कता जाँदै छ गीत–संगीत ?

आजका धेरै गीत/संगीत खहरेको पानी बनेर उर्लिएका छन् । सांगीतिक कम्पनीहरू यही खहरेको भेलमा बगिरहेका छन् ।
राधिका अधिकारी

काठमाडौँ — कुनै एक समय थियो, हरितालिका तीज नजिकिँदै गर्दा ‘तीजको रहर आयो बरिलै’ बोलको गीत सबैतिर गुञ्जने गथ्र्यो । यही गीत रेडियोबाट बजेपछि गाउँघरमा तीज नजिकिएको महसुस गर्थे, दिदी–बहिनीहरूले । चलचित्र कन्यादानका लागि तयार पारिएको यो गीत निकै लोकप्रिय पनि बन्यो ।

कता जाँदै छ गीत–संगीत ?

यो गीतले लामो समय तीजको लहर ल्यायो । आज पनि उत्तिकै लोकप्रिय छ । तीजका हजारौं गीत तयार पारिएका भए पनि आज पनि तीज आउनासाथ धेरैले यही गीत सम्झन्छन् ।

समयसँगै तीजका धेरै गीत उत्पादन तथा वितरण भए । केही समयअघि बजारमा आएको ‘तीज आयो जाऊ न बाबु दिदी लिनलाई, खुट्टैमा ढोग गरे है भेट्दा भेनालाई’ यो गीत पनि निकै समय नेपाली जनजिब्रोमा झुन्डियो । प्रजापती पराजुलीको लय तथा शब्द सिर्जनामा प्रजापती पराजुली, पुरुषोत्तम न्यौपाने र हरिदेवी कोइरालाले गाएको यो गीत सुनेर भावुक हुने पनि धेरै छन् । यो गीत सुरुदेखि अन्त्यसम्म सुन्ने र यसको म्युजिक भिडियो हेर्ने हो भने नेपाली संस्कार र संस्कृतिको ज्युँदो इतिहास बुझ्न सहयोगी हुन्छ ।

‘आमा तिम्रो सरुमै रानी दूधको त्यो भारा, मैले कहिले सरुमै रानी तिरेर सकुँला’ नेपाली लोक गायनमा छुट्टै पहिचान बनाएकी गायिका हरिदेवी कोइरालाले गाएको तीजकै गीत हो । विशेष गरेर तीजले पराई घर गएकी चेली र माइतीलाई मिलन गराउने विशेषता बोकेको हुन्छ । छोरी जब माइतीघर छाडेर पराई घर पुग्छे, बल्ल माइती र आमाको महत्त्व बुझ्छे । यो गीतमार्फत आमाको महत्त्वलाई झल्काइएको छ । हुन त आमाको महत्त्व तीजमा मात्रै बढेर जाने होइन । तथापि त्यो समय छोरीचेलीले तीजका बेलामात्रै गीतका माध्यमबाट आफ्ना मनका भावना र दुखेसो अभिव्यक्त गर्न पाउँथे । यो गीत पनि त्यही समयको वरिपरिको गीत हो ।

‘बाबाले त लिन आथे लौरो टेकी–टेकी, माइत जान हराइहाल्यो आमा बितेदेखि बाबु, साह्रै दुख्यो मन, तीजमा पनि लिन नआई किन गर्छस् फोन ?’ पार्वती जिसी र रामजी पौडेलले गाएको यो गीत सुन्दा कतै पीडा त कतै आनन्दको अर्कै अनुभूति हुन्छ । ‘दिदी–बैनी भेट भएर तीजको दर खाँदिीहुन्, म पनि त आमा भए माइत जाँदिहुम्’, इन्द्र जीसीको लय, शब्द पूर्णकला बीसी र इन्द्र जीसीले गाएको यो गीत उस्तै प्रकृतिको भए पनि फरकपन छ ।

समयले केही कोल्टो फेर्‍यो । यी र यस्ता खालका पीडाका भावबाट चेलीहरू अलि माथि उठेर अधिकारका गीत गाउन थाले । केही समयअघि तीजको छेको पारेर नारी अधिकार र नारी शक्तिका गीत खुब गुञ्जन्थे । अहिले समयले त्यो चरण पनि पार गरेको छ । तीज गीतले मारेको यो फड्कोलाई हेर्ने हो भने हाम्रा चेलीहरू अधिकार सम्पन्न भएछन् भन्ने भान हुन्छ ।

पछिल्लो समयका तीज गीतहरू श्रीमान, श्रीमती तथा प्रेमी–प्रेमिकामा मात्रै सीमित बनेर उत्पादन हुनथालेका छन् । हुन त पछिल्लो पुस्ता आफ्नो एक पुस्ताका लागिमात्रै बाँच्ने बन्दै गएको छ । यसैको असर गीत–संगीतमा देखापरेको हुनसक्छ ।

