कांग्रेसको कामधेनु

सुवर्ण शमशेरले नेपाली कांग्रेसको खर्च आफू बाँचुन्जेल धानेछन् । त्यसैले मैले उनलाई कांग्रेसका कामधेनु भनेको हुँ ।
भैरव रिसाल

काठमाडौँ — सुवर्ण शमशेर आश्चर्यचकित भएछन् र भनेछन्, ‘बस् २५–३० लाख रुपैयाँ । त्यतिले पनि कहाँ क्रान्ति हुन्छ ? नचाहिने कुरा । विना संकोच, दिल खोलेर भन्नोस्, कोइरालाजी । २५–३० लाख भए पुग्छ भन्नुहुन्छ भने ल अहिले नै लिनोस्, १ करोड तपाईहरूलाई ।

एकैचोटी पैसा लिनुहुन्छ भने ५ दिन समय चाहिन्छ, बिभिन्न बैंकहरूमा पैसा जम्मा गर्न, होइन पैसा मैकहाँ रहोस् भन्नुहुन्छ भने जाहिएजति समय–समयमा लिनुहोला ।’ उनले यो पनि थप भनेछन्, ‘कोइरालाजीलाई यो थाहा छ कि छैन, राजनीतिक काममा मैले जति योगदान गर्छु, त्यसको आधाचाहिँ भाइ महावीर शमशेरले ब्यहोर्छन् ।

हाम्रो समझदारी यस्तो छ कि एकले अर्कालाई सोधिरहनै पर्दैन । त्यतिमात्र होइन, तपाईंलाई अरू थप पैसा चाहियो भने कुनै धक नमानी भन्नुहोला, अर्को १ करोडसम्म हामी दिन्छौं ।’ यो कुरा २००७ सालमा कलकत्तामा सुवर्ण शमशेरको फ्ल्याटमा भएको हो । कुरा भइरहेको थियो, विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र सुवर्ण शमशेर राणासँग । कुरा सकिएपछि सुवर्ण शमशेरले सोधिपठाउनु भएछ एकदिन, बीपी र गणेशमानजीसँग कुरा गर्नुछ, कहिले आऊँ भनेर ।

Yamaha

थर्टिन थिएटरको घरमा प्राय: सबैजसो कांग्रेसीहरू नै बस्ता रहेछन् । त्यहाँ भेट्ने कुरा गोपनीयताको दृष्टिले उपयुक्त नहुने देखी कोइराला र गणेशमान सुवर्णकै फ्ल्याटमा एकान्त हुनसक्छ भनी खबर गरी त्यहाँ गएछन् । कोइरालाले गणेशमानको मुख हेरे रे । गणेशमानको आँखा कोइरालामा नै थियो रे । गणेशमानको इसारा विना नै बीपीले भनेछन्, ‘कति चाहिएला र सुवर्णजी ? २५–३० लाख ।’ बढी भन्यो भने भड्केलान् भन्ने आशंका रहेछ ।

सुवर्णको अडानमा छक्क
विश्वेश्वरप्रसाद कोइरालाको त्यस्तो कुरा सुनेपछि सुवर्ण शमशेरले माथिको कुरा गरेका रहेछन् । गणेशमान सिंहले सुवर्ण शमशेरलाई पैसाको मामलामा उदार भए पनि फ्रन्टमा लड्ने कुरामा उत्साह देखाउँदैनन् भन्ने शंका गरेछन् । अब संघर्षको क्रममा गणेशमान जेल परेपछि थाहा पाएछन्, सुवर्ण पूर्वी कमाण्डमा आफैं फ्रन्टमा गएछन् ।

यो कुरा सुनेपछि सुवर्णप्रति आफ्नो धारणा गलत रहेछ भन्ने कुरा स्वयं गणेशमान सिंहको नामको २०४१ मा प्रकाशित पुनर्जागरण तत्कालीन मासिक पत्रिकामा मुद्रण भएको छ । उनले लेखेका छन्– जनकपुरको एउटा मोर्चामा एकदिन सुवर्ण अस्थायी क्याम्पको कौशीमा भएका बेला विपक्षबाट गोली चल्न थालेछ, उनकै टाउको माथिबाट । गोली चलिरहँदा किञ्चितमात्र पनि विचलित भएनछन् । यो कुरा सुनेपछि सुवर्णको शौर्य र साहसलाई गणेशमानले मानेको कुरा उल्लेख गरेका छन्, त्यही लेखमा ।

सुवर्णका बारेमा गणेशमानलाई लागेको रहेछ, राणा–कांग्रेस संयुक्त मन्त्रीमण्डलमा जसको प्रधानमन्त्री स्वयं मोहन शमशेर थिए । हिजो सम्मका श्री ३ महाराज नातामा पनि भतिजो वा नाति पर्ने । उहाँले मोहन शमशेरको कसरी सामना गर्नुहोला भन्ने लागेछ । तर त्यहाँ पनि सुवर्णले सिद्धान्तप्रति अडान राखेर सबैलाई छक्क पारेको कुरा पनि स्पष्ट लेखेका छन्, गणेशमानले ।

विश्वेश्वर पैसा चाहने, सुवर्ण दिने
मातृकाप्रसाद फरेस्ट्रीमा एकपल्ट सुब्बा भइसकेकाले भन्थे रे गणेशमानसँग ‘म कांग्रेस अध्यक्ष डिक्टेटर भए तापनि मन्त्रीमण्डलमा गएँ भने मोहन शमशेरको व्यक्तित्वले थिच्छ । म ऊसँग घुँडा धसेर कुरा गर्न सक्तिन । एकपल्ट सुब्बासम्म भएका मातृकाबाबु त त्यसो भन्छन् भने सुवर्ण कसरी सामना गर्लान् भन्ने लागेछ, गणेशमानलाई । तर सुवर्णले मोहन शमशेरसँग सिद्धान्तमा अडान लिएको देखेर छक्क पो परेछन् ।

सुवर्ण शमशेरले आजको २ करोड रुपैयाँ होइन, २००७ सालको हो, त्यो बेला सुन तोलाको कति थियो होला ? त्यो २ करोड पनि नेपाली रुपैयाँमा होइन, भारतीय रुपैयाँमा । गणेशमानको मूल्याङ्कनमा बरु मातृकाप्रसादले आफू प्रधानमन्त्री छँदा राजकीय शक्तिहरू राजालाई सुम्पँदै जानलागे । यता सुवर्ण शमशेर मातृका मन्त्रीमण्डलबाट विना हिचकिचाहट राजीनामा पत्रमा सहसा सही गर्नुभयो भन्ने मूल्याङ्कन छ, सुवर्ण शमशेरको व्यक्तित्वको गणेशमान सिंहको ।

सुवर्ण शमशेरकै बारेमा पुनर्जागरण तत्कालीन मासिकमा २०४१ मा विश्वेश्वरप्रसाद कोइरालाको नाममा प्रकाशित ‘एक समर्पित प्रजातन्त्रवादी नेता’ लेखमा सुवर्णले ‘पैसाको बारेमा फिकिर नगर्नुस्’ भनेको कुरा स्पष्ट उल्लेख छ । सुवर्णले एकपल्ट विश्वेश्वरलाई बोलाएछन्, कलकत्ताको कनक विल्डिङको वातानुकूलित अफिसमा र भनेछन्–कोइरालालाई, होइन सशस्त्र क्रान्ति नगरीकन हुँदैन । हाम्रा नेता गान्धीवादी भए ।’ विश्वेश्वरले भने रे, ‘त्यसको फिकिर नगर्नोस्, उहाँलाई गान्धीवादी चर्चा गर्न दिनोस् । हामी सङ्गठित गर्न सक्छौं, त्यसको निम्ति पैसा भयो भने किन गर्न सकिँदैन ?’ सुवर्णले भनेछन्– ‘हामीले कति कोसिस गर्‍यौं, हतियार पाइएन । बरु तपाईंले र मैले हतियारको सेक्सन लिनुपर्छ । फेरि दोहोर्‍याएछन्, पैसाको बारेमा फिकिर नगर्नुस् ।’

पहिलो बजेट, तीन करोड ५ लाख
सुवर्ण शमशेर पनि पत्रपत्रिकामा आफ्नो पक्षमा त लेख्नै पर्दैन भन्दारहेछन् । कृष्णप्रसाद भट्टराईले आर्थिक समस्या परेका एकजना स्थानीय दैनिकका सम्पादक, प्रकाशक र मालिकलाई लिएर सुवर्ण शमशेरकहाँ गएछन् । प्रतिमास आर्थिक सहयोगको निधो भइसकेपछि पत्रकारले सुवर्णजीको पक्षमा सकभर बढी प्रचार गर्ने अठोट व्यक्त गरेपछि सुवर्णले, ‘मेरो पक्षमा त लेख्दै नलेख्नोस् ।

विपक्षमा कहिलेकाहीं लेखेको खण्डमा पनि म रिसाउने छैन’ भने रे । सुवर्ण शमशेर अर्थमन्त्री भएका बेला २००९ सालमा जनकपुरमा भएको पार्टी महाधिवेशनताक कृष्णप्रसादले जलेश्वर मालबाट पछि तिनेगरी चाहिएको पैसा झिक्न सक्ने अधिकारपत्र पाऊँ भन्दा सुवर्णले भने रे, यस्तो काम गर्नुहुन्न, किनभने पार्टी र सरकार बेग्लाबेग्लै इकाइ हुन् । यसो गरेको खण्डमा अनुचित परम्परा बस्न जान्छ भन्ने जवाफ दिए रे, कृष्णप्रसादको अनुभव । सुवर्ण शमशेर एकजना त्यस्तो ऐतिहासिक व्यक्तित्व पनि परे, जसले आधुनिक नेपालको पहिलो बजेट प्रस्तुत गर्ने अवसर पाए । २००८ माघ १९ गते रेडियो नेपालबाट प्रस्तुत बजेटको आम्दानी ३,०५, १६००० रुपैयाँमात्र थियो ।

कति महँगो राजसंस्था !
उक्त आम्दानीको मुख्य स्रोत भनेको मालमोत, भन्सार, मदभट्टी रकम, निकासी, पैठारी र जङ्गलबाट उठ्ने रकम आदि रहेछन् । जम्मा ३ करोड ५ लाख राज्यको आय भएको स्थितिमा पनि श्री ५ तर्फ ५ लाख ८४ हजार रुपियाँ जाँदोरहेछ । कति महंँगो संस्था रहेछ त्यो । सरकारको अनुमानित खर्च ५ करोड २५ लाख २१ हजार हुँदा २ करोड २० लाख ५ हजार घाटा बजेट थियो, सुवर्ण शमशेरको ।

कृष्णप्रसाद भट्टराई जेल परेको १० वर्षपछि विनासर्त छुट्नुभयो । त्यही दिन साँझपख किसुनजी सुवर्णको सर्वस्वमा परेको साविक ‘ललित निवास’ (हाल राष्ट्र बैंक बालुवाटार) को दक्षिण–पश्चिमको सानो घर, जसको नाम पनि ‘ललिता निवासै’ राखिएको थियो, भट्टराइलाई सुवर्ण दम्पतिले बडो आत्मीयतापूर्ण स्वागत गर्नुभएछ । । सुवर्णजीले आफ्नो जीवनको पुनरावलोकन गर्दै वासुदेव रिसालसँग भनेछन्, ‘वासुजी, म एक बडो अभागी राजनीतिज्ञ रहेछु ।

राजाबाट सदा हिन्दुस्थानको पक्षपाती सम्झेर व्यवहार भयो । हिन्दुस्थानले भने राजाको पक्षमा लाग्न सक्ने भनी शंका गर्दै रह्यो’ भन्ने गुनासो गरी चित्त दुखाएछन् । सुवर्णसँग निकटमा रहेर काम गरेका जगन्नाथ आचार्य सुवर्ण पैसाले मात्र राजनीति चल्छ भन्ने विश्वास गर्दैनथे भन्ने आशय व्यक्त गरेका छन् ।

२००७ देखि ०३४ सालसम्मको खर्च धाने
सुवर्ण शमशेरकै बारेमा उनको निकटतम रहेर लामो समय काम गरेका सुन्दरराज चालिसेले डिल्लीरमण रेग्मीलाई १३–१३ हजार गरी २६ हजार दिएका रे । त्यतिबेला रेग्मी नेपाली राष्ट्रिय कांग्रेसको सभापति थिए । त्यस अतिरिक्त केदारमान व्यथित र होराप्रसाद जोशीलाई हातहतियार किन्न भनी ९ हजार दिएको कुरा पनि लेख्छन्, सुन्दरराज ।

सुवर्ण शमशेरले राजा महेन्द्रले आफ्नै साली रत्नसँग बिहे गर्दा पनि ४० हजार रुपैयाँ सहयोग गरेको लेख्छन्, डायमण्ड शमशेर । सुवर्णका बारेमा हिमालय शमशेर राणा नेपालमा प्रजातन्त्र ल्याउन आफ्नो प्रचुर सम्पत्ति खर्च गरेका थिए, उनले भनी लेख्छन् । खनुरुपदे रामबाबु प्रसाईं लेख्छन्– हिरण्य शमशेरका छोरा सुवर्णको नेपालमा आदाक्ष सम्पत्ति थियो । राजनीतिमा लागेका कारण पछि आफंै गोठमा बस्ने भए । २००७ देखि ०३४ सालसम्म पार्टीको सारा खर्च धाने ।

खाली हात नफर्काउने
सुवर्ण शमशेरका बारेमा तिलकप्रकाश भन्छन्– पार्टीका लागि, प्रजातन्त्र, देश र राष्ट्रियताका अगाडि धनसम्पत्ति केही होइन । यिनका खातिर सम्पत्ति न्योछावर गरेका दानवीर सुवर्णलाई त्यही पार्टीका नेतृत्व वर्गले छायामा पारेका छन् । अरू के भन्ने † प्रदीप गिरी लेख्छन्– सन् १९६७ मा बनारसमा प्रजातान्त्रिक समाजवाद युवा दलले सम्मेलनको तयारीका सिलसिलामा सुवर्णले भा.रु. १ हजारसहित शुभकामना दिएका थिए ।

लेखनाथ न्यौपानेका अनुसार नेपालबाट भागेर भारत पुग्ने सम्पूर्ण मजस्ता पार्टीका साथीहरूलाई खाने, बस्ने र औषधोपचारको व्यवस्था सुवर्णजीले नै गर्नुहुन्थ्यो । कांग्रेसलाई बचाउने काम सुवर्णजीले नै गर्नुभएको थियो । नेपालबाट भारत पुगेकाहरूलाई भारतका बिभिन्न ८ ठाउँमा क्याम्प खडा गरी प्रशिक्षण दिइन्थ्यो । ती सम्पूर्ण क्याम्पको खर्च सुवर्णजीले नै बेहोर्नुहुन्थ्यो । लेखनाथ लेख्छन्– हामीलाई प्रतिमहिना २५ रुपैयाँ प्रतिव्यक्ति दिइन्थ्यो । (यहाँ रु. भनिए पनि भा.रु. हुनुपर्छ) । त्यसरी हामी सबैको अभिभावक नै सुवर्णजी हुनुहुन्थ्यो ।

सुवर्णले कैयौं पार्टीका कार्यकर्ताका छोराछोरीको उपचार, पढ्न छात्रवृत्ति पनि दिने गर्थे रे । केही मान्छे परिवार बिरामी भएको बहानामा बारबार जान्थे रे, सुवर्णकहाँ । यस अघि पनि सुवर्णजीसँग रकम लगिसकेको थाहा पाएर पनि फेरि सहयोग गर्थे रे । उनकहाँ जानेलाई खाली हात फर्काउँदैन थिए रे ।

दानवीर
माथिका यी सम्पूर्ण कुरा र अरू पनि कैयौं कुराका आधारमा मैले सुवर्ण शमशेरलाई नेपाली कांग्रेसका कामधेनु गाई हुन् भनेको हुँ । २००७ सालको सशस्त्र क्रान्तिमा कति रकम खर्च लाग्यो, त्यो मैले कतै पढ्न पाएको छैन । तर त्यतिबेलाको २ करोडसम्म खर्च गर्ने आँट भएका सुवर्ण र महावीर शमशेरहरू साँच्चै दानवीर हुन् भन्ने मान्नैपर्छ जस्तो लाग्छ । सुवर्णले नेपाली कांग्रेसको खर्च आफू बाँचुन्जेल धानेछन् । त्यसैले मैले उनलाई कांग्रेसका कामधेनु भनेको हुँ।

Esewa Pasal

प्रकाशित : श्रावण २६, २०७५ ०७:५४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

राणाशासन ढाल्ने बन्चरो

भैरव रिसाल

काठमाडौँ — ‘म आफ्नो खुट्टामा आफैंले बन्चरो हान्दै छु,’ १९७६ चैतमा त्रिचन्द्र कलेज उद्घाटन समारोह सकिएपछि सबै समक्ष चन्द्रशमशेर जबराले भनेछन् । त्रिचन्द्र नेपाल मुलुकको पहिलो कलेज हो ।

त्यसै बेला भाइ भीमशमशेर र जुद्धशमशेर दुवैलाई औँल्याउँदै फेरि थपेछन्, ‘यस्ताले पछि कसो गरी राजकाज चलाउलान्, जंगबहादुरको समयमा जनता भेडा समान सोझा थिए भने वीरशमशेरको समयमा जनता साँढे समान भइसकेका थिए, मेरो समयमा अहिले जनता सिंहसमान भइरहेछन् । पछि हुने यस्ता नाथेहरूको समयमा जनता के–के कस्ता–कस्ता हुने हुन् र यी नाथेहरूले कसो गरी राजकाज समाल्ने हुन् ।’

मेट्रिकुलेसन जाँच पटनामा
चन्द्रशमशेरको माथिको भनाइले धेरै कुरा भने जस्तो लाग्छ । जंगबहादुर कुँवरले १९०३ असोज १ गते प्रधानमन्त्री र प्रधानसेनापति पद पाएका थिए महारानीबाट । चन्द्रशमशेरका अनुसार जंगबहादुरको समय भेडा समान सोझा रहेका जनता ५० वर्षमा साँढे समान सिँगौरी खेल्ने भइसकेछन् । त्यसको १०/१५ वर्षमै आफ्नो पालामा सिंह समान भइरहेको देखेछन् उनले । ६५/७० वर्षमै जनतामा त्यत्रो परिवर्तन भेडाबाट सिंह समान † चन्द्रशमशेरको यो मर्मस्पर्शी बिलौनाबाट पनि सिद्ध हुन्छ त्रिभुवन चन्द्र कलेज उनले स्वयं आफ्नो इच्छाबाट खोलेका थिएनन् ।

कलेजको नाम ‘त्रिभुवन चन्द्र’ रहेछ सन् १९१८ मा । ६ वर्षपछि त्रिभुवनको ‘त्रि’ मात्र राखिएछ र चन्द्रशमशेरको चन्द्र मात्र राखी ‘त्रि–चन्द्र कलेज’ नाम रह्यो । यो कलेज पटना विश्वविद्यालयबाट सम्बन्धनप्राप्त हो । सुरुमा ६ विषयको पढाइ हुन लागेछ । परीक्षार्थीले सन् १९२८ सम्म म्याट्रिकुलेसन परीक्षा दिन पनि पटना जानुपर्ने रहेछ । तर १९२९ देखि परीक्षा नेपालमै हुन थालेछ । त्यतिबेला पढेलेखेका नेपाली कम थिए तसर्थ दरबार हाईस्कुलका हेडमास्टर बटुकृष्ण मैत्रलाई कलेजको प्रिन्सिपल बनाइएछ ।

अंग्रेजको बलबाट कलेज र बैंक
अंग्रेजले बीसौ शताब्दीमा स्वतन्त्र राष्ट्रको हैसियतमा उभिन केही न केही पूर्वाधार चाहियो भनी प्रत्यक्ष–परोक्ष सम्झाएर, दबाब दिएर खोल्न लगाएको रहेछ त्रिचन्द्र कलेज र नेपाल बैंक । एउटा कलेजसम्म पनि नभएको, एउटा बैंकसम्म पनि नभएको देश पनि कहीं सार्वभौम, स्वतन्त्र राष्ट्र हुन्छ र भन्ने तर्क गरी यी संस्था स्थापना भएका रहेछन् । यो कुराको रहस्य डायमण्डशमशेर राणाले मसँग रेडियो सगरमाथाको ‘उहिले बाजेको पालामा’ कार्यक्रममा २०५६ जेठ ३ मा भन्नुभएको हो ।

नोट काटेर हुलाकमा
नेपालको दौत्य सम्बन्ध अंग्रेज सत्तासँग मात्र थियो त्यति बेला । अंग्रेज शक्तिसँग व्यवहार गर्न पनि टाकनटुकन अंग्रेजी भाषामा बात मार्न पनि अंग्रेजी भाषाको पढाइ आवश्यक ठानी राणाहरूले थापाथली दरबारमा अंग्रेजी स्कुल सुरु गरेछन् । त्यही स्कुल पछि रानीपोखरी पश्चिम स्थानान्तरण हुँदा पनि नाम भने दरबार हाईस्कुल नै राखिएछ ।

अंग्रेजी भाषा नभई नहुने रहेछ भन्ने बोध गरेछन् टाठाबाठा राणाहरूले र छोराहरूलाई कलकत्तातिर अध्ययनार्थ पठाउन थालिसकेका रहेछन् । कैयौं राणाका छोरा त स्नातक मात्र हो र स्नातकोत्तरसम्म पनि गरेका सुवर्णशमशेरहरू थिए । हिमालयशमशेरले बम्बईमा पढ्दा नेपालबाट खर्च पठाउनुपर्ने । हुलाक भरपर्दो रहेनछ । तसर्थ भारतीय नोट आधा हुने गरी काट्यो र आधा पारिएका नोटहरू पठायो एकपल्ट । त्यो पाएँ भन्ने उताबाट जवाफ आएपछि अनि बाँकी आधा पठाउने । दुवै टुक्रा नोट पाएपछि हिमालयले नोट टाँसेर चलाउँथे रे ।

पहिलो ढलान घर सरस्वती सदन
मैले जानेबुझेसम्म सरस्वती सदन नेपालको पहिलो सिमेन्ट ढलान घर हो । वेदप्रसाद लोहनी इन्जिनियरिङ शास्त्र पढेर आएछन् । उनलाई ढलान घर ठड्याउन हुटहुटी लागेपछि सन् १९४५ मा सरस्वती सदन बनेको हो । त्यसअघि चितवनको कसरामा विसं १९६८ मा ब्रिटिस सम्राट जर्ज पञ्चम सिकार खेल्न आउँदा उनका निम्ति बाथरुम सिमेन्ट लगाएर बनाइएको थियो रे ।

२००७ सालको क्रान्तिपछि बनेको मन्त्रिमण्डलमा नृपजंग राणा शिक्षामन्त्री थिए । शिक्षा मन्त्रालय र शिक्षामन्त्री सरस्वती सदनबाटै काम गर्थे । त्यहाँ साहित्य, कला, संस्कृतिसम्बन्धी अनेक अनुष्ठान भइरहन्थे । त्यस्ता आयोजनाको सभापतित्व वा प्रमुख आतिथ्य इतिहासशिरोमणि बाबुराम आचार्य, कविशिरोमणि लेखनाथ पौडेल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाट्यसम्राट बालकृष्ण सम, युगकवि सिद्धिचरण श्रेष्ठ, भवानी भिक्षु, धरणीधर कोइराला, महानन्द सापकोटा, चित्तधर हृदय, हृदयचन्द्रसिंह प्रधानलगायतले गर्थे । पुण्यप्रभा ढुंगानाहरू पनि यदाकदा झुल्कन्थे । ढलान घर सबको रोजाइ हुन्थ्यो त्यतिबेला ।

सिमेन्ट संस्कारले दोहन
नेपालमा सिमेन्ट संस्कार प्रवेश गरेकै थिएन । सरस्वती सदनको प्रवेशद्वारमाथि बाछिटा छेक्न भनी ह्याङिङ पोर्टिको पनि बनाइएको थियो रे । त्रिचन्द्र कलेजका एउटा कार्यकालका प्रिन्सिपल आशुतोष गांगुली सरस्वती सदन पस्दा त्यो पोर्टिको खस्ला र टाउको फुट्ला भनी जहिले पनि दौडेर पस्थे रे ।

त्यो पोर्टिको अझै छ । हुतराम दाई (वैद्य) भन्ने गर्नुहुन्थ्यो– सिमेन्ट उत्पादन भएपछि खोला, नदीनालाको दोहोलो हुन थाल्यो । सिमेन्टका लागि बालुवा नभई नहुने । बालुवाका लागि नदीखोलाको अत्यधिक दोहन हुने । वाग्मतीजस्ता संस्कृति र सभ्यताका मुहान विनाश हुने । सिमेन्ट नआउँदासम्म खोलानदीमा यथेष्ट बालुवा हुन्थ्यो । खराब पानी पनि प्रशोधन हुन्थ्यो । वाग्मती सभ्यता जोगाउन धौधौ छ अहिले । सिमेन्ट, निर्माण र सभ्यतालाई कसरी सन्तुलनमा राख्ने ?

सरदार बाजेको बुद्धि
त्रिचन्द्र कलेजलाई सम्बन्धन दिने बेला नेपालले एउटा विषय नेपाली पनि राख्न खोज्यो । त्यसका निम्ति नेपाली भाषामा कति पुस्तक उपलब्ध छन् भनेर पटना विश्वविद्यालय यकिन हुन खोज्यो, जुन स्वाभाविक हो । त्यतिबेला सरदार रुद्रराज पाण्डेले पुस्तक धेरै देखाउने बुद्धि लगाएछन् । कुनै यता फर्काएर कुनै उता फर्काएर पुस्तक चाङका चाङ गरी मिलाएर राखेछन् । नेपाली भाषा र संस्कृत भाषाका थुप्रै ग्रन्थ रहेछन् भन्ने परेछ जाँचबुझ टोलीलाई । स्वीकृति मिल्यो ।

तर्केर हिंड्ने ज्वाइँ–ससुरा
डिल्लीबजारका विष्णुप्रसाद पन्तका छोरा यादवप्रसाद पन्त त्रिचन्द्र कलेजमा पढ्थे । त्यति बेला रुद्रराज पाण्डे कलेजका प्रिन्सिपल थिए । प्रिन्सिपललाई विद्यार्थीले गोडामा ढोग्ने रीत बसालिएको रहेछ । छोरीबुहारी कलेज पढ्ने युग थिएन । यादवप्रसाद पन्तसँग रुद्रराज पाण्डेकी छोरी रमादेवीको बिहे भयो । त्यसपछि एउटा गाँठो आइपर्‍यो– ज्वाइँले ससुरालाई खुट्टामा ढोग्नुपर्ने । नेपाली अझ बाहुन जातको संस्कारमा त ज्वाइँले ससुरालाई दण्डवत् गर्नु निषेधै छ । ढोग्ने प्रथा हटाउनु पनि सहज थिएन ।

सरदार बाजेले एउटा उपाय निकालेछन्– ज्वाइँ–ससुरा आमनेसामने नपर्ने, जम्काभेट नगर्ने । एउटाले अर्कोलाई देखेपछि परैबाट तर्केर हिंड्ने । यादवप्रसाद नेपालकै पहिलो विद्यावारिधि हुन् । महिला शिक्षाका सन्दर्भ सन् १९५० मा अंगुरबाबा जोशीले विशेष अनुरोध गरेर प्राइभेट परीक्षार्थीका रूपमा परीक्षा दिनुभएछ । त्यो घटना अपवाद हो ।

प्रकाशित : श्रावण २०, २०७५ ०७:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्