१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बाढीको समाजशास्त्र

बाढीले पारिवारिक तथा सामाजिक सम्बन्ध, बस्ती, समुदाय, सामाजिक संस्था र संस्कृतिमा प्रभाव पार्छ ।
नरेन्द्र मिश्र

काठमाडौँ — वर्षात सुरु भएसँगै गतवर्ष साउन ३१ गते कान्तिपुर दैनिकमा छापिएको ‘बाढीले मृत्यु, बाढीमै सद्गत’ समाचारको याद प्राय: आउने गर्छ । किनभने त्यो समाचार खाँडो, कोसी र जितानदीको बाढीले प्रभावित भएको तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित मुसहर टोलको थियो ।

बाढीको समाजशास्त्र

जहाँ विमली सदाको ५ वर्षीय छोरा कमलु सदाको बाढीका कारणले मृत्यु भएको थियो । र मृत्युपश्चात अत्यधिक वर्षाको कारण सद्गत गर्ने जमिन जलमग्न भएपछि उनका काका देवकुमार सदाले मृतक बालकलाई कम्बलले बेरेर बाढीमै सद्गत गरेका थिए ।

वास्तवमा यो बाढीले मच्चाएको वितण्डाको एक दु:खद घटना हो । वर्षेनि मनसुन सुरु भएसँगै बाढी, डुबान र पहिरोले धेरै धनजनको क्षति भएका खबर प्राय: दैनिक आउने गर्छ । यस्ता दु:खद खबरसँगै आम मानिसमा प्रश्नहरू उब्जिन सक्छन् । के बाढीबाट हुने धनजनको क्षतिलाई न्युनीकरण गर्न सकिँदैन ? यसका लागि सरकारको पहल पर्याप्त छ/छैन ? किन वर्षात सुरु भएपछि मात्र बाढी, डुबान र पहिरोका विषयले प्राथमिकता पाउँछन् ? अनि के बाढीले भौतिकमात्र क्षति गरिरहेको छ कि यसले वर्षेनि पारिवारिक र सामाजिक सम्बन्धलाई पनि खलबल्याइरहेको छ ?

विपद्, मनसुन र बाढी
विपद् जोखिम न्युनीकरण तथा व्यवस्था सम्बन्धी बनेको ऐन–२०७४ मा उल्लेख भए अनुसार नेपाल सरकारले विपद्लाई २ प्रकारले विभाजन गरेको छ । पहिलो, गैरप्राकृतिक विपद् जस अन्तर्गत महामारी, अनिकाल, डढेलो, कीट तथा सूक्ष्म जीवाणु आतङ्क, जनावर आतङ्क, खानी, हवाई, सडक, औद्योगिक दुर्घटना, आगलागी, विषाक्त खाद्य सेवन, वातावरण प्रदूषण आदि ।

दोस्रो, प्राकृतिक विपद्मा हिमपात, हिमपहिरो, आँधी, हुरी–बतास, शीतलहर, भूकम्प, चट्याङ, बाढी, पहिरो, डुबान आदि पर्छ । पहिलो विपद् मानव सिर्जित प्रकोप/विपद्सँग सम्बन्धित छ भने दोस्रो प्राकृतिक रूपमा उत्पन्न हुने जुनसुकै विपद् हुन् । अब मनसुन र बाढीकै कुरा गरौं । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष जून ८ अर्थात जेठ २५ देखि नेपालमा मनसुन सुरु भएको छ । सामान्यतया जूनदेखि सेप्टेम्बरसम्मको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि मानिन्छ ।

उक्त समयमा नेपालमा वार्षिक करिब ८० प्रतिशत वर्षा हुने गर्छ । सक्रिय मनसुन सुरु भएसँगै बाढीले वितण्डा मच्चाउने गर्छ । हुन त बाढी एक छोटो समयमा आउने प्राकृतिक विपद् हो, जुन निश्चित समयमा सुरु भएर निश्चित समयमा सकिन्छ । तापनि विभिन्न साना–ठूला नदीहरूको छेउछाउमा बसोबास गर्ने गाउँ, बस्ती वा सहरहरूलाई वर्षेनि मनसुनसँगै बाढी र डुबानको त्रासले सताउने गर्छ । यसले मानिसको जनजीवन, आम्दानीका स्रोतसाधनका साथै पारिवारिक सम्बन्धहरू खल्बलाइरहेको छ ।

प्राकृतिक विपद् कुनै निश्चित भौगोलिक सिमानासँग मात्र जोडिएको हँुदैन । बाढीको असर सर्वव्यापक हुने गर्छ । यसको अर्थ बाढीले कुनै निश्चित जात, जाति, धर्म, लिङ्ग, उमेर, वर्णका आधारमा असर गर्छ भन्ने हुँदैन । बरु यसको असर तल्लो/विपन्न वर्गका मानिसमा बढी देखिन्छ । किनभने केही अविकसित मुलुकमा गरिएको अनुसन्धानले बाढी र डुबानबाट तल्लो/विपन्न वर्गका मानिस बढी प्रभावित भएको देखाएको छ ।

बाढी, संकेत र पूर्वानुमान
प्रत्येक समाज आ–आफ्नै सामाजिक ज्ञान, विचार, मूल्य, मान्यता, संकेत र बुझाइबाट चलिरहेको हुन्छ । यसलाई अर्को अर्थमा भन्दा मौसममा आएको फेरबदल, अविरल वर्षा, बाढी र डुबानको अवस्था र पूर्वानुमानलाई प्रत्येक समाजले आफ्नै तवरले बुझी क्रिया/कार्य गर्छ भन्ने हो ।

जस्तो कि मानिसले पानी पर्ने/नपर्ने वा बाढी आउने/नआउनेलाई पनि दुई तरिकाबाट बुझ्ने गरेको पाइन्छ । पहिलो, वैज्ञानिक तथ्यहरूलाई आधार मानी जल तथा मौसम विज्ञान विभागले गरेको मौसम पूर्वानुमान लिन सकिन्छ । यसलाई रेडियो, टेलिभिजन, पत्रपत्रिकाका साथै विभिन्न अनलाइन खबरबाट थाहा पाउन सकिन्छ ।

यसको दोस्रो पाटो पनि छ, जसमा गाउँ, बस्ती वा समुदायको बाढीप्रतिको आफ्नै सामाजिक ज्ञान र बुझाइलाई लिन सकिन्छ । किनभने प्राय: समाजले मान्दै आएका बाढी वा विपद्प्रतिका संकेतहरू हुन्छन्, जसलाई समुदायले बुझी आफ्नो सुरक्षालाई मजबुत बनाउने प्रयास गर्छ । जस्तै– कतिपय समाजमा कमिलाको लामो ताँती लागेर हिँडेको देखेमा पानी पर्ने संकेतलाई बुझिन्छ । अझ आफ्नै कुरा गरौं ।

बाल्यकालमा वर्षायाममा पूर्व–दक्षिणबाट कालो बादल मडारिँदै आउँदा कैयौंपटक आँधी–बेहरीसहित पानी पर्छ भन्ने संकेत बुझी घरभित्र सुरक्षित बसेको घटना अझै ताजा छ । चरा/जनावरका अस्वाभाविक आवाजले कराएमा, खोलाले फरक आवाजमा सुसाएमा अनि जलकुम्भी झारसँगै पहाडतर्फबाट धमिलो पानी बगेमा पनि बाढीको संकेतको रूपमा बुझिन्थ्यो । सभवत: यी संकेत र बुझाइ सायद अझै पनि कैयांै समाजमा रहिरहेका होलान् ।

अनि यो निश्चित हो, आजको समयलाई वैज्ञानिक युगले चिनिन्छ । यसमा दुईमत छैन । किनभने अबको नयाँ पुस्ता वा समाज वैज्ञानिक तथ्यमा आधारित भएका विश्लेषणलाई आधार मानी आफ्नो दैनिकी र जीवनशैलीलाई डोर्‍याउन थालिसकेको छ । तथापि फेरि यो परिवर्तन सबै समाजमा एकनासले लागु हुन्छ भन्ने पनि छैन । किनभने प्रत्येक समुदायमा विपद्को पूर्वानुमानलाई बुझ्ने आ–आफ्नै तरिका हुन्छन् । मौसम विभागको पूर्वानुमान होस् वा समुदायको आफ्नै संकेतको बुझाइ भए तापनि बाढी र डुबानबाट धनजनको क्षति हुनुहुँदैन ।

बाढीको सामाजिक प्रभाव
बाढी र डुबानले मानव जीवनका विविध पक्षमा प्रभाव पारेको देखिन्छ । तीमध्ये मुख्य ३ क्षेत्र छन् । पहिलो, भौतिक संरचनामा भएको क्षति जसमा घर, जग्गा–जमिन, सडक, पुल, खानेपानी, नहर, पोखरी, स्कुल, अस्पतालका साथै अन्य सार्वजनिक स्थलहरू पर्छन् । दोस्रो, उत्पादनमूलक वा आय आर्जनको स्रोतमा पारेको प्रभावलाई लिन सकिन्छ ।

यसमा मुख्य कृषि र पशुपालन पर्छन् । किनभने तराईको जनजीवन अझसम्म पनि कृषि र पशुपालनमै निर्भर छ । अन्त्यमा बाढीले घरपरिवार र पारिवारिक सम्बन्धमा प्रभाव पार्छ । यसको अर्थ पारिवारिक तथा सामाजिक सम्बन्ध, बस्ती, समुदाय, सामाजिक संस्था र संस्कृतिमा प्रभाव पार्छ भन्ने हो । जस्तो कि पारिवारिक सदस्य गुम्नु, बासस्थानमा परिवर्तन हुनु, छरछिमेकीहरू बदलिनु, साथीभाइहरू फेरिनु, नयाँ जीवनशैली, मूल्य र मान्यतामा रमाउनुपर्ने बाध्यताको सिर्जना हुनु आदि ।

त्यसैले त भनिन्छ, प्राकृतिक विपद्को क्षतिलाई पूर्वानुमान गर्न सकिँदैन । तथापि बाढी र डुबानले भौतिक संरचना, उत्पादमूलक स्रोत, चौपाया, जनावर, पशुपन्क्षी आदिको गणना गरी क्षतिको अनुमान गर्न त सकिएला । तर गुमेका पारिवारिक सदस्य जस्तै– बाबुआमा, छोराछोरी र आफन्तहरूप्रतिको माया, स्नेह, सम्झना र पीडालाई गणना गर्न गाह्रो हुन्छ । यो वर्षेनि थपिने बाढी र डुबानको सामाजिक प्रभाव हो ।

फलस्वरूप सम्झना वा स्मृतिमा बाँच्नुपर्ने सम्बन्धहरूको संख्या थपिँदै जान्छन् । यसबाट परेको पारिवारिक चोटलाई सहजै न्युनीकरण गर्न लामो समय लाग्न सक्छ । त्यसैले बाढी तराईमा वर्षेनि थपिने विपद्को रूपमा रहँदै आएको छ ।

अब के गर्ने ?
हामीकहाँ बाढीले विपद् निम्त्याएपछि मात्र विभिन्न समस्या र समाधानका उपायबारे प्रश्नहरू उठ्ने गर्छन् । त्यसपछि लगभग ७/८ महिनासम्म ती प्रश्नहरू लुप्त भएर बस्छन् । फेरि पुन: मनुसन सुरु भएसँगै बिर्सिएका ती सवाल जुर्मुराएर एकैचोटी आउँछन् । यस्तो प्रवृत्ति छ, हाम्रो ।

सरकारले विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनको तयारी अवस्थामा रहनका लागि सरकारका सरोकारवाला मन्त्रालय, प्रदेश स्तरका मन्त्रालय र स्थानीय सरकारलाई तयारी अवस्थामा रहन सजक गराएको छ । यसका लािग तत्कालीन र दीर्घकालीन योजनाका साथ अघि बढेमा क्षतिलाई न्युनीकरण गर्न सकिन्छ ।

तत्काल बाढी र डुबानको सम्भावित क्षेत्र पहिचान गरी त्यसका लागि बाढीपूर्व, बाढीको अवस्था र बाढीपछिको अवस्थाका लागि तयारी अवस्थामा रहनुपर्छ । पूर्वसूचना, सतर्कता, सुरक्षा, राहत तथा उद्धार, खाद्यान्न, लत्ता–कपडा, औषधि–उपचार र बासस्थानको उचित व्यवस्थापन गर्नुपर्छ । दीर्घकालीन योजनामा अनावश्यक भौतिक स्वखलनको रोकथाम, अनावश्यक बाँध/तटबन्ध र डुबानको समस्यालाई स्थायी समाधान, प्राकृतिक विपद्का रूपमा उच्च जोखिममा रहेका घर, टहरा वा बस्तीहरूको दीर्घकालीन समाधान पर्छन् ।

मिश्र रत्नराज्यलक्ष्मी क्याम्पसमा समाजशास्त्र विभागका विभागीय प्रमुख हुन् ।

प्रकाशित : श्रावण १९, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?