पुगिसकेपछि शारीरिक तथा बौद्धिक विकासको लागि थप आहार पनि आवश्यक पर्दछ।


शिशु ६ महिना पुगिसकेपछि २ वर्षसम्म निरन्तर अरु आहाराहरुको साथमा आमाको दूध पनि खुवाउनु जरुरी हुन्छ। शिशुलाई आमाको दूध दिन र रात गरेर कम्तिमा पनि १० पटकसम्म खुवाउनु पर्दछ । दुवै स्तनबाट पालोपालो गरेर खुवाउँदा एक स्तनबाट कम्तिमा पनि १५ मिनेटसम्म खुवाउनु पर्छ। स्तनपान एउटा निःशुल्क गर्न सकिने जीवनको महत्वपूर्ण लगानी हो ।


विश्व स्वास्थ्य संगठन र युनिसेफले प्रकाशन गरेको एक प्रतिवेदन अनुसार विश्वभर हरेक ५ मा ३ जना शिशु जन्मेको एक घण्टा भित्रै आमाको दूध पिउनबाट बञ्चित छन् । नेपालको तथ्यांकलाई हेर्ने हो भने नेपाल जनसंख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०११ अनुसार २ वर्ष मुनिका करिव ९८ प्रतिशत बालबालिकाहरुले स्तनपान गर्न पाएका थिए भने सन् २०१६ मा गरिएको त्यही सर्वेक्षण अनुसार करिव ९९ प्रतिशत बालबालिकाहरुले स्तनपान गरेको देखिन्छ। जन्मेको एक घण्टा भित्रै आमाको दूध पाउने बच्चाहरु हेर्ने हो भने २०११ मा जम्मा ४५ प्रतिशत थियो भने २०१६ मा १० प्रतिशतले बृद्धि भइ ५५ प्रतिशत पुगेको छ।


यद्पी हामीले शिशु जन्मेको १ घण्टा भित्रै स्तनपान गराउने कुरालाई बढी महत्व दिएर जनचेतना फैलाउनु पर्ने देखिन्छ किनकी शिशु जन्मेको १ घण्टा भित्रै आमाको दूध खुवाउनु उसको जीवन रक्षाको निम्ति निकै महत्वपूर्ण हुन्छ। त्यस्तै सन् २०११ मा ७० प्रतिशत ६ महिनासम्मका बच्चाहरुले आमाको दूधमात्र पिएका थिए । २०१६ मा घटेर ६६ प्रतिशत पुगेको छ। सन २०१६ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको प्रतिवेदन अनुसार अझै पनि नेपालमा शिशु जन्मेपछि हाम्रो प्रचलन अनुसार घीऊ, मह, चिनी जस्ता पदार्थ खुवाउने चलन छ । करिव २९ प्रतिशत शिशुहरुलाई दूध खुवाउन भन्दा पहिला त्यस्ता खाध पदार्थ खुवाइएको छ जुन शिशुहरुलाई खुवाउनु हुँदैन।


यो प्रचलन तराईमा धेरै देखिएको छ। औसतमा हेर्ने हो भने शहरका भन्दा गाँउका बच्चाहरुले लामो समयसम्म स्तनपान गरेको देखिन्छ। सहरिया जीवनशैली, बजारमा पाइने तयारी पौष्टिक आहारका विभिन्न फोर्मुलाहरु, दूध तथा दूधजन्य पदार्थहरुको प्रयोगले पनि आमा र बच्चा दुवैको स्वास्थ्यमा नकारात्मक असर गरिरहेको छ। आमाको दूध शिशुलाई खुवाउँदा शिशुको बृद्धि र विकास हुनु बाहेक अन्य समस्याहरु जस्तै झाडापखाला, स्वाशप्रश्वास प्रणालीको संक्रमण, मुख तथा कानको संक्रमण आदि रोकथाम गर्न समेत ठूलो प्रभाव पार्दछ । त्यस्तै आमाको दूध बच्चालाई खुवाउँदा आमालाई हुने रक्तश्राव कम हुने, स्तनको क्यान्सर, पाठेघरको क्यान्सर हुने जोखिम कम हुने आदी जस्ता कुराहरु विभिन्न अनुसन्धानहरुले प्रमाणित गरिसकेका छन्।


त्यसैले हामीले त्यस्ता किसिमका तयारी खानाहरुको प्रयोगहरुलाई निरुत्साहित गर्दै शिशुलाई पूर्णरुपमा आमाकै दूध खुवाउने गर्नुपर्दछ। सामान्यतः हाम्रो नेपालका गाँउहरुमा बालबच्चाहरुले घरमा पाकेको खाना, लिटो, जाउलो खान थालेपछि विस्तारै आमाले आफ्नो दूध खुवाउन छुटाउँदै जाने गरेको पाइन्छ त्यस्तै सहरमा पाइने तयारी खानेकुरा तथा फर्मुलाहरु खुवाउँदै आमाको दूध छुटाउने चलन पनि बढ्दो क्रममा छ। हाम्रो देश जस्तै कम तथा मध्यम वर्गीय आम्दानी हुने देशहरुमा स्तनपान नगराएका बच्चाहरु भन्दा स्तनपान गराएका बच्चाहरुमा एक वर्ष भित्रै ज्यान गुमाउने जोखिम करिव २१% कम हुन्छ।


स्तनपान गराउनाले बच्चामा शारीरिक, मानसिक तथा बौद्धिक विकास भई बच्चालाई कुपोषण हुनबाट जोगाउन साथै बच्चा स्वस्थ भएपछि घरमा पनि आर्थिक भार कम भई गरिबी हुनबाट जोगाउन मद्त गर्दछ। संसारमा रहेको सामाजिक समस्याहरु; गरिवी, भोकमरी तथा सवै किसिमका कुपोषणहरुलाई निराकरण गर्ने भएकाले स्तनपानलाई जीवनको प्रमुख आधारको रुपमा हेरिन्छ ।


तथ्याङ्क हेर्ने हो भने राम्रो स्तनपान गराउँदा करिब १३% बालशिशु मृत्युदर घटाउन सकिन्छ। विभिन्न अनुसन्धानहरुको नतिजा हेर्ने हो भने आमाको दूध खान पाएमा झाडापखाला, स्वासप्रश्वास र अन्य रोगहरु लाग्न वात र शिशुको ज्यान जाने दरमा २५ प्रतिशतले कमी आएको पाइएको छ। यसैगरि राम्रो पौष्टिक खानेकुराहरु बाट करिब ६% नवशिशु मृत्युदर घटाउन सकिन्छ त्यसैले स्तनपानलाई प्रबर्द्धन गर्न जरुरी छ।


सरकारले देशभरी रहेका हरेक कार्यालयहरुमा स्तनपान कक्षको व्यवस्था गर्ने, समुदायस्तरमा स्तनपान सम्बन्धी प्रबर्द्धनात्मक कार्यक्रमहरु गर्ने, विधालयस्तरको पाठ्यक्रममा स्तनपान सम्वन्धी विषयवस्तु राख्न्ने, तथा हरेक स्वास्थ्य संस्थाबाट दिइने सम्पुर्ण सेवा पश्चात अनिवार्य रुपमा स्तनपान परामर्श तथा जानकारी दिने व्यवस्था गर्ने आदी जस्ता क्रियाकलापहरु गरियो भने स्तनपानलाई थप प्रबर्द्धन गर्न सकिन्छ। विकासका हरेक कुराहरुमा स्तनपानले प्रभाव पारेको हुन्छ। एक स्वास्थ्य वच्चा हुर्कियो भने उस्ले समाज तथा देशका लागि ठूलो योगदान पुर्‍याउन सक्दछ त्यसैले स्तनपान बच्चाको आहार पाउने प्राकृतिक विधि मात्र नभई, जन्मदिने आमाको मात्र जिम्मेवारी नभई व्यक्ति, समाज तथा राष्ट्र कै जिम्मेवारी हो।

प्रकाशित : श्रावण १७, २०७५ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?