स्मार्ट राजधानीलाई खुलापत्र

निकुञ्ज तिवारी

काठमाडौँ — प्रिय राजधानी, काठमाडौं † तिम्रो चरणमा स्पर्श गर्न नपाएको लामो समय भएछ । यसै साता केही दिनका लागि स्मार्ट मोबाइल बोकेर म तिम्रो स्मार्ट सिटीभित्र पस्दैछु । प्रतीक्षा गर ल । म एकदमै उत्सुक छु । स्मार्ट सहर हेर्न । स्मार्ट सहर भित्रका स्मार्ट सडक देख्न ।

स्मार्ट सडकमा गुड्ने स्मार्ट साधन चढ्न । स्मार्ट साधनभित्र यात्रा गर्ने स्मार्ट मानिसहरू हेर्न । र स्मार्ट मानिसहरूले गर्ने स्मार्ट व्यवहारको महसुस गर्न ।

काठमाडौं, तिमी स्मार्ट भएको म हेर्न आउँदैछु । जब म तिम्रो स्मार्ट सहरका लागि प्रस्थान गर्नेछु । तब तिमी भित्रका अव्यवस्थित व्यथितिहरूको दुर्गन्ध मभित्र कुनै पनि हालतमा प्रवेश गर्न पाउने छैनन् । पहिला–पहिला तिम्रो सहरका लागि यात्रा सुरु गर्दा मभित्र छट्पटाउने द्विविधाका शंका–उपशंका र तिरस्कारले यसपटक पक्कै पनि पालो पाउने छैनन् । र तिम्रो स्मार्ट सिटीका खातिर ममा पूर्ण विश्वासको खुल्दुली छ– यसपालीको मेरो यात्रा निसंकोच निस्फिक्री र रमणीय हुनेछ ।

Yamaha

पहिले जस्तै यसपाली यात्रा सुरु गरे देखिबाटै ठगिएर म आफूले आफैलाई धिक्कार्ने छैन । हीनताले मन लाचार हुने छैन । नेपाल र नेपाली हुनुमा एकदमै गर्वले नाक फुलाउँदै म स्वतन्त्रतापूर्वक तिम्रो सहरमा प्रवेश गरी एक फन्को घुम्नेछु । र मेरा केही काम सहजै फत्ते गरी फर्कनेछु । तिम्रो सहरका लागि छुट्ने यातायातका साधन स्मार्ट हुनेछन् । स्मार्ट साधन गुडाउने चालक–सहचालकहरू स्मार्ट व्यवहारमा प्रस्तुत हुनेछन् । उनीहरूबाट कुनै तितो दुव्र्यवहार फेस गर्नुपर्ने छैन । भाडादरमा कुनै बार्गेनिङ गर्नुपर्ने छैन । दिनदहाडै कोही ठगिनुपर्ने छैन । साधनभित्र ठेलमठेल गर्नुपर्ने छैन । सिटबाट कुनै पनि दुर्गन्ध आउने छैन । बसभित्र कोचाकोच गरी बस्नुपर्ने छैन ।

मैले यात्रा गर्ने यातायातका साधनमा कुनै खराबी आउने छैन । कुनै पनि सवारी साधनहरू सडकमै बिग्रे पनि लथालिङ्ग र भताभुङ्ग अव्यवस्थित छाडिने छैन । तत्काल किनारा लगाई मर्मत गरिनेछ । जसका कारण राजमार्ग बन्द या जाम हुने छैन । छाडा चौपाया कहीं पनि देखिने छैनन् । राजमार्गमा कुनै अवरोध सिर्जना हुने छैन । चालकमा केही तनाव उत्पन्न हुने छैन । वश, फराकिला सफा र चिल्ला सडक हुनेछन् ।

