अनि रसाए सबैका आँखा

श्रद्धाञ्जली
मिश्रले जसरी जीवन भोग्नुभयो, त्यसरी नै कहिले शब्दमा त कहिले रंगमा पोख्नुभयो ।
रमेश खनाल

काठमाडौँ — देशका अत्यन्तै सम्मानित कलाकार मनुजबाबु मिश्रको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न यतिखेर ९१ वर्षका प्रसिद्ध आधुनिक मूर्तिकार प्रा. गोविन्दनारायण ज्यापु, ८१ वर्षीय प्रसिद्ध कलाकार हरिप्रसाद शर्मा, मूर्धन्य कलाकार शशीविक्रम शाह, आधुनिक कलाकार गेहेन्द्रमान अमात्य लगायत धेरै कलाकार, साहित्यकार, सञ्चारकर्मी र विवेकशील पार्टीका कार्यकर्ताहरू तथा मनुजबाबु मिश्रका छोरा रविन्द्र मिश्र (अध्यक्ष विवेकशील पार्टी), रोशन मिश्र, डा. मञ्जु मिश्र (छोरी), माइलो भाइ मोहन मिश्र लगायत आफन्तजनहरू वरिपरि उपस्थित भएका छन् ।

अनि रसाए सबैका आँखा

८३ वर्षको उमेरमा उहाँ बित्नुभयो । उहाँ अर्थात मनुजबाबु मिश्र काठमाडौंको बौद्ध महांकालस्थित रामहिटीमा १९९३ भाद्र शुक्ल पूर्णिमाका दिन जन्मनुभएको थियो । उहाँका पिता स्व. तुलसीसिंह भाषाविद् ज्योतिष, नाटककार, संगीतकार, चित्रकार हुनुहुन्थ्यो । मनुजबाबु मिश्र पनि पिताझैं बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो ।

मूलत: उहाँ चित्रकार त्यसपछि साहित्यकार । उहाँले सन् १९६२ देखि १९६८ सम्म पूर्वी पाकिस्तानको तत्कालीन ढाका विश्वविद्यालयबाट कलामा स्नातक पढ्नुभयो । उहाँले प्राय: सधैं श्वैरकाल्पनिक चित्रहरू बनाउनुभयो । उहाँको ‘महेश्वर’ नाम गरेको १२०×९० सेमीको चित्रमा शिवको मुखबाट सर्प निस्केर फणा फुलाएर बसेको छ । शिवको तीन नेत्रमात्र होइन, पाँचौं नेत्र पनि खोलेको छ । अगाडि शिवजी आफैं ताण्डव नृत्य गरिरहेका छन् । शिवका गणहरू लर्को लगाएर हिँंडिरहेका देखिन्छन् । रातो शिव, हरियो परिवेश । शिवको यो भयावह रूप हेर्दै डर लाग्छ ।

त्यस्तै उहाँको अर्काे चित्र मोडर्न ‘गागन्तुवा’ ९०×६० सेमी, बर्थ अफ ब्रह्मा, माता–शिशु लगायत अन्य थुप्रै चित्र पनि भयानकताभित्र परिलक्षित हुन्छन् । आखिर किन यतिविघ्न भयानकता ? के बाल्यकालमा माता–पिताको वियोग, दु:ख, दर्द, हन्डरले भरिएको पीडाजन्य जिन्दगीको प्रतिस्वरूप हो त ? कि वर्तमान समाज, राष्ट्रप्रतिको तिखो व्यंग्य हो ? उहाँले चित्र बनाउनुहुँदा अधिकांश प्रयोग गर्नुहुने आइकनहरू शिवको त्रिशूल, सर्प, माग्ने केटो आदि नै हुन् । र नीलो, हरियो, रातो, पहेँलो रंगसँग बढी खेल्नुहुन्थ्यो । नीलो रंगले दु:ख, क्लेश र पीडाको प्रतिनिधित्व गर्छ ।

उहाँले लियोनार्दाे दा भिन्चीको फ्रान्सको विश्व प्रसिद्ध लुभ्र म्युजियममा भएको संसारकै अति चर्चित चित्र मोनालिसालाई गहना र गुन्यू–चोली लगाइदिएर उनको नेपालीकरण गरेका र आफ्नै पोट्रेट चित्रमा सिंह बनाएर जंगली भाव अभिव्यक्त गरेका लगायतका चित्रहरू धेरै चर्चामा आएका छन् । प्रत्येक मानिसभित्र पशुत्व रूप हुन्छ । कसैले त्यही पशुत्व रूपलाई प्रकट गरेर हत्या, आतंक, बलात्कार गरिरहेका छन् ।

अनि कसैले चित्रमार्फत सकारात्मक सन्देश दिन समाजको आँखा उघार्ने प्रयत्न गरिरहनुभएको छ । आधुनिक युगले आतंकित रहेका मानिसलाई अन्य थुप्रै चित्रमार्फत आफ्नै टाउको छेडेर उडिरहेको रकेट, युद्ध र उडिरहेका मानिस चित्रांकित गरेर देखाउने गर्नुभएको थियो, उहाँले ।

मृत्यु अगाडिको रातसम्म पनि उहाँले चित्र बनाउनुभयो । साँझ ७ बजे सुत्ने अनि मध्यरातिको २ बजे उठेर कित चित्र बनाउने कि निबन्ध लेख्ने उहाँको बानी थियो । मध्यरातको निश्तब्ध वातावरण उहाँलाई असाध्यै मनपथ्र्यो । निश्तब्धताभित्र सिर्जना लुकेको हुन्थ्यो । उहाँले यस्तै वातावरणको सदुपयोग गर्नुभएर ‘विश्व कलाको इतिहास’, चित्रकला शिक्षणविधि, ‘मेरो चित्र मेरो छाया’, अन्तर–तरंग, दुरान्तर, अनुहारका पानाहरू, तरंग तरेली, ‘आर्टिलिएर हर्मिताज’, स्वन्तसम्मेलन (उपन्यास) आदि कला–साहित्य सम्बन्धी पुस्तकहरू लेख्नुभएको छ ।

उहाँका पुस्तकहरू उच्चकोटीका छन् । खासगरी उहाँको उपन्यास धेरै चर्चा गरिनुपथ्र्याे, तर त्यसै सामसुम भयो । कलाको गहिराइसम्म पुगेर लेख्नुभएको उक्त उपन्यास स्तरीय छ ।

निजात्मक र वस्तुपरक निबन्ध लेखनका हस्ती मानिनुहुने मनुजबाबुका लेखहरू परिस्कृत, अनुभवी र प्रौढ रूपमा प्रस्तुत हुन्थ्यो । उहाँको प्रयुक्त सबल अनुभूतिहरूले कलात्मक संस्कार प्राप्त गरेका छन्
र विचारहरूले सौष्ठवता । निबन्धहरू कलात्मक र चित्रमय हुन्छन् ।

उहाँको लेखन विशेषता भनेको सूक्ष्म दृष्टिकोण हो । सानोभन्दा सानो विषयको अन्तरंगभित्र डुबुल्की मार्न उहाँलाई मै हुँ भन्ने कुनै पनि निबन्धकारले चुनौती दिन सक्दैन भन्ने मेरो अटोट छ । यसै सन्दर्भमा उहाँको निबन्ध ‘अनुहारका पानाहरू’ भित्रको एउटा लेख ‘एउटा झिंगा– युरोपको सहयात्री’लाई नै लिन सकिन्छ । काठमाडौंदेखि एउटा झिंगो कसरी युरोप सहयात्री भएर गयो, त्यस विषयलाई साह्रै रोचक ढंगबाट पस्किनुभएको छ । लेखनीमा सूक्ष्मता, विषयको गाम्भीर्यता र सरल प्रस्तुतिले मनुजबाबु मिश्रका निबन्धहरू उच्चकोटीका छन् ।

उहाँले जसरी जीवन भोग्नुभयो, त्यसरी नै कहिले शब्दमा त कहिले रंगमा पोख्नुभयो । उहाँ भावुक पनि हुनुहुन्थ्यो । उहाँ भन्ने गर्नुहुन्थ्यो– मान्छेको हृदय निचोरियो भने त्यो पानी झुपडीको झोलजस्तो होला, तर एउटा सिंगै देश निचोरियो भने नि † ओ हो † त्यो त महाकाली र मेचीको बाढी नै बग्न पुग्छ । त्यसैले दु:खको रंग बरु बाढीको पानीजस्तो हुनसक्छ ।

निबन्धको निर्माणकला
जो सुसंगठित, सुव्यवस्थित, सुलक्षित भइकन पनि सहज छ र सम्पूर्णमा सिर्जनात्मक हुन्छ । मनुजबाबु मिश्रका सिर्जनाहरूमा तर्कशक्तिका लागि उहाँ बेजोड नै हुनुहुन्छ ।

जसरी साहित्यमा उहाँ बेजोड हुनुहुन्थ्यो, त्यसरी नै चित्रकलामा पनि । उहाँले नेपालकै सबभन्दा ठूलो (५५ ×२६० फिट) पोट्रेट बनाएर पनि ख्याति कमाउनुभएको थियो । तत्कालीन राजा वीरेन्द्रको शुभराज्याभिषेक (कोरोनेसन) का अवसरमा बनाउनुभएको थियो, उक्त पोट्रेट । गायन, नृन्य, बाद्यवादन बजाउन, नाटकमा खेल्न रुचि राख्ने मनुजबाबुले १२ पटक एकल चित्रकला प्रदर्शनी, २० पटकजति सामूहिक कला प्रदर्शनी र २० वटा सम्मान–पुरस्कार प्राप्त गर्नुभएको छ ।

अन्त्यमा प्रख्यात कलाकारको पार्थिव शरीरलाई भर्खरै सम्पूर्ण संस्कार सकेर, विद्युत् शवदहनभित्र पठाउँदा सबैका आँखा रसाएका थिए ।

प्रकाशित : श्रावण २६, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?