१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दिगो खेतीमा दिल

डा. केदार कार्की

काठमाडौँ — पहिले–पहिले हाम्रा किसानहरू परम्परागत ज्ञानलाई परिमार्जित गर्दै माटोमा सुन फलाउँथे । तर आज पश्चिमाको प्रभावमा कृषिको यान्त्रीकरण, रसायनिक मल तथा किटनाशकहरूको तत्कालीन लाभमात्र हेरिएको छ । यसले उनीहरूलाई स्वावलम्बी कृषिबाट टाढा लगेको छ ।

दिगो खेतीमा दिल

धेरै उत्पादन लिन किसानले बढी उर्वरक एवं रासायनिक औषधिहरू प्रयोग गर्न थालेका छन् । यसले उत्पादनमा बढोत्तरी त अवश्य हुन्छ, तर साथसाथै प्रतिहेक्टर खर्च पनि बढेको छ । यसबाट कृषिको आम्दानी घटेको छ । पर्यावरणमा पनि विपरीत असर परेको छ । चार दशकयता कृषि रसायन, मलखाद, किटनाशक, झारपात नाशक तथा पानीको अविवेकीय आधा उपयोगले माटोको उर्वरतामा नकारात्मक प्रभाव पारेको छ । कृषि उत्पादकत्वका कारकहरू, उत्पादनका गुणवत्ता एवं पर्यावरणमा पनि प्रतिकूल प्रभाव पारेको छ ।

रासायनिक उर्वरक तथा किटनाशकहरूको प्रयोगले कृषियोग्य भूमिमा निम्न परिणाम देख्न सकिन्छ : १) भूमि सतह साह्रो हुनु । २) उपयोगी जीवाणुहरूको संख्या निरन्तर घट्दै जानु । ३) भूमिको जल धारण क्षमतामा कमी हुनु । ४) माटोमा क्षारीयता, लवणता तथा जलागममा वृद्धि हुनु । ५) भूमिमा जीवाश्मको मात्रा कम हुनु । ६) बोटबिरुवामा किरा, रोगव्याधि तथा झारपातको प्रकोप वृद्धि हुनु (७) भूमिको उत्पादकत्वमा निरन्तर कमी आउनु ।

रासायनिक खेतीको नकारात्मक प्रभावले टिकाउ कृषि पद्धतितर्फ प्रेरित गरेको छ । किनकि विश्व जनसंख्या दिन–प्रतिदिन बढ्दैछ । खाद्यान्नको आवश्यकता पनि वृद्धि हुँदै गइराखेको छ । सन् २०५० सम्म विश्व जनसंख्या ९ अर्ब पुग्ने अनुमान छ । तर हाम्रो कृषिजन्य उत्पादन बढ्नुको साटो स्थिर हुँदैछ । यसैलाई मनन गर्दै कृषिविज्ञहरू दिगो खेतीतर्फ जोड दिनथालेका छन् ।

बालीनाली तथा पशुपालन उत्पादन एकीकृत संरचनाबाट होस् भन्ने यसको तात्पर्य हो । यसका अरू उद्देश्यमा : १) मानिसको भोजनको सहज आपूर्ति हुन सकोस् । २) वातावरणको गुणस्तर तथा प्राकृतिक सम्पदाको संरक्षण हुन सकोस् । ३) पुनर्उत्पादन हुन नसक्ने सबै स्रोतहरूको प्रभावकारी ढंगले उपयोग होस् । ४) भूमिको आर्थिक उपयोगिता कायम रहिरहोस् । ५) कृषक तथा समाजको जीवनस्तर वृद्धि हुन सकोस् ।

दिगो खेती प्रणालीले वातावरणमा मात्रै सुधार ल्याउँदैन, समाजमा समानता पनि कायम गर्छ । पशुपालनको दिगो खेतीमा बराबरी हिस्सा छ । पशुहरूको कृषिमा आर्थिक उपयोगिता छ । यिनले चरन एवं बाली बिरुवाका अवशेषलाई मानिसको लागि भोजनयोग्य पनि बनाउँछन् । यिनले पोषक तत्त्वहरूको चक्र चलाउन मद्दत गर्छन् । माटोको उर्वरता जोगाइराख्न मद्दत पुर्‍याउँछन् ।

दिगो कृषिको उत्तम उपाय हो, जैविक खेती प्रणाली । रासायनिक मल, किटनाशक प्रयोग नगरी तिनको विकल्पमा जैविक मल, जैविक किटनाशक तथा जैविक वृद्धिकारक उपयोग गरी उत्पादन लिन सकिन्छ । जैविक मल बनाउन पशुहरूको आवश्यक पर्छ । पशुबाटै प्राप्त हुन्छ– गोबर, मलमूत्र । कुखुराको खोरबाट निस्कने मलले पनि जमिनको उर्वराशक्ति बढाउन मद्दत पर्छ । यो मलमा लगभग २० प्रतिशत प्रोटिन पाइन्छ । नाइट्रोजनको मात्रा अधिकतम ३ प्रतिशत तथा फोस्फोरस एवं पोटास क्रमश: २ –२ प्रतिशत पाइन्छ । त्यस्तै बंगुरको मलमा नाइट्रोजन, फोस्फोरस एवं पोटास क्रमश: ०. ७, ०. ६ र ०. ७ प्रतिशत पाइने गर्छ ।

जैविक खेतीमा गोबर तथा अन्नबालीका बोटबिरुवाको अवशेषको मिश्रणबाट बन्ने कम्पोस्ट मल, गोबर ग्यास सयन्त्रबाट निस्कने मल तथा वर्मी कम्पोस्ट आदि उपयोग हुन्छ । वर्मी कम्पोस्ट मलबाट जमिनलाई ८ सय ग्राम नाइट्रोजन, ११ सय ग्राम फस्फोरस तथा ५ सय ग्राम पोटास प्राप्त हुन्छ । यसमा तामा ०.०९ तथा फलाम १.३८ प्रतिशत पनि पाइन्छ । यसको अम्लीयता र क्षारीयता ६.८ देखि ७.२ को बीच हुने गर्छ । यसले माटोको तापक्रम सन्तुलित राख्न सहयोग पुर्‍याउँछ र माटोमा पानी सोस्ने प्रवृत्ति बढेर जान्छ । पशुले जमिनको उब्जाउ पनि बढाउँछ ।

दिगो खेतीमा प्राकृतिक स्रोतहरूको पनि प्रभावकारी ढंगले उपयोग गरिन्छ । यसका लागि हामी यान्त्रिक ऊर्जाको साटो पशुबाट प्राप्त हुने ऊर्जा प्रयोग गर्न सक्छौं ।

यसो गर्दा : १) पशुको उपयोगिताले किसानको कार्यक्षमता बढाउन मद्दत गर्छ । यसले कृषि क्षेत्रको विस्तार गर्न सघाउँछ । २) यान्त्रिकमा आधारित उत्पादन प्रणाली केही बालीनालीमा मात्र सीमित हुन्छ र यसले विविधतालाई तहसनहस पार्छ । ३) पशु परिचालित यन्त्र सस्तो, सुलभ तथा स्थानीय स्तरमा बनाउन सकिन्छ । ४) पशु ऊर्जाको प्रयोगले महंँगो इन्धनको बचत गराउँछ । ५) ऊर्जामा पशुहरूको उपयोगले उनीहरूलाई बालीनाली उत्पादनसंँग जोड्छ । ६) आधुनिक यन्त्रको जीवन अवधि छोटो हुन्छ । तर पशुमा गरिएको लगानी विभिन्न किसिमले फिर्ता हुन्छ । ७) आधुनिक उपकरण प्रयोग गर्दा किसान ऋणमा फँस्ने डर हुन्छ । ठूलो ऋण लागे किसान थातथलो छोड्न पनि बाध्य हुन सक्छन् । ८) यान्त्रीकरणले गर्दा जमिनको तयारीमा श्रमिकहरूको परोक्ष पलायन हुने गर्छ । यसर्थ दिगो कृषि प्रणालीमा पशुको योगदानलाई कम आंँकलन गर्न सकिन्न ।

कार्की पशुपालन तथा पशु स्वास्थ्य व्यवस्थापनविज्ञ हुन् ।

प्रकाशित : श्रावण २२, २०७५ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?