सडक किनारामा हरियाली बगैंचाहरू हुनेछन् । र ती बगैंचाबाट निस्कने स्वच्छ अक्सिजन र फूलहरूको वास्ना सुँघ्दा–सुँघ्दै म तिम्रो सहर टेक्नेछु । त्यस्तै राजमार्ग छेउछाउका होटल, रेष्टुराँ र शौचालयहरू व्यवस्थित र सफा हुनेछन् । शौचालयबाट निस्कने गन्धजस्तो दुर्गन्ध, होटल र रेष्टुराँहरूका किचनबाट निस्कने छैन । होटल र रेष्टुराँहरूका किचन र खाना खाने डेक्स–बेन्चबाट निस्कने गन्धजस्तो दुर्गन्ध शौचालयबाट निस्कने छैन । होटल, रेष्टुराँको वरिपरिको वातावरण सुगन्धित र स्वस्छ हुनेछ । पानी सफा र स्वस्थ हुनेछ ।

हरिया र राता टाउके झिंगा घुमिरहेको बासी सडेगलेको होइन, स्वस्थ र ताजा खानेकुरा पाइनेछन् । यात्रामा राजमार्गका होटलमा कहिल्यै खाना नखाने म जस्ताले पनि सजिलै खाना खान सकुन् । जहाँ मिठो मानी–मानी खाइएको खानाले ७ दिनसम्म पेट अटस–मटस र ‘अनइजी फिलिङ्स’ हुने छैन । तिम्रो सहरमा खोलिएका औषधी पसलमा चहार्नुपर्ने छैन ।
जहाँ २० रुपैयाँ लिटर पाइने पानीलाई ४० तिर्नुपर्ने छैन ।

एक कप पानीमा एक चम्चा चिनी र चियापत्ती राखेर उमालेको ५, १० रुपैयाँको तातो चिनी पानीलाई ३०, ४० तिर्नुपर्ने छैन । सत्तरी पर्ने रेडबुललाई १ सय १० तिर्नुपर्ने छैन । १ सय ५० पर्ने सादा खानामा २ पिस बाख्रीको मासु थप्दा ४ सय तिर्नुपर्ने छैन । तिर्नुपरे पनि गुणस्तरीय र स्वस्थबद्र्धक हुनेछ । र खुसीको कुरा त यो छ कि यात्रु महानुभावले जुन खाना खान्छन्, त्यही खाना होटल सञ्चालकहरूले खाएको देख्न पाइनेछ । सञ्चालकहरूले यात्रुहरूलाई पाहुना–समान सम्मानित व्यवहारले आदर–सत्कार गर्नेछन् ।

स्मार्ट राजधानी पस्ने मुख्यद्वार थानकोटको उकालोमा एक मिनट पनि जाम हुने छैन । र थानकोट उक्लेर काठमाडौं लागेपछि यसअघि म भित्रको एउटा मन गर्वले गद्गद् हुन्थ्यो । किनकि शरीरका बाहिरी आवरणमा मात्र होइन, देशको मुख्य माटोलाई मेरो फोक्सोसम्म पुर्‍याउन पाउँथेँ । र मभित्र अचाक्ली देशभक्तिको महसुस हुन्थ्यो । यस पटकको यात्रामा यस्तो महसुस गर्न कदापि पाउने छैन ।

देख्न पाउने छैन : धुलो, धुवाँ, फोहोर–मैला र कोलाहल । साँघुरा सडक । भग्नावशेष सार्वजनिक सम्पत्ति । जीर्ण अवस्थाका सवारी साधन । सार्वजनिक सवारी साधनमा हुने कोचाकोच । सडक किनारामा जम्मा हुने बेरोजगारीको भिड । अव्यवस्थित ट्राफिक । फुटपाथको लथालिङ्ग व्यवसाय । मगन्तेहरूको रोदन । ट्याक्सीहरूको लुट । सपिङ मलहरूको मनपरितन्त्र । खुल्ला सार्वजनिक स्थलमा गरिने दिसापिसाब र छाडा चौपाया । आवास गृह वा व्यावसायिक भवन बनाउँदा प्रयोग गरिने फुटपाथको धराप ।

