मनुजबाबु, कोलाहल र शान्ति

समय रेखा
भयावह लाग्ने कलाहरूको पछिल्तिर मनुजबाबुको यथार्थ मानवको चरित्र बुझ्ने जुन सामथ्र्य थियो, त्यो काव्यिक थियो ।
अभि सुवेदी

काठमाडौँ — बौद्ध गुम्बाको नजिकै गान्धीको सावरमती आश्रमजस्तो एकजना गृहस्थीको थलो छ । परिवार बस्ने सानो घर, एकाध साना टहरा अनि एउटा घर सदृश नेपाली शैलीको माटोका भित्ता र परिवेश भएको उपघर छ । त्यो कलाकार मनुजबाबु मिश्रको थलो हो ।

यसलाई उनले ‘हर्मिताज’ भन्ने नाम दिए, जसलाई ध्यान गरेर बस्ने, अलिकता जगतबाट अलग वा रिट्रिट भएर बस्ने थलोका रूपमा बुझिन्छ । यो थलोमा उनले आफूले बुझेको र देखेको अनि आउने युगको रचना गरे । ती रचना पेन्टिङ र रेखाचित्र हुन् । ती शान्त मानिसको विषय आँधी थियो । ती प्राय: मौन मानिसले आफ्नो वरिपरि कोलाहलको रचना गरे । रकेटहरू आकाशमा उडिरहेका छन् ।

विशाल आकारका नाग र अजिङ्गरहरू भयानक रूप लिएर उठ्छन् । पहिलो दृष्टिमै सर्पदंश र भेदनकारी बम बोकेका रकेटहरू, तोप र भालाबाट प्रताडित मानवका अभिघात तिनका विषय हुन् भन्ने बुझिन्छ । ती पेन्टिङमा प्रयोग भएका हरित, पहेँलो, रातो, कालो र श्वेत रंगका अनौठा मिश्रणले जीवन र जगतले भोगेका प्रताडनाको चित्रण गर्छन् । ती आफूलाई त्यो भयानक जीवनभन्दा ठूलो विषयमा पात्र बनाएर बिना कुनै संकोच लिएर जान्छन् ।

Yamaha

कलामा उतारिएको विभीषिका र कलाकारको जीवनको अनुभव एकै होइनन् भन्ने मान्यतालाई मनुजबाबुले मानेनन् । कलाकारको शिर छेडेर उतापटि रकेट गएको छ । ती कलाकार जगतमा छन् र ती अरूले जस्तै जीवन भोग्छन् । यसरी मनुजबाबुले आफूलाई यो कोलाहललाई आफ्नो जीवनको लय बनाएका थिए । यो कोलाहल र यसभित्र उनले भेटेका महान शान्त क्षणहरू २३ साउन २०७५ को उनको अन्तिम यात्रामा उनीसँगै गएनन् । ती हर्मिताज र जगतमा यत्रतत्र व्याप्त छन् । उनको मुहारका आत्मचित्रहरूमा छन् ।

मनुजबाबुलाई बुझ्न उनका पेन्टिङको विभीषिकाको सोझो अर्थबाट सकिँंदैन । तिनको शिक्षाको परिवेश पनि हेर्नुपर्छ । समीक्षक संगीता थापा ‘ड्रइङ्गस अफ मनुजबाबु मिश्र (२००९)’ किताबमा मनुजको शिक्षाको थलो, गुरु अनि कलाकारको प्रभाव पनि हेर्नुपर्छ भन्ने मान्यता राख्छिन् । पूर्व–पाकिस्तानको ढाकामा सन् १९६३–१९६९ सम्म तिनले पाएको शिक्षाको मनुजबाबुमाथि ठूलो प्रभाव छ ।

बंगालको अनिकालको चित्र र साहित्यमा सम्झिइने स्मृति, त्यहाँको दैन्य, गरिबी र तिनले देखेका मानिसको दुरावस्थाले तिनलाई प्रभाव पारेको देखिन्छ । भारतका गणेश पैन भन्ने कलाकारका कलामा चित्रित मानिसका भत्केका आकारहरू र शैलीको अनि यिनका गुरु जैनुल आवेदिन (१९१८–१९७६) को नव–बङ्गाल यथार्थवादको मनुजबाबु मिश्रलाई प्रभाव थियो भन्छिन्, संगीता थापा ।