तीजको मर्म भुलेर हरेक तीजमा श्रीमानको खोजी गर्दै देखापर्छिन्, गायिका कोमल वली । ‘बाबाको दैलामुनि बोट छ है बयर, छोरी धेरै भनेर हेला नगर’ जस्ता मौलिक गीतकी गायिका वली, दण्डपानी पाण्डे लगायतका स्रष्टा कलाकारले १२ वर्षअघि बजारमा ल्याएका ‘पोइल जान पाम् र मैले लान पाम्’ भन्ने गीत/संगीतले नै हो, नेपाली तीज गीतलाई परम्पराभन्दा बाहिरी बाटोमा मोडेको । त्यसयता विस्तारै भड्किँदै गएको तीज गीतको बजार पछिल्लो समय गाईजात्रा जत्तिकै भएका छन् ।

त्यसो त कुरा तीज गीतको मात्रै होइन, हाम्रो पुस्ता यतिबेला नेपाली गीत–संगीत नसुन्ने भएको छ भन्दा पनि फरक पर्दैन । यो पुस्तामा ‘दाजुभाइले बिर्संदै गए, दिनदिनै विरानो माइती बरिलै’ जस्ता गीतका स्रोता निकै कम छन् । ‘तीज आए नि पिरलो, नआए नि पिरलो, चोरी खान पल्केको यो ढाडे बिरालो’ जस्ता गीतमा रमाउँदै ‘कि रेखाको चल्छ, कि देखाको चल्छ’ भन्दै उत्ताउला नृत्य हेर्ने दर्शक तथा यस्ता खालका गीत सुन्ने स्रोताको संख्या ह्वात्तै बढेको छ । यो पुस्तामा भावनात्मक गीत–संगीत सुन्ने श्रोता निकै कम छन् भन्दा अन्यथा हुँदैन ।

पछिल्लो पुस्ताको रोजाइमा जीवन र समाजका गहिरा अर्थ बोकेका गीत नपर्नुका पछाडि मिडियाको ठूलो हात छ । मिडियाका तरंगहरूमा अधिकांश विदेशी गीत–संगीतले प्रभुत्व जमाउने गरेका छन् । किन प्राथमिकता छन्, विदेशी गीत–संगीतहरूको ? यसको स्पष्ट जवाफ छैन । ‘पिँढीमा बसेर, मेरै बाटो हेरेर’ जस्ता गीत–संगीतले यति पछि पर्नुपर्ने अवस्था किन आयो ? नेपाली गीत–संगीत बज्दै नबजेका पनि हैनन्, तर पछिल्लो समय यस्ता कालजयी गीत कमै बज्छन् ।

आर्थिक हिसाबले पनि राम्रा गीतले स्थान नपाएको तितो यथार्थ हाम्रासामु घामजस्तै छर्लङ्ग छ । हिजोआज पैसामा गीत–संगीत चल्ने गरेका छन् । ‘उचालेको कुकुरले मृग मार्दैन’ भनेझैं यस्ता खालका गीत–संगीतले श्रोताको मन छुन सक्दैन । प्रचार–प्रसारमा यदि यही अवस्था रहिरहने हो भने हाम्रो सांगीतिक धरातलमा भावनात्मक गीत–संगीत मासिँदै जानेछ ।

अब हामीले ‘माइती घर तिम्रो होइन, पराई घर जाऊ’ जस्ता गीत–संगीतको अस्तित्व खोज्नुपर्ने बेला भएको छ । हाम्रो सांगीतिक धरातल कतिको फितलो वा बलियो बनाउने त्यो हाम्रै हातमा छ । हामीले हाम्रा सिर्जनाको सही मूल्याङ्कन गर्नुपर्ने बेला आएको छ । अब वहार ल्याउने र जाने गीत–संगीतभन्दा पनि प्रभाव छाडिरहन सक्ने गीत–संगीतको सिर्जना हुनु आवश्यक छ ।

खहरेको पानी जति उर्लिएर बहे पनि आकाश बर्सिउन्जेलको हो । आजका धेरै गीत–संगीत खहरेको पानी बनेर उर्लिएका छन् । सांगीतिक कम्पनीहरू यही खहरेको भेलमा बगिरहेका छन् । उनीहरूलाई थाहै छैन, शान्त सागरको महत्त्व । गीत–संगीतलाई पहुँच र पैसाका आधारमा तौलिन थालिएको छ, हिजोआज । सिर्जनाको मूल्याङ्कन पैसामा हुनु विडम्बना हो । अब हामीले गम्भीर भएर सोच्ने बेला भएको छ ।

[email protected]

प्रकाशित : श्रावण २६, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?