काठमाडौंमा पैदल यात्रा

काठमाडौंका पुराना सहरहरूका बाटो कुनै दिन मोटर चल्छन् भनेर बनाइएकै होइनन् । जात्रा मनाउने, देवीदेउता डुलाउने बाटामा सवारीसाधन चल्न दिनु आफ्नो खल्तीको हीरालाई काँच भन्ठान्नु हो ।
स्नेह सायमि

काठमाडौँ — करिब २० वर्ष अघिको कुरा–काठमाडौँको एउटा कार्यक्रममा पत्रकार दाजु भैरव रिसालसँंग भेट भयो । मैले सुनाएँ, ‘स्वास्थ्यका लागि मर्निङ वाक गरिरहेको छु ।’ उहाँले भन्नुभयो, ‘म त डे वाक गर्छु ।’ सुरुमा त मैले बुझिन । उहाँले प्रस्ट्याउनुभयो । सहरको चार–पाँच किलोमिटर बाटो त हिँडेरै भ्याउनुहुँदो रहेछ ।

काठमाडौंमा पैदल यात्रा

उहाँको कुरा सुनेर ‘मर्निङवाला वाक’ वाला म अलि लज्जित भएँ । आज भैरव दाइ हिँड्न सक्नुहुन्छ, सक्नुहुन्न थाहा छैन । फेरि यहाँका बाटो हिँड्न लायकै पनि कहाँ छन् र !
काठमाडौँ सहरी क्षेत्रभित्र पनि किसिम–किसिमका सहर छन् ।

काठमाडौँको भित्री पुराना सहरहरू– जस्तै असन, इन्द्रचोक, मरु, जैसीदेवल, लगन, क्षेत्रपाटी, ह्युमत, ठँहिटी, ठमेल आदि । यो क्षेत्रमा कहिल्यै उबड–खाबड नभएको चिल्लो गतिलो सडक बन्दैनन् । कतै–कतै ढुंगा छापिएको छ । तर ढुंगा टेक्दा लडिएलाझैँ हल्लिन्छ । कहीँ इँटा ओछ्याइएको छ, तर कतै बसेको कतै उठेको । धेरैजसो ठाउँमा पिच गरिएको थियो भन्ने झझल्कोसम्म मिल्ने गिट्टी भेटिन्छ ।

अधिकांश मठमन्दिर, पुराना ऐतिहासिक दरबार, पुरातात्त्विक महत्त्वका संरचना यहीँ छन् । यस ठाउँमा दिनभरि मानिस साइकल लगायतका सवारी साधनले समग्र सडक कस्तो छ भनेर देख्दै नदेख्नेगरी भिड हुन्छ । यस्तोमा पनि चालकहरू कानै खानेगरी हर्न बजाउँदै पैदल यात्रुलाई किच्दिउँ कि जस्तोगरी सवारी हाँक्छन् । बलिया पैदल यात्रु त यदाकदा हिँड्छन् नै । कमजोर यात्रु बेलाबखत ढलिरहेका हुन्छन् । अशक्त, कमजोर, विशेषगरी खुट्टाका समस्या भएकाहरू त यी बाटोमा कसरी हिँड्नु !

अर्को भित्री सहरभन्दा अलि बाहिर । सदा उपेक्षित छ, कालिमाटीसँंगै जोडिएको टंकेश्वरको बाटो । अति ब्यस्त, अति फोहोर । कालिमाटी चोकको चित्तधर हृदयको सालिकदेखि करिब ४ सय मिटरको बाटो मैले बाल्यकालदेखि आजसम्म हिँडिरहेको छु । कहिल्यै नाक थुन्नु र हिलो टेक्नु नपरेको थाहा भएन । मानौँ वागमतीको पुरानो बगर कसैले उठाएर यहाँ राखिदिएको छ । पैदल यात्रु हिँड्ने बाटोभरि ठूलठूला खाल्डा छन्, जहाँ पानी र ढल जम्छन् । सवारी साधनले पैदल यात्रुलाई जहिले पनि हिलो छ्याप्छ ।

काठमाडौँमा चिल्लो हुँदै भत्कँदै गर्ने सडक टुंँडिखेल वरिपरि, पुतलीसडक, दरबार मार्ग, बबरमहल, त्रिपुरेश्वर, थापाथली, कालिमाटीतिरको हो । बबरमहल, माइतीघरदेखि बानेश्वर चोकसम्मको फुटपाथ र भद्रकालीदेखि सिंहदरबारको मूल गेटसम्म अलि बलियो मान्छे सजिलै हिँड्ने बाटो छ । तर पछिल्लो सडक विस्तारका क्रममा फुटपाथ काटेर मोटरलाई बाटो बनाइँदैछ । दुईतिरबाट दुई पैदल यात्रु हिँड्दा एकअर्कालाई साइड दिन रोकिनुपर्ने गरी फुटपाथ काटिइरहेको छ ।

केही वर्षअघि लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, बानेश्वर, भीमसेनगोला, ताहाचल लगायतका स्थानमा सडक बनेको थियो । तर हिँड्नै नमिल्नेगरी एक फिटे दुई फिटे फुटपाथहरू बनाइएका छन् र हरेक सय मिटरमा फुटपाथ छेकिनेगरी बिजुलीका लट्ठाहरू छन् ।

काठमाडौं सहरमा मानिसहरू छन् र उनीहरूले हिँड्नु पनि पर्छ भनेर बिर्सँदै सडक बनिरहेका छन् । कलंकीदेखि सातदोबाटोसम्म चक्रपथको सडक बनिरहेको छ । तर सहरी सडकको सट्टा राजमार्ग बन्यो । पहिले प्रतिघन्टा २० किलोमिटरको गतिमा गुड्ने सवारी साधन ८० किमि प्रतिघन्टाको गतिमा गुड्ने भयो । जताततै मोटर नै गुड्नुपर्ने । मानौँ त्यो बाटो पैदल यात्रुका लागि बर्जित छ । सडकहरूमा बेलाबखत पिच हुन्छ । झमझम असारे झरी होस् या घाम नलाग्ने पुस महिनामा । तर फुटपाथ कहिल्यै बन्दैन । पचास वर्षअघि ओछ्याइएको सिमेन्ट ब्लकबाटै काम चलिरहेको छ । पिच गरेपछि न ढल बनाउनुपर्ने न फुटपाथ ।

पैदल जीवन फर्केर हेर्दा
काठमाडौँको पुराना सहरहरूका बाटो कुनै दिन मोटर चल्छन् भनेर बनाइएकै होइनन् । जात्रामा देवीदेवता राखेर देख:सहित जात्रा मनाउन र खुल्ला ठाउँहरूमा मानिसहरू जम्मा हुन बनाइएका हुन् ।

चोक,गल्ली, बही, ढुंगेधारा, मन्दिर, सत्तल, फल्चा यहाँका सभ्यताका प्रतीक हुन् । ती सबै प्रकारका बाटा पूणरूपमा फुटपाथै हुन् । यस्ता ऐतिहासिक स्थलमा सवारी साधन चल्न दिनु भनेको आफ्नो खल्तीमा भएको हीरालाई काँच भन्ठान्नु हो । जसलाई हेर्न विश्वभरबाट काठामाडौँ आउँछन्, त्यसको महत्त्व र परम्परा विरुद्ध काठमाडौँको भित्री सहरलाई उपेक्षित गरिएको छ ।

मैले बाल्यकालमा भेटेका धेरै ज्येष्ठ नागरिक सेनाबाट अवकाश पाएकाहरू हुनुहुन्थ्यो । उहाँहरूले सुनाएको एउटा प्रसंग छ— उहाँहरू पैदल हिँड्नु हुन्थ्यो । बिहानै खाना खाएर नैकापदेखि भक्तपुरको खरिपाटीसम्मको २२ किलोमिटरको बाटो हिँड्नु र बेलुकी घर आइपुग्नु उहाँहरूको ‘ड्युटी’ थियो । त्यतिखेरको उहाँहरूको हिँडाइ बाध्यात्मक नै थियो, तर हिँड्ने वातावरण पनि थियो । मोटर बाटो साँघुरा थिए र मोटर यदाकदा त्यतिखेरका शासकहरूले चढ्थे । सामानका ढुवानीका लागि थोरै लरीहरू चल्थ्यो ।

मेरो जिजुबाजेलाई मैले चिन्दा उहाँको उमेर ७० वर्ष नाघिसकेको थियो । उहाँले लामो समय कीर्तिपुरको द्वारे भएर शासन गर्नुभयो र जीवनको उत्तराद्र्धमा भिक्षु हुनुभयो । उहाँ कहिले कीर्तिपुर त कहिले चितलाङ बस्नुहुन्थ्यो । चितलाङबाट कीर्तिपुरसम्म थानकोट हुँदै २१ किलोमिटरको बाटो आउनुहुन्थ्यो । म आफै पनि आठ कक्षामा नेपाल आदर्श हाइस्कुल गणबहालमा भर्ना भएको थिएँ र नैकापदेखि हिँडेरै आउँथेँ ।

बस त थियो, तर कुर्न एक घन्टा लाग्थ्यो । एक–डेढ घन्टामा त घरै पुगिसकिन्थ्यो । थानकोटभन्दा पर कस्तो थियो कुन्नि । थानकोटयता धेरै मानिस हिँडेरै आवत–जावत गर्थे । सडकको दायाँ–बायाँ ठूलठूला रुखहरू थिए र ती रुखहरूले पैदल यात्रुहरूलाई शीतल दिन्थ्यो । आजको भाषामा भन्दा त्यतिबेला धेरैजना लामो–छोटो दूरीका हाइकिङ गर्थे ।

काठमाडौँ र सवारी साधन
अहिले काठमाडौँको ठूलो समस्या हो– बढ्दो सवारी साधन र ट्राफिक जाम । पैदलमा १५ मिनेटमा पुग्ने ठाउँ जान मोटरमा एक घन्टा छुट्याउनुपर्छ । हरेक दिन सयौँ साना–ठूला दुर्घटना भइरहेका छन् । सवारी साधन बढेर सासै फेर्न नसकिनेगरी वातावरण दूषित भएको छ । तैपनि सरकार लगायत व्यवसायीहरू सवारी साधनको आयातलाई नै प्रमुख आयस्रोत बनाउन प्रयासरत छन् । सरकार सवारी साधनमा वर्षेनि कर बढाउन पाउँदा रमाएकै छ । बैंकहरूको लगानीको प्राथमिकता पनि यसमै छ । स्थानीय सरकारको निर्वाचनपछि त साना सवारी साधनमा हुइँकिने जनप्रतिनिधि नै कति–कति ।

पञ्चायत कालमा नेता पद्मरत्न तुलाधर भाषणमा भन्ने गर्थे— ‘यो पञ्चायत भनेको व्यवस्था होइन, अव्यवस्था हो । कहाँ छ– व्यवस्था, सडक, खानेपानी, ढल, शिक्षा, स्वास्थ्य कुनै पनि व्यवस्थित छैन । त्यसैले यो अव्यवस्था हो ।’ तर २०४६ सालपछि पनि अव्यवस्थाबाटै राजनीति गुज्रिरह्यो । अव्यवस्थाको एउटा मूल विषय सडक बनिरह्यो ।

आधा घन्टा पानी पर्‍यो भने सडक खोला बन्छ । कतै–कतै त गाडी नै छिर्ने ठूलो खाल्डो बनेको छ । सडक विस्तार भए पनि जाम घटेको छैन । सवारी साधनको आयात प्रयोग यसरी नै बढिरहने हो भने काठमाडौँको सबै घर भत्काएर सडक र पार्किङ स्थल बनाए पनि नपुग्ने स्थिति आइसकेकै छ ।

काठमाडौँ सहरमा पैदल यात्राका लागि ठूलै विकल्प बन्दैन र ?

प्रकाशित : श्रावण २१, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?