तर आश्चर्यको कुरा म बंगलादेश बनेपछिको एक दशकपछिका वर्षमा त्यहाँ जाँदा त्यो दैन्यमा अर्को स्मृति हावी थियो । त्यो मुक्ति संग्रामको बेलाको भयावह नरहत्या र विस्थापित मानिसहरूका कथाले बनेको अवस्था थियो । त्यहाँका कलामा मनुजबाबुका कलामा जस्तै विषय, शैली अनि रङ्ग अभिव्यञ्जनाको प्रयोग देखेर म चकित परेको थिएँ । मनुजको समयका केही वयस्क शिक्षक कलाकार पनि भेटेंँ । मलाई त्यहाँ लाने ढाका विश्वविद्यालयका कला समीक्षक अंग्रेजीका प्राध्यापक मन्जरुल इस्लाम र कैसर हकले यो शैली र पद्धतिको व्याख्या गरेपछि मैले मनुजबाबुको शैली बुझ्ने निकै आधार भेटेको थिएँ ।

मनुजबाबुका विभीषिका बुझाउने पेन्टिङहरू कला हुन्, रचना हुन् । आफ्ना पेन्टिङको कोलाहलमा पसेर कलाकार नै हताहत भएको चित्रण गरे पनि ती अलग छन्, जसरी पिकासो जर्मनका बमहरूले ध्वस्त गरेको स्पेनी सहर गुएर्निकाको विभीषिकाको पेन्टिङ बनाए पनि त्यसबाट अलग थिए, जसरी सोह्रौं शताब्दीका इटालीका कलाकार काराभाज्जियो आफ्ना हिंसात्मक पेन्टिङबाट अलग थिए, जसरी लैनसिंह वाङ्देल आफूले पिकासोको प्रभावमा बनएका नील रङ्गका दुखियाहरूबाट अलग थिए ।

उन्नाइसौं शताब्दीका स्पेनेली चित्रकार फ्रान्सिस गोयाका पेन्टिङहरू मानिसका भयानक चरित्र र भञ्जनका चित्र दिन्छन् । बेलायती पेन्टर फ्रान्सिस बेकनका पेन्टिङ आधुनिक शैलीमा त्यस्तै भयानक हुन्छन् । धेरै उदाहरण छन् । तर मनुजबाबुको कलासँग मिल्ने नेपाली कलाकृति कमै भेटिन्छन् । एकदिन मनुजबाबु उनको घरको बरन्डामा पेन्टिङ गर्दै थिए । म हेरेर बसेको थिएँ । नील रङ्गी विद्रुप आकारहरू आउँदै थिए ।

त्यही बेलाको शान्त परिवेश भएको बौद्धको अलिक परबाट लाखे नाचको आवाज आउँदै थियो । मनुजबाबुले अकस्मात् भने, ‘अभि, थाहा छ ? यो लाखे नाचको मुखुन्डो र नाचबाट केटाकेटी तर्सिन्छन्, म त जानदिन्न ।’ लाखे नाचको दोहोरिने जात्राको शून्य मुखुन्डोभन्दा धेरै प्रभावकारी भयानक चित्र बनाउँदै थिए, ती । मलाई त्यस दिन लाग्यो, यी मानिसको हल्ला र विभीषिकाको पछिल्तिर एउटा भयानक निरपेक्ष शान्ति छ । एउटा बुद्धले देखेको शान्तिको क्षण छ । भयानक चित्रको पछिल्तिर यी त्यही शान्तिको रचना गर्दैछन् र गर्दैछन्, यो युद्ध र पारमाणविक मिसाइलहरू उडेको जगत् पछिल्तिर मानिसको मुक्तिको रचना ।

मनुजबाबु वयमा मभन्दा निकै जेठा भए पनि हाम्रो साहित्यिक, सांस्कृतिक चलनमा प्रयोग हुने शब्द ‘दाइ’ले मैले उनलाई कहिल्यै सम्बोधन गरिन । यो उनको हर्मिताज मैले एक्लै र केही मन मिल्ने मित्रहरूसहित धेरैपटक गएको र लामो समय बसेर, उनको कर्म हेरेर, अनि उनका विचारहरू सुनेर फर्केको थलो हो । कलाकारहरूले बसेर काम गरेका थलोहरू हेर्नु एउटा आपैंmभित्र मुक्तिबोध गर्नु र आपैंmलाई खोज्नु जस्तै हो ।

मैले यसरी कलाकार भएकै बेला तिनका कर्मस्थलमा गएर संवाद गरेका र हेरेका ठाउँहरू छन् । लैनसिंह वाङ्देलको माथिल्लो तलाको काम गर्ने थलो, बालकृष्ण समको बैठकबाट पसेपछिको पहिलो पेन्टिङ गर्ने कक्ष, अमर चित्रकारको घरको सहज परिवेशमा यसै बनेको कर्मशाला, उत्तम नेपालीको सर्वत्र चित्रले भरिएको काम गर्ने थलो, किरण मानन्धरको स्वयम्भू मुनिको आटेलियर भन्ने सानो कर्मथलो अनि उनको ताहाचलको घाम–छाया मिलाएको र पहराको गुफाजस्तो काम गर्ने कोठाहरू मेरा स्मृतिमा रङ्गरेखा, क्यानभासका आकार र तिनका तरङ्ग बोकेर अहिले पनि आउँछन् ।

ती थलोमा निकै पटक गएपछि एउटा तिनको छाप बस्छ । कलाकारले काम गर्ने थलो भनेको तिनले जीवनसँग कसरी संवाद गरे, मिलन र झगडा गरे, ती सबैको दृष्टिगोचर अस्थिर रूप र रङ्गले बनेको नाट्य मञ्च नै हो । तिनका खुसी र सङ्कट देखिन्छन्, तिनमा । मैले पश्चिमी र जापानी कलाकारका थलोहरू अनेकौं देखेंँ । तर फ्रान्सको मार्सेमा सेजानले समाजले तल्लो वर्गकी भनेकी महिलालाई लिएर एकान्तमा आश्रम गरेपछि पेन्टिङ गरेर जीवन चलाएको लेस्ताक भन्ने घर र थलोको सम्झना हुन्छ । तिनले मनुजबाबुले जस्तै समाजसँग विमति राखेर, अर्कै आत्मविश्वासले रचना गरेको थलो थियो त्यो । हर्मिताज थियो, त्यो उनको ।

मनुजबाबु मिश्रसँग मेरो साहित्यिक सम्बन्ध पनि थियो । तिनी एक निबन्धकार थिए । उनका निबन्ध ज्ञान र विज्ञानको बौद्धिक विषयको छलफल गर्छन् । उनी एक प्राज्ञिक र शिक्षक थिए, जसले कला इतिहासको किताब लेखेका छन् । उनले लेखेको ‘हर्मिताज : अढाई दशक गुफामा’ मैले भेटेको छैन । तिनले कथा र उपन्यास पनि लेखे, तर तिनले आफूलाई कलाकार मात्र ठान्थे । यथार्थमा मनुजबाबु मिश्रको चेतना एक कलाकारको थियो ।

तर हामी उनको नजिकका मानिसहरूले उनको अर्को आयाम पनि देख्यौं । मनुज २०४७ को राजनीतिक परिवर्तनपछि अत्यन्त निराश भए । यतिसम्म कि उनी आफ्नो आमजीवनमा हुने सहभागिता नै छिन्न गरेर रिट्रिटमा बसे । उनले मलाई भनेका थिए, ‘जर्मनबाट एकजना मित्रले उनलाई एउटा किताब पठाइदिएको छ ।’ त्यो उनको भनाइमा अलिक उग्रधारणाले लेखिएको थियो । मैले मनुजबाबुको यो पक्षलाई खासै महत्त्व दिइन, किनकि एकजना कलाकारका उद्वेलन र भावनाको अर्थ उनको कला व्याख्या गर्ने दर्शन र शैलीसँग सम्बन्ध राख्छ, राजनीतिसँग राख्तैन । मनुजबाबु र मेरा साझा चाखका कुरा अनेकौं थिए ।

कलाको व्याख्या, आधुनिक मानवको अवस्था, उनले मुहारचित्र बनाउँदा पाएका अनुभव र आविष्कारहरू, उनका पुत्र मेरा विद्यार्थी रवीन्द्र मिश्रले बीबीसी नेपाली सेवामा अत्यन्त सफलतापूर्वक गरेका काम, हाम्रा साझा विषय र चाखका विषय थिए ।

मनुजबाबुका कलाको चरित्रबारे छलफल गर्ने यहाँ ठाउँ छैन । तर भयावह लाग्ने कलाहरूको पछिल्तिर उनको यथार्थ मानवको चरित्र बुझ्ने जुन सामथ्र्य थियो, त्यो काव्यिक थियो । एक दिन उनले रेखा–रचनाले मेरो मुहारचित्र बनाउन चाहे, उनको घरमा । म बसेंँ । उनले केही पटक बनाएपछि चित्त नबुझेर अर्को बनाए । मैले सोधेंँ, ‘किन, के मिलेन ?’ उनले भने, ‘एकजना मानिस, त्यसमा पनि एकजना साहित्यिकको मुहारचित्र एउटा गति हो, जहाँ अनुहारमात्र होइन, बाहिर जगत पनि हुन्छ ।’ ‘ड्रइङ्गस अफ मनुजबाबु मिश्र’मा उनले समावेश गरेको त्यो मेरो चित्रमा प्रतिविम्बित जगत मेरानिम्ति एक अर्थ खुल्न बाँकी कविता हो । पशुपतिमा उनको अन्तिम दर्शन गरेर म भाषा र रङ्गको द्वन्द्व बोकेर फर्कें ।

प्रकाशित : श्रावण २६, २०७५ ०७:५४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आइमाईको शत्रु आइमाई !

आफ्ना बाजे–बराजुले पेटभरि नखाई, घुँडा टालेको सुरुवाल लगाएर जोगाइदिएको सम्पत्तिसमेत बाँडेर खान नसकी अड्डा–अदालतको ढोका ढकढक्याउन जाने पुरुषहरूले कुन मुखले भन्छन् होला– ‘आइमाईको शत्रु आइमाई’ ।
लीला लुइँटेल

काठमाडौँ — केही समय पहिले नेपाली साहित्यमा भएका भाँडभैलोको चर्चा गर्दै यसै पंक्तिकारले लेखेको ‘हावादारी विश्लेषण’ शीर्षक लेखमा केही महिला समालोचकको नाम पनि परेपछि मदन पुरस्कार प्राप्त एक बौद्धिक लेखकको टिप्पणी थियो– ‘आइमाईको शत्रु आइमाई भनेको ठिकै हो रहेछ । मैले प्रतिवाद गरेपछि उनको कुतर्क थियो– सासू–बुहारी, नन्द–भाउजू, देउरानी–जेठानीका बीचमा झगडा भइरहेको प्रत्येक घरमा देखिन्छ, तर तपाईंले ज्वाइँ–ससुरा, साला–भिनाजु कहिल्यै झगडा गरेको देख्नुभा’छ ?’

कठैबरी उनको कुतर्क ∕ हो सासू–बुहारी, नन्द–भाउजूका तुलनामा ज्वाइँ–ससुरा, साला–भिनाजुको कहिल्यै पनि विवाद र झगडा हुँदैन । किनकि झगडा र विवाद भनेको समान वर्ग र हैसियतका बीचमा हुन्छ । हाम्रो समाजमा ज्वाइँलाई ‘नारान’को उपमाले विभूषित गर्दै मान्छेको तहभन्दा माथि राखेर सत्कार र सम्मान गरिन्छ । यसरी एउटा मालिक र अर्काे दास भएर प्रस्तुत हुने यस स्थितिमा ज्वाइँ–ससुरा, साला–भिनाजुको बीचमा विवाद र झगडा पर्न सक्ने कुरै भएन । हाम्रो सामाजिक यथार्थ यति छर्लङ्ग हुँदाहुँदै पनि बुझ पचाउँदै किन यस्ता अनर्गल टिप्पणी गरिन्छ कुन्नि ?

हाम्रो सामाजिक संरचनामा परिवारभित्र पुरुषभन्दा महिला बढी समय एकै ठाउँमा बस्नुपर्ने स्थिति हुन्छ । पुरुष घरभित्रका अधिकांश काममा संलग्न हुँदैन । सासू–बुहारी, नन्द–भाउजू, देउरानी–जेठानी एकै ठाउँमा बसेर लामो समय झिनामसिना देखिने काममा सक्रिय हुनुपर्ने भएकाले उनीहरूबीच कतिपय सन्दर्भमा वादविवाद हुन सक्छ ।

जहाँसम्म देउरानी–जेठानीका तुलनामा दाजु–भाइको कुरा छ, घरपरिवार एवं समाजमा कुनै कार्य एवं पर्व पर्दा हरेक कार्यमा अधिकांशत: महिलाहरू जोतिइरहेका हुन्छन् । तर त्यही सन्दर्भमा भने पुरुषचाहिँ मिल्ने स्थितिमा भए बोतल खोल्न थाल्छ र त्यसको सितनका लागि पनि महिलालाई नै आदेशात्मक ‘फर्माइस’ गर्न थाल्छ । यदि बोतल खोल्ने परिस्थिति अनुकूल नभए ऊ तास लिएर पलेँटी कस्छ । अब यहीँनेर हेरौँ, आफ्नो भोकतिर्खालाई बेवास्ता गर्दै काममा एकोहोरो जोतिने महिला वर्गमा सामान्य विवाद एवं भनाभन भएको सुन्ने बित्तिकै बोतलमा झुमिरहेको तथा तासमा रमाइरहेको पुरुष यता आफ्नो तिघ्रा ठटाउँदै भन्न थाल्छ– ‘आइमाईको शत्रु आइमाई’ ।

बेमेल र झैझगडा त पुरुषका बीचमा पनि नहुने होइन । सरसर्ती हेर्दा देउरानी–जेठानीका तुलनामा पनि दाजु–भाइका बीचमा विवाद एवं झगडा कमै परेजस्तो देखिन्छ । तर जब अंशबन्डाको स्थिति आउँछ, दाजु–भाइ एकआपसमा मिल्न नसकेर अड्डा–अदालत धाएको दृश्य हाम्रै समाजमा प्रशस्तै देख्न पाइन्छ ।

आफ्ना बाजे–बराजुले पेटभरि नखाई, घुँडा टालेको सुरुवाल लगाएर जोगाइदिएको सम्पत्तिसमेत बाँडेर खान नसकी अड्डा–अदालतको ढोका ढकढक्याउन जाने पुरुषहरूले कुन मुखले भन्छन् होला– ‘आइमाईको शत्रु आइमाई’ भनेर । यसरी एउटै लाम्टो चुसेका दाजु–भाइमाझ समझदारी गर्न नसकेर शत्रुतापूर्ण व्यवहार गरेको देखिन्छ भने भिन्न वर्ग, हैसियत, परिवेश एवं मानसिकता भएका परिवारबाट जम्मा हुनपुगेका महिलामाझ सामान्य विवाद हुनुलाई स्वाभाविक रूपमा नलिएर एउटा पुरुष भन्न थाल्छ– ‘आइमाईको शत्रु आइमाई’ ।

अर्काेतिर आइमाईको शत्रु आइमाई देख्ने पुरुषले आफ्नी जन्मदातृ आमा बिरामी हुँदा आफू स्याहार्न अघि सर्दैन, आमाको शत्रुका रूपमा व्याख्या गरिएकी त्यही बुहारीलाई आमा जिम्मा लगाएर ऊ निर्धक्कसँग पन्छिन खोज्छ । अझ कुनै आमा गम्भीर एवं दीर्घरोगी भएको कतिपय अवस्थामा छोरोभन्दा प्रतिभाशाली, योग्य एवं बढी आम्दानी भएकी बुहारीलाई सासूको सेवा गर्नकै लागि जागिर छोड्न बाध्य बनाइएको कतिपय सन्दर्भ हामीले देखेसुनेकै हो ।

बिरामी स्याहार्दा हैरान भएकी पत्नीले आमाका बारे सामान्य गुनासो गर्दा पनि ‘आइमाईको शत्रु आइमाई’ नै देख्ने पुरुषलाई आफ्नी आमा बुहारीको जिम्मामा निर्धक्क छोड्न कुन नैतिकताले दिन्छ ? के त्यतिखेर आमालाई शत्रुकै रूपमा रहेकी अर्की आइमाईले जेसुकै गरोस् भनेर हिँडेको हो त ऊ ? हाम्रो सामाजिक व्यवस्थाले छोरा र छोरी, छोरा र बुहारीका बीचमा असमान व्यवहार गर्न–गराउन पनि महिलालाई नै सक्रिय गराएको स्थिति छर्लङ्ग छ । यसले गर्दा पनि महिला नै महिलाको विरोधीजस्तो देखिन पुगेको मात्र हो, अन्यथा घरभित्रका श्रमको समान वितरण हुन्थ्यो भने परिस्थिति पृथक् देखिन सक्थ्यो ।

यसरी नारीहरूकै कारणले नारीहरूले अधिकार र स्वतन्त्रता नपाएको पुष्टि गर्न हाम्रा शिक्षित एवं बौद्धिक भनिएका दाजुभाइ पनि उक्त टिप्पणी गर्न खुबै सक्रिय देखिन्छन् । पितृसत्तात्मक सङ्कीर्ण सोचाइले महिलालाई होच्याउने अभीष्टले यस्ता टिप्पणी सिर्जना गरेको अनुमान गर्न सकिन्छ ।

लामो समयदेखि थोपरिएको पितृसत्तात्मक हैकमवादी मानसिकताले महिलालाई सहनशीलताको उपमा दिँदै ‘सहनु नै ठूलो धर्म हो’ भनेर कमजोर बनाउन गरिएको प्रयास पनि लामो समयसम्म सफल भएकै हो । यसले गर्दा पुरुष वर्गले उद्दण्डताका साथ नाजायज काम र व्यवहार गर्न छुट लिइरहेको छ । यी विविध कारणले गर्दा घरेलु कार्य व्यवस्थापनमा पुरुष वर्गलाई सहभागी गराउनेतर्फ महिलाको सजगता नदेखिएको हुन सक्छ ।

कोही–कोही शिक्षित एवं चेतनशील महिलाले पुरुष वर्गलाई घरभित्रको श्रममा संलग्न गराउन खोज्दा परिवार नै तहसनहस भएको स्थिति पनि प्रशस्त देखिएको छ । यसले गर्दा कहिल्यै नटुङ्गिने घरायसी श्रमको बोझ नारीहरूलाई एक्लै बोक्न बाध्य बनाइएको छ । अनि अहिलेका पढेलेखेका शिक्षित एवं बौद्धिक भनिने पुरुष पनि सदियौँदेखि प्राप्त ठालु पल्टेर खान पाइने सुविधालाई सजिलै त्याग्न तयार छैनन् ।

त्यसैले पनि उसको मानसिकताले महिला–महिलामाझको सम्बन्धलाई सौहार्दपूर्ण हुन दिइरहेको छैन । त्यसैले यस्ता झमेलामा फँस्न नचाहेरै बेला–बेला यस्तै अनर्गल टिप्पणी गरेर पुरुष सरक्क पन्छिदिन्छ— ‘आइमाईको शत्रु आइमाई’ ।

प्रकाशित : श्रावण २६, २०७५ ०७:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT