कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जीवनको रङ कस्तो कमरेड ?

केशव दाहाल

काठमाडौँ — सर्वप्रथम तीनवटा घटना सुनाउँछु । पहिलो, गतसाता ठमेलको रात्रिकालीन जीवनसँंग साक्षात्कार गरियो । त्यो मेरो पहिलो अनुभव थियो । एक मित्रको प्रस्तावमा हामी राति ११ बजेतिर त्यहाँ पुग्यौं । स्वाभावत: वातावरण रंगीन थियो । संगीत, नृत्य, प्रेम, यौन र उमंगले ठमेल उत्सवमय थियो । मान्छेहरू संकेतमा कुरा गर्थे ।

जीवनको रङ कस्तो कमरेड ?

साना किशोर–किशोरीदेखि मस्त युवायुवती र तेस्रो लिंगीहरूको जात्रा थियो । ठिक त्यही उन्मुक्त हाँसो र स्वतन्त्र भागदौड बीचमा मनै हल्लाउने एउटा दृश्य देखापर्‍यो । सञ्चय कोष भवनको पेटीमा एउटी कृषकाया युवती आफ्नो दुई वर्ष जतिको बच्चासँंग सुतिरहेकी थिइ । भोको पेट, मैलो लुगा, अर्धनग्न शरीर, कार्टुनको ओछ्यान र इँट्टाको शिरानी । सिमसिम पानी परिरहेको थियो र बाछिटाले आधा शरीर भिजेको थियो । त्यो दृश्यले मनमा अनेक प्रश्न सिर्जना गर्‍यो । भाग्य लेख्ने मसी किन यति धेरै निष्ठुरी ? साथीले बतायो– काठमाडौंमा सयौं आमा यसरी नै सडकपेटीमा सुत्छन् । हजारांै बच्चा खुल्ला आकाशमा निदाउँछन् । एउटा सभ्य र समाजवादी राज्यका लागि योभन्दा शरमलाग्दो कुरा के हुन्छ ?

दोस्रो घटना, गौशालाबाट पशुपतिनाथ मन्दिर जाँदै गर्दा एउटी आमासँग भेट भयो । ६५ वर्ष जतिकी देखिने ती आमाका आँखामा भर्खर थामिएका आँसुका डोबहरू प्रस्ट थिए । उनको छेउमा आधा खुट्टा कुहिएर झर्न लागेको ४० वर्ष जतिको पुरुष थियो । असाध्यै पीडामा भएकाले हुनुपर्छ, ऊ मौन थियो । आफ्नो जवान छोराको उपचार गर्न एउटा खसी, कानका टप र बुहारीको पाउजु बेचेर काठमाडौं छिरेकी यी आमालाई भाग्यले साथ छोडेको थियो । अस्पतालले छोराको खुट्टा काट्न भन्यो । तर अस्पतालमा तिर्न उनीहरूसँंग पैसा थिएन । त्यसैले हारेर उनीहरू गाउँ फर्किंदै थिए । र बेखर्ची थिए । बसको टिकेट काट्न पैसा माग्नु बाहेक उनीहरूसँंग कुनै उपाय थिएन । नियतिको कस्तो सजाय हो यो ? आज पनि हजारौं मान्छेले यसरी नै उपचार पाइरहेका छैनन् । रोग, ऋण र अपहेलनाको दबाइ के छ ? के हाम्रो समाजवादसँग मान्छेको भाग्य बदल्ने सामथ्र्य छैन ?

तेस्रो घटना, गण्डक प्रदेशको एक युवा साथी मसँग कारणवश जोडिन आइपुग्यो । ऊ आफूलाई जनयुद्धको घाइते बताउँथ्यो । बडो खरो कम्युनिष्ट थियो । एक नेताको आश्वासनको त्यान्द्रो पछ्याउँदै ऊ राजधानी आएको थियो । समय क्रममा तिनै नेताको सल्लाहमा उसले आफ्ना दुई छोराछोरी र श्रीमती पनि यतै ल्यायो । तर जसै ऊ काठमाडौं आयो, उसका खराब दिनहरू सुरु भए ।

उसको नेतासँंग भेट हुन छोड्यो । यता बच्चालाई स्कुल हाल्नुपर्ने, गोजीमा फुट्टो कौडी थिएन । आफ्ना परिचितको स्कुलमा भनसुन गराएर उनीहरूको नाम लेखाए । तर उसले फि: तिर्न सकेन । डेरा भाडा तिर्ने र नियमित चुलो जलाउने पैसा पनि थिएन । ऊ विस्तारै आक्रोशित हुन, कराउन र नेताहरूलाई गाली गर्न थाल्यो । श्रीमती र छोराछोरीतिर हेरेर भन्थ्यो, ‘सबैलाई मारेर आफू पनि मरिदिउँ जस्तो लाग्छ, दाइ ।’ म सम्झाउँथेँ । गत चुनावपछि ऊ अलिक उत्साही जस्तो थियो । तर अस्तिमात्र सुनेंँ, ऊ त राजधानीबाट हिँडेछ । उसका छोराछोरी र श्रीमती पनि सँगै पलायन भएछन् । भाग्यको ढोकामा भोटे ताल्चा लागेको त्यो युवा कम्युनिष्ट आफ्ना परिवारलाई लिएर कता गयो होला ? ती अबोध नानीहरूको पढ्ने रहर के होला ?

यी तथ्यहरू कम्युनिष्ट सरकारलाई गाली गर्न र खुइल्याउन प्रस्तुत गरिएका होइनन् । वस्तुत: आज म सरकारसंँग कुनै आरोप–प्रत्यारोप गर्न चाहन्न । म भिड्ने मुडमा छैन । आज मलाई समाजवादी सिद्धान्तका ठूलठूला तर्क गर्न जाँगर पनि छैन । तर जीवनका रंगहरूमाथि भने हामीले छलफल गर्नैपर्छ । हामी कस्तो जीवन चाहन्छौं ? सरकारले चाहेको जनजीवन कस्तो हो ? यति त हामीले सरकारलाई सोध्नैपर्छ– जीवनको रंग कस्तो हुनुपर्छ ? सोध्नु हाम्रो नैसर्गिक अधिकार हो । जसका लागि हामीले बितेका ७० वर्ष अनवरत संघर्ष गरेका छौं ।

यतिबेला हामीसँंग कम्युनिष्ट (?) सरकार छ । कमरेडहरू सत्ताको कुर्सीमा छन् । त्यसैले त्यतै सम्बोधन गरेर थप केही प्रश्नहरू गर्नु सान्दर्भिक होला । बितेका ७० वर्षमा हामीले पटक–पटक किन रगत बगायौं ? किन लड्यौं, तानाशाहीसँंग ? तपाईहरू भन्नुहोला, हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्‍यौं । निश्चय नै हामीले दरबारको बादशाहलाई घोडाबाट झार्‍यौं । म फेरि प्रश्न गर्छु, त्यसपछि के भयो ? के साधारण मान्छेको जीवनको रंग र अवस्था बदलियो ? केही तथ्यहरू हेरौं ।

लोकतन्त्रको स्थापनापछि १० पटक प्रधानमन्त्री फेरिए । यो बीचमा २५० भन्दा धेरै मन्त्री बने । लगभग ५ सय सल्लाहकार भए । १ हजार ५ सय सभासद बने । प्रदेश र स्थानीय तहमा हजारौं पार्टी कार्यकर्ता लाभको पदमा छन् । यही बीचमा केही दर्जन राजदूत बने । काठमाडौंमा नयाँ घर ठडिए । महंँगा होटलहरू खुले । महँंगा अस्पतालहरू खुले । सयौं गाडी आए । प्राडो, पजेरो । विदेश यात्रा । विदेशमा उपचार । विदेशमै शिक्षादीक्षा । दल र नेताहरूले जीवनको खुब मजा लिए । धेरैको आर्थिक हैसियत फेरियो । नेताहरूलाई समाजवाद आयो । उनीहरूको जीवनमा लाली चड्यो । तर ठमेलको सडक पेटीमा सुत्ने किशोरी आमालाई के भयो ? पाकेको खुट्टाबाट पिप बगाउँदै गाउँ फर्किने निर्धो नागरिकले के पायो ? एउटा विद्रोही युवाले आफ्ना छोराछोरीहरूलाई किन पढाउन सक्दैन ? अनेकौं आन्दोलन र उथलपुथलपछि पनि जीवनको रंग यति धेरै मैलो र कान्तिहीन किन छ, यो देशमा ?

कुनै बेला हामीलाई पढाइन्थ्यो, समाजवाद भनेको सुख हो । २०४६ पछिको खुला वातावरणमा हामीले अनेकपटक सुन्यौं, कम्युनिष्टहरू न्यायप्रेमी हुन्छन् । प्रगतिशील हुन्छन् । कम्युनिष्ट राजमा गरिबका पनि दिन आउँछन् । श्रमिकको ज्याला वृद्धि हुन्छ । महंँगी नियन्त्रण हुन्छ । कोही भोकै बस्नु पर्दैन । कोही रोगी बन्नु पर्दैन । २०५१ पछि पटक–पटक कम्युनिष्टहरूको सरकार बन्यो ।

तर के भयो ? पछिल्लो तथ्याङ्कले भन्छ– प्रतिदिन पन्ध्र सय नेपाली युवा कामको खोजीमा विदेशिन बाध्य छन् । हरेक वर्ष ९ लाखभन्दा धेरै युवा बालुवाको देश पुग्छन् । भारतमा निकृष्ट श्रम गर्नेको तथ्यांकै छैन । यति ठूलो श्रमशक्ति देश बाहिर जान्छ । देशमा रोजगारी छैन, उत्पादन छैन, अवसर छैन । स्वदेशमा जीवन सजिलो छैन । मुख्य कुरा ‘आशाहरू’ मरेका छन् । सरकारको प्राथमिकता, युवाहरूको सपना र समाजवादको रंगमा तलमेल छैन । यो के भएको ?

कम्युनिष्टहरूले पटक–पटक भने– किसानहरूको मुक्ति नै उनीहरूको लक्ष्य हो । २०२८ सालको झापा विद्रोहले कृषि क्रान्तिको सपना बाँड्यो । २०५२ को माओवादी सशस्त्र युद्धमा जमिन जोत्नेको भनियो । तर आज किसान कहाँ छ ? कम्युनिष्टहरू कहाँ छन् ? समाजवाद कहाँ छ र त्यसका लागि रगत बगाउने कहाँ छन् ? कुरा किसान, युवा र ठमेलको पेटीमा सुत्नेको मात्र होइन । तीन करोड जनताको हो । हिजो शासकहरू दरबारमा थिए । भुइँमा बस्नेहरूको ‘राज्य’ थिएन । आज पनि सबै उस्तै भयो भने हामीले के भन्ने ? निश्चय नै हाम्रै नेताहरू शासन सत्तामा पुगे, त्यो महत्त्वपूर्ण होइन । झण्डाको रंग कस्तो बनाउने, त्यो पनि महत्त्वपूर्ण होइन । तर जीवनको रंग कस्तो हुनुपर्छ, त्यो अहम् सवाल हो ।

अन्तिममा, प्रिय प्रधानमन्त्रीज्यू, तपाई बोल्न सिपालु हुनुहुन्छ । तपाईले माक्र्सवाद पढ्नुभएको छ । तपाई १४ वर्ष जेल बस्दाका आफ्ना कथाहरू भन्न सिपालु हुनुहुन्छ । तिनै कथाहरू हालेर भनिदिनु होला, जीवनको रंग कस्तो हुन्छ ? छोराको औषधी गर्न नसक्ने अबला आमाको आँसुजस्तो निलो हुन्छ ? अथवा सडकमा पोखिएको सहिदको रगतको रंगजस्तो रातो हुन्छ ? कि दबदबे हिलोमा आफ्नो भाग्यको हलो अड्किएको अभागी किसानको तालुजस्तो रंगहीन हुन्छ ?

तपाईका चुनावी घोषणापत्रहरू फूलबुट्टे छन्, कमरेड । कृपया त्यसका शब्द–शब्द केलाइ भनिदिनु होला– के समाजवाद भनेको महँंगी हो ? कालोबजारी हो ? अझ गरिबी हो ? भ्रष्टाचार हो ? आकाशतिर हेर्नु र भुइँमा थुक्नु हो ? मलाई लाग्छ, जीवनको रंग आन्दोलनका ती दिनहरूमा सडकमा देखिएका सप्तरंगी सपनाहरू जस्तो सुन्दर हुनुपर्छ । कमरेड, कृपया ती सपनाहरूलाई नभुल्नु होला ।

प्रकाशित : श्रावण २२, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?