देख्न–सुन्न पाउनेछु : सफा, सुन्दर र हराभरा स्मार्ट राजधानी । चाक्ला, चिल्ला र फराकिला स्मार्ट सडक, हरेक सवारी साधनका लागि छुट्टा–छुट्टै लेन । सार्वजनिक सम्पत्तिको व्यवस्थित सम्बद्र्धन र संरक्षण । खुलमखुला सवारी साधन । स्मार्ट ट्राफिक सिग्लन र जेब्राक्रस । साइकल जोन । वाइफाइ जोन । व्यवस्थित ढल निकास । बेग्ला–बेग्लै आवास जोन । व्यावसायिक भवन र औद्योगिक क्षेत्र । व्यवस्थित पैदलमार्ग । नो मगन्ते । सबै रोजगार । ट्याक्सीहरूको मिटर सिस्टम । कुनै पनि सामग्रीको मूल्यमा एकरूपता । व्यवस्थित बसाइ । सफा र गुणस्तरीय खाना र खाजाघर ।

सुन्न पाउने छैन : सार्वजनिक सवारी साधनमा हुने बार्गेनिङ र तुच्छ व्यवहार । त्यहाँबाट निस्कने ध्वनि । सहचालकको कर्कश आवाज र अभद्र शब्द ।

सुन्न पाउनेछु : सवारी साधनमा हुने शिष्टाचार, सम्मान । सवारी साधनको मधुर आवाज । चालक, सहचालकको नम्र र मिठास बोली । सार्वजनिक कार्यालयमा नागरिकप्रति गरिएको नम्रता, शिष्टता, आदर । कामप्रतिको जिम्मेवारी र कर्तव्यको सत्कार । साना, मझौला तथा ठूला सपिङ मलमा सामान नकिन्दा पनि ग्राहकलाई गर्ने शिष्टता ।

सुघ्न पाउने छैन : सडक किनार तथा खुल्ला सार्वजनिक स्थलमा गरिने दिसापिसाबको गन्ध । कलकारखानाबाट प्युरिफाइ नगरी फालिएको ढल । घर, होटल तथा रेष्टुराँबाट वाग्मतीमा मिसाइएको फोहोर पानी । सडकमा मरेका छाडा चौपाया सडेको गन्ध । सहरभित्र कालाम्मे भएर रुमलिएर बस्ने दूषित वायु डिजेल, पेट्रोलको गन्ध ।

सुँघ्न पाउनेछु : सडक किनार वरपरका हरियाली बगैंचाबाट निस्कने सुगन्ध । स्वच्छ, सफा र सुन्दर वाग्मतीको चिसो हावापानी । व्यवस्थित यातायातका साधन । चोक–चोकमा पार्क र मगमगाउँदा फूलहरूको वासना । नदी किनाराको बगैंचा र आर्टिफिसियल पानीका छटाको मन्द वासना ।

भोग्नुपर्ने छैन : कुनै सानो काम लिएर सार्वजनिक कार्यालयका कर्मचारीसंँग अनुरोध गर्दा उनीहरूले गर्ने अनैतिक व्यवहार । ढिलासुस्ती । घुसखोरी । र तिर्नुपर्ने छैन २ रुपैयाँ पर्ने फोटोकपीलाई १५ रुपैयाँ । १० रुपैयाँमा हुने फोटो धुलाइलाई ३० रुपैयाँ । १० रुपैयाँ पर्ने टिकटलाई १५ रुपैयाँ । १ सय पनि नपर्ने खानालाई २ सय ५० रुपैयाँ ।

भोग्नु पर्नेछ : छिटोछरिता कर्मचारीतन्त्र । शिष्ट र नम्र बोली–व्यवहार । एक घण्टामा हुने काम १० मिनेटमा । व्यवस्थित, मर्यादित सार्वजनिक निकाय । सस्तो, सुलभ र हरेक नेपाली समक्ष पुग्नसकेको सहरको बसाइ । सफा, गुणस्तरीय खाना । व्यवस्थित र सर्वसुलभ बास ।
ओ काठमाडौं, मलाई यस्तै स्मार्ट राजधानी हेर्ने रहर छ ।

@nikunjatiwari

Esewa Pasal

प्रकाशित : श्रावण १९, २०७५ ०७:५८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

विकासको वास्तुशास्त्र

हाम्रा जनप्रतिनिधिको विकास र समृद्धिप्रतिको अल्प बुझाइकै परिणाम अहिलेसम्म सामाजिक विकासबारे नागरिक बहस हुनसकेको छैन ।
मधु राई

काठमाडौँ — सरकारको भनाइ र गराइमा एकरूपता नदेखिएकाले आगामी दिनमा कस्तो विकास र समृद्धिको पूर्वाधार तयार गर्छ भन्नेमा शंका उब्जिएको छ । किनभने समृद्धि र विकासको पहिलो सर्त भनेको लोकतन्त्र हो । लोकतन्त्र फस्टाउन जनमुखी सुशासन पहिलो सर्त हो ।

तर सरकारको अधिनायकवादी कार्यशैलीले विकास र समृद्धिको कुरालाई ओझेलमा पारेको छ । यस्तै विकास र समृद्धिका लागि शान्ति र सुशासन अपरिहार्य छ । तर सरकारको कार्यशैलीले समाजमा अशान्तिमात्र फैलिएको छैन, यसले गठबन्धन सरकारप्रति जनविश्वास घट्दैछ । यस्तो असहज परिस्थितिमा कस्तो विकास र कसका लागि समृद्धि भन्ने पुन: पिँंधमा पुगेको छ ।

अहिले तीन तहको सरकारबीच समन्वय र सामञ्जस्य नहुँदा जनता कुहिरोको काग बनेका छन् । नेपालीलाई कस्तो विकास र समृद्धि चाहिएको छ भन्नेबारे गहन छलफल गर्नुपर्ने आवश्यकता तीनै तहका सरकारले महसुससम्म गरेको देखिंँदैन ।

यसको प्रत्यक्ष र परोक्ष फाइदा दल र नेताहरूले उठाइरहेका छन् । स्थानीय तहको सरकार आज करको दायरा फराकिलो पार्ने भन्दै नयाँ करको फेहरिस्त अघि सार्दैछ भने नयाँ करको व्ययभार बहन गर्ने जनता मौन छन् । यसरी एकातिर विकास र समृद्धिको सपना बाँड्दै आएको सरकार आज वर्षदिन नपुग्दै आलोचित बन्दैछ, अर्कोतिर कस्तो विकास र कसका लागि समृद्धि भन्नेमा जनप्रतिधिहरूबीच मतभिन्नता बढ्दैछ ।

विगतमा विकास र समृद्धिको मूल फुटाउने वाचा–बन्धनसाथ चुनाव जितेका जनप्रतिनिधिहरू आज सामाजिक विकासका पूर्वाधार तयार गर्ने कामभन्दा सडक, नाला र भवन निर्माण गर्ने काममा केन्द्रित हुनथालेका छन् । विडम्बना भन्नुपर्छ, सडक, नाला र भवन निर्माणको कामलाई मात्र विकास र समृद्धिको आधार मान्ने हाम्रा अधिकांश जनप्रतिनिधिले सामाजिक विकासका कुरालाई चटक्क बिर्सेको देखिन्छ ।

विकास र समृद्धिको सपना बाँड्दै आएको सरकारका कतिपय जनप्रतिनिधि विगतमा ठेक्कापट्टाको पृष्ठभूमिबाट आएका कारण उनीहरूको प्राथमिकतामा भौतिक विकास निर्माणको काममात्र परेको छ । यस्ता ठेक्कापट्टा गर्दै राजनीतिमा होमिएका कतिपय जनप्रतिनिधि स्वयं कस्तो विकास गर्दा समाजलाई समृद्ध बनाउन सकिन्छ भन्नेभन्दा भौतिक विकास निर्माणकै काममा अलमलिएका छन् ।

विकसित मुलुकको इतिहास हेर्ने हो भने आफ्नो मुलुकलाई विकास र समृद्धिको बाटोमा लम्काउन सरकारले आफ्ना हुँदाखाने जनताका लागि गाँस, बास र कपासको जोहो गर्न जनमुखी शासन व्यवस्थासँगै नि:शुल्क शिक्षा र स्वास्थ्यसेवालाई प्राथमिकतामा राख्दै आएको सर्वविदितै छ ।

हुँदाखाने जनताले पाउने आधारभूत आवश्यकताजस्तै गाँस, बास र कपास पाएपछि उनीहरूले नि:शुल्क शिक्षा र स्वास्थ्य पाउनसके उनीहरूको जीवनस्तर बढ्छ भन्ने बुझेका नेता र कार्यकर्ता बिरलै भेटिन्छन्, नेपाली राजनीतिक वृत्तमा । शिक्षित र स्वस्थ जनता विकास र समृद्धिको पहिलो पूर्वाधार हो भन्ने बुझेका आधुनिक सिंगापुरका निर्माता र तत्कालीन प्रधानमन्त्री ली क्वान यु हाम्रा सत्तारुढ दल र नेताका लागि कहिले पनि आदर्श बन्न सकेनन् ।

विडम्बना भन्नुपर्छ, नेपाली राजनीतिले हुँदाखाने जनताको जीवनस्तर उकास्नेभन्दा पनि उनीहरूलाई राजनीतिको भर्‍याङमात्र बनाउँदै आएको छ । सरकारको अधिनायकवादी कार्यशैलीको पहिलो तारो जनता बनेका छन् । जनतालाई कसरी विकास र समृद्धिको सहयात्री बनाउने र जीवनस्तर कसरी उकास्ने भन्ने विषयमा हाम्रा जनप्रतिनिधिहरू त्यति संवेदनशील नदेखिँदा जनता निराश बनेका छन् । विकासको कुन मोडल अपनाउने भन्नेमै हाम्रा नेताहरू अलमलिएका छन् । त्यसैले हाम्रा जनप्रतिनिधिहरू सडक, नाला र भवन निर्माणजस्ता काममा बढी व्यस्त भएका छन् ।

यस्तै विकास र समृद्धिप्रति जनप्रतिनिधिहरूको अल्प बुझाइलाई नागरिक समाजका प्रबुद्ध व्यक्तिहरूले पनि प्रत्यक्ष र परोक्ष रूपमा मलजल गरिरहेका छन् । जनताले चाहेजस्तो विकास र समृद्धिको पूर्वाधार तयार गर्न सचेत नागरिक समाजको सहभागिता अपरिहार्य हुन्छ । तर व्यवहारमा त्यस्तो देखिंँदैन । यसमा दलहरूमात्र होइन, सचेत र शिक्षित भनाउँदा नागरिकहरू पनि दोषमुक्त छैनन् । किनभने भौतिक विकासलाई मात्र विकास र समृद्धिको पूर्वाधार मान्ने हाम्रा जनप्रतिनिधिहरूले निर्माण गर्दै आएका सडक, नाला र भवन निर्माण कार्यमा नागरिक समाजले त्यति चासो देखाउने गरेको पाइँदैन ।

हाम्रा जनप्रतिनिधिहरूको विकास र समृद्धिप्रतिको अल्प बुझाइकै परिणाम भन्नुपर्छ, अहिलेसम्म सामाजिक विकासबारे नागरिक बहस हुनसकेको छैन । भौतिक विकासको पूर्वाधारले मात्र समाजलाई विकास र समृद्धिको पथमा हिँडाउन सक्दैन । सन्तुलित विकासका लागि सामाजिक विकास अपरिहार्य छ । सामाजिक विकास भनेको समाजको प्राण हो भने शरीर भौतिक विकास ।

यस्तै सामाजिक विकासको पूर्वाधार भनेको शिक्षा र स्वास्थ्यमा जनताको सहज र सुलभ पहुँच हो । नेपाली राजनीतिले आजसम्म आधुनिक सिंगापुरका निर्माता तथा तत्कालीन प्रधानमन्त्री ली क्वान युजस्ता नेता नपाएकै कारण चाहेजस्तो विकास र समृद्धिको पूर्वाधार तयार हुनसकेको छैन।

प्रकाशित : श्रावण १९, २०७५ ०७:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT