कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

खाने पानी कि नखाने पानी ?

धाराबाट आउने ‘नखाने पानी’लाई खाने पानी बनाउन ३ तहगत प्रक्रिया पुरा गर्नुपर्छ ।
डा. साधना प्रतीक्षा

काठमाडौँ — ‘के छ नि तेरो नखाने पानीको हालखबर ?’ ‘होइन, के भन्छ यो ?’ ‘तेरो अफिस क्या त्यो धारामा पानी नआउने तर नामचाहिँ काठमाडौँ उपत्यका खानेपानी लिमिटेड...बरु अबदेखि त्यसको नाम फेर्नुपर्‍यो भनी आन्दोलन गर्नु नि । नखाने पानी लिमिटेड....।’ ‘मेरो अफिससँग यत्रो रिस किन ?’

खाने पानी कि नखाने पानी ?

‘नगरेर के गर्नु त ? धारामा पानी आउँदैन भनेर घरबेटीले दैनिक एक बाल्टी पानी दिन्छन्, त्यसले पकाउने–खाने, भाँडा माझ्ने अनि नुहाउने–धुवाउने कसरी ? पाहुना आए भने शौचालयको पानी सकिन्छ भनेर ढोकामा आएर जुत्ता–चप्पल गन्छन् ...।’ ‘आफ्नो घरबेटीको रिस मलाई के पोख्छस् यार ।’ ‘नपोखेर के गर्नु त । आफू गाउँदेखि पढ्न आएको, पढ्नु कि ढुंगेधारा खोज्दै नुहाइ–धुवाइ गर्न जानु ।

जारको पानी किनेर खान त गाह्रो छ भने अरू काम... । आज एकजना आफन्तले खान बोलाएका थिए, यी झोलाभरि मैला लुगा बोकेर जाँदैछु । मज्जाले नुहाउँछु, लुगा धोएर सुकाउँछु, अनि खानामात्र होइन, दिउँसोको खाजासमेत खाएर सुकेका लुगा लिएर आउँछु । २ हप्तालाई हाइसन्चो ।’ ‘तैँले भनेजस्तो धारामा पानी नै नआउने त कहाँ हो र ? घरबेटीहरूले कञ्जुस्याइँ गर्ने पो हो...।’

दुई युवाको संवाद चलिरहेकै बेला एक प्रौढ बीचैमा बोले, ‘ए नखाने पानी अफिसका बाबु † तपाईंको अफिसले पानी कतिबेला दिन्छ, कति दिन्छ, त्यो सबै तपाईंलाई थाहा छ ? एक ट्याङ्की पानी भर्न हामी घरबेटीहरूलाई कति आपत् पर्छ भन्ने तपाईंलाई के थाहा ?’ ‘त्यही त भन्या ।

कहिले आधा रातमा आँखा मिच्दै उठेर मोटर लगाउनु, कहिले जरुरी काम छाडेर हस्याङ–फस्याङ गर्दै घर आएर पानी भर्नु, पानी पुर्‍याउन नसक्दा डेरावालको भनाइ खानु...ओहो † कम दु:ख छ ? पानी आए पनि नआए पनि, धाराबाट हावामात्र आए पनि बिल भने यसरी आइरहन्छ यी...।’ अर्का एक व्यक्ति सायद पानीको बिल तिर्न जाँदैरहेछन् क्यार, उनले पनि तितो पोखे । ‘यति मात्र कहाँ हो र ? बेला–बेलामा खाने पानीसँगै बोनसका रूपमा ढल पनि मिसिएर आउने गर्छ नि...।’ भिड बीचबाट आएको यस भनाइले सबैलाई हँसायो । त्रिपुरेश्वर आएपछि खानेपानीका कर्मचारी युवक तथा ग्राहक दुबै झरे ।

कीर्तिपुर–रत्नपार्क बसमा कार्यालय समय हुनाले कोचाकोच गरी यात्रा गरिरहेका यात्रुहरू बीचको रमाइलो संवाद थियो यो । त्यो संवाद सडक छेउमा रहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड कार्यालयमा पुगेर टुङ्गियो । यस रुटमा प्राय: गर्ने यात्राका क्रममा मेरा आँखा पनि यही कार्यालयको बोर्डमा केही बेर अडिने गर्छन्, ‘खाने पानी’ शब्दको अर्थ खोज्दै । यद्यपि मेरो समस्या अघिको संवादका पात्रहरूको भन्दा भिन्न छ । मेरो धारामा पानी नआउने समस्या छैन, प्रशस्त पानी आउँछ । पानी भर्न राति उठ्नु पर्दैन, अनि सबैको निद्रा बिगार्दै मोटर चलाउनु पनि पर्दैन । ट्याङ्कीमा पानी आफै भरिन्छ । अझ भनौं भने पानी छ्याल–ब्याल नै छ र पनि म खाने पानीलाई ‘नखाने पानी’ भन्न रुचाउँछु ।

किनभने मेरो धाराबाट आउने पानी खान त के अन्य प्रयोजनका लागि पनि सोझै प्रयोग गर्न योग्य हुँदैन । कहिले कालो, कहिले खैरो, अनि कहिले कमेरोजस्ता । विभिन्न रङको पानी आउने गर्छ । ट्याङ्की भरेर केही समय थिग्रिएपछि मात्र भाँडा–लुगा सफा गर्न मिल्ने हुन्छ । तर केही महिनामै ट्याङ्कीको आधा भागमा हिलो जमिसकेको हुन्छ । खाना पकाउन र पिउन त लामै प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । दैनिकीको निश्चित समय पानी प्रशोधनका लागि छुट्याउनुपर्ने बाध्यता मेरो हैरानीको विषय हुँदै हो, फेरि म परेंँ नेपाली साहित्य पढेकी ।

मलाई सुरक्षित किसिमले पानी प्रशोधन गर्ने विधि र उपयुक्त रसायनबारे ज्ञान छैन । सरकारी सञ्चार माध्यमबाट सुन्दै आएको ‘पानी उमालेर, फिल्टर गरेर, क्लोरिन हालेर वा सोडिस विधिद्वारा शुद्धीकरण गरेर पिउनाले पानीजन्य संक्रमणबाट बच्न सकिन्छ’ भन्ने सन्देशलाई मनन गर्ने हो भने यी सबै विधिका लागि धाराबाट आउने पानी सामान्य सङ्लो त हुनैपर्छ । वर्षाको भेलजस्तो धमिलो पानी फिल्टरमा राख्दा झर्दैन, उमालेर वा अन्य विधिबाट शुद्ध पारे तापनि त्यसलाई पिउन सकिँदैन ।

त्यसैले मैले धाराबाट आउने ‘नखाने पानी’लाई खाने पानी बनाउन ३ तहगत प्रक्रिया पुरा गर्नुपर्छ । धाराबाट आएको पानीलाई बाल्टीमा थापेर त्यसमा अलिकति फिट्किरी राखेर चलाउने, भोलिपल्ट फिल्टरमा राख्ने अनि आवश्यकता अनुसार उमालेर पिउने । मलाई यतिमात्र थाहा छ, फिट्किरीले पानी सफा गर्छ । बाल्टीको पिँधमा फोहोर थिग्रिन्छ र पानी सफा देखिन्छ । बाँकी यसका नकारात्मक प्रभावबारे म अनभिज्ञ छु ।

जहाँसम्म क्लोरिनजस्तो रसायनको कुरा छ, धाराको पानीमा त्यो हालेर पठाइन्छ, तर सधैँ होइन र त्यसको मात्रा पनि एकनासको पाइँदैन । कहिले हालिएकै हुँदैन, कहिले भने प्रयोगै गर्न नसकिनेगरी बढी मात्रामा हालिन्छ । हुन सक्छ, त्यहाँ कार्यरत कर्मचारीमा त्यसको सही ज्ञान छैन अथवा उनीहरू त्यसप्रति संवेदनशील हुँदैनन् । यदि यस्तो हो भने यो जनस्वास्थ्यमाथिको खेलवाड हो ।

आज गाउँ–सहर जताततै मिनरल वाटर तथा जारको पानी व्यवसाय निकै फस्टाइरहेको छ । हेर्दा सङ्लो देखिने यो पानी कति स्वस्थकर र शुद्ध छ भन्ने कुरा बेला–बेलामा आमसञ्चार माध्यमले देखाएकै छन् । जस अनुसार ७०–७५ प्रतिशत जारको पानी दूषित रहेको खुलासा भएको छ । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागद्वारा गरिएको नमुना परीक्षणका आधारमा जारको पानीमा हानिकारक रसायन तथा कोलिफर्म जीवाणु भेटिएको तथ्य बाहिर आएको हो ।

यसैगरी विभिन्न पानी उत्पादक तथा वितरक कम्पनीका ट्याङ्करको पानीको नमुना परीक्षणमा पनि पानी असुरक्षित भएको समाचार आइरहेको छ । यसरी जनस्वास्थ्यसँग खेलवाड गर्ने निजी कम्पनीहरूमाथि अनुसन्धान गरी आवश्यक कारबाही गरिने आश्वासन सम्बन्धित सरकारी निकायबाट नआएको पनि होइन । तर खानेपानी लिमिटेडबाट वितरण हुने पानी नै सुरक्षित नहुँदा त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्नले अहिले आम उपभोक्ता पिरोलिएका छन् ।

सामान्यतया वर्षायाममा पानीको स्रोत धमिलिनु अस्वाभाविक होइन । खाने पानी लिलिटेडले त्यसलाई भण्डारण गर्ने तथा जनस्वास्थ्यमा हानि नपर्ने विधि तथा रसायनद्वारा त्यसलाई सफा बनाएर वितरण गर्नुपर्ने हो । तर यहाँ त्यसो नगरी सोझै हिलो–लेदो सहितको पानी वितरण गरिन्छ । हामी आफ्नो दैनिक जीवनमा हरेक कुरा सफा गर्न पानीको प्रयोग गर्छौं । तर त्यही पानी फोहोर हुँदा खेप्नुपरेको हैरानी बयान गरिनसक्नु छ ।

पिउन त जारको सङ्लो पानी प्रयोग गर्न सकिएला, तर खाना पकाउन, भाँडा–लुगा सफा गर्न तथा नुहाउन धाराकै पानी प्रयोग गर्नुपर्ने हुन्छ । फोहोर पानीका कारण शरीरमा एलर्जीजस्ता छाला सम्बन्धी रोग बढिरहेको तथ्यप्रति जनस्वास्थ्यसँग सम्बन्धित सरकारी निकायको ध्यान जानुपर्ने देखिन्छ । विश्वका सम्पन्न मुलुकहरूमा पिउने तथा अन्य प्रयोजनका लागि छुट्टाछुट्टै पानीको व्यवस्था गरिएको हुन्छ । त्यहाँको अन्य प्रयोजनको पानी पनि हाम्रो पिउने पानीभन्दा सफा हुने गर्छ ।

मुलुकले अहिले समृद्धिको नारा रटिरहेको छ, तर समृद्धिको प्रमुख आधार जनस्वास्थ्य हो भन्ने यथार्थलाई भने मनन गर्नसकेको देखिँदैन । समृद्धिलाई २ अंकको आर्थिक वृद्धिसँग मात्र जोडेर हेर्नु हुँदैन । यसका लागि जनताको स्वास्थ्य, शिक्षा, चेतनाको स्तर लगायत विभिन्न पक्षमा सकारात्मक परिवर्तनको आवश्यकता हुन्छ । जनताको स्वास्थ्य प्रत्यक्ष रूपमा पानीसँग जोडिएको हुन्छ । जबसम्म सर्वसाधारणले स्वच्छ–सफा पानी उपभोग गर्न पाउँदैनन्, तबसम्म उनीहरू स्वस्थ रहन सक्दैनन् ।

यस्तो अवस्थामा सरकारले देखेको समृद्धिको सपना केवल सपनामा सीमित रहन्छ । त्यसैले केही समयअघि ‘लोडसेडिङ प्राधिकरण’को उपमा पाइसकेको विद्युत प्राधिकरणले अहिले उक्त उपमाबाट आफूलाई मुक्त गर्न सफल भएजस्तै ‘नखाने पानी’को उपमा पाएको खानेपानी लिमिटेडले पनि सर्वसाधारण उपभोक्ताका लागि स्वच्छ पानी वितरण गरेर उक्त उपमाबाट मुक्त हुन सक्नुपर्छ ।

प्रतीक्षा त्रिवि, नेपाली केन्द्रीय विभागकी उप–प्राध्यापक हुन् ।

प्रकाशित : श्रावण १९, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?