१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

घेराबन्दीमा छोरीहरु

ती तेह्र वर्षीया बालिकाको पढेर केही गर्ने सपना थियो होला । तर कसैले नसुनेको उनको चित्कारसँगै उखुका खस्रा पातहरू छुँदै त्यहीं कतै बिलायो उनको भविष्य ।
कुमारी लामा

काठमाडौँ — केही समयअघि एक मेडिकल कलेज सञ्चालकले मात्र होइन, सरकारकै एक मन्त्री (अहिले राजीनामा गरिसकेका) ले पनि बङ्गलादेशमा चिकित्साशास्त्र पढिरहेका छात्राहरूको मर्यादाको ख्यालै नराखी अत्यन्त गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिए ।

घेराबन्दीमा छोरीहरु

सामाजिक सञ्जालहरूमा भाइरल भएको त्यस खबरले त्यहाँ पढिरहेका छात्रा र उनीहरूका आफन्तलाई धेरै तनाव दियो । सिलेटको नर्थइस्ट मेडिकल कलेजमा छोरीलाई मेडिसिन पढाइरहेकी मेरी सहकर्मीको निद–चैन पुरै गायब भएको थियो । छोरीसँगको बारम्बारको कुराकानी र केरकारबाट सहजै अनुमान हुन्थ्यो– उनीभित्र पलाएको डर र संशय । उनले चार वर्ष अघिमात्र दु:खजेलो गरी जम्मा गरेको पैसाले छोरीलाई बंगलादेश पठाएकी थिइन् । आज छोरी मिहेनतका साथ चौथो वर्षमा पढ्दैछिन् । तर अकस्मात् आएका यस्ता उडन्ते खबरले उनलाई धेरै तनाव दियो । उनीभित्र संशयको बिउ पनि रोपियो– न बा भित्रभित्रै त्यस्तै पो हुन्छ कि ? यस्तै हाल थियो, सबै अभिभावकको । महिला अस्मिता र क्षमतामाथि ठूलो प्रहार भएको छ, यस घटना ।

संशयको सुरुवात
बंगलादेशका बिभिन्न मेडिकल कलेजमा पढिरहेका छात्राहरूलाई एकठाउँ जम्मा गरेर एभन्यु टेलिभिजले सत्य–तथ्य छात्राहरूबाटै जान्ने प्रयास गरेको थियो, केही दिनअघि । सेतो कोट पहिरिएका ती मिहेनती छात्राहरूको अनुहारमा छ्याप्पै निराशा पोतिएको देखिन्थ्यो । कार्यक्रम सञ्चालकले जति जनासँग प्रश्न गरे, सबैले उक्त अभिव्यक्तिलाई झुटमात्र भनेनन्, चुनौती पनि दिए– यदि त्यस्तो छ भने प्रमाणसहित अगाडि आउन् । बोल्नेको बोली र नबोल्नेको मौनताबाट उही बुझिन्थ्यो– उनीहरू केवल आफ्नै क्षमतामा पढ्दैछन् । ती अभिव्यक्ति विलकुल मिथ्या हुन् । एउटी छात्रा भन्दै थिइन्– त्यस्ता केही घटना आइलागे प्रतिकार गर्न सक्षम छौँ । आफ्नो लक्ष्य प्राप्तिका लागि डटेर लागिरहेका हाम्रा छोरीहरू प्रतिकार गर्न सक्षम छन् । यति हुँदाहुँदै पनि फेरि किन प्रश्न उठाइन्छ, उनीहरूकै अस्मिताको ?


विदेशमा पढिरहेका भविष्यका यी डाक्टरहरूमाथिको अक्षम्य आरोपको तरंग सेलाउन नपाउँदै कञ्चनपुरको उखुबारीमा एउटी छोरी बलात्कारपछि मारिएको अवस्थामा फेला पर्छे । उनको साइकल, किताब–कापी पनि त्यतै छरपस्ट भेटिन्छ । ती तेह्र वर्षीया बालिकाको पढेर केही गर्ने सपना थियो होला । तर कसैले नसुनेको उनको चित्कारसँगै उखुका खस्रा पातहरू छुँदै त्यहीं कतै बिलायो, उनको भविष्य ।


हाम्रा छोरीहरू गर्भदेखि नै सुरक्षित छैनन् । छोराको आसमा बसेकाहरू छोरी देखिएपछि तुहाइदिन्छन् । जोगिएर निस्किएकाहरू पनि फेरि यस्ता अनेकन विकृत मनोवृत्तिमा परी असमयमै मारिन्छन् । जो सबै कुराबाट जोगिएर आफ्नो पढाइ र करिअरका लागि अघि बढेका हुन्छन्, उनीहरूको पनि मानमर्दन गरिन्छ, अस्मितासँग जोडेर । यस्तो अनर्गल अभिव्यक्तिले छोरीहरूलाई घर या देश बाहिर जान दिने कि नदिने भन्ने बहस हुने खतरा बढाएको छ ।


अबको चिन्ता
आमूल राजनीतिक, सामाजिक परिवर्तनका कारण महिला पनि धेरै क्षेत्रमा अघि बढिरहेका छन् । छोरीहरूलाई पनि बिभिन्न विषयमा उच्चशिक्षा अध्यययनका लागि ठूलै लगानी गरेर विदेश पठाउन हिच्किचाउँदैनन्, अभिभावक । बङ्लादेशमा मेडिसिन पढिरहेका एक हजार पाँच सयभन्दा बढी छात्राहरू यसैका उदाहरण हुन् । तर उनीहरूकै इज्जतमाथि उठाइएको प्रश्नले अभिभावकमा पनि पक्कै भ्रम छर्नेछ । यति ठूलो बबन्डर मच्चिसकेकाले भोलि पनि उनीहरूलाई कुन दृष्टिले हेरिएला ? उनीहरूको घरजमका बेला पनि कुरा काटिएला कि ? भविष्यमा आफ्ना छोरीका विषय आइलाग्न सक्ने खोजीतलासी र चियोचासोबाट कतिपय अभिभावक हच्कन्छन् नै । यसरी हाम्रा छोरीहरू फेरि घेराबन्दीमा पारिएका छन् । यस्तो अवस्थामा सचेत समाजले बुझ्नुपर्छ, औंला अनर्गल प्रचार गर्नेहरूमाथि उठाइनुपर्छ, निर्दोष छोरीहरूमाथि होइन ।


कञ्चनपुरको घटना सुनिनभ्याउँदै काभ्रेमा उस्तै घटना भएको खबर आइसक्यो । घरभित्र र आफन्तबाटै असुरक्षित छोरीहरू जेनतेन जोगिए पनि घरको संघार नाघ्ने बित्तिकै के हुने हो ठेगान छैन ? यस्तो अवस्थामा केही गैरजिम्मेवार व्यक्तिका मिथ्या अभिव्यक्ति मार कहिलेसम्म खेपिरहने हाम्रा छोरीहरूले ?

प्रकाशित : श्रावण १८, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?