कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रबिधिको विकासमा गाज्दै गएको समाज

दिलिप बान्तावा

काठमाडौँ — "पिसिओमा फोन आउँछ, दस मिनेटमा पुग्नु ।" स्कुलको पाले दाईले हातमा थमाई दिएको चिट पढ्दै कक्षामा बिज्ञान पढाई रहेका सरले मेरो नाम लिए । त्यो समय २०५७ साल थियो र म कक्षा नौ को विद्यार्थी थिएँ ।

प्रबिधिको विकासमा गाज्दै गएको समाज

भोजपुर सदरमुकामबाहेक घोडेटारमा एक मात्र टेलिफोन सेवा उपलब्ध थियो, त्यो पनि भिएचएफ प्रणालीको, जसलाई गाउँमा पिसिओ भनेर चिनिन्थ्यो । फोन गर्ने र फोन रिसिभ गर्न आउने मान्छेहरुको भिड दिनभरी नै पातलिंदैनथ्यो।


म तोकिएको समय अवधिमा पिसिओ पुगेँ । मान्छेहरुको भिड साँझपख सुन्धाराबाट छुट्ने गाडीको यात्रु जस्तै थियो । मलाई कसले फोन गरेको भन्ने नि थाहा थिएन । त्यो भन्दा पहिले फोनको रिसिभर कहिल्यै नसमातेको म त्यसै त्यसै नर्भस हुँदैथिएँ । एकैछिनमा मेरो नाम आयो भित्रबाट । तालिममा बिराटनगर गएकी दिदिले फोन गरेकी रहिछन् । अत्तालिएर के के बोलेँ, कति बोलेँ, त्यो पनि थाहा भएन, एकछिनमा बाहिरिएँ । मान्छेहरु भन्थे, बुढी मान्छेहरु परदेशी छोराको फोन 'रिसिभ' गर्न आउँछन्, छोरोले उताबाट "नमस्ते आमा, ढोग गरेँ" भन्छन्, यता आमाहरु खुट्टा मिलाएर, फोनको रिसिभर टेबलमा बिसाएर हात जोड्छन् भनेर ।


हुलाक र चिठ्ठीपत्रको समयलाई भर्खरै टेलिफोनले संक्रमण गर्दै गरेको सञ्चारको यूग थियो त्यो । बि. सं. २०५८ सालको एसएलसी पहिलो पटक देशभर सदरमुकाम केन्द्रीत गरियो । परीक्षा चलिरहेकै बेला तत्कालिन माओबादीले घोडेटारमा रहेको त्यो टेलिफोन सेवासंगै विभिन्न सरकारी कार्यालयहरुमाथि गरेको आगजनिले गर्दा हाम्रो क्षेत्र पुनः सञ्चार तथा अन्य सेवामा निक्कै पछि पर्‍यो । साठीको दशक सञ्चार बिकासको हिसाबले उर्बर समय रह्यो नेपालमा । राजनैतिक परिवर्तनका विभिन्न आयामहरुले गर्दा सम्भावना र अवसरका थुप्रै ढोका बाहिर निस्किए । बिस्तारै मोबाईल फोनको समयमा प्रवेश गर्‍यो नेपाली समाज । म आफैँले बि.सं. २०६३ सालमा चार हजार रुपैँयामा नेपाल टेलिकमको मोबाईल सिमकार्ड किनेँ र सोही दाम बराबरको सामान्य मोबाईल सेट पनि । तर मोबाईलको "कभरेज एरिया" सबैतिर नभएकोले खासै उपयोगी थिएन । तर प्रबिधिले आफ्नो यात्रा तय गरिरह्यो । २०६३/६४ सालतिर सामन्य जीपीआरएस प्रयोग गर्न मिल्ने मोबाईल सेटहरु चल्तिमा आउन थाले, त्यो सँगै शुरु भयो सामाजिक सञ्जाल प्रयोगको सिलसिला । मिग३३ नामक च्याटिङ एप्लिकेशन्स निक्कै चर्चामा थियो त्यो समय । बि.सं. २०६४/६५ बाट फेसबूकको प्रयोग बिस्तार हुन थालेपछि भने नेपाली समाजले सञ्चार प्रबिधिको प्रयोगमा निक्कै रफ्तार लिएको हो ।


"कान्छा, गाउँ घरको हालखवर के छ हौ ?" अंग्रेजी अक्षरमा नेपाली भाषा लेखिएको सन्देश फेसबूकमा आयो एकदिन । मभन्दा उमेरले निक्कै जेठो भएकैले सायद ति दाईको तीन कक्षा पढ्दै गर्दा बिहा गरिदिए, पढ्नमा लम्फु तिनले अंग्रेजीको पढ्नै पाएनन् किनकी हाम्रो समयमा कक्षा चारदेखि मात्र अंग्रेजी पढाईन्थ्यो । बिहापछि परदेश आउने जाने क्रममा अहिले मध्यपुर्व पुगेका छन् र उल्लेखित सन्देश उनै दाईले पाँच वर्ष अगाडि पठाएका थिए । सन्देश मात्र होईन, विभिन्न अबस्था र अवसरका फोटोहरुलाई सान्दर्भिक "क्याप्सन" दिएर फेसबूकमा राख्छन पनि । सञ्चारको बढ्दो फैलावटले यसरी आम मानिसहरुलाई प्रायोगिक जीवनशैलिमा फरक बनाई दिएको छ । अर्थात "पढेर भन्दा परेर" सिकिन्छ भन्ने उक्ति जोडिएको छ । सञ्चार र प्रबिधि दैनिक दिनचर्याको अनिवार्य सर्त बनिसक्यो । कुनै पनि घट्ना घटेको महिनौँ पछि छापिएको समाचार बोकेर हुलाकीको झोलाबाट गाउँ पुग्ने अखबारी समाचार ताजै हुन्थे कुनै समय, तर आजभोली घट्ना भएको आधा घन्टापछि मात्रै पनि त्यो समाचार बासी भैसक्छ । वेब संसारको कारण आजको दुनियाँले भौगोलिक दुरि महसुस गर्न छाडि सक्यो । जतिसुकै टाढा रहेपनि प्रबिधिको पहुँच भएमा सुदुर देहाती बस्तीहरुसमेत संसारको कुनै पनि ठाउँमा जोडिन सक्छन्, त्यो पनि आवाज र दृश्य सहित ।


कहिलेकाही अनौठो लाग्छ, म अहिले परिवारबाट लगभग सत्र सय किलोमिटरको आकाशे दुरिमा छु तर प्रत्येक समय परिवारसंगै भएको आभास हुन्छ । तर कुनै दिन परिवारसंग सम्पर्क गरेर कुराकानी गर्न नपाएमा ज्यादै छट्पटी हुन्छ । सम्झिन्छु, अघिल्लो पुस्ताका मान्छेहरु परदेश, लाहुर जान्थे परिवारको याद र छट्पटीलाई कसरी बहन गर्न सक्थे होलान् !


बास्तवमा अहिले सञ्चारको सुबिधाले नै भौगोलिक रुपमा टाढा रहेका परिवारलाई जोडेको छ । पहिला जस्तो एउटै घरमा दुई तीन पुस्ता संगै बस्ने, खेत वारी, लेक बेँशी धाएर खेतिपाति गर्ने समय रहेन । गाउँमा वृद्ध आमा, बावु छाडेर भविश्य खोज्ने नाममा पछिल्लो पुस्ताहरु गाउँसंगको सम्बन्ध बिच्छेदमा उद्यत छन् । उनीहरु शहर, सदरमुकाम र परदेश तिर छरिएका छन् । तर भावनात्मक तारलाई भने प्रबिधिले निरन्तर जोडिरहेको छ । अचेल फेसबुक, ईस्टाग्रामतिर आफ्ना सन्तानका शहरीया र आधुनिक फोटोहरु हेरेर आफ्ना न्यास्रो दिन गनि रहेका आमाबावुहरुसंग वाट्सएप, ईमो, भाईबरमा भिडियोकल गरेर सन्तानहरु आफ्नो उपस्थिति जनाउँछन् ।


गाउँघरमा हुने स-साना तर जनजीविकासंग सम्बन्धित घट्नाहरु सम्बन्धित ठाउँमा पुग्न महिनौँ लाग्थ्यो । पुगेपनि सुनुवाईको ग्यारेन्टी थिएन तर अब त्यो समय रहेन । हरेक घट्नाहरु सामाजिक सञ्जालहरुमा अपडेट गराउने सम्बन्धित पक्षलाई जिम्मेवार बनाउने तथा सबुत प्रमाणहरुको फोटो वा भिडियोसहित नै उपस्थित गराउने क्रमले निमुखाहरुले अन्यायबाट जोगिने मौका पाउँछन् । केही समय अगाडिको कैलालीमा भएको बोक्सी र बाबा घट्ना, जग्गाको निहुँमा महिलालाई नाङ्गै बनाई पिटिएको दाङ्को घट्ना वा भर्खरै चर्चामा रहेका अशोक दर्जिको कुरा । यी सबैले चर्चा र न्याय पाउनुको मुख्य कारक सामाजिक सञ्जालको लोकप्रियता र बिश्वसनीयता नै हो । यसले कतिपय सन्दर्भमा सामाजिक अभियन्ता, पत्रकार वा सुरक्षा निकाय तथा समाजमा अगुवाई गर्ने सम्बन्धित पक्षलाई सहयोग पुर्‍याईरहेको छ । केही समय अगाडि दुरदराजको गाउँका समाचारहरु शहर र सदरमुकाम पुग्न हम्मेहम्मे पर्थ्यो तर आज तत्कालै सबुत सहित सम्बन्धित ठाउँमा पुग्ने अवस्था छ।


आज भोलिका बालबालिकाहरु आफ्नो होस्, सम्हाल्दैदेखि प्रबिधिमा अभ्यस्त भैसकेका हुन्छन् । अझ दस वर्ष उमेर नपुग्दै कोहि बालबालिका ईन्टरनेट ब्लगर भएको तथ्यहरुले यसको उपयोगितालाई सार्थक बनाएको देखिन्छ । नेपालमै पनि झापाका तेह्र र्षीय एक बिद्यार्थिले कम्प्यूटर एन्टिभाईरस निर्माण गर्न सक्षम भएको तथ्य समेत सार्बजानिक भएको छ । कसैले आफुलाई चित्त नबुझेको बिषयमा तर्क राख्न, आफुमा भएको प्रतिभा बाहिर ल्याउन, वा कुनै नयाँ तथ्य अथवा घट्ना भए तत्काल स्मार्टफोनमा कैद गरेर सामाजिक सञ्जालमा पोस्ट गर्न सक्छ । एउटा सेवाग्राहीले न्यायपुर्ण र सन्तुलित सेवा पाउन सकेन भने सजिलै फोटो र दृष्य खिचेर हाकिमसम्म पुग्न सक्छ, एउटा किसानले आफ्नो उत्पादनको बारेमा सल्लाह लिन परे आफ्नो बालीको फोटो खिचेर बिज्ञको पुग्न सक्छ । मनोरञ्जनका लागि "रेडियो नेपाल" को यूग एफएमहरुले बिस्थापित गरे, अब एफएमहरुलाई सामाजिक सञ्जालले बिस्थापित गर्दैछन् । अहिले त आफुलाई मन पर्ने च्यानल बजाउने, मन नपरे यूट्यूबमा आफ्नो अनुकूलको भिडियो हेर्ने, गेमिङ्ग गर्ने, आफ्नै भिडियोहरुको सृजना गर्नेलगायतका कैँयौँ बिकल्पहरु छन् ।


सञ्चार प्रबिधि र बढ्दो सामाजिक सञ्जालहरुको लोकप्रियताले हाम्रो सभ्यता, संस्कृतिहरुमा समेत संक्रमण गरिरहेका छन् । अब बुढाबुढी हजुरबा हजुरआमाहरुको काख खोसाखोस गर्दै कथा सुन्ने नाती नातिनाहरुलाई मोबाईलले खोसेको छ । श्रीमान श्रीमती एउटै ओच्छ्यानमा पनि ढाड फर्काएर अर्कै अर्कैसंग च्याटिङ्ग गरि मुस्काईरहेका हुन्छन् । आफ्नो वरिपरि घटिरहेका घट्नाहरुको बारेमा बेखवर भएर दुनियाँको खवर चहार्ने बानीको विकास भएको छ । साथी साथी लामो समयपछि भेटिँदा पनि औपचारिकताको लागि बाहेक आत्मिय कुराकानी हुनै छोड्यो । विभिन्न प्रकारका अपराधका नयाँ तरिकाहरु समाजमा भित्रिरहेका छन् । हाम्रा मौलिक संस्कृतिहरु बिस्तारै ओझेल पर्दै गइरहेको आभास हुन्छ । मोबाईल फोन र बिकसित प्रबिधिको बारेमा सोँच्दा लाग्छ अहिले देवकोटा भएको भए "मुना मदन" लाई कसरी लेख्थे होलान् !

प्रकाशित : श्रावण २५, २०७५ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?