१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बलात्कार विमर्श

मुलुकी ऐनमा बलात्कार शब्द छैन । यस्तो प्रवृत्तिको अपराधलाई ‘जबर्जस्ती करणी’ भनी उल्लेख छ । के ‘बलात्कार’ र ‘जबर्जस्ती करणी’ले एउटै अर्थ बोक्छ ?

काठमाडौँ — कतिपय घटना र यिनका पृष्ठभूमिका अगाडि तथ्यांकहरू निरीह लाग्छन् । तथ्यहरू आफैं छरपस्ट र डरमर्दा हुन्छन् । जस्तो– पछिल्लो समय विभिन्न सञ्चार माध्यममा आइरहेका बलात्कारपछि हत्याका यस्ता छन्, जसले हाम्रो समय र समाजको कुरूप तस्बिर देखाइरहेको छ ।

बलात्कार विमर्श

समाचार बन्नै नसकेका यस्ता वीभत्स तस्बिर र चित्कारहरू कति होलान्, जसको कुनै हिसाब छैन । त्यसैले म यस लेखमा यस्ता क्रूरताको घट्दो वा बढ्दो तथ्यांक उल्लेख गर्न गइरहेको छैन ।

केही वर्षअघि तत्कालीन गृहमन्त्रीले बलात्कारजस्तो जघन्य अपराधलाई पनि संक्रमणकालमा स्वाभाविक हो भन्दै सामान्यीकरण गरेका थिए । अहिले उनले भनेजस्तो संक्रमणकाल छ/छैन, सरकार जानोस् । तर यस्ता घटनामा सरकार चुपचाप छ । सुरक्षाको जिम्मेवारी भएको गृह मन्त्रालयले मौनता साँधेको छ । सत्तापक्ष होस् वा प्रतिपक्ष, कुनै पनि राजनीतिक दलहरूले यस विषयमा आवश्यक आवाज उठाएका छैनन् । बरु एक महिला सांसदले त ‘सरकारलाई असफल पार्न बलात्कारका घटना घटाइएका हुनसक्ने’ जस्तो दिक्कलाग्दो कुतर्क गरिन् । यसले जिम्मेवार स्थानमा रहेकाहरूले घटना र प्रवृत्तिको गम्भीरता नबुझेको प्रस्ट हुन्छ ।

हाम्रो समाज र सभ्यता के यस्तै क्रूरताबाट गुज्रँदै आएको हो ? सतहमा नआए पनि समाजमा यस्तो बर्बरता पहिले पनि थियो वा पछिल्लो समय बढ्दै गएको हो ? वा सूचनाका स्रोतहरूको वृद्धिले यस्ता नृशंसताहरू समाचार बन्नसकेका हुन् ? यो एउटा महत्त्वपूर्ण प्रश्न हो । त्यसो त अझै पनि हाम्रो समाजको चरित्र बलात्कारजस्तो क्रूर अपराध पनि ढाकछोप गर्ने किसिमको छ । प्रहरी प्रशासनले पनि त्यसैलाई मलजल गर्ने गरेका दृष्टान्त हामीसामु प्रशस्त छन् ।

पछिल्लो समय विशेषगरी सामाजिक सञ्जालहरूमा बलात्कारबारे प्रशस्त बहस हुने गरेका छन् । बलात्कार अपराध हो भन्नेमा विमति नभए पनि कस्तो अपराध भन्नेमा भने मतैक्य छैन । यसै पृष्ठभूमिमा मुख्यत: शिवलिङ्गलाई प्रतीक बनाएर बहसहरू भएका छन् ।

यस सन्दर्भमा बलात्कार आफैंमा यौनजन्य हिंसामात्र हो वा त्योभन्दा बढी केही हो ? बहस आवश्यक छ ।

डरलाग्दो सामाजिक समस्याको रूपमा देखिएको तथा बहसको केन्द्रमा रहेको ‘बलात्कार’ शब्द नेपालको मुलुकी ऐनमा राखिएको रहेनछ । मुलुकी ऐनमा यस्तो प्रवृत्तिको अपराधलाई ‘जबर्जस्ती करणी’ भनी उल्लेख गरिएको छ । के ‘बलात्कार’ र ‘जबर्जस्ती करणी’ले एउटै अर्थ बोक्छ ? नेपाली बृहत शब्दकोश (२०४०) ले करणीलाई : १. बलात्कारका साथमा गरिने गैरकानुनी सम्भोग, २. सम्भोग, मैथुन, (प्राय: अविवाहितहरूका बीच) भनी अर्थ्याएको छ ।

त्यस्तै बलात्कारलाई : १. जबर्जस्ती गर्ने काम, अन्याय अत्याचार, २. कुनै स्त्रीलाई उसको इच्छा विरुद्ध जबर्जस्तीसँग सम्भोग गर्ने काम, बलपूर्वक सतित्व नष्ट पार्ने काम भनेको छ । यसरी हेर्दा शब्दहरूले आफैँमा स्पष्ट अर्थ बोकेका देखिँदैनन् । सायद शब्दहरू आफैँमा पूर्ण हुँदैनन्, तिनलाई समय र परिस्थिति अनुसार बुझिदिनुपर्छ ।

बलात्कारको विषयमा लामो समयदेखि बहस हुँदै आएको छ । यसमा स्पष्ट दुई धार देखिन्छन् । एक धारले बलात्कारलाई पितृसत्ताको विकारका रूपमा लिने गर्छन् । अमेरिकी पत्रकार, लेखिका तथा अधिकारकर्मी सुशन ब्राउनमिलरले ‘हाम्रा इच्छाहरूको विरुद्ध’ पुस्तकमा बलात्कार महिलालाई नियतवश आफ्नो हैकममा राख्ने पुरुष प्रवृत्तिद्वारा निर्दिष्ट अपराध हो भनेकी छन् । उनका अनुसार बलात्कार यौन कम र पुरुष हैकमको उन्माद बढी हो ।

अर्को धारले बलात्कारलाई यौनप्रेरित हिंसाको रूपमा लिने गर्छ । कतिपय त यसलाई हिंसाको रूपमा पनि लिन नहुने बताउँछन् । छोटा र पारदर्शी लुगा लगाएर महिलाहरू नै पुरुषलाई बलात्कारको लागि आमन्त्रण गर्छन् भन्नेहरू पनि छन् । थ्रोनहिल र पाल्मरले ‘बलात्कारको एक प्राकृतिक इतिहास : यौन उत्पीडनको जैविक आधार’ पुस्तकमा बलात्कारलाई विशुद्ध यौनिक क्रियाकलाप भन्दै यसलाई डार्बिनको विकासवादसँग जोडेका छन् ।

नेपालमा भएका बलात्कारका घटना र प्रवृत्ति हेर्दा उत्पीडन र बर्बरता बढी लाग्छ । पछिल्ला घटनाहरूमा अबोध बालिकाहरू बलात्कृत भएका छन् भने बलात्कारपछि हत्या गर्ने शृङखला बढ्दो छ । हप्तौँसम्म बन्धक बनाएर पालैपालो बलात्कार गरेका घटना पनि बढेका छन् । यसले बलात्कारलाई क्षणिक यौन उन्मादभन्दा पनि आपराधिक मानसिकताको उपजको रूपमा लिनुपर्छ ।

गतसाता मात्र समाचारमा आएको ‘यो केटी फुर्ती गर्छे, हामीलाई टेर्दिन....’ भनेर सामूहिक बलात्कार र हत्या गर्ने योजना बनाएको (हेर्नुहोस्, बलात्कारपछि बर्बर हत्या, कान्तिपुर, १७ साउन २०७५) तथ्यले बलात्कार यौनभन्दा बढी अर्कै केही आपराधिक क्रियाकलाप भएको तर्कमा बल पुर्‍याउँछ । यौन प्रस्ताव अस्वीकृत भएको बदलामा आफ्नो श्रेष्ठता देखाउन पुरुष अहम् हावी भएको देखिन्छ ।

बलात्कार तथा अन्य यौनजन्य हिंसामा हाम्रो समाजको पुरुष मनोविज्ञान निश्चय नै बढी जिम्मेवार छ । यौनलाई खरिद गर्न सकिने र खरिद गर्न नसके जबर्जस्ती भए पनि प्राप्त गरेरै छाड्ने पुरुष मनोविज्ञानले यौनजन्य हिंसा बढाएको छ । नेपालमा कानुनी रूपमा घोषित ठाउँहरू नभए पनि अनौपचारिक रूपमा बजारमा यौन खरिदका लागि प्रशस्त ठाउँहरू छन् । तर किन बलात्कारी पुरुषहरू कमजोर र अबोध बालिकालाई सिकार बनाउँछन् ? अपराधी मनोविज्ञान साथै कमजोर शासन व्यवस्था र कमजोर दण्ड प्रणालीको कारणले यसो भएको हो ।

समाजशास्त्रीहरू बलात्कारलाई एउटा घिनलाग्दो अपराधमात्र होइन, बरु समाज अस्वस्थ भएको प्रमाण मान्छन् । त्यस्तो समाज जहाँ त्रासदी व्याप्त हुन्छ र महिलाप्रति सम्मान अभाव हुन्छ । निकोलश ग्रोथ बलात्कारका मुख्य तीन कारण देख्छन् : परपीडक स्वभाव, बदलाको भावना र शक्ति प्रदर्शन । उनका अनुसार मनोरोगीले गैरयौनिक चाहना पूरा गर्न गर्ने यौनजन्य हिंसा बलात्कार हो । काठमाडौंमै आमासँग बदला लिन छोरीको बलात्कार र हत्या गरेको पुष्टि भएको समाचार सार्वजनिक भैसकेको छ ।

घटनाहरूले पुष्टि गरेका छन्, बलात्कार उन्मादपूर्ण वासनाको कारणमात्र होइन, बरु महिला माथिको नियन्त्रण र घृणाको अपराधपूर्ण अभिव्यक्ति हो । विभिन्न अध्ययनहरूले बलात्कारमा आवश्यकता बढी बल प्रयोग र हिंसा हुने गरेको देखाएका छन् । यसले पनि यसमा यौनभन्दा पनि रिस र आवेग तथा आपराधिक मानसिकता बढी भएको प्रस्ट हुन्छ । नत्र हरेक मान्छेमा यौन चाहना हुन्छ, तर सबैले बलात्कार त गर्दैनन् नि ।

बलात्कार समग्र समाज र सभ्यताको कलंक हो । स्वस्थ समाज बन्न हाम्रो सामाजिक मनोविज्ञान चिन्तन फेरिनैपर्छ । पीडितले होइन, बलात्कारीले समाजमा मुख देखाउन नसक्ने अवस्था सिर्जना गरौँ । अनि बलात्कार विरुद्धका कानुन कार्यान्वयनमा सरकार कठोर हुनैपर्छ । महिला सम्मानको विषय अभियानको रूपमा अघि बढाउनैपर्छ । बलात्कार विरुद्धको आवाज बुलन्द बनाउने अभियानमा महिलामात्र होइन, पुरुष सहभागिता पनि त्यतिकै जरुरी हुन्छ । बलात्कार मानव सभ्यताको क्रूरता र बर्बरताको घिनलाग्दो अभिव्यक्ति हो, जहाँ अयौनिक उन्मादको प्रस्तुतिमा यौन मुछिएको हुन्छ । विषयलाई नबहकाऔँ ।

बलात्कार लिङ्गले होइन, एउटा क्रूर अपराधीले गर्छ । त्यसैले बलात्कार र बलात्कारीको विरोध गरौं । कठोरभन्दा कठोर सजाय हुने कानुन निर्माण र यसको प्रभावकारी कार्यान्यनका लागि आवाज उठाऊँ, दबाब सिर्जना गरौँ । महिला सम्मान र सहअस्तित्वको लागि अभियान चलाऔँ । सानैदेखि छोराछोरीलाई असल संस्कार सिकाऔँ । तर प्राकृतिक लिङ्गमाथि अप्राकृतिक बहस नगरौँ । जीवित इकाइको अस्तित्व सुरु भएदेखिको यौन सम्बन्ध र आपसी मायाको उच्चतम अभिव्यक्तिको रूपमा रहेको सम्भोग (समभोग) लाई घृणा गर्ने कृत्रिम आडम्बर नगरौँ ।

[email protected]

प्रकाशित : श्रावण २४, २०७५ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?