कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

तपाईंको पिसाब ठिक छ ?

पिसाब लागेपछि रोक्नै गाह्रो हुने । छिनछिनमा फेर्न गइराख्नुपर्ने । राति सुतिसकेपछि बिहान उठ्नु अगाडि नै पिसाब फेर्न उठ्नुपर्ने । एकछिन कुरेर वा कनेरमात्र आउने । फेरिसकेपछि पुरा निख्रेको अनुभव नहुने । मूत्रसम्बन्धी समस्याका यी केही लक्षण हुन् ।
डा. अर्जुनदेव भट्ट

काठमाडौँ — संसारभरका पुरुषहरूमा देखा पर्ने एउटा रोग हो, प्रोस्टेट वृद्धि । अमेरिकामा सबैभन्दा बढी शल्यक्रिया मोतिया विन्दुपछि यही रोगको हुन्छ । त्यहाँ वर्षेनि ४ लाख बिरामीको प्रोस्टेट शल्यक्रिया हुने गर्छ ।

तपाईंको पिसाब ठिक छ ?

त्यहाँ यस रोगका बिरामीहरू तबमात्रै शल्यक्रिया गराउँछन्, जब बारबार मूत्र संक्रमण भइरहन्छ र पिसाब निकासमा समस्या भई मूत्रथैली तथा मृगौलाको कार्यमा ह्रास आउन थाल्छ । धेरै बिरामी औषधि–उपचारबाट आशा गरेजस्तो सुधार नभएपछि मूत्र लक्षणको झन्झटबाट मुक्त हुन शल्य उपचार अपनाउन राजी हुन्छन् । प्रोस्टेट शल्यक्रिया गराउने संसारका सबै बिरामीका उद्देश्य एउटै हो– कष्टप्रद मूत्र लक्षणबाट मुक्त हुने र आफ्नो जीवन गुणावस्थामा सुधार ल्याउने ।

प्रोस्टेटका मूत्र लक्षणहरू सायद पुरुषमा सबैभन्दा निरन्तर देखिने रोगका सङ्केत हुन् । ४० वर्ष नाघ्दा नै प्रोस्टेट ग्रन्थि कोशिकाहरूको वृद्धिले केही पुरुषमा मूत्र लक्षण देखापर्न थालिसक्छ । ६० वर्ष भइसकेका पुरुषलाई त यस्ता कोशिकाहरूको अति वृद्धिले धेरै नकारात्मक असर गरिसक्छ । तथ्यांक अनुसार नेपालमा ६० वर्ष र त्यसभन्दा बढी उमेरका पुरुषको संख्या करिब १२ लाख छ । ८० नाघेका पुरुष ५८ हजारभन्दा बढी छन् । यो आँकडाले देखाउँछ कि नेपालमा अहिले १२ लाख पुरुष कुनै न कुनै रूपमा प्रोस्टेट मूत्र लक्षणबाट पीडित छन् । तिनीहरूको जीवन गुणावस्थामा सुधार ल्याउन यसको उपचार जरुरी छ ।

पुरुष ग्रन्थि कोशिका बढ्दैमा वा प्रोस्टेट ठूलो वा सानो भयो भन्दैमा कोही पनि चिकित्सकलाई देखाइ हाल्दैनन् । ती कोशिकाहरूको प्रभावबाट मूत्र लक्षणहरू कतिसम्म देखिए र बिरामीले कस्तो अनुभूति गरिरहेको छ, त्यस अनुसारै उसले चिकित्सकसँग परामर्श गर्छ/गर्दैन, निर्भर गर्छ ।

प्रोस्टेटका मूत्र लक्षणलाई मुख्य दुई भागमा बाँड्न सकिन्छ :
उत्तेजनात्मक लक्षण– पिसाब लागेपछि रोक्नै गाह्रो हुने । छिनछिनमा पिसाब फेर्न गइराख्नुपर्ने । राति सुतिसकेपछि बिहान उठ्नु अगाडि नै पिसाब फेर्न उठ्नुपर्ने । धेरै बिरामी यस्ता लक्षण ज्यादै कष्टकर रूपमा अनुभव गर्छन् । यी लक्षणमा केही सुधार आएपछि बिरामी केही राहत महसुस गर्छन् ।

प्रतिबन्धित लक्षण– एकछिन कुरेर वा कनेरमात्र पिसाब आउने । पिसाबको धारा मसिनो र लुलो हुने । पिसाब एकैपल्ट नभएर कनेपछि अलिअलि हुने । पिसाब फेरिसकेपछि पुरा निख्रेको अनुभव नहुने ।

मूत्र लक्षणहरू अरू पनि हुनसक्छन्, जस्तै– पिसाब लागेपछि रोक्नै नसक्ने गरेर अत्याउने र ठाउँमा पुग्न नपाउँदै कहिले त चुहिहाल्ने । पिसाब फेर्दा पोल्ने, दु:ख्ने । पिसाबमा रगत जाने । राति सुतेको बेला आफै पिसाब सुलसुली चुहिने, छिटो–छिटो पिसाब फेरिराख्नुपर्ने इत्यादि ।

प्रोस्टेट बढेपछिको मूत्र लक्षणले बिरामीलाई निकै हैरान पार्छ । बिरामी तथा चिकित्सकको सजिलोका लागि यी लक्षणहरूको स्वमूल्याङ्कन गर्न मिल्ने प्रश्न मालाको विकास भएको छ (हेर्नुहोस् टेबल) । यो प्रश्न मालाका आधारमा मूत्र लक्षणको स्वमूल्याङ्कन बिरामी आफै गर्न सक्छ ।

प्रोस्टेट लक्षण प्राप्तांक सूचकांक प्रश्नावली : प्रोस्टेट वृद्धिपछिका पिसाबका लक्षणलाई अध्ययन गर्दै बिरामीलाई कसरी बढी बुझ्न सकिन्छ भनेर वैज्ञानिकहरूले काम गर्दै आएका थिए । यही सिलसिलामा सन् १९९२ मा अमेरिकी युरोलोजिकल सङ्घले ७ मूत्र लक्षणलाई एकत्रित गरेर अनुसन्धान गर्‍यो । यस्ता लक्षण सूचकाङ्क विभिन्न देशका वैज्ञानिकहरूले पनि आफू अनुकूल बनाए । पछिल्लो दशकमा प्रश्न माला छोटो–छरितो र बिरामीले बढी अपनाउन सक्नेगरी बनाइयो । जसमध्ये भारतीय युरोलोजिष्टहरूले बनाएर प्रयोग गरेको प्रश्न माला निकै छरितो र बिरामी–मैत्री देखिन्छ । अमेरिकी मोडलमा आधारित अन्तर्राष्ट्रिय प्रोस्टेट लक्षण प्राप्ताङ्क सूचकाङ्क प्रश्न मालाको मुख्य मर्म समेटेर दिइएको तालिका हो यो । सात प्रश्नबाट बनाइएको प्रश्नावलीमा प्रदान गरिएको कुल अङ्क शून्यदेखि सातमात्र भए त्यस्तो अवस्थालाई ‘मन्द’ वा ‘हल्का’ भनेर लिइन्छ । आठदेखि १९ सम्म भए ‘नियन्त्रित’ अवस्थाको रोग मानिन्छ । २० देखि ३५ कुल अङ्क प्राप्त भए रोगको अवस्था ‘सख्त’ वा ‘उग्र’ मानिन्छ ।

प्रश्नावलीको सबल तथा दुर्बल पक्ष : मूत्रथैलीले पिसाब थुपार्ने र त्यसलाई अनुकूल वातावरणमा निखार्ने गर्छ । अन्तर्राष्ट्रिय प्रोस्टेट मूत्र लक्षण प्राप्ताङ्क सूचकाङ्क प्रश्नावलीले यी दुवै कार्यको सिलसिलामा उत्पन्न हुनसक्ने लक्षणहरूलाई निकै समेटेको छ । तर पनि ज्यादै महत्त्वपूर्ण र बिरामीको सबैभन्दा कष्टप्रद मध्येको एउटा लक्षण ‘मूत्र चुवाहट’लाई समेटिइएको छैन ।

झट्ट हेर्दा एउटा लक्षणमात्र नसमेटिएको देखिए पनि वास्तवमा यसका पछाडि मूत्रथैलीको नसालाई उचित ध्यान नदिइएको देखिन्छ । र तल्लो मूत्र प्रणालीका स्नायुको महत्त्वलाई उपेक्षा गरेको देखिन्छ । अर्को अति महत्त्वपूर्ण, यो प्रश्नावलीको नाम प्रोस्टेट भनिए पनि यी कुनै पनि मूत्र लक्षणहरू प्रोस्टेट विशेष छैनन् । मूत्रथैली वा प्रोस्टेट ग्रन्थिको क्यान्सर, मूत्रनलीको साँघुरो अवस्थाजस्ता स्थितिमा पनि यी लक्षण कुनै न कुनै रूपमा देखापर्छन् ।

यी लक्षण स्वमूल्याङ्कनको आधारमा मात्र प्रोस्टेट ग्रन्थि वृद्धि ‘प्रोस्टेट हाइपरप्लेजिया’को निदान गर्न मिल्दैन । तर महत्त्वपूर्ण कमजोरीका बाबजुद पनि यी लक्षण प्रश्नावलीको प्रयोग गर्दै धेरै अनुसन्धान, उपचार र निगरानी गरिएको छ । खास गरेर रोगको वृद्धि रफ्तार थाहा पाउन र विभिन्न अनुसन्धान गर्न सरल, सुलभ र प्रमुख निर्धारकका रूपमा यो प्रभावकारी छ ।

रोग एउटै, अनुभूति फरक
पुरुष ग्रन्थि कोशिकाको वृद्धि (प्रोस्टेट हाइपारप्लेजिआ) एउटा अवस्था भए पनि सबै पुरुषले एकै प्रकारको मूत्र लक्षण अनुभूति गर्दैनन् । बिरामीको शरीर रचना, उसको स्नायु र मानसिक अवस्था, ऊसँग भएको विकृति (रोग्राकान्त स्थिति), उसको आर्थिक स्तर र मनोभाव इत्यादि धेरै तत्त्वले लक्षण अनुभूतिमा फरक पार्छ ।

त्यसैले लक्षण सूचकाङ्कबाट प्राप्त समुचाअङ्कको हिसाबले कुनै खास दर्जामा परेका बिरामी सबैको जीवन– गुणावस्था उस्तै होला भन्न मिल्दैन । यदि प्रत्येक बिरामीले आफ्ना लक्षणहरूको स्वमूल्यङ्कन आफै गरेर कति अङ्क प्राप्त हुन्छ भनेर मात्र हेर्ने हैन कि ऊ कति कष्ट अनुभव गर्दैछ र ऊ आफ्नो जीवन यसरी नै सञ्चालन गर्न चाहन्छ कि यसमा केही सुधार खोज्छ भनेर जान्नु पनि उपयुक्त हुन्छ । यो पनि प्रश्न गर्न मिल्छ– ऊ अहिलेको अवस्थामा सुधार चाहन्छ वा चाहन्न ? सुधार चाहन्छ भने ऊ त्यसको निम्ति केसम्म गर्न तयार छ ? आफूले आशा गरेको सुधारको आधार–रेखा कुन हो ? यस्ता थुप्रै प्रश्नको उत्तर खुद बिरामीले खोज्नुपर्छ । र त्यसको निम्ति आवश्यक पर्दा ऊ चिकित्सकसँग परामर्श लिन सक्छ ।

बिरामीहरू चिकित्सककहाँ प्राय: विभिन्न मूत्र लक्षणले पीडित भएपछि मात्र पुग्छन् । त्यसैले मूत्र लक्षणहरूको अध्ययन गरेर अन्तर्राष्ट्रिय प्रोस्टेट लक्षण प्राप्ताङ्क सूचकाङ्क प्रश्नावली तयार पारिएको हो । यो प्रश्नमाला सबै देश र विभिन्न शिक्षास्तरका बिरामीमैत्री हुन नसके पनि यसको प्रयोग बिरामी, चिकित्सक र खास गरेर अनुसन्धानमूलक कार्यमा एकरूपता ल्याउन प्रयोग गरिन्छ ।

बिरामीको जीवन– गुणावस्थाबारे सोधपुछ गर्ने प्रश्नले तालिकाको स्तर तथा महत्त्व अझै उच्च पारेको छ । स्वमूल्याङ्कनबाट एकै वा अलग वर्गमा परेका बिरामी पनि रोग अनुभूतिका आधारमा ज्यादै फरक वा धेरै नजिक हुन सक्छन् । जे भए पनि बिरामी आफैले मूत्र लक्षणको अध्ययन गरेर स्वमूल्याङ्कन गर्ने बानी बसाले ऊ आफैलाई रोगको विकास वा अवनति के हुँदैछ, छुट्याउन सजिलो पर्छ । चिकित्सकहरूले यो प्रश्नावलीलाई आधार बनाएर उपचार गरेमा त्यसको प्रभावकारिता थाहा पाउन सजिलो हुन्छ ।

भट्ट वरिष्ठ कन्सल्टेन्ट युरोलोजिष्ट हुन् ।

प्रकाशित : श्रावण १९